७ वैशाख २०८१ शुक्रबार
विचार

जलवायु परिवर्तन र सम्भावित ‘वाटरवार’

पृथ्वीमा मानवजीवनको सुरुबातसँगै बढ्दै गएको मानवीय क्रियाकलापका कारण हरित गृह ग्यासको उत्सर्जनमा वृद्धि भई जलवायु परिवर्तनको प्रभाव देखा परेको विज्ञहरूले प्रष्ट पारिसकेका छन्। यसको प्रभावस्वरूप वैश्विक तापमान वृद्धि, सुक्खा मौसम, खडेरी र आगजनी, वर्षामा ह्रास तथा बेमौसमी वर्षा, हिम पग्लन र बाढीपहिरोआदि एक्काइसाैँ शताब्दीको सुरुसम्म आइपुग्दा सामान्य भइसकेका छन्।  

यी सबै जलवायुजन्य विपद्का घटना मानवीय जीवनका लागि खतराजनक छ र दूरगामी प्रभाव पार्ने खालका छन्। तर यी मध्ये जलवायु परिवर्तनका कारण निम्त्याउने सुक्खापन र पानीको अभाव विश्वलाई अस्थिर र आतंकित पार्ने खालको छ। र,यसप्रति मानिस सजग हुन जरुरी भएको वैज्ञानिक बताउँछन्। साथै भविष्यमा पानीको संकट बढ्दै गएमा यसले विश्वमा भयाबह स्थिति निम्त्याउनुका साथै विनाशकारी परिणाम ल्याउन सक्ने चिन्ता व्यक्त गरेका छन्।

यसै सन्दर्भमा यहाँ जलवायु परिवर्तनले निम्त्याउने पानीको संकट र विश्वमा यसको प्रभावबारे चर्चा गर्ने प्रयास गरिएको छ। पानी मानवीय जीवनका लागि नभई नहुने तत्व हो। पानीविना मानिसको जीवन असम्भव छ भने मानिसको दिनचर्या पानीमा निर्भर रहने गर्छ। साथै कृषिका लागि त पानीअमृत समान छ भने अन्य प्राणी तथा वनस्पतिका लागि पनि पानी अपरिहार्य छ। तसर्थ पानीको आपूर्तिमा कमी आइ हाहाकार हुन थाल्यो भने यसले जीवनमा कस्तो प्रभाव पार्छ? सजिलै विचार गर्न सकिन्छ।  

त्यसैले पानीप्रति सजगता आजको आवश्यकता हो। आजको परिस्थितिमा विश्वको विभिन्न स्थानमा पानी, त्यसमा पनि शुद्ध पानी पिउन नपाएर मानिस विभिन्न रोगले ग्रस्त भइ कष्टकर जीवन यापन गर्न बाध्य भइरहेका छन्। साथै विश्वका विभिन्न स्थानमा पानीको संकटले आफनो ठाउँ, बस्ती नै छाडेर जानुपर्ने भयाबह स्थिति छ। अफ्रिकी महादेशको विभिन्न स्थानमा यस्तो घटनाले मानिस अप्रवासी जीवन बिताउन बाध्य हुनुपरेको दर्दनाक कहानी छ। जुन अत्यन्त दुःखदायी छ।

अफ्रिकामा मात्र नभई एसिया महादेशमा पनि पानीको आपूर्ति कम भई पानीको अभावले जीवन कष्टकर बन्दै गइरहेको छ र कालान्तरमा यसले ठूलो समस्या निम्त्याउन सक्ने डर पैदा भएको पानीसम्बन्धी अध्ययनमा उल्लेख गरिएको छ। संयुक्त राष्ट्र संघ र विश्व बैंकको भनाइअनुसार विश्वको ५० प्रतिशतभन्दा बढी जनसंख्या भएको एशिया महादेशमा पानीको समस्याले सब भन्दा बढी मानिस आतंकित हुने गरेका छन्।  

अमेरिकाको टेक्सास र चीनको सिह्वा विश्वविद्यालयका वैज्ञानिकहरूको एउटा संयुक्त अध्ययन रिपोर्टअनुसार एशियामहादेशको हिमालीभेगस्थित क्विन्झाउ तिब्बत प्लेटयुजसलाई एसिया वाटर टावर पनि भन्ने गरिन्छ, त्यहाँको टेरेस्ट्रियल वाटर स्टोरेजमा पानी कम हँुदै गइरहेको छ। जसले गर्दा एसिया महादेशमा पानीको समस्या बढ्दै जाने स्पष्टरूपमा देखिन्छ भने यो विश्वमै पानीको समस्यादेखा पर्ने संकेतका रूपमा लिन सकिन्छ।

अध्ययनअनुसार पानी अभावले विश्वमा करिव ४० प्रतिशत जनसंख्या नराम्रोसंँग प्रभावित हुने देखिन्छ भने करिव ७० करोड मानिस सन् २०३० सम्ममा बसाइँ सराइ अर्थात अप्रवासी जीवन बिताउनुपर्ने खतरा रहेको छ। यसले पानीका कारण मानवीय जीवन दयनीय हुने देखिन्छ भने पानीकै कारण मानिसबीच मनमुटाव हुने, झगडा हुने र एक देश र अर्काे देशबीच द्वन्द्वहुनुका साथै वैरभाव उत्पन्न भई कालान्तरमा युद्धसमेत हुन सक्ने डर पैदा भएको छ।  

यसै सिलसिलामा पानीका कारण जोर्डन र इजरायलबीच सम्बन्ध बिग्रेको धेरै वर्ष भइसकेको स्मरणीय छ। जोर्डन र इजरायलको खानेपानीको स्रोतका रूपमा रहेको जोर्डन नदीको पानी जोर्डनबाट इजरायलतिर बग्ने बेला जोर्डनले धेरै फाइदा लिएको इजरायलको दोषारोपण छ। जोर्डन नदीको पानी कम भएर इजरायलको डेड सिको अस्तित्व खतरामा परेको छ भने डेड सि इजरायलको प्रसिद्ध पर्यटकीय स्थल हो।  

विश्वका विभिन्न स्थानमा पानीका कारण वैमनस्यता उत्पन्न हुने र द्वन्द्वले तनाव हुने गरेको अध्ययनले पनि देखाएको छ। अमेरिकाको ओकल्यान्डस्थित प्रशान्त क्षेत्रीय शिक्षालयका प्रमुख पिटर ग्लेकको तीन दशक लामो ‘पानीको समस्या, द्वन्द्वयुद्ध र स्थानान्तरण’बारे गरेको अध्ययनमा पानीका कारणं विश्वको विभिन्न मुलुकले द्वन्द्व युद्ध झेल्नुपरेको र मानिस अप्रवासी जीवन बिताउनबाध्य भएका उल्लेख छ।  

पिटर ग्लेकले रिपोर्टमा पुनःउल्लेख गरिएको छ कि पानीको अभावले सिर्जना हुने द्वन्द्वयुद्ध आफ्नो ठाउँमा छ तर त्यो भन्दा खतरा भनेको पानीलाई हतियारकारूपमा प्रयोग गर्ने डर हो। जसले गर्दा थुप्रै मानिसको ज्यान खतरामा पर्ने वा ज्यानै जाने डरहुन्छ। त्यसैले पानीको कारणले विश्वमा युद्ध हुने भनेको भयाबह युद्ध हुनसक्ने सम्बन्धित विज्ञहरूको भनाइ रहेको छ। यही कारण सम्भावित ‘वाटर वार’बाट बच्नुपर्नेमा विज्ञहरू जोड दिन्छन्। साथै प्राकृतिकरूपमा उपलब्ध भइरहेको पानीको आपूर्तिबारे गहिरिएर अध्ययन गर्नु नितान्त आवश्यक भएको बताउँछन्।  

विश्वमा अहिले ‘ग्लोबल वार्मिङ’का कारण वैश्विक तापमान वृद्धि भई पानीको स्रोतका रूपमा रहेको आकाशे वर्षाको स्वरूपमा फेरबदल हुन थालेको छ। यसले गर्दा विश्वको विभिन्न स्थानको सुक्खापनमा वृद्धि र वर्षामा कमीको संकेत देखा परेको छ। आकाशे वर्षा मानवजीवनका लागि अत्यन्त महत्वपूर्ण पानीको स्रोतका रूपमा रहेको छ भने यसको आपूर्तिमा ह्रासले पानीको संकट निम्त्याउने डर बढेको छ।  

अर्कातिर जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लिने क्रम जारी छ र जलवायु परिवर्तनको एउटा नराम्रो पक्ष भनेको सुरुमा यसले हिमालको हिउँ पगाल्ने गर्छ। जसको कारण खोलानाला बढ्ने र बाढी/पहिरोआउने गर्छ। यसले गर्दा मानिसको जीउज्यान खतरामा पर्ने गर्छ भने अमूल्य पानीेखेर जान्छ। तर कालान्तरमा हिमालमा हिउँ कम हुँदै गएपछि खोला तथा नदी सुक्दै जान्छ र जमिनमा पानीको मुहान सुकेर पानी संकट हुन थाल्छ।पानीको मुख्य स्रोतका रूपमा रहेको आकाशे वर्षामा कमीर खोला तथा पानीको मुहान सुक्दै जाने भनेको मानव जीवनको विनाशको संकेत हो।

यस वर्ष युरोप महादेशमा भीषण गर्मी भई वर्षा र हिमपातमा ह्रास आउनु र त्यहाँको नदीमा पानी कम भई जहाज चलाउनसमेत कठिनाइ हुन भनेको जलवायु परिवर्तनकै परिणाम भएको वैज्ञानिकहरू बताउँछन्। त्यस्तै जलवायु परिवर्तनकै कारण वैश्विक तापमान वृद्धिले नेपालको हिमाली भेगस्थित सगरमाथाको हिउँ पग्लेर हिउँले पुरिएका शव धमाधम देखिन थालेको पछिल्लो खबर छ। जलवायु परिवर्तनका यस्ता क्रियाकलापले कालान्तरमा पानीको आपूर्तिमा कमी आई संकट हुने सक्ने सम्भावनालाई इंगित गर्छ।  

जलवायु परिवर्तनले निम्त्याउने विभिन्न प्रकोपका साथै पानीको अभाव र भविष्यमा देखा पर्ने सम्भावित पानीको संकटलाई मध्यनजर राख्दै वैज्ञानिकहरू जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छन्। उनीहरू भन्ने गर्छन् कि जलवायु परिवर्तनको प्रकोप अहिले जुन रफ्तारमा अगाडि बढिरहेको छ, त्यसलाई रोक्न सकेन भने यसको परिणाम भयाबह हुन सक्ने र यसले निम्त्याउने विनाशको बाटोले कालान्तरमा विश्वमा द्वन्द्व बढाइयो ‘वाटर वार’को कारणसमेत बन्न सक्ने डर पैदा भएको छ। यो सत्यापनको मर्म लुकाउन नहुने र समयमै यसको उपाय खोज्नुपर्ने जलवायु परिवर्तनमा कार्यरत विज्ञ तथा सरोकारवालाहरूको भनाइ छ।  

(पूर्वउपमहानिर्देशक, जल तथा मौसम विज्ञान विभाग)

प्रकाशित: २७ कार्तिक २०७९ ००:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App