१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

जिन्दगीको अमूल्य सम्झौता विवाह

विवाह एक सम्झौता हो, जिम्मेवारी हो अथवा नगरी नहुने एउटा संस्कार हो। प्रत्येक व्यक्तिको आआफ्नै सोच अनि तर्क छ। यसैले होला ‘भनिन्छ विवाह जसले गर्छ, ऊ पनि पछुताउँछ। जसले गर्दैन, ऊ पनि पछुताउँछ।’ विवाहसँग सन्बन्धित यो भनाइजस्तै जुनसुकै हालतमा पछुताउन पर्ने हो वा हैन? अहिलेका पुस्ताको भनाइ सुन्दा उनीहरूको हिसाबमा विवाह एक जिम्मेवारी अनि सम्झौता दुवै हो।  

सफल वा असफल जे पनि हुन सक्छ। असफलता र सफलता जिन्दगीको नियम नै हो तर विवाहलाई सफल बनाउने प्रयास भने गर्नुपर्छ तर आजभोलि प्रयास गर्नेहरूकै संख्या निकै कम छ। विवाह सम्बन्धी विचारधारामा निकै परिवर्तन आएको छ। कतिपय अभिभावकहरूले छोरीलाई विवाह गर्न केटो राम्रो भए पुग्छ भन्ने अवधारणा राख्छन् भने कतिपयले खानदान, जातपात, राम्रो परिवारको हुनुपर्ने तर्क अगाडि सार्छन्। वास्तवमा भन्ने हो भने छोरी विवाह गरेर दिनलाई केटा मात्र हेरेर पुग्दैन, परिवारका सदस्य अनि परिवार कस्ता छन्, पारिवारिक वातावरण कस्तो छ भन्ने कुरा पनि हेर्नु जरुरी हुन्छ। विवाह जिन्दगीभरको कमिटमेन्ट हो, ख्यालठट्टा होइन। केटाको खानदान घर परिवार हेर्नु जति जरुरी हुन्छ, केटी कस्तो परिवारबाट आउदै छन् भनेर हेर्नु पनि उति नै जरुरी हुन्छ। कतिपय विवाह केटी पक्षको धेरै हस्तक्षेपका कारणले पनि टुट्न सक्छ। यस्ता उदाहरण हामीसँग थुप्रै छन्। एक समय यस्तो पनि थियो, जुन बेला छोरी अन्माउँदा ‘पाले पुण्य मारे पाप’ भनी अन्माउँथे। अहिले समयले निकै फड्को मारिसकेको छ। अहिले प्रेम विवाह गर्नेको संख्या ह्वातै बढेको छ। मागी विवाह गर्नेको संख्या न्यून छ। प्रेम विवाहमा जातपात, खानदान, रीतिरिवाज त्यति हेरिँदैन भने मागी विवाहमा अझै पनि यस्ता कुरालाई मान्यता दिइन्छ। विवाह जुनसुकै भए पनि माया र अनुशासनविनाको विवाह सफल हुँदैन। एक अर्काबीच माया अनि अनुशासित पारिवारिक सम्बन्ध हुनै पर्छ।

आजभोलिको विवाहमा टिकाउपन निकै कम हुँदै गइरहेको छ। विवाह नटिक्नुको धेरै कारणहरूमध्ये एउटा प्रमुख कारण आर्थिक पनि हो। आजभोलि महिला पुरुष दुवैजना कमाउने हुन्छन्। जसले गर्दा आर्थिक रूपमा परनिर्भर हुनुपरेन र परनिर्भर नभएपछि जो कोही पनि स्वतन्त्र हुन्छन्। पहिलेको जमानामा केटीहरू घरपरिवारको दबाबमा भएको जागिर छोड्ने अनि परिवारको सर्तअनुसार लुगा लगाउनेदेखि लिएर खानपिन उठबस सबै परिवारकै मर्जीमा गर्थे। श्रीमान्ले श्रीमतीका लागि कुनै किसिमको सहयोग गर्दैनथे। विवाहपछिको जीवन पूरा परिवारलाई समर्पण गर्थे। कुनै पनि अवस्थाको विरोध गर्दैनथे र जसोतसो विवाहलाई सफल बनाउँथे। विवाह असफल हुनुको एउटा अर्को कारण आजभोलि अत्यधिक रुचाइएको सामाजिक सञ्जाल हो। हामी सामाजिक प्राणी हौं। समाजको नियमअनुसार चल्नुपर्छ। यो युग भर्चुवल युग हो। सामाजिक सञ्जाल प्रयोग नगर्ने महिला तथा पुरुषको संख्या निकै कम छन्। सम्बन्ध विस्थापित र स्थापित गर्नुमा सामाजिक सञ्जालको ठूलो भूमिका हुन्छ। जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भनेझैं वैवाहिक जीवनको मोड फेरिनुमा यो सञ्जालको ठुलो भूमिका रहेको छ। कतिपय विवाहित महिलाहरूले आफ्नो दुःख पोख्ने साथी भेटेका हुँदैनन् भने कतिपय पुरुषहरूले पनि कुरा मिल्ने साथी पाएका हँुदैनन्। दुवैले आफ्नो अवचेतन मनको ईच्छा पूर्ति गर्न सामाजिक सञ्जालको प्रयोग गर्छन् र आफ्नो सीमा बिर्सन्छन्। त्यतिन्जेल घरबार दाउमा लागिसकेको हुन्छ। जसले आफ्नो जीवन थाँती राखेर घरपरिवार लाऊँ सम्हालेकी थिइन्। उनको सानो गल्तीलाई पनि परिवारले माफी नदिँदा विवाह टुट्न जान्छ।

सम्बन्ध विच्छेद हुनु निकै दुःखद् कुरा हो तर सम्बन्धमा सम्झौता गरेर बस्नु अझ दुःखद् कुरा हो। नमिल्ने सम्बन्धको बोझ बोक्नुभन्दा बिसाउनु राम्रो हुन्छ। एकजना गृहिणी भन्छिन्, ‘मैले मेरो विवाहपछिको जीवन साह्रै गाह्रो गरी बिताएँ। श्रीमान्को दबाब, गाली, हेला यस्तै यो सबै हेरेर हुर्केकी मेरी छोरी विवाह गर्न मान्दिनन्। मेरो बुबाजस्तो स्वभाव भएको व्यक्तिसँग म जीवन बिताउन सक्दिनँ भन्छिन्।’

विवाहको अर्को महŒवपूर्ण अनि प्रमुख पाटो हो– शारीरिक सम्बन्ध। शारीरिक रूपमा नजिक हुन माया चाहिन्छ अनि मानसिक रूपमा तयार हुनुपर्छ। मानसिक रूपमा तयार नभएको सम्बन्ध निकै कम टिक्छ र पछि गएर यसले पीडाबाहेक केही दिँदैनन्।  

विवाहको मूल्यमान्यता पनि नयाँ र पुराना पुस्तामा निकै फरक आएको छ। नयाँ पुस्ता विवाहमा पनि स्वतन्त्रता खोज्छन्। किचनदेखि लिएर बेड रुमसम्म पनि दुवैको मर्जी चाहिन्छ र विवाहित हुनु भनेको कमाराकमारी हुनु होइन भन्छन्। अन्तमा विवाह एक प्राकृतिक प्रक्रिया हो, गर्नुपर्छ तर सही समय र सही व्यक्तिसँग गर्नुपर्छ। यदि सही व्यक्ति तपाईंको जीवनसाथीका रूपमा परेन भने जीवन नर्क बन्न सक्छ। त्यसैले सही समय, सही व्यक्ति अनि मन मिल्नेसँग विवाह गर्दा राम्रो हुन्छ। विवाहपश्चात् छुट्टिनु अझ बच्चाबच्ची भएपछि छुट्टिनु साह्रै दुःखद् हुन्छ।  

प्रकाशित: २९ आश्विन २०७९ ००:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App