१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

महावीरशमशेरको हात्ती

सात सालको क्रान्ति चलिरहेका बेला राणा विरोधी विद्रोहलाई केही राणाले समर्थन गरे। महावीरशमशेरको हिमालयन हवाईजहाजले “जहानियाँ” शासन अन्त्य हुँदैछ भन्ने पर्चा छरेको थियो, देशका विभिन्न भागमा। राणाहरूलाई जुद्धशमशेरले “एबिसी” जस्ता तीन वर्गमा बाँडेपछि राणा परिवारमै खल्बली मच्चियो। “ए” क्लास (विवाहित पत्नीबाट पैदा भएका) बाहेक अरू सन्तुष्ट थिएनन्। घरभित्रै विभीषणहरू संगठित भएकाले राणाहरू कमजोर भए।

श्री ३ भीमका नाति तथा प्रकाशशमशेरका छोरा महावीरलाई आमा टेककुमारीले हुर्काइन्। हाल प्रहरी प्रधान कार्यालय (नक्साल) रहेको ठूलो कम्पाउन्डमा भीमले नाति महावीरलाई दरबार बनाइदिएका थिए। प्रकाशशमशेर अल्पायुमै बिते। महावीरले सानै उमेरमा घर–व्यवहार सम्हाले। उनी उसबेला कलकत्ताका सर्वाधिक धनीमध्ये एक थिए। महावीर र पदमकुमारीबाट एउटी छोरी पैदा भइन्।

श्री ३ जुद्धले षडयन्त्रपूर्वक सबै राणालाई तीन श्रेणीमा बाँड्दा परिवारमा विद्रोह भयो। बी र सी क्लासका राणहरूले जनताको समर्थन गर्नुको मुख्य कारण त्यही भएको इतिहासकारहरूको तर्क छ।

इलामको बडाहाकिम समेत भएका महावीरशमशेर “अग्ला, राम्रा र अंग्रेज जस्तै गोरा थिए, मैले त सानैमा इलाम बजारमा टाढैबाट देखेकी हुँ” भन्नुहुन्थ्यो मेरी हजुरआमा। पुराना मानिस भन्छन्– “महावीरशमशेर सरल र रसिक स्वभावका थिए।”

एकपल्ट इलामका केही मानिसले “हामीले त हात्ती देखेकै छैन प्रभु” भनेछन्। महावीरशमशेरले झापाबाट हात्ती झिकाएर इलामेहरूलाई देखाइदिएछन्। टाढा–टाढाका मानिस पनि हात्ती हेर्न आए। बाँसघारी र जंगल रहेको इलाम बजार र वरिपरिबाट हात्तीलाई चाहिने आहार जुटाइयो। यो १९९५ सालतिरको कुरा हो। २०१३ सालमा झापाको शनिश्चरेबाट “गुरु” नामका भारतीय ड्राइभरले सुखानीको बाटो हुँदै मुस्किलले इलाम बजारसम्म जिप पुर्‍याए। ड्राइभरलाई “गुरुजी” भन्ने चलन त्यहीँबाट सुरु भयो। गाडीलाई फूलमाला, अक्षता र अगरबत्तीले पूजा गरेछन् केहीले। उनीहरूमध्ये केहीले भन्थे रे– “महावीरशमशेरको हात्तीले भन्दा यसले धेरै खान्छ होला।” काजी हेमदल थापा (गजराजसिंह थापाका पिता) बडाहाकिम छँदा उनले इलाम बजार व्यवस्थित गराएको सन्तवीर लामाले लेखेका छन्। “इलाम दरवार” भनिने इलामकै पहिलो सिमेन्टेड भवन महावीरशमशेरले बनाएको पाइन्छ। महावीर भन्दा पहिले इलामको बडाहाकिम भएका राजशमशेरको पनि भारतमा व्यापार भएकाले उनकै पालादेखि इलाममा मारबाडी व्यापारीहरू आवतजावत गर्न थाले।

पूर्वसांसद (राष्ट्रिय पञ्चायत सदस्य) भगवतीदास श्रेष्ठ (वैद्य) भन्नुहुन्छ– इलाममा व्यापार र ओखतीमूलो दुवै कामका लागि काठमाडौँको वसन्तपुर क्षेत्रका वैद्यहरूलाई इलाम ल्याइयो। आठ-नौ पुस्तादेखि बसोबास गरिआएका वैद्य परिवारका कुनचाहिँ पुर्खा पहिलोपल्ट इलाम आए भन्ने कुरा धेरैका लागि रुचि र अध्ययनको विषय हुन सक्छ।

श्री ३ भीमका जेठा छोरा हुन्, श्री ३ पद्मशमशेर। भीमका अरू छोरा हिरण्य, प्रचण्ड र रामशमशेरमध्ये हिरण्यले पनि २००७ सालको आन्दोलनलाई समर्थन गरे। झण्डै तीस वर्षअघि रामशमशेरका ड्राइभरसँग मैले भेटेको थिएँ। उहाँले भन्नुभयो–“आपसमा वादविवाद र  झैझगडा भए पनि उहाँहरूले तुच्छ भाषा बोलेको मैले सुनिनँ। खानदान र संस्कार भनेको त्यही रहेछ। अहिले त ठुल्ठूला नेताको भाषण सुनेर केटाकेटीहरू पनि बिग्रिने डर भयो।”

नेपालीहरूले “डेमोक्रेसी” (प्रजातन्त्र) सुनेको र इलामेले महावीरशमशेरको हात्ती देखेको झण्डै ८५ वर्ष भयो। हात्तीको संख्या घट्दै गएको छ र अधिकांश जिल्लाका मानिसले सिनेमा वा टेलिभिजनमा मात्र हात्ती देखेका छन्। हात्ती र डेमोक्रेसी दुवै हराउँदै गए।

अमेरिकाका युद्ध पत्रकार एडवार्ड मुर्रोले युरोपमा बसेर दोस्रो विश्वयुद्धको रिपोर्टिङ गरे। पत्रकार भनेको फलानाले भन्नुभयो, फलानाले सुन्नुभयो भन्ने कुरा लेख्ने र बोल्ने मान्छे मात्रै हो भन्ने नेपालमा धेरैको धारणा छ। इतिहासको पनि इतिहास खोज्नुपर्ने विगतको पनि विगतको विश्लेषण गर्नुपर्ने र आगतको आँगनमा उभिएर सुन्दर क्षितिज हेर्छ, योग्य पत्रकारले। एडवर्डले त्यसै गरे। उनको कथन जगत् प्रसिद्ध छ– “जहाँका जनता भेडा हुन्छन्, त्यहाँ ब्वाँसाहरूको शासन हुन्छ।” नेपालमा प्रजातन्त्र फस्टाउन सकेन, नेता मात्र होइन, जनता पनि यसमा जिम्मेवार छन्। असल मानिस होइन, गुट, दल, जात, आदि मात्रै हेरे मतदाताले। सत्यार्थी होइन, मित्थ्यार्थीका पक्षमा उभिए जनता। कवि अर्जुन पराजुली भन्छन्– “हामी चोरलाई भोट हाल्छौँ र चोर्‍याे भन्छौँ।” झापा–इलाम होस् वा डोटी डडेलधुरा, कैयन् जिल्लाबाट भ्रष्ट, अयोग्य, प्रवञ्चकहरूले संसद्मा प्रतिनिधित्व गरेको ३२–३३ वर्ष भयो। बेरोजगारी, अभाव, युवाका समस्या झन् वृद्धि भएको छ। हजारौँ सपनाको हत्या भइरहेको छ।

ग्रिसमा एकजना दार्शनिक र उनकी पत्नीको झगडा अदालतसम्म पुग्यो। दुवैजनाले आफ्ना तर्क राखे। पतिले भने– “मेरो सधैँ अपमान मात्र गरिन् यिनले। तसर्थ म मेरो सबै जायजेथा यिनैलाई दिएर सम्बन्ध विच्छेद गर्न चाहन्छु।”

दार्शनिककी पत्नीले भनिन्– “मलाई यिनको सम्पत्ति चाहिएन। दया–माया पनि चाहिएन। झण्डै चालीस वर्ष यी बूढासँग बिताएँ। मेरा रहर, खुसी र जवानी यिनैलाई अर्पण गरे। ती हरेक पल मलाई फर्काइदिनू। अरू केही चाहिएन।” उनको कुरा सुनेर उनका पति, वकिल, न्यायाधीशलगायत सबै भावुक भए, स्तब्ध भए, भावशून्य भए।

आजका युवा यही प्रश्न गर्न थालेका छन्। २०४६ सालपछि बहुदलीय व्यवस्था आयो। निर्दलीय व्यवस्था पूर्णरूपले खराब छ भन्दै अठार वर्ष गाली गर्दै बित्यो। २०६३ सालसम्ममा बीसपल्ट सरकार फेरियो। कसैको दबाब वा त्रास थिएन। अंकुश थिएन। बाधा–अड्चन थिएन तर दलहरूबीचको घात÷प्रतिघात, गुटहरूको झगडा, अर्बौँ रुपियाँको राजस्वमा जुवा र लुट सबै देखे जनताले। राजसंस्था नै विकास र प्रजातन्त्रको बाधक रहेको तर्क गर्दै गणतन्त्र घोषणा गरियो। २०६३ जेठ ४ गते मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले “संघीयता, धर्म निरपेक्षता र गणतन्त्र” स्वीकार गर्ने निर्णय गर्नुभयो। संसदमा पाँच मिनेट छलफल नगरी गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रस्ताव पारित गर्दा राप्रपाका चारजनाबाहेक सबैले समर्थन गरे। हतारमा मध्यरातमा, रहस्यमय पात्रहरूको दबाबमा त्यो प्रस्ताव पारित गरेको केही मिनेटमै भारतबाट गणतन्त्र स्वीकार गरेकोमा बधाई र शुभकामना सन्देश आयो। इलामबासीले महावीरशमशेरको हात्ती देख्दा उदेक मानेजस्तै “गणतन्त्र, संघीयता र धर्म निरपेक्षता” सुनेर अधिकांश नेपाली चकित भए। उनीहरूका लागि गणतन्त्रात्मक प्रणाली “प्यान्डोराज बक्स” ठहरियो।

ग्रिक मिथकअनुसार प्यान्डोराको बाकस खोल्दै नखोल्नु, खोलेको खण्डमा ठूलो विपत् आउँछ भनिएको थियो। तर जे नगर्नु भनिन्छ त्यो गर्नैपर्ने हठले बाकस खोलियो। बाकसभित्र मानिसका परम सातवटा शत्रु क्रोध, अतृप्ति, इष्र्या, लोभ, आलस्य, अहंकार र प्रचुर कामवासना बसेका थिए। त्यहाँ अनेक जीवाणु कीटाणु थिए। जसले संसारलाई भयाक्रान्त बनायो। अभाव, दरिद्रता, शत्रुता र इष्र्या बढाउने यावत् विकारको भण्डार थियो त्यो। अहिले केही सीमित सुविधाभोगीबाहेक गणतन्त्र समर्थकहरू नै भनिरहेका छन्– नेपालमा गणतन्त्र प्यान्डोराज बक्स सावित भयो।

प्रकाशित: १८ कार्तिक २०७९ ००:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App