एन्थ्रोपिकको नयाँ एआई मोडल, क्लाउड मिथोस प्रिभ्युले प्रमुख अपरेटिङ सिस्टम र वेब ब्राउजरका कमजोरीहरू पत्ता लगाउने र त्यसको दुरुपयोग गर्ने असाधारण क्षमताका कारण विश्वभरका व्यावसायिक नेता र नीतिनिर्मातालाई चिन्तित बनाएको छ। पछिल्ला महिनाहरूमा यसका मोडलहरूको केही सैन्य प्रयोगलाई लिएर एन्थ्रोपिकसँग विवादमा रहेको ट्रम्प प्रशासन पनि अहिले महत्त्वपूर्ण सरकारी पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन कम्पनीसँग सहकार्य गर्न इच्छुक देखिन्छ।
ट्रम्प प्रशासनका केही व्यक्तिहरूले यस विकासलाई स्वागत गरेका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेस्सेन्टले मिथोसको उपलब्धिमार्फत एआई प्रतिस्पर्धामा चीनमाथि अमेरिकाको अग्रता कायम राख्न मद्दत पुग्ने बताएका छन्। अमेरिकीहरूले पहिलो हुनु र सुरक्षित हुनुबिच भ्रममा पर्नु हुँदैन। प्रस्ट छ, मिथोसजस्ता एआई उपकरणले सम्पूर्ण विश्वलाई अझ संवेदनशील बनाउनेछन् र सबैभन्दा उन्नत मोडल बनाउने देश पनि त्यसले सिर्जना गर्ने जोखिमबाट मुक्त हुने देखिँदैन।
यसको कारण सरल छ। आक्रमण र प्रतिरक्षाबिच स्पष्ट असमानता हुन्छ, जसलाई पछिल्लो डेढ महिनामा इरानसँगको अमेरिकाको युद्धले प्रस्ट देखाएको छ। परम्परागत सैन्यशक्तिमा अमेरिका अझै अपराजेय देखिए पनि इरानले देखाएको छ कि कमजोर देखिने प्रतिद्वन्द्वीले पनि गम्भीर धक्का दिन र समग्र परिस्थितिमा अग्रता लिन सक्छ।
सुरुमा, विद्यमान असन्तुलनको दायराले पनि असर पार्छ। खाडी क्षेत्रमा अमेरिका र उसका सहयोगीहरूले आफ्ना विशाल पूर्वाधार सैन्य अड्डा, बन्दरगाह, तेल तथा ग्यास क्षेत्र, डाटा केन्द्र र सञ्चार सञ्जालको सुरक्षा गर्नुपर्ने हुन्छ तर इरानले यी सबै लक्ष्यहरूमा पूर्णस्तरको आक्रमण गर्नुपर्दैन। उसले त केवल एउटा प्रमुख कमजोरीलाई पहिचान गरे पुग्छ, त्यो हो– होर्मुज जलडमरु। उक्त जलडमरु नियन्त्रणमा लिएर र जीवाश्म इन्धन, मल र एल्युमिनियमको प्रवाह सीमित गरेर, इरानले सम्पूर्ण विश्व अर्थतन्त्रमा अवरोध ल्याएको छ।
त्यसो त यी कार्यहरूको लागत पनि असमान छ। इरानले सस्तो, ठुलो परिमाणमा उत्पादन गरिएका ड्रोन प्रयोग गरेर आक्रमण गर्न सक्छ, जबकि अमेरिका र खाडी राष्ट्रहरूले ती ड्रोनहरूलाई करोडौं डलरका मिसाइलले रोक्नुपरेको छ। यसले उनीहरूको अस्त्रभण्डार लगातार घटाइरहेको छ। साथै कहिलेकाहीं हुने र अप्रत्याशित आक्रमणले बिमा कम्पनीलाई जलडमरुमार्फत हुने ढुवानीलाई ‘कभरेज’ दिन अस्वीकार गर्न बाध्य बनाउने गरी डर र अनिश्चितता सिर्जना भएको छ।
अन्तिम तर कम महत्त्वपूर्ण नरहेको विषय प्रभावको असमानताको मुद्दा हो। आजको आपसमा जोडिएको विश्वमा प्रतिद्वन्द्वीलाई क्षति पुर्याउन प्रत्यक्ष रूपमा आक्रमण गर्नु आवश्यक हुँदैन। खाडीका छिमेकीलाई प्रहार गरेर, ढुवानी मार्गहरू बन्द गरेर र ऊर्जा प्रवाह घटाएर इरानले आपूर्ति शृंखलाहरू अवरुद्ध बनाएको छ। उसले वित्तीय बजारलाई हल्लाएको छ, जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्धविरामतर्फ धकेलेको छ।
यस्तै प्रकारको समान गतिशीलता अहिले साइबर सुरक्षामा पनि देखिँदै छ। कुनै ह्याकरले केवल एउटा कमजोरी पहिचान गर्नुपर्छ। मिथोसजस्तो एआई जति शक्तिशाली भए पनि यसले हरेक प्रणालीका सबै त्रुटिहरू पत्ता लगाउन सक्ने सम्भावना कम छ। एआईको पछिल्लो प्रगतिलाई हेर्दा मिथोसजस्ता एआई क्षमताहरू छिटो र व्यापक रूपमा फैलिने अपेक्षा गर्न सकिन्छ। प्रतिद्वन्द्वी देशहरूका मोडलहरू कमजोर भए पनि तिनीहरूले मिथोसले छुटाएका केही त्रुटिहरू पत्ता लगाउन सक्छन्, जसले लक्षित प्रणालीहरूलाई असुरक्षित बनाइराख्छ।
अर्को असमानता सम्भवतः मानवीय पक्ष हो। यो सबैभन्दा निर्णायक पनि हो। अवसर अनुसार एआईद्वारा तुरुन्त सुदृढ आक्रमण गर्न सकिन्छ, ठुलो स्तरमा सुरु गर्न सकिन्छ तर जतिसक्दो प्रभावकारी भए पनि संस्थागत प्रतिक्रिया त्यस्तो हुँदैन।
कमजोरी पत्ता लगाउनु केवल पहिलो चरण हो। त्यसलाई समाधान गर्न ठुलो समय र स्रोत मात्र होइन, मानवीय निगरानी र स्वीकृति पनि आवश्यक हुन्छ। कम्पनीहरूको बजेट त्रैमासिक वा वार्षिक रूपमा निर्धारण गरिन्छ।
यसैगरी सुरक्षा टोलीहरूको क्षमता सीमित हुन्छ। डिजिटल रूपान्तरणका दशकौं प्रयासहरूले देखाएका छन् कि पुराना प्रणालीहरूमा आधारित उद्यम सफ्टवेयरलाई व्यवस्थित रूपमा अद्यावधिक गर्न महिनौं वा वर्षौं लाग्न सक्छ। यो प्रयास प्राविधिक मात्र होइन, संगठनात्मक पनि हो।
अहिलेसम्म मिथोसको पहुँच केवल केही विश्वसनीय अमेरिकी कम्पनीहरू र संस्थामा मात्र सीमित गरिएको छ, जसले महत्त्वपूर्ण सफ्टवेयर पूर्वाधार निर्माण अथवा मर्मत गर्छन्। केवल आफ्नै कम्पनीहरूलाई सुरक्षित गरेर अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा चासोलाई पूर्ण रूपमा सुरक्षित गर्न सक्छ भन्ने सोच्नु केटाकेटीपना मात्र हुनेछ किनभने इरान युद्धले वैश्विक अर्थतन्त्रको यथार्थलाई बेवास्ता गर्नुको मूर्खता मुखरित गरेको छ। एउटा खास क्षेत्रमा भएको अवरोधले छिट्टै विश्वभर असर पार्न सक्छ। कुनै ठुलो देशको वित्तीय बजार वा महत्त्वपूर्ण पूर्वाधारमा साइबर आक्रमण भयो भने त्यसको क्षति त्यहीं सीमित रहने छैन।
कल्पना गर्नुहोस् कि कुनै ठुलो साइबर आक्रमणले चीनको ऊर्जा प्रणालीलाई पक्षाघात गराउँछ र ठुलो स्तरमा उत्पादन बन्द गराउन सफल हुन्छ। यसको प्रभाव कोभिड–१९ लकडाउनजस्तै हुनेछ, जसले चिनियाँ कारखानाहरूलाई हप्तौंसम्म बन्द गराएको थियो। विश्वका बाँकी भागहरूले लगभग तुरुन्तै यसको झट्का महसुस गर्नेछन् - महामारीको प्रारम्भिक दिनहरूजस्तै औषधि र प्रमुख औद्योगिक सामग्रीहरूको अभाव हुनेछ, मूल्य आकासिनेछ र मुद्रास्फीतिको डरले राजनीतिक नेतालाई भारी दबाबमा पार्नेछ।
त्यसैले वैश्विक आर्थिक सुरक्षामा एआईको खतराबारे चिन्ता गर्न हामीले एआईले मानव बुद्धिमत्तालाई पार गर्ने विज्ञानकथाको परिदृश्य ‘सिंगुलारिटी’को प्रतीक्षा गर्नुपर्दैन। त्यो खतरा त यसअघि नै यहाँ छ। त्यसैले मिथोसप्रतिको प्रतिक्रिया विजयको गर्व होइन, कूटनीति हो। भविष्यमा आर्थिक अवरोधको सम्भावनाले अमेरिका र चीनलाई वार्ताको टेबलमा आउन बलियो प्रेरणा दिनुपर्छ। जब ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ यही महिना (मे) मा भेट्ने छन्, उनीहरूको अजेन्डाको शीर्षमा यो मुद्दा हुनुपर्छ।
–एस एलेक्स याङ लन्डन बिजनेस स्कुलका व्यवस्थापन विज्ञान विषयका र एन्जेला हुयु
झाङ साउदर्न क्यालिफोर्निया विश्वविद्यालयकी कानुन विषयकी प्राध्यापक हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: २१ वैशाख २०८३ १०:४४ सोमबार

