नयाँ शक्तिले मान्छेका दिमागमा सकारात्मक भूकम्प पैदा गरेको छ। राजनीतिक वृत्त र बौद्धिक जमात नयाँशक्तिबारे प्रत्यक्ष/परोक्ष कुनै न कुनैरूपमा बहसमा संलग्न भएका छन्। जुनसकै कोणबाट नयाँशक्तिबारे बहसमा उत्रनुलाई सकारात्मक मान्नुपर्छ। विरोध, टिप्पणी, प्रतिक्रिया र आलोचना पार्टी घोषणाको तयारीको यो चरणमा सकारात्मक हो। नयाँ शक्तिमा आवद्ध सबै अभियन्ताबारे आमजनताले खुलारूपमा प्रश्न उठाउन पाउनुपर्छ। यसले नयाँशक्तिको आन्तरिक पंक्ति र बाह्य समर्थनलाई थप बल पुर्यामउँछ। नयाँशक्तिबारे अहिले आलोचना र समर्थनको बजारमा जेजति प्रश्न उठिरहेका छन्, ती सबै विषयको निराकरण नयाँ शक्तिमा आवद्ध अभियन्ताले आफ्नो चरित्र र व्यवहारबाट पुष्टि गर्न सक्नुपर्छ। विगतको पृष्ठभूमिबाट आफुलाई रूपान्तरित गर्दै थप अग्रगामी दिशातर्फ उन्मुख विचार, व्यवहार, सदाचार र उत्तरदायी बन्न सकेको खण्डमा हामी नयाँ हुन सक्छौ। रूपान्तरित अभियन्ताहरूको नयाँ एकता, नयाँ विचार र नयाँ व्यवहारबाट नै नयाँ शक्ति पैदा हुन्छ। विषेशतः माओवादी पृष्ठभूमिबाट आएका नयाँ शक्तिका अभियन्ताको हकमा यो लागु हुन्छ। दम्भ, गणेश प्रवृत्ति, उच्च महŒवाकांक्षी र पूर्णकालीन बेरोजगार र जनहितविरोधी क्रियाकलापजस्ता विगतको रोगको संक्रमणबाट नयाँ शक्तिलाई सुरक्षित राख्न सक्नुपर्छ। अन्य पार्टीहरूबाट नयाँ शक्तिमा आउने अभियन्ताले पनि आलोचनाको निसाना पूर्वमाओवादीविरुद्ध केन्द्रित गर्नु हुँदैन। सबै पूर्वमाओवादीलाई एउटै तराजुमा राख्न मिल्दैन। विगतमा जुनसुकै पार्टीमा रहे पनि अहिले समान एजेन्डाका लागि समान सक्रियता र प्रतिवद्धताको आधारमा गम्भीर बहस तथा कामकाजी एकताको शक्ति निर्माण गर्नु जरुरी छ। त्यो शक्ति नै नेपालको वैकल्पिक राजनीतिका निम्ति दरिलो शक्ति हुनेछ। त्यो नयाँशक्तिले आर्थिक समृद्धिसहितको लोकतन्त्रको नयाँ मोडल निर्माण र संस्थागत गर्न सक्यो भने परिवर्तनकारी यो पुस्ताको जिम्मेवारीबाट मुक्त हँुदै आर्थिक समृद्धिसहितको नयाँ मुलुक नयाँ पुस्तालाई सुम्पने अवसर पनि यही पुस्तालाई हुनेछ।
उल्लिखित कार्यभार सम्हाल्न नयाँ शक्तिको आँखी‰यालबाट विषेशतः नेपाली कम्युनिस्ट आन्दोलनको पुनरवलोकन गर्दै अग्रगामी परिवर्तनको नयाँ बहस प्रारभ्भ गर्नु अनिवार्य छ। आगामी दिनहरू कुनै पनि वाद वा सिद्धान्तको सिरानी राखेर घोसेमुन्टो लगाउँदैमा जनताको वास्तविक जीवन परिवर्तन हुँदैन। नेपाली कम्युनिस्ट आन्दोलनले हासिल गरेका उपलब्धि र यसका नकारात्मक पक्षलाई लिएर गम्भीर बहस चलाउनु जरुरी छ। कम्युनिस्ट आन्दोलनलाई अपरिवर्तनीय संस्कार, संस्कृति, परम्परा र धर्मका रूपमा लिने वा यो परिवर्तनशील छ, जुन वस्तुको उत्पत्ति हुन्छ त्यो नष्ट र अन्त्य पनि हुन्छ भन्ने भौतिक विज्ञानको नियमलाई आत्मासात गर्नुलाई मार्क्सवाद मान्ने हो वा एकपटक ग्रहण गरेको विषय निरपेक्ष हुन्छ परिवर्तन हुँदैन– सधैँ त्यसैको पछि लाग्ने मार्क्सवाद हो? सबै वस्तु परिवर्तनशील छ, सृजना र नष्ट अनिवार्य छ यो मार्क्सवादको निष्कर्ष हो।
कम्युनिस्ट आन्दोलन मार्क्सवादभित्रका राज्यसत्ता प्राप्त गर्ने एउटा वैचारिक र राजनीतिक अभियानमात्र हो। समग्र मार्क्सवाद हैन। मार्क्सवादको पहिलो पुस्तक ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद नै अहिलेसम्मको वस्तुको परिभाषा हैन, परिवर्तन र रूपान्तरणको मुख्य हतियार साबित भएको छ। कम्युनिस्ट आन्दोलन जनताको पक्षमा राज्यलाई परिवर्तन गर्ने एउटा संगठित शक्ति र विधि हो। यो आन्दोलनबाटै हामी समाजवाद र साम्यवादमा पुग्छौँ भन्ने एउटा मान्यता पनि हो। यस्ता मान्यता भौतिक जगतमा, व्यवहारमा र प्रयोगमा तल–माथि हुन सक्छ। परिणाम र सार्थकता प्राप्त नहुन पनि सक्छ। तर, रणनीतिक उद्देश्य प्राप्तिका लागि नेतृत्वको भूमिका, संगठनको भूमिका र कार्यकर्ताको भूमिका परिवर्तन र फेरबदल पनि हुन सक्छ भन्ने मान्यता राख्नु मार्क्सवाद हो। तर, हिजो जे गरेका थियौँ त्यही हुनुपर्छ भन्ने मान्यता मार्क्सवाद हैन, त्यो संकीर्णता र जडतामात्र हो। विश्व कम्युनिस्ट आन्दोलनको कडीसँग जोडिएको नेपाली कम्युनिस्ट आन्दोलनअगाडि यो निकै पेचिलो प्रश्न खडा भएको छ, यिनै जडता र संकीर्णताका कारण विश्वमा समाजवादी आन्दोलनहरू युद्धपछिका दिनमा कमजोर र विघटन हुन पुगे।
नेपाली कम्युनिस्ट आन्दोलनलगायत अन्य कुनै अमुक आन्दोलन गर्नु गल्ती भयो वा कम्युनिस्ट हुनु नै गल्ती भयो भनी पश्चात्ताप गरेर, जनयुद्धको उद्देश्य नै गलत थियो भन्ने कोणबाट आत्मग्लानि गरेर नयाँ शक्ति निर्माण गर्न खोजेको बिलकुल होइन। हिजोको निरंकुशताविरुद्धको संघर्ष र युद्ध ठीक थियो। आजको परिवेश र गणतन्त्रपछि मुलुकलाई आर्थिक समृद्धिमा लाने एजेन्डाको लागि हाम्रो भूमिका परिवर्तन भएको छ। विगतका परिवर्तनकारी आन्दोलनको महŒवलाई सम्मान गर्दै परिवर्तित परिवेशमा नयाँशक्तिको अनिवार्यतातर्फ जोड दिनुलाई मार्क्सवाद छाडेको भन्न मिल्दैन। नयाँशक्ति मार्क्सवादको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको दार्शनिक र वैचारिक घेराबाट बाहिर जान सक्तैन। मार्क्सवादको आधारभूत मान्यताभित्रकै आर्थिक समृद्धिको वैज्ञानिक अभियानको रूपमा यसलाई ग्रहण गर्नुपर्छ।
प्रत्येक वस्तु परिवर्तनशील छ भन्ने मान्यतालाई शताब्दियौँको अभ्यासले जवाफ दिइरहेको छ। स्थापित गणतन्त्रलाई संस्थागत गर्ने शासन प्रणालीको मोडल, नयाँ संविधानमा रहेको अपूर्णता, राजनीतिक पार्टीहरूले आफूलाई रूपान्तरणसहित वैकल्पिक शक्तिको खोजीबारे ताजा बहसको अपेक्षा नयाँशक्तिले गरेको छ। नयाँ शक्तिको बहस कुनै एक अमुक पार्टीको लक्ष र उद्देश्य होइन। समकालीन नेपालका राजनीतिक पार्टीभित्र र आमजनता तथा नेपालको हितमा चासो राख्ने विश्वसमुदायमाझ आर्थिक समृद्धिको यात्रामा कसरी अगाडि बढ्ने भन्ने धारमा वैकल्पिक राजनीतिक शक्तिको निर्माण मुख्य एजेन्डा बन्न गएको छ।
नयाँ शक्ति वैकल्पिक राजनीतिक यात्राको एउटा बहस र अभियान हो। विश्वकम्युनिस्ट आन्दोलनले पहिलो र दोस्रो विश्वयुद्धसँगै हासिल गरेका राजकीय सत्ताहरू ९० को दशकमा एकपछि अर्को गर्दै ढल्न पुगे। कम्युनिस्ट आन्दोलनमा विद्यमान त्रुटि र यसले हार खेप्नुपरेका कारण सोभियत संघको विघटनपछि कम्युनिस्टहरूले गहन अध्ययन गरी कहाँनिर त्रुटि रह्यो भनी गम्भीर बहस चलाउन जरुरी थियो। तर, यसको पहिचान र त्रुटिबारे अन्तराष्ट्रियस्तरमा ठोस विश्लेषण हुन सकेन। पतनउन्मुख विश्वपुँजीवादीहरूले कम्युनिस्ट सत्ता ढलेकोमा जयजयकार गर्न पुगे। तर, स्वयं कम्युनिस्ट भने आफ्ना त्रुटिबारे विश्लेषण गर्नतिर लागेनन्। सोभियत संघ विघटनपछि विश्वमा समाजवादी आन्दोलनहरू मनोवैज्ञानिकरूपमा झनै कमजोर हुँदै गए। पुँजावादीहरूले त्यसको आधारभूत सैद्धान्द्धिक मान्यतामा विद्यमान भ्रष्टीकरणकै आडमा विश्व साम्रज्यवादी नीति अख्तियार गरे। २०औँ शताब्दीसम्म यी दुवै अवधारणाले रक्षात्मक चरण बेहोर्दै आएको छ। २१औँ शताब्दीको प्रारम्भदेखिी यी दुवै अवधारणा र मान्यतालाई विश्वको भावी यात्रालाई अगाडि बढाउन हम्मे परेको छ। बाहिरबाट हेर्दा शक्तिशाली देखिए पनि आन्तरिकरूपमा उदार पुँजीवाद केन्द्रीकृत सैनिकीकरण र समाजवाद एकाधिकारवादी स्वार्थमा विलिन हुन पुगको छ। विश्वमा अभ्यास भएका पुँजीवाद र समाजवादको आधारभूत चरित्र, ढाँचा र मान्यतालेे अबको विश्वलाई थेग्ने स्थिति छैन। समाज विकासको लामो चरण पार गर्दै आएको समाजवादी र पुँजीवादी अभ्यासमा विद्यमान त्रुटि र संकटबारे वैकल्पिक राजनीतिक शक्ति निर्माणको पक्षमा गम्भीर बहस जरुरी छ। यी दुवै अवधारणा प्रयोगमा देखापरेको समस्याबाट वर्तमान २१औँ शताब्दीमा विश्वजगतलाई नयाँ अवधारणाका साथ विकास गर्नु अनिवार्य भएको छ। उदार पुँजीवाद र समाजवादमा कित्ताबन्दी भएको विश्वराजनिति, आर्थिक सम्बन्ध र शक्तिमा फेरबदल तथा धु्रवीकरण जरुरी छ। नयाँशक्ति नेपालले चलाउन खोजेको बहस यिनै मान्यतामा केन्द्रित छ।
हामी हिजो जुन पार्टीमा बसेर जे भूमिका निर्वाह गर्यौँ त्यो गौरवको विषय हो। सबै नेपालीको रगत र पसिनाबाट सृजित ७० वर्षसम्मको लामो आन्दोलन, संघर्ष र युद्ध लड्याँै। अब सधैँ त्यो इतिहासको गाथा गाएर देश समृद्ध हुँदैन। हामी नेपालीको निधारमा टाँसिएको गरिबीविरुद्ध लड्न तयार हुनुपर्छ। त्यो लड्ने यात्राका निम्ति चाहिने विचार, संगठन र राजनीतिबारे गम्भीर बहस चल्नु अनिवार्य छ। नयाँ शक्ति नेपाल कुनै अमुक पार्टीको मात्र विकल्प हैन। विचारको हकमा पुँजीवाद र समाजवादले अभ्यास गरेका त्रुटिलाई सच्याउने वैकल्पिक विचार यसले लिएको छ। आमजनसहभागिताको धरातलमा उभिएको लोकतन्त्र, जनताको प्रत्यक्ष मतबाट निर्वाचित राष्ट्रिय नेतृत्व र समावेशी–समानुपातिक प्रतिनिधित्व, सुशासन, सदाचार र धर्मनिरपेक्षतामा आधारित नेपाली समाज यसको चाहना हो। रूपान्तरणसहितको देशभक्तिपूर्ण एकताको जगमा उभिएको नयाँ मोडलको लोकतन्त्र स्थापनाका लागि नयाँ राजनीतिक शक्तिले मात्र आर्थिक समृद्धि गर्न सक्छ भन्ने मान्यता नयाँ शक्ति नेपालको रहेको छ। पार्टी घोषणा हुने दुई महिनाको अवधिमा (आगामी जेठ मसान्तसम्म )व्यापक छलफल गरौँ। नयाँ शक्ति नेपालको वैचारिक, राजनीतिक र सांगठनिक विषयमा विगतका तीतो अनुभवलाई सच्याउँदै आर्थिक समृद्धिसहितको नयाँ नेपाल निर्माणको अभियानमा एकजुट हुन अब विलम्ब गर्नु हुँदैन।
सदस्य, केन्द्रीय सचिवालय– नयाँ शक्ति, नेपाल
प्रकाशित: ६ वैशाख २०७३ २१:४८ सोमबार