६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

पशुबिनाको दिगो कृषि असम्भव

कृषि कार्यबाट धन आर्जन प्राचीनकालदेखि गरिँदै आएको छ। प्राचीन सभ्यता स्वावलम्बी कृषिमा निर्भर रह्यो। स्वावलम्बी किसानले वाहिरको खाद्यान्न किन्दैन। त्यो आफैँ उत्पादन गर्छ। स्वावलम्बनको अर्थ पर्याप्त उत्पादन गर्नु, पैसा कमाउनु तथा विपत्तिमा बचाएर राख्नु हो। किसानले परम्परागत ज्ञान परिमार्जन गर्दै माटोमा सुन बनाउने कार्य गर्दै आइरहेका हुन्। आज पाश्चात्य प्रभावस्वरूप हरित क्रान्तिको चकाचौधले कृषिको यान्त्रिकीकरण गरिरहेका छन्। रासायनिक मल तथा कीटनाशकको तत्कालिक लाभलाई देखेर हाम्रा किसान स्वावलम्बनबाट टाढिँदै छन्।

यही कारण खेतीमा रासायनिक मल, ऊर्वर बिउ तथा कीटनाशक औषधि अत्यधिक प्रयोग हुन थाल्यो। किसानले धेरै उत्पादन लिने लोभमा आवश्यकता भन्दा बढी मल÷औषधि हाल्न थाले। जसले उत्पादन बढाए पनि लागत पनि बढ्यो। यसबाट कृषि उत्पादनको आम्दानी मात्र घटेन, पर्यावरणमा पनि असर पर्दै गयो। चार दशकदेखि कृषि रसायन, मलखाद, कीटनाशक, झारपात नाशक तथा पानीको अविवेकी उपयोगले माटोको ऊर्वरता ध्वस्त हुँदै छ। यसले उत्पादनमा क्रमिक ह्रास निम्त्यायो।

रासायनिक मल तथा कीटनाशकको प्रयोगले कृषियोग्य भूमिमा निम्न परिणाम देख्न सकिन्छ– (१)भूमि सतह साह्रो हुनु, (२) उपयोगी जीवाणुहरूको संख्या निरन्तर घट्दै जानु, (३) भूमिको जल धारण क्षमता कमी हुनु, (४) माटोमा क्षारीयता, लवणता तथा जलागममा वृद्धि हुनु, (५) भूमिमा जीवाश्मको मात्रा कम हुनु, (६) बोटबिरुवामा कीराको प्रकोप, रोगव्याधि तथा झारपातको प्रकोप वृद्धि हुनु र (७) भूमिको उत्पादकतामा निरन्तर कमी हुनु।

विश्व जनसंख्या ६ बाट सन् २०५० सम्ममा ९ अर्ब पुग्ने अनुमान छ। तर हाम्रो कृषिजन्य उत्पादन बढ्नुको साटो स्थिरहुँदैछ। यिनै कुरालाई मनन् गर्दै कृषिविज्ञले दिगो खेती गर्नतिर जोड दिन थालेका छन्। दिगो खेती प्रणालीको तात्पर्य बालीनाली तथा पशुपालन उत्पादन एकीकृत संरचनाबाट गर्नु हो। यसले लामो समयसम्म निम्न कुरालाई पूर्ण गर्न सकोस् ः

(१) मानिसको भोजनको सहज आपूर्ति हुन सकोस्, (२) वातावरणको गुणस्तर तथा प्राकृतिक सम्पदाको संरक्षण हुन सकोस्, (३) ती सवै स्रोतहरूको प्रभावी ढंगले उपयोग होस् जसको पुनर्उत्पादन हुन सक्तैन र (४) भूमिको आर्थिक उपयोगिता कायम रहिरहोस्, (५) किसान तथा समाजको जीवनस्तर वृद्धि हुन सकोस्। यसप्रकारले दिगो खेती प्रणालीमा ती सबै कुरा समाहित छन्। जसले वातावरणमा सुधार होस्, आर्थिक लाभ होस् र समाजमा समानता आओस्। पशुपालनको दिगो खेतीमा बराबरीको हिस्सेदारी छ किनकि पशुको कृषिमा आर्थिक उपयोगिता छ। साथै यिनले चरन एवं बाली बिरुवाको अवशेषलाई मानिसका लागि भोजनयोग्य बनाउँछ। यिनले पोषक तत्वहरूको चक्र चलाउनमा मद्दत गर्छन् तथा माटोको ऊर्वरता जोगाएर राख्न मद्दत पु¥याउँछन्। दिगो कृषिको उत्तम उपाय हो जैविक खेती प्रणाली। यो भनेको खेतीमा रासायनिक मल, कीटनाशक आदिको प्रयोग नगरी तिनको विकल्पमा जैविक मल, जैविक कीटनाशक तथा जैविक वृद्धिकारक उपयोग गरी उत्पादन लिने कार्य हो।

जैविक मल बनाउन पशुबाट गोबर मलमूत्र इत्यादि प्राप्त हुनेछ। यसबाहेक कुखुराको खोरबाट निस्कने सोतरको मलले पनि जमिनको ऊर्वर शक्ति बढाउन धेरै मद्दत गर्छ। किनभने यो मलमा लगभग २० प्रतिशत प्रोटिन पाइन्छ। जसले गर्दा यस मलमा नाइट्रोजनको मात्रा अधिकतम लगभग ३ प्रतिशत तथा फोस्फोरस एवं पोटास क्रमशः २–२ प्रतिशत हुने गर्छ। त्यस्तै बंगुरको मलमा नाइट्रोजन फोस्फोरस एवं पोटास क्रमशः ०.७ ०.६ एवं ०.७ प्रतिशत पाइन्छ।  

यसबाहेक जैविक खेतीमा विभिन्न मल, जस्तै– गोबर तथा अन्न बालीका बोटबिरुवाको अवशेषको मिश्रणबाट बन्ने कम्पोस्ट मल, गोवर ग्यास संयन्त्रबाट निस्कने मल तथा बर्मी कम्पोस्ट आदि उपयोग हुन्छ। वर्मी कम्पोस्ट मलबाट जमिनलाई ८०० ग्राम नाइट्रोजन, ११०० ग्राम फस्फोरस तथा ५०० ग्राम पोटास प्र।प्त हुन्छ। यसबाहेक यसमा तत्व, जस्तो कि जस्ता ०.१६, ताँवा ०.०९ तथा फलाम १.३८ प्रतिशत हुन्छ। यिनमा केही हारमोन्स तथा एन्टिबायोटिक्स हुन्छ, जसले बालीनालीबाट राम्रो उत्पादनका साथै बोटबिरुवाको संरक्षण गर्छ।  

(पशुपालन तथा पशु स्वास्थ्य व्यवस्थापन विज्ञ)

प्रकाशित: २६ आश्विन २०७९ ००:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App