१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
विचार

‘रगतले लेखिएको विद्रोह, चेतनाले मागेको परिवर्तन’

नेपालको राजनीतिक इतिहास केवल सत्ता परिवर्तनको श्रृंखला होइन, यो संघर्ष, चेतना र वलिदानले लेखिएको दीर्घ यात्रा हो। इतिहास केवल वितेको समय मात्र होइन, यो आजको चेतना र परिवर्तनको आधारशिला हो। इतिहास कहिल्यै मरेको हुँदैन, यो वर्तमानमा सास फेरिरहन्छ र भविष्यको दिशा तय गरिरहन्छ। वास्तवमा भन्ने हो भने, इतिहासको जगमा वर्तमान निर्माण हुन्छ र वर्तमानको जगमा भविष्य, तर प्रश्न यहि उठ्छ– के हामीले इतिहासलाई सहि रुपमा पढ्यौ ? के वर्तमानलाई इमानदारीपूर्वक निर्माण गर्न लागि परिरहेका छौं? र के भविष्यलाई सुरक्षित र सफल दिशातर्फ डोर्‍याउदै लैजाने चेतना हामीमा जाग्रित भएको छ ? नेपालको समग्र राजनीतिक यात्रा यहि त्रिकोणीय सम्बन्धको अत्यन्तै जटिल र कठिन ब्यथाहो–इतिहास वर्तमान र भविष्य । तर दुर्भाग्य, हाम्रो इतिहास वलिदान रक्तरञ्जितले रंगिएको छ । वर्तमान कागजी वाचाबन्धन भित्र अल्झिएको छ र भविष्य अझै अनिश्चिताको धुन्धमा हराईरहेको

इतिहासः रगतले लेखिएको सघर्षको अध्याय

नेपालको इतिहास कुनै सामान्य प्रशासनिक दस्तावेज होइन, यो संघर्ष, वलिदान, त्याग, तपस्याबाट हासिल परिवर्तनको यूगान्तकारी लामो श्रृंखला हो । राज्य संरचना बदल्ने नाममा भएका आन्दोलनहरू, जनयूद्ध, जनआन्दोलन, प्रदेशआन्दोलन र अन्य थुप्रै सामाजिक, राजनीतिक विद्रोहहरुले अतुलनिय मूल्य चुकाएका छन्। हजारौंले जीवनको आहुति दिए, लाखौले दुःख, पीडा, वेदना भोगे र समाजमा एउटा पुस्ताले परिवर्तनको सपना देख्यो। त्यो सपना केवल एक थान सत्ता परिवर्तनको लागि मात्र थिएन । त्यो सपना समानता, न्याय र गरिमा सहितको राज्य निर्माणको थियो । तर इतिहासको सवैभन्दा गम्भीर विडम्बना यहि हो – इतिहास लेख्नेहरू सत्ता र शक्तिमा पुगे तर इतिहासले माग गरेको परिवर्तन अझै पनि एउटा अँध्यारो कुनाबाट परिवर्तनको उज्यालो क्षितिज तर्फ नियाली टोलाई रहेको छ । रगतहरुले लेखिएका युगान्तकारी परिवर्तनहरु कागजी दस्तावेजमासुरक्षित भए, तर व्यवहार र परिणाममा अपूर्ण नै रह्यो । इतिहासले हामीलाई एउटै कुरा मात्र सिकाउँछ–त्याग विना परिवर्तन सम्भव छैन । तर त्यागको अर्थ केवल वलिदान मात्र होइन, त्यसको संस्थागत विकास, संरक्षण र रुपान्तरण पनि हो।

वर्तमानः कागजी सुधारको भ्रम र यर्थाथको टकराव

आजको नेपाल कागजी सुधारको युगमा छ। संविधान छ, नीति छ, योजना छ, कार्यक्रम छ–तर यी सबैको प्रभाव र वास्तविकता बीचको खाडल पनि उत्तिनै गहिरो छ । कागजमा सुशासन छ, तर व्यवहारमा पहुँच र शक्ति केन्द्रित प्रणाली हावी छ। कागजमा समावेशीता छ, तर व्यवहारमा विभाजन र असमानताको चट्टानी पहाड उभिएको छ । कागजमा न्याय छ, तर व्यवहारमा प्रभाव र सम्वन्धको दवाब छ । वर्तमानको समस्या पटक–पटक बदलिने प्रणाली होइन यो त उत्तरदायित्व, जवाफदेहिता, पारदर्शितामा पर्ने सोच हो। जब सोच नै परिणाममुखी हुँदैन, तब प्रणाली पनि केवल औपचारिकतामा सीमित हुन पुग्दछ। आजका नवयुवाहरु यहि वर्तमानसँग संघर्षरत छन् । उनीहरूले इतिहास विर्सेका होइनन्, तर इतिहासले दिएको आशा र सपना पूरा नभएका पुस्ता हुन् । रोजगारी अवसरको अभाव, विदेश पलायन र अस्थिर राजनीतिक वातावरणले उनीहरुलाई निराशाको अँध्यारो सुरुङतर्फ धकेलिरहेको यर्थाथ सत्य हो। यो निरासा केवल आर्थिक होइन, यो नैतिक पनि हो। जब राज्यले आफ्ना नागरिकलाई भरोसा र विश्वास जगाउन सक्दैन, तब नागरिकको राज्यप्रति सम्वन्ध कमजोर हुँदै जाने गर्दछ।

इतिहास र वर्तमानबीचको फाटो

सबैभन्दा ठूलो संकट यहि हो– इतिहास र वर्तमान बीचको सम्बन्ध कमजोर हुँदै जानु। इतिहासले वलिदानको वाटो देखायो, तर वर्तमानले त्यसलाई संस्थागत गर्न सकेन। परिवर्तनका नाममा भएका संरचनागत सुधारहरु धेरैजसो राजनीतिक लेनदेन, भागवण्डा, अनैतिक तालमेल र अप्राकृतिक सम्झौताका दुषित कारणले समाज र राष्ट्रका लागि विषाक्त परिणाम बन्न पुगे, जसका कारण जनताका न्यायोचित मुद्दाहरू कमजोर र वर्तमान अवस्था अस्थिर भयो। जब इतिहासको शिक्षा वर्तमानमा लागु हुँदैन तब वर्तमान केवल दोहोरिने गल्ती, कमजोरीहरूका चक्रब्यूमा फस्दछ।  

राज्यको नैतिक पुनः परीक्षणको आवश्यकता

आजको नेपाल केवल राजनैतिक पुनसंरचनाको होइन, नैतिक पुनः परीक्षणको डिलमा उभिएको छ । राज्यले आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ – के हामी जनताको अपेक्षा पूरा गरिरहेका छौं ? के हाम्रो शासन प्रणाली न्यायपूर्ण छ ? के हाम्रो विकासले सबैलाई समेटेको छ ? नैतिकता विनाको राज्य केवल प्रशासनिक मेशिन जस्तै हुने छ । जब निर्णयहरु नैतिक आधारमा नभई, शक्ति र स्वार्थको काँधमा उभिएर हुने गर्दछ, तब नीति केवल कागजमा मात्र सीमित हुन पुग्दछ । भ्रष्टाचार सामान्यकृत हुन्छ, उत्तरदायित्व गुमनाम हुन्छ र जनविश्वास टुट्छ । राज्यको नैतिक पुनःपरीक्षण भनेको मात्र भ्रष्टाचार विरुद्धको अभियान होइन ।  

यो सम्पूर्ण शासन संस्कृतिको आत्म मूल्याङ्कन हो । हामीले कुन मूल्यमा राजनीति गर्छौ ? कुन उद्देश्यका लागि राज्य सञ्चालन भइरहेको छ ? र सबैभन्दा महत्वपूर्ण विषय राज्य कसका लागि बनेको हो ? नेपालमा सुधारका कार्य योजनाहरु कहिल्यै कमि भएका छैनन् । नयाँ नीति, नयाँ आयोग, नयाँ योजना–यी सबै निरन्तर बनिरहन्छन् तर सुधार र कार्यान्वयनबीचको दुरी कहिल्यै नमेटिने दूर्लभ समस्या भएका छन् । कागजमा सय प्रतिशत सुधार देखिन्छन् तर जमिनमा दश प्रतिशत पनि महशुस गर्न पाईदैन । यस्तो अवस्था तब उत्पन्न हुन्छ जब संस्थागत इमान्दारिता कमजोर हुन्छ, जब जवाफदेहिता केवल औपचारिक बन्छ र जब नीति निर्माण जनताको आवश्यकताबाट होइन राजनीतिक लाभबाट निर्देशित हुन्छ । यसले एउटा गम्भीर प्रश्न उठाउँछ – के हामी सुधारको नाममा केवल भ्रम निर्माण गरिरहेका छौं ।

परिवर्तनको परिभाषा

परिवर्तनको अर्थ केवल सत्ता र शासक फेरबदल होइन । परिवर्तन शक्ति, सोच, संरचना र संस्कारको रुपान्तरण हो । जहाँ नेतृत्व पद होइन, उत्तरदायित्व बन्छ, राजनीति पेशा होइन, सार्वजनिक सेवा बन्छ र राज्य जनताको मालिक होइन, जनताको सेवक बन्छ । परम्परागत दलहरुको समस्या व्यक्तिमा होइन संरचनामा थियो । नयाँ पुस्ताको परिवर्तन भनेको – पार्टी भित्र लोकतन्त्र, निर्णय प्रक्रियामा पारदर्शिता र नीति निर्माणमा वस्तुगत एवं यथार्थपरक प्रमाणको आधार संस्थागत परिवर्तन – नेपालमा राजनीतिक अझैपनि “निष्ठा भन्दापनि नजिकियत” मा अडिएको छ । यसलाई रोक्न नातावाद र भागबण्डाको अन्य,  आलोचना सहने संस्कृति र असहमतिलाई दुश्मनी आँखाबाट होइन, एउटा वृहत निष्कर्षपरक बहसको आधार बनाउनु पर्दछ ।

नेतृत्वको परिभाषा – पुरानो नेतृत्व आदेश दिने मालिक, नयाँ नेतृत्व सुन्ने, बुझ्ने, बुझाउने सिक्ने सिकाउने र सहकार्य गर्ने र सर्वज्ञ होइन समन्वयकर्ता निर्णय “म” बाट होइन हामीबाट भन्ने मान्यतालाई आत्मसाथ गर्ने हुनु पर्दछ । परिणाममुखि शासन–भाषण होइन नतिजा, अबको ५ वर्षमा कति रोजगारीः कति सेवा डिजिटल भयो ? कति भ्रष्टाचार घटनो ? अबको परिवर्तन बन्दुकको आवजामा होइन, बुद्धि, नीति, व्यवहार र नैतिकताको क्रान्ति हो । जहाँ क्रान्ति सडकमा मात्र होइन प्रणाली भित्र हुन्छ र जहाँ परिवर्तन नारा होइन दैनिक जीवनमा अनुभूति हुनेछ ।

निष्कर्षः चेतनाको आँखा

मुलुक एउटा नविन निर्णायक मोडमा उभिएको छ । यो मोड राजनीतिक मात्रामा सीमित छैन, चेतनात्मक पनि हो । हजारौं आमाका विर विरंगना छोराछोरीको रगतले परिवर्तनलाई कागजी औपचारिक सुधारले होइन, ब्यवहारिक न्यायले मात्र पूर्णता दिन सक्दछ । इतिहासको जगमा वर्तमान र वर्तमानको जगमा भविष्य । यदि यो प्राकृतिक श्रृंखला कमजोर भयो भने भविष्य पनि कमजोर हुन्छ । अबको आवश्यक इतिहास पढेर कुनै सभा सम्मेलनमा फलाक्ने होइन, त्यसले जीवन पद्धतिमा लागू गर्न वर्तमानलाई भाषणमा होइन, व्यवहारमा बदल्ने र भविष्यलाई सपना होइन योजना बनाउने हो भने परिवर्तन अझै सम्भव छ, तर त्यसका लागि शब्द होइन कर्म आवश्यक छ । यहि कर्मले मात्र इतिहासको ऋण तिर्न सक्दछ, वर्तमानलाई स्थिर र भविष्यलाई उज्यालो बनाउन सक्दछ ।

प्रकाशित: १५ वैशाख २०८३ २०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %