१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

सिन्डिकेट कि दल?

आज नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनका क्रममा देशभर जिल्ला अधिवेशन भइरहेका छन्। बितेको साता नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनहरू भए। यी भेलालाई अधिवेशनको नाम दिइए पनि यथार्थमा सम्बन्धित तहको निर्वाचनबाहेक अरू केही भएन। र निर्वाचन पनि नितान्त व्यक्तिको अनुहारका आधारमा भयो। तनहुँको संसदीय निर्वाचन क्षेत्र १ को क्षेत्रीय अधिवेशन पनि फरक थिएन। निर्वाचन परिणाम पनि देशभरकै जस्तो भयो। अपेक्षित तर अव्याख्येय!

प्रतिनिधिहरूको उत्साह भने लोभलाग्दै थियो। राजनीतिमा संलग्न रहँदाका पुराना साथी पनि भेटिने लोभले केही घन्टा अधिवेशन स्थलमा पुगेको थिएँ। धेरै साथी भेटिए पनि। कतिलाई मैले चिनेर बोलाएँ। कतिले मलाई चिनेर बोलाए। केहीले फर्कीफर्की हेरेर राम्रैसँग खुट्याएपछि बोलाए। जनमत संग्रहताका २०३६ सालमा बहुदलका पक्षमा संगठन गर्दा मुस्किलले समिति बनाएका गाउँमा समेत अहिले चिनेका प्रतिनिधि एकाध जनामात्र बाँकी रहेछन्। अहिले आएका कतिपय प्रतिनिधि पुराना साथीकै छोराछोरी रहेछन्। छिम्केश्वरी गाउँ विकास समितिमा त बाबुछोरा दुवै जना प्रतिनिधि भएर आएका रहेछन्।

कांग्रेसमा केही त आकर्षण छ। नत्र यसरी एउटै परिवारका दोस्रो तेस्रो पुस्ताका सदस्यहरू पार्टीमा सक्रिय भइरहने थिएनन्। नेपाली कांग्रेसका नेताहरूले यस अवसरलाई व्यक्तिगत लाभहानि र चालबाजीभन्दा माथि उठेर पार्टीको संगठन विस्तारमा प्रयोग गरेको भए संख्यासँगै गुणस्तर पनि बढ्ने थियो। प्रतिनिधि चुनिएका एक जना साथीले भने पनि— कांग्रेसको संगठन विस्तारको ठूलो मौका हुन्थ्यो यो महाधिवेशन तयारी। पार्टीमा ३ दशकभन्दा बढी संलग्न भइसकेका यी मित्रलाई अझै भ्रम छ उनको पार्टीका नेता सिद्धान्तप्रति निष्ठावान् छन् भन्ने। भुइँचालो र नाकाबन्दीले जीवन त यिनको पनि कष्टकर भएकै होला तर अचम्मको उत्साह देखिन्थ्यो उनीहरूमा। लोकतन्त्रका नाममा समर्पित यस्ता कार्यकर्ताको पाप त लाग्छ कांग्रेसका अहिलेका नेतालाई!

नीतिविहीन नेतृत्व चयन
कांग्रेस महाधिवेशनपछि राष्ट्रिय राजनीतिले कोल्टो फेर्ने लगभग निश्चित छ। कांग्रेसको नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि क्षेत्रीय अधिवेशनबाट चुनिएका छन्। यस अर्थमा गएको माघ २२, २०७२ ले नेपालको राजनीतिलाई निर्देश गरिसकेको छ। कांग्रेसका नेतृत्व चयन नीतिका आधारमा हुनेगर्दैन। व्यक्तिको छनोटमा सीमित हुँदै आएको महाधिवेशन यसपटक पनि फरक हुने लक्षण भने छैन। व्यक्ति चयनमा पनि उमेरअनुसारको रोलक्रम निर्धारण गरिएजस्तो लाग्ने नेतृत्व चयनमा खासै चमत्कार हुने लक्षण छैन। त्यसैले महाधिवेशनपछि हुने परिवर्तनले पनि देशलाई खासै गति र दिशा दिनसक्छ भनेर विश्वास गर्ने आधारचाहिँ देखिँदैन।

सजिला छैनन् मतदाता
निर्वाचनमा उमेदवारी समूहगत भए पनि मतदाताले विवेक प्रयोग गरेको देखियो। गाउँ अधिवेशनमा जति समूहगत मतदान सायद क्षेत्रीय अधिवेशनमा भएन। जिल्लामा अपेक्षाकृत समूहगत मतदान बढी हुनसक्छ। तर महाधिवेशन प्रतिनिधिहरू निर्वाचित हुँदाकै समूहमा रहिरहन्छन् भन्ने ठानेर अहिले यता र उताको भागबन्डा गर्नेहरू मतदानपछि जिल्लिने सम्भावना उत्तिकै बलियो छ। पार्टीसँग भविष्य गाँसिएका तरुणहरू पार्टीलाई सधैँ गुटको समूह बनाइराख्न प्रयोग हुन्छन् भन्ने ठान्नु मूर्खता हुन्छ। यसैले महाधिवेशन प्रतिनिधिलाई 'ह्याकुलाले मिच्ने काम' नगरे बेस!

चरित्रविपरीतको संरचना
नेपाली कांग्रेसको संरचना २००७—२०१७ को जति पनि पार्टीको चरित्र र प्रवृत्तिअनुरूपको छैन। कांग्रेस कार्यकर्तामा आधारित पार्टी हैन। लामो समय प्रतिबन्धित रहँदा र सशस्त्र विद्रोह गर्दा पार्टी कार्यकर्तामा आधारितजस्तो हुन पुगेको थियो। तर २०४६ पछि पनि पार्टीको संरचना र कार्यशैली उदार जनाधारित राजनीतिक दलको जस्तो बनाउन खोजिएन। बरु कम्युनिस्टहरूको सिको गर्न थाले कांग्रेसका प्रभावशाली भनिने नेताहरूले। त्यसको फल अहिले पार्टीले भोग्दैछ। पूर्णकालीन वा वृत्तिभोगी कार्यकर्ता पद्धतिले नेपाली कांग्रेसलाई 'सिन्डिकेट' बन्ने बाटामा डोर्या्एको छ। कार्यकर्ता पाल्न पैसा जुटाउनै पर्ने बाध्यता देखाएर नेताहरू भ्रष्टाचारको औचित्य सिद्ध गर्ने प्रयास गर्दैछन्।

चुनाव हारे पनि भाग खोज्ने प्रवृत्ति कांग्रेसको संगठनका लागि घातक रोग हुन पुगेको छ। एकल नेतृत्व भए पार्टीभित्र भागबन्डाको रोग त अन्त्य हुन्छ नै सभापतिले जिम्मेवारी पनि लिनुपर्छ। अझ संसदीय दलको नेता नै पार्टी सभापति हुने व्यवस्था भए जनताले दुत्कारेका व्यक्तिले दलको नेतृत्व गर्ने परम्परा पनि समाप्त हुनेछ।

उदार लोकतान्त्रिक दलमा जसरी नेतृत्व चयन गर्ने हो भने महाधिवेशन नेपाली कांग्रेसलाई नयाँ दिशा र गति दिने अवसर बन्नसक्थ्यो। विडम्बना, अहिलेसम्म त्यस्तो संकेत देखिएको छैन। बिपी, गणेशमान र महेन्द्रनारायणका छोराहरूले संयुक्तरूपमा आँट गरे भने अहिलेको रोलवाला शैली भत्काउन सक्छन्। दुर्भाग्य, पार्टीको आत्मा जोगाएरै युग सुहाउँदो बनाउन यिनीहरू मिलेर अगाडि सर्ने संकेत देखिएको छैन। केही दिन पहिले प्रकाशमान सिंह पनि सभापति पदमा निर्वाचन लड्न इच्छुक भएको समाचार सार्वजनिक भएको थियो। सिंह नेतृत्वका लागि अगाडि सरेका हुन् भने यो सकारात्मक पक्ष हो। उनी वा उनीजस्तै जनताबाट चुनिएका, कांग्रेसभित्र साख पनि भएका व्यक्तिले कांग्रेसलाई युगसापेक्ष बनाउन नेतृत्व गर्न सक्छन्।

जनाधारित संरचना
कांग्रेसको नेतृत्वमा मात्र हैन संगठनको संरचना र नीतिमा पनि जनाधारित उदार लोकतान्त्रिक दलअनुरूप हुने गरी परिवर्तन गर्नु आवश्यक छ। अहिले नेपाली कांग्रेस चरित्र र इतिहासका दृष्टिले उदार लोकतान्त्रिक दल, नीतिका आधारमा बजारमुखी पुँजीवादी, नेतृत्वका दृष्टिबाट अनुदार परम्परावादी र संगठनात्मक संरचनाका आधारबाट कम्युनिस्ट पार्टीजस्तो देखिन्छ। सिद्धान्त र संरचना नमिले कृत्रिम अंगले लामो समय काम नगरेजस्तै धेरै दिन चल्दैन। विधान संशोधनका क्रममा कांग्रेसजनले यसको हेक्का राख्नुपर्छ। नेपाली कांग्रेसले पार्टीको संरचना बनाउँदा २०१७ सालभन्दा पहिलेको विधान हेरेर परिमार्जन गरे पनि हुन्छ। जनाधारित र संसदीय पद्धति स्वीकार गर्ने पार्टीमा एकल नेतृत्व हुन्छ। नेतृत्वमा पुग्ने मौका क्षमताका आधारमा सबैले पाउँछन्। कम्युनिस्टहरूको सिको र संगत गर्न छाडेर दायाँबायाँमात्र हैन पछाडि पनि फर्केर हेर्दै अगाडि बढ्ने (सिंहावलोकन) कार्यशैली अपनाउने हो भने नेपाली कांग्रेसले पुनः मुलुकको नेतृत्व गर्नेछ। कम्युनिस्टहरूको संगतमा गर्नुपर्ने र गर्नै नहुने सबै काम त गिरिजाबाबुकै पालामा भइसकेको छ। बाँकी सुशील कोइरालाको नेतृत्वमा सम्पन्न भएको छ। इतिहासले मूल्यांकन गर्नेछ। अब कांग्रेसजनले आफ्नै इतिहास र यथार्थ सम्झे भने पार्टी र मुलुक दुवैको हित हुनेछ।

उदार लोकतान्त्रिक दल सुहाउँदो संरचना बनाउने हो भने त्यसमा देशको जनसांख्यिक संरचना प्रतिविम्बित हुनुपर्छ। उमेरअनुसार सबैभन्दा ठूलो समूहको सबैभन्दा धेरै प्रतिनिधित्व होस्। जनसंख्यामा १८ देखि ५५ वर्षको उमेर समूह ५० प्रतिशत जति छ। यस्तै ५१ प्रतिशत महिला छन्। सन् २०१४ मा सबैभन्दा ठूलो समूह १५—१९ र २०—२४ वर्षको थियो। आदर्श र उदार संरचना जातिमात्र हैन उमेर र लिंगमा पनि समानुपातिक हुन सक्नुपर्छ।

नीतिगत मार्गदर्शन
नीतिका लागि पनि कांग्रेसजनले धेरै दुःख गर्नुपर्दैन। विश्वेश्वरप्रसाद कोइरालाका पहिलेका विचार सारमा कालजयी छन्। तर, २०३३ पछिका विचारलाई सूत्र मानेर प्रयोग गर्ने हो भने अहिलेका लागि पनि उत्तिकै सान्दर्भिक र उपयोगी देखिन्छन्। यस लेखको विषय बिपीका पछिल्ला चरणका विचार र धारणाका समयमा विस्तारमा चर्चा गर्नु होइन। तर, उनका मानवतावादी उदार लोकतान्त्रिक विचार आज पनि उत्तिकै सान्दर्भिक छन्। व्यक्ति सबै विचार र नीतिको केन्द्रमा हुनुपर्छ र व्यक्ति 'असल बन्ने' वातावरण बन्नुपर्छ भन्ने नै त हो बीपीको पछिल्लो मान्यता। त्यसैका लागि आर्थिक सामाजिक न्याय र समानता आवश्यक हुने हो। बिपीका अनन्य सहयोद्धा गणेशमान सिंहले अहिलेको समानुपातिक र सामाजिक न्यायका पक्षमा गम्भीर धारणा सार्वजनिक गरेका थिए। प्रत्येक व्यक्तिलाई उत्तिकै सक्षम हुने वातावरण निर्माण गर्न आवश्यक सामाजिक न्याय कायम गर्न सिंहले २०४६ पछि अगाडि सारेका मान्यतालाई पनि कांगे्रसले मार्गदर्शक सिद्धान्त बनाउन सक्छ। बिपी र गणेशमानलाई तिनले भनेकै शब्दमा भन्दा पनि सजिलोसँग बुझ्न र बुझाउन सकिन्छ। तर कांग्रेसका नेताहरूले संस्थागतरूपमा यस्तो प्रयासै गरेनन्।

नेतृत्वका लागि तयारी
अहिलेको संविधान संयुक्त सरकार अनिवार्य हुनेगरी बनाइएको छ। यही संविधानअनुसार एकलौटी सरकार बनाउन सकिने सम्भावना अत्यन्त न्यून छ। उदार लोकतन्त्रको सेरोफेरोभित्र 'मध्य दक्षिण' वा 'मध्य वाम' पन्थी नीति र कार्यक्रमभन्दा कुनै दल पनि धेरै टाढा जानसक्ने अवस्था छैन। कांग्रेसलाई नेपाली जनताले चारपटक पहिलो र दुई पटक दोस्रो दल बनाएका छन्। कांग्रेस अहिलेसम्म तेस्रो दल हुनुपरेको छैन। यसैले आउने दिनहरूमा पनि नेपाली कांग्रेसले जनताको विश्वास पाउने र संयुक्त सरकारको नेतृत्व लिने सम्भावना अरू पार्टीको भन्दा धेरै छ भन्नु अन्यथा हुँदैन। त्यस अवस्थामा आफ्नो सिद्धान्त नछाडी विपरीत विचार हुनेसँग पनि सम्झौता र सहकार्य गर्नसक्ने क्षमता कांग्रेसमा विकास हुनुपर्छ। नैतिक र राजनीतिक कौशल यसका पहिला आधार हुन्। यसका लागि पार्टी र नेतृत्व दुवैको साख आवश्यक हुन्छ। इमानदार तर उदार छवि आवश्यक हुन्छ। नेतृत्व दोष लिन, कमजोरी स्वीकार्न गर्न तथा र जस बाँड्न तयार हुनुपर्छ। जनचाहना बुझ्न र त्यसलाई शासनको मन्त्र बनाउन तयार र सक्षम हुनुपर्छ।

र अन्त्यमा,
भन्न त, नेकपा (एमाले)ले पनि आफूलाई राजनीतिक दल नै भन्दै आएको छ। तर त्यसको संरचना र कार्यशैली हेर्दा राजनीतिक सिद्धान्तका आधारमा संगठित समूहभन्दा कारोबारका लागि एकत्रित 'सिन्डिकेट'जस्तो लाग्छ। सिद्धान्त, संरचना र कार्यशैलीमा पूरै परिवर्तन नगर्ने हो भने नेपाली कांग्रेस पनि अर्को 'सिन्डिकेट'मा परिणत हुने निश्चित् छ। त्यस अवस्थामा कांग्रेसमा क्रियाशील अहिलेका धेरैको उपादेयता समाप्त हुनसक्छ भने आकर्षणको कारण पनि बदलिनेछ।

निर्वाचनपछि भए पनि कांग्रेसका युवा प्रतिनिधिहरू देशप्रति गम्भीर हुने अपेक्षा राख्नु अर्घेल्याइँ त नहोला नि!

प्रकाशित: २४ माघ २०७२ २२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App