धेरै लेखकहरूले वाङ्मय–पुरुष सत्यमोहन जोशीका बारे श्रद्धापूर्वक आआफ्ना भावनाहरू व्यक्त गरे, गरिरहेका छन्। नेपाली समाजमा मृत्युपछि व्यक्तिका बारे फूलका थुँगाहरू अर्पण गर्ने परम्परा छ। तर शताब्दी वाङ्मय पुरुष जोशी यस्ता वर्गमा परेका अमर स्रष्टा हुन्, जसले जिउँदो छँदा पनि नेपाली समाजबाट धेरै नै हार्दिकता पाए। एक किसिमले सबै नेपाली जनको नजरमा ‘अजातशत्रु’ (जसका कुनै शत्रु नै छैनन्) भएर कर्मशील बने। उनको गुण र नेपाली समाजप्रतिको उनको गहिरो सद्भावको कमाइको प्रतिफल हो यो।
काठमाडौं खाल्डोमा जन्मिएर गण्डक प्रदेश, सुदूरपश्चिम र कर्णाली अञ्चलको संस्कृतिका बारे चासो राखी त्यहाँको दुर्गम बस्तीमा पुग्नु, भाषाको अनुसन्धान गर्नु सामान्य कुरा होइन। पर्दा पछाडिको उज्यालो बस्ती हो कर्णाली। तर संस्कृतिका पानाहरूमा उनले दियो जलाए, भाषाका अक्षरहरूमा जमरा उमारे। नेपाली मौलिक कला र साहित्यसँग राजधानी जोडे अनि कर्णाली, सेती र भेरीका बोलीहरू सहरमा प्रवेश गराए। बेलाबखत शताब्दी पुरुष भन्ने गर्नुहुन्थ्यो । कर्णाली र डोटेली प्रदेश नेपाली भाषा र सभ्यताको राजधानी हो। हुन पनि नेपालभरका जातजातिहरूका मूल थलो खोज्ने हो भने त्यही ठाउँ र सेरोफेरोमा भेटिन्छ। आआफ्ना पुर्खाहरू त्यहीं बसोबास गरेका कालान्तरमा बसाइसराइका कारण देशभर छरिएर रहेको कुरा अधिकांश नेपालीजनले अहिले पनि बताउँदै आएका छन्।
भाषा संस्कृति र नेपाली लोकसाहित्यमा गहिरो अनुसन्धान र अध्ययन गरेबापत ३ पटक मदन पुरस्कार प्राप्त गर्ने शताब्दी पुरुष सत्यमोहन पहिलो व्यक्तित्व हुनुहुन्थ्यो। उनले गण्डकी, धवलागिरि र लुम्बिनी अञ्चलमा गाइने लोकगीत संकलन गरी तयार पारिएको पुस्तक ‘हाम्रो लोक संस्कृति’ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ऐतिहासिक पुस्तकका लागि २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ सम्बन्धी कृतिका लागि २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेर सत्यको मार्ग प्रशस्त गरे। तीनपटक मदन पुरस्कार प्राप्त गर्ने उनी पहिलो व्यक्ति दर्जिए।
कर्णालीको जुम्ला र सिन्जालाई सम्झँदै शताब्दी पुरुषले भन्ने गर्थे– ओहो ! त्यहाँको देउडा गीत यति मार्मिक रहेछ कि पहिले बुझ्न कठिन, बुझेपछि छोड्न कठिन। कहिले रुवाउने, कहिले हँसाउने अनि कहिले नचाउने खालका गीतले मेरो मनलाई छोएको छ। तपाईंले गाएका गीतमा पनि यी विषयवस्तु प्रशस्त भेटेको छु। त्यसैले त्यस क्षेत्रका गीत संकलन गर्न र गाउन नछोड्नु होला, जीवन र जगत्लाई छुने विषय नै हो देउडा गीत भनेको त।
कर्णालीमा बस्दाखेरिको अनुभव सुनाउँदै भन्थे– समाज मैलो, खाना खाँदा माँखाहरू (झिँगाहरू) थालभरि, हातभरि हुन्थे। पन्छाएर भोजन गर्नुपथ्र्याे। तर सिंजा उपत्यका सारै सुन्दर थियो। भाषाविद् चूडामणि बन्धु, कर्मचारी विहारी कृष्ण श्रेष्ठ, प्रसिद्ध गायक प्रदीप रिमाल र भूगोल विद जङ्गबहादुर सिंह सँगै २ महिना १० दिन जति अनुसन्धानका क्रममा म त्यहाँ बसेको थिएँ। त्यही बसाइ र अनुसन्धानको परिणाम हो ‘कर्णाली लोक संस्कृति’ नामक पुस्तक, जसमा पाँच भाग छन्।
१९९६ साल वैशाख ३० गते ललितपुरमा जन्मेका जोशीले देशका संस्कृतिसम्बन्धी १० वटा पुस्तक लेखे। १० वटा जति नाटक, ५ वटा कथासंग्रह, लेख र नेपाली समाजलाई उपहार दिए। ९५ वर्षको उमेरसम्म पनि राजधानीका अधिकांश कार्यक्रममा प्रमुख अतिथि हुने गर्थे। हरेक विषयमा पोख्त उनी छोटा छोटा वाक्य प्रयोग गरी बोल्ने गर्थे। हातमा छाता समातेर दौरा सुरुवालमा सजिएर उनी लुरुलुरु हिँड्ने गर्थे। ९५ वर्ष कटेपछि भने उनको शरीर कमजोर भएको देखिन्थ्यो। स्वास्थ्यबारे जिज्ञासा राख्दा ‘थोरै खाइरहनु पर्छ, बेलुका अलिकति रक्सी पनि पिउँछु औषधीका रूपमा, अलिकति मासु पनि खाने गर्छु। मनमा कुनै चिन्ता लिनुहुँदैन, दिनहुँ हिँड्ने बानी बसाल्नु पर्छ र सकारात्मक सोच राख्नुपर्छ, यति भए स्वास्थ्य ठिक हुन्छ’ भन्ने गर्थे। त्रिचन्द्र कलेजमा बिएसम्मको अध्ययन गरेका उनी सो अध्ययनका कारण नेपाली संस्कृतिका महान् पण्डित भएर समाजमा ख्याति कमाए। संस्कृतिविद् उनलाई दिएको उपाधि हो। उनलाई सामान्य धरातलबाट शिखरसम्म पुर्याउनमा उनकै धर्मपत्नी राधादेवीको ठुलो त्याग रहेको पाइन्छ। कुनै पनि जातजातिको धर्म परम्परा र संस्कृतिबारे सहजै जानकारी गराउने विशिष्ट साधक भएकाले वाङ्मय शताब्दी उपाधि नेपाली जनले श्रद्धापूर्वक दिए। अब उनको अभिभावकत्व पूर्ति गर्न इतिहासविद् तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ हुन सक्छन् भन्ने विज्ञहरूले आशा राखेका छन्।
सानोमा उहाँका बारे विद्यालयमा अध्ययन गरे तापनि बझाङबाट काठमाडौंमा अध्ययनको सिलसिलामा २०३४ सालमा आएपछि २०४० सालमा शताब्दी पुरुषसँग भेट गर्ने मौका पाएँ । तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा घिउ रङको दौरा सुरुवाल, खैरो रङको कोट र घिउ रङकै टोपीमा सजिएको देखें। आफ्नो संक्षिप्त परिचय पनि दिए। सुदूरपश्चिम घर भन्नेबित्तिकै लौ भेट गर्न आउनुहोला मेरो घरमा भन्नुभयो। २०५२ सालमा उहाँकै प्रमुख आतिथ्यमा आयोजित एउटा कार्यक्रममा देउडा गीत ‘गलबन्दीमा रातो धागो’ बोलको गीत सुनाएँ । आँखा झिमिक्क नगरी मलाई हेरिरहनुभयो। ध्यानपूर्वक गीत सुन्नुभयो। यसरी गीत सुनेपछि डोटेली, बझाङी र कर्णालीका भाकाहरू गाई नै रहनुहोला भनी आशीर्वाद दिनुहुने शताब्दी पुरुष मेरा लागि दोस्रो व्यक्ति हुन्। यसभन्दा अघि २०३५ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई काठमाडौंको मित्रपार्कमा गीत सुनाउँदा पनि डोटेली गीत गाउने आर्शीवाद दिएका थिए। यसैगरी साहित्यका अर्का विशिष्ट साधक मदनमणि दीक्षितले पनि २०५५ सालमा कैलालीको धनगढीको एउटा कार्यक्रममा देउडा गीत सुनाउँदा खुसी हुँदै देउडा गीत नछोड्नुहोला भनी आशीर्वचन दिनुभएको पनि हिजोजस्तै लाग्छ। यी तीनजना विशिष्ट साधकको आर्शीवाद लागु भई नै राखेको छ भन्ने मैले अनुभूत गर्दैआएको छु। राष्ट्रकवि माधवप्रसाद घिमिरे, वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द, जनकवि केशरी धर्मराज थापा, वरिष्ठ प्रा.डा. वासुदेव त्रिपाठीलगायतका व्यक्तित्वले पनि मैले गाएको गीत सुनेर शुभकामना दिनुभएको भुलेको छैन।
अब राष्ट्रगान छनौट समितिमा सँगै रहेर काम गरेको छोटो चर्चा गरौं। २०६२/०६३ को जनआन्दोलन सफल भएपछि देशमा नयाँ शासनशैली लागु हुने भयो। राजाको स्थानमा राष्ट्र प्रमुखमा राष्ट्रपति रहने भए। नयाँ शासनशैलीको राष्ट्रगान तयार गरिनुपर्ने भन्ने नेपाल सरकारको नीति रह्यो। त्यसबेला प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो। तत्कालीन सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको संयोजकत्वमा १४ सदस्यीय राष्ट्र गान छनोट कमिटी गठन गर्यो। सदस्यहरूमा मोदनाथ प्रश्रित वैरागी काइँला, दुर्गालाल श्रेष्ठ, अमर गुरुङ, अमर गिरी, नन्दकृष्ण जोशी, रामेश श्रेष्ठ, बुँद राना, श्रवण मुकारुङ, आहुती, डा. बेन्जु शर्मा, गोपाल ठाकुर र सदस्य सचिवमा जलकृष्ण श्रेष्ठले सँगै रहेर काम गर्ने अवसर पाएका थियौं। गठन भएलगत्तै भाद्र महिनाको दोस्रो हप्तादेखि काम गर्न सुरु गर्यौं। देशभर र विदेशबाट समेत हरेक नेपाली स्रष्टाहरूबाट रचनाहरू प्राप्तिका लागि विज्ञापन, सूचना प्रवाह गर्यौं। जम्मा १२७२ वटा रचना प्राप्त भए। यसका अलावा तत्कालीन देशका ५ वटै क्षेत्रीय सदरमुकाममा पनि पुगेर विज्ञहरूबाट राय सुझाव संकलन गरी संयोजकलाई बुझायौं। नेपाल प्रज्ञा प्रतिष्ठानको एक कोठामा रहेको कार्यालयमा दिनहुँ उपस्थित भएर सुझावका आधारमा मन वचन र कर्मले प्राप्त रचना छानविन गर्यौं।
संयोजक जोशी नियमित रूपमा उपस्थित भएर आवश्यक सल्लाह सुझाव हामीलाई दिइरहन्थे। शङ्कास्पद लागेका विवादास्पद रचनाहरू आएका रहेछन् भने आफै अध्ययन गरी निक्र्यौल गर्थे। हामीले जाँच गरेका रचना शङ्का लागि बीचबीचमा आफैले पनि पढ्ने गर्थे। निष्पक्ष ढंगले जाँच्नुुहोस्, अन्याय नहोस्, राष्ट्रभावका ५ विषयमा केन्द्रित रही रचनामाथि न्याय गर्नुहोला भनी निकै चनाखो भएर काम गर्ने तरिका उनमा अनौठो थियो। कहिल्यै नथाक्ने, आँखा झिमिक्क नगरी तोकिएको समयमा काम सम्पन्न गर्नुपर्छ भन्ने सन्देश बारम्बार दिइरहन्थे। छनौट गर्दै जादा अन्तिम १० रचना माथि उनले शब्दशब्द केलाएर आफैले निक्र्यौल गरेको कुरा बिर्सन नसकिने खालको छ। ५ वटा रचनामा पुग्दा छनौट गर्न कठिन भयो। ५० शब्द नबढाई, नेपाली संस्कृति, मौलिकपन, जनआन्दोलनको उद्देश्य, हरेक जातजातिको पहिचान शब्दमा उतारेको हुनुपर्ने। विषयवस्तुमाथि केन्द्रित रही संस्कृतिविद् जोशीले ५ वटा रचनामाथि निकै मनन गरे। प्राप्त रचनामाथि यति न्याय गर्नुभयो कि सत्यको तराजु बोकेर रचनामाथि गहिरो विश्लेषण गरेको कुरा सम्झन लायक छ। ब्याकुल माइलाको रचना ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ यसको परिणाम हो। उत्कृष्ट १० रचना पुस्तकका रूपमा उतार्नुपर्छ भन्ने हामी सबैको आशय थियो, कारणबस सो कार्य सफल भएन। २०६३ साल मंसिर ५ गते मंगलबार नयाँ राष्ट्रगान सार्वजनिक भयो। संयोग नै मान्नुपर्छ कि १० वर्षसम्म सशस्त्र जनयुद्ध गरेको नेकपा माओवादी पार्टी र सरकारबीच त्यही दिन राजधानीमा अवस्थित बानेश्वरको हालको प्रतिनिधि सभा भवनमा राति सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच १२ बुँदे शान्ति सम्झौतामा संयुक्त हस्ताक्षर भएर टुंगियो।
अलिकति चर्चा प्रत्येक साल सरकारबाट प्रदान गरिने मानपदवी सम्बन्धी पनि गरौं। २०७४ सालमा विशिष्ट साधक शताब्दी पुरुष जोशीलाई नेपाल सरकारले सुकीर्तिमय राष्ट्रद्विप पदकद्वारा अलङ्कृत गर्यो। त्यसबेला कवि तथा गीतकार दिनेश अधिकारी, जनगायक जेबी टुहुरे, लोकगायक बमबहादुर कार्की, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लगायत यो पंक्तिकारले पनि सुप्रबल जनसेवा श्री मानपदवीद्वारा विभूषित हुने अवसर पाएको थियो। सो सुशोभन समारोह राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भएको थियो। शताब्दी पुरुषलाई सबैले बधाई दियौं। ‘कर्णाली र डोटी क्षेत्रको लोक संस्कृति र देउडा गीत’को सम्मान हो यो। यो अलंकार पाउनु सामान्य विषय होइन। लागिपर्नु होला’ भनी मलाई आशीर्वाद दिनुभएको झलझली सम्झिरहन्छु।
पाटनस्थित उहाँको निवासमा भेट गर्न भनी दुईपटक पुगेको छु। ४ वर्षअघि शत वार्षिकीमा बधाई दिन जाँदा खादा, माला, सिन्दुरले दुवै बुढाबुढी धपक्कै देखिन्थे। पाउमा परी श्रद्धापूर्वक ढोगें। नेपाल टेलिभिजनको कार्यक्रम चौतारीमा आई केही बोलिदिनुपर्यो भनी मौखिक निवेदन गरें। प्रत्युत्तरमा ‘तपार्इंको कार्यक्रम यदाकदा हेर्ने गरेको छु। गायिका कोइली देवी, धर्मराज थापा, दुर्गालाल श्रेष्ठ, रत्न शम्शेर थापासँग गरेको वार्तालाप मलाई मन परेको छ। अलि तातो लागोस् म आउने छु’ भनेका थिए तर सपना अधुरो रह्यो।
असोज महिना, दसंै पर्व बिदाई गरेको बेला असोज ३१ गते रविबारका बिहान ७ः०९ बजे उहाँ धरतीबाट सिधै सूर्यलोकमा गए। ललितपुर महानगरपालिकाको प्राङ्गणमा फूलैफूलले सजाइएको थियो उनको पार्थिक शरीरलाई। नगरप्रमुख चिरिबाबु महर्जन र ब्याकुल माइलालगायत हजारौंले अन्तिम श्रद्धाञ्जली दिइरहेका थिए। एक थुँगा फूल मैले र मेरी पत्नी प्राथना खनालले पनि भावुक हुँदै चढायौं। १०३ वर्ष ५ महिनाको उमेरमा पनि उनको मुहारमा कान्ति छाएको थियो। बोल्छन् जस्तै लाग्थ्यो तर हंस उडिसकेकाले वाङ्मय शताब्दी पुरुष बोल्न सकेनन्। आफ्नो शरीर विद्यार्थीहरूका लागि अनुसन्धान हुन्छ भनेर उनले अस्पताललाई दान गरे। अलबिदा जोशीज्यू !
प्रकाशित: १२ कार्तिक २०७९ ००:४२ शनिबार