१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

दर्शन र नेतृत्व

दर्शन, चिन्तन या ज्ञान अन्वेषणको क्रियाकलाप हो। दर्शन आलोचनात्मक र व्याख्यात्मक प्रक्रिया हो। विचारका द्विविधा निराकरण, गुह्य मान्यताको प्रकटीकरण, पूर्वधारणाको उद्घाटन, परिवर्तनको महत्व, अवस्थाको परीक्षण, मिथ्या वर्णनको सच्याइ, कारणको खोजी, विश्वदृष्टिकोणको उचाइ र अवधारणात्मक ढाँचागत प्रश्नजस्ता विचारका पक्षमा दर्शनको भूमिका रहेको हुन्छ। यसमा मान्यताको अस्वीकार्य, बोधक्षमता, व्यापक अनुभव, क्षेत्रगत विस्तार, कल्पनाको विकास, आवेगको नियन्त्रण, मूल्य अन्वेषण, विश्वासमा निश्चय आदि समावेश हुन्छन्। यस किसिमको तर्कबाट कार्यात्मक बानी, विवेचनात्मक सहजीकरण, ज्ञानको संश्लेषण र ज्ञानका लागि प्रश्न गर्ने आधार बन्छ। यो बौद्धिक प्रक्रियाबाट विवेचनात्मक तथा संश्लेषणात्मक दुवै समावेशको प्रकार्य गरिन्छ। दर्शन मानवीय चेतनावृद्धिका क्रियाकलापको एक पक्ष हो। यो एकीकृत रूपमा शिक्षाको एक प्रक्रिया या अंश पनि हो। मानवीय बौद्धिक क्षमताका पुष्ट्याइँ तथा समग्र बौद्धिक व्यक्तित्वका विकासमा दर्शन र शिक्षाको साझा उद्देश्य रहेको छ।  

नेतृत्वका विषयमा शास्त्रीय धारणा  

प्लेटोको कृति ‘द रिपब्लिक’ मा नेतृत्वका विषयमा उनको मान्यताको आधार प्रस्तुत गरिएको छ। उनका अनुसार नेतृत्व ज्ञानप्रेमी या बौद्धिक हुनुपर्छ। सत्य कुरो त प्लेटो शासकबाट असन्तुष्ट रहेको नै देखिन्छ। सामान्य उद्देश्य प्राप्तिमा पनि शासकहरूमा ज्ञानको कमी र कार्यमा नैतिक बल नभएको प्लेटोको आरोप छ। प्लेटोले त्यस्ता शासकहरूका सट्टामा दार्शनिक तथा ज्ञानप्रेमी बौद्धिकबाट शासन गरिनुपर्छ भन्ने प्रस्ताव गरेका छन्। प्लेटोका मान्यताअनुसार आदर्श राज्यमा दार्शनिकबाहेक सत्यको नजिक पुग्न सक्दैनन्। यस विश्वमा दार्शनिकहरूलाई शासक र शासनमा बोलाउनुपर्छ। यसबाट राजनीतिक शक्ति र दर्शन एकै व्यक्तिका हातमा आउँछ। अहिलेका शासक सत्य र वास्तविक रूपमा दार्शनिक नै हुनुपर्छ। राजनीतिक शक्तिका लागि नेतृत्व आवश्यक छ र केवल दार्शनिकहरू नै बौद्धिक र नैतिक रूपमा शासन र नेतृत्वमा उपयुक्त हुन्छन्। नैतिक रूपमा उनीहरूमा सत्यप्रति निष्ठा हुन्छ र उनीहरूबाट शक्तिको दुरूपयोग हुँदैन। बौद्धिक रूपमा तिनीहरू आदर्श संरचनाका लागि ज्ञान साक्षात् गर्न र सत्य, सुन्दर र कल्याणमा सक्षम हुन्छन्। प्लेटोका दृष्टिमा सत्य र असल हुनु नेतृत्वको शासन कलाको मुख्य चाबी हो। नेतृत्वमा बौद्धिकता, न्यायिक दृष्टि, साहसिकता र लचिलोपनजस्ता चार सत्य या आधारभूत गुण हुनु आवश्यक छ।  

उल्लिखित मान्यताबाट हामी पनि आजको नेतृत्वमा बौद्धिक र सत्यप्रतिको निष्ठा हुनुपर्नेमा सहमत छौँ। दोस्रो नेतृत्व पनि व्यक्ति नै हो र यसको न्यायिक मूल्य अरूसँगकै अन्तक्र्रियामा देखिन्छ। जब नेतृत्वद्वारा कुनै संस्थाको सङ्गठन अघि बढ्छ, तब उसको प्रस्तावना, साङ्गठनिक कार्य र उद्देश्य स्पष्ट हुन्छ। तेस्रो असल नेतृत्व आफ्ना कार्यको समयगत रूपमा परिष्करण गर्दै आफ्नो दृष्टिकोण र कार्य नियन्त्रणमा सचेत हुन्छ। नेतृत्व जहिले पनि आफ्ना मान्यतामा दृढसङ्कल्पित रहन्छ। अन्तमा, प्लेटोको मान्यताअनुसार नेतृत्व साहसिक, दृढसङ्कल्पित र अनिश्चयताको प्रतिरोधमा लचिलो हुन्छ।  

समाज अपेक्षित नेतृत्व  

नेतृत्वका चरित्रमा उत्तरदायित्वबोध र इमान्दारिता दुई अपेक्षित महत्वपूर्ण गुण हुन्। असल नेतृत्व सधैं सत्यनिष्ठ र तटस्थ हुन्छ। नेतृत्व के गर्ने र के गरिहेको छु भन्ने प्रतिज्ञामा स्पष्ट हुनुपर्छ। असल सुझाव सुन्न सक्ने, मातहतबाट आएका प्रश्न सुन्न र तिनको विश्लेषण तथा निरीक्षण गरी ठूलो स्वरभन्दा कार्य नै उत्तम हुने विश्वास नेतृत्वमा हुनुपर्छ। असल नेतृत्व विचारमा सक्षम, भविष्यको कार्ययोजना निर्माण, वर्तमान र भविष्यका योजनामा समान महत्व दिई अझ वर्तमानका निर्माणमा नै सशक्त भूमिका हुनुपर्नेमा स्पष्ट हुनुपर्छ। नेतृत्वमा आत्मविश्वास हुनुपर्छ र आफ्ना सपना या कार्ययोजना पछ्याउन, डरलाई हटाएर निर्भीकतापूर्वक अघि बढ्नुपर्छ। असावधानी तथा डरबाट बाहिर रही कार्यकुशलता विकास गर्नुपर्छ। नेतृत्व आफ्नो उद्देश्यअनुसारको लक्ष्य नभेट्दासम्म आँधी, आवेग, सङ्कटबाट खारिँदै सहनशील भई यो सिकाइको यात्रा हो भन्दै आफूलाई धैर्य र शान्त बनाउनुपर्छ। असल नेतृत्वले सङ्कट पन्छाएर आगामी दिनमा कुशल व्यवस्थापन गर्दै प्रगतिशील कदम अघि सार्छ। 

यस्तै कमजोर नेतृत्व भने अहङ्कार, अनैतिकता, असमानता, असमान व्यवहार, दमन, विभाजनकारीजस्ता समस्याका दलदलमा फस्छ। प्रभावशाली नेतृत्व मैत्रीभाव विकास, सामाजिक सद्भाव, सामाजिक, आर्थिक, वातावरणीय वैश्विक समस्यासँग जुझारु हुँदै समाजलाई अग्रगति दिनमा भूमिका खेल्छ। त्यसैले मैत्रीभाव, अन्वेषण, परिवर्तन, समस्याको समाधान नेतृत्वका लागि हतियार हो। अरिस्टोटलले भनेझैं सबै कार्य असल परिणाममुखी उद्देश्यबाट अभिप्रेरित हुनुपर्छ। नेतृत्वसँग जनजीविकाका चाहना पूरा गर्ने शक्ति र अवसर रहेको छ। असल नेतृत्वसँगै असल व्यक्तिको अपेक्षा वर्तमानको माग हो। यस सन्दर्भमा नेतृत्वमा सद्गुण र सिपसँगै उदाहरणीय व्यक्तित्वको जनअपेक्षा देखिन्छ। अरू व्यक्तिले आदर्श व्यक्तित्वका रूपमा पछ्याउने गुणको अपेक्षा नै आजको महत्वपूर्ण सवाल हो। सबै नेतृत्वमा अपेक्षित गुण या दक्षताको आशा गरिएको हुन्छ। दक्षता सकारात्मक सोच भएको नेता अग्रगमन र भविष्यको दक्षतामा सचेत हुन्छ। असम्भवलाई सम्भव तुल्याउन नेताको भूमिका अटल र दृढनिश्चयी हुन्छ। नेतृत्वमा आधारभूत उत्तरदायित्व पहिचान गरी ऐतिहासिक प्रक्रियाको बोध गरी अन्तर्विरोधको समन गर्दै मूल धारबाट समाधान गर्ने कार्यदृष्टि हुनुपर्छ।  

केही उदाहरण  

माओत्सेतुङ र अन्य कम्युनिस्ट नेताहरूले चिनियाँ समाजको पुननिर्माणमा राजनीतिक नियन्त्रणमा पूर्ण जोड दिएको देखिन्छ। बलपूर्वक चीनको सम्भ्रान्त आधुनिकीकरण (कारखाना निर्माण, रेलमार्ग, कृषिको विकास, उद्योग आदि) मा जोड दिएको पाइन्छ। पुनः शैक्षिक प्रणालीको अवधारणाबाट विज्ञसमूह पुनर्निर्माणमा जोड दिई लेखक, वैज्ञानिक, प्राध्यापक, प्रकाशक, वकिल आदिलाई पुँजीवाद र साम्राज्यवादमा विश्वास गर्दाको गल्ती बोध गराउनमा लागिपरेको पनि पाइन्छ। विकसित चीन बहुराष्ट्रिय राज्यका रूपमा सम्मिलित गराउन र चिनियाँ नागरिक भएको अनुभूति दिन सक्षम छ। यसो भए पनि गन्जाउ र तिब्बतजस्ता स्वशासित क्षेत्र पनि यसमा रहेका छन्। माओले तीन कुराका विरुद्ध (भ्रष्टाचार, खेर फाल्नु, कर्मचारीतन्त्र) र पाँच विरुद्ध (बर्बरता, राज्यको सम्पत्तिको दोहन, कर छलन, सरकारको सम्झौतामा छल गर्नु, राज्यका सूचनाको चोरी गर्नु) रहेर भ्रष्टाचार विरुद्धको अभियानमा राजनीतिक हस्तक्षेप कम्युनिस्ट पार्टी र पुँजीवादी वर्गसँगै अघि बढाएको पाइन्छ।  

महात्मा गान्धी  

गान्धीका जीवन दर्शनका मूल सिद्धान्त सत्याग्रह र स्वदेशी भन्ने नै हुन्। उनले भारतीयहरूको स्वराज प्राप्तिका लागि स्वदेशी मान्यतामा जोड दिएका छन्। स्वतन्त्रताका लागि भारतीय सङ्घर्ष वा आन्दोलनको ढाँचा विश्वका विभिन्न भागमा आन्दोलनका लागि प्रेरणा पनि बनेको छ। स्वराज हुँदै स्वदेशी पहिचान विश्वव्यापी प्रयोगको सिद्धान्त हो। स्वतन्त्रताका लागि जनताले गर्ने सङ्घर्षमा यो अनुकरणीय बनेको छ। स्वदेशी मान्यतामा गान्धीको दृष्टिकोण रहेको छ। स्वदेशी भावनाको एकीकृत आधार हाम्रो राष्ट्रिय जीवनको महत्वपूर्ण भाग हो भन्ने उनले प्रमाणित गरेका छन्।  

नेपालको सन्दर्भ

सुगौली सन्धिपछिको नेपालको विकास असमान रहेको छ। यो नेपाल र इस्ट इन्डिया कम्पनीबीचको सम्झौता थियो। सन् १८१५ डिसेम्बर २ मा गरिएको यस सम्झौतामा नेपालले आधाभन्दा बढी भूभाग गुमाउन बाध्य भएको देखिन्छ। अङ्ग्रेज नेपालका बीचको युद्धका कारण नेपालले तिब्बत चाइनाको व्यापारिक मार्गमा अवरोध पुर्‍याउनु हो। यसका पछाडि अङ्ग्रेज र नेपालका बीचको युद्धमा इस्टइन्डिया कम्पनी र नेपालको राजनीतिक चाहना पनि बिर्संन मिल्दैन। यसपछि नेपाल र भारतका बीचमा पर्याप्त सङ्ख्यामा सम्झौता, सन्धि भएका छन्। सन् १९२० को आरम्भमा महाकाली नदीमा शारदा ब्यारेज निर्माणको सम्झौताका लागि पत्र आदानप्रदान पछिल्लो कडि हो। यस्तै सन् १९५४ को कोशी सम्झौता, सन् १९५९ को गण्डक सम्झौता, सन् १९९१ को टनकपुर सम्बन्ध र सन् १९९६ को महाकाली सम्झौतामा पनि नेपालका लागि धेरै नै तितामिठा अनुभव, अनेक राजनीतिक सन्दर्भ ताजै रहेका छन्। 

संयुक्त राष्ट्रसंघको घोषणापत्रमा समेत बासिन्दाको सहमति, सम्मान, भलो र अस्तित्वको अधिकारको रक्षा गरेको छ। तर माथिका सम्झौताहरूमा नेपाललाई मर्का पर्ने गरी सम्झौता गरेको छ। कांग्रेस वा कम्युनिस्ट जुनसुकै नाममा सत्तामा पुगे पनि कमिसनको समाचारले प्राथमिकता पाएको छ। सत्तरी वर्ष पछिल्लो कालखण्डमा प्रा. कृष्ण खनालका शब्दमा ‘भुइँफुटा वर्ग’ को पक्षमा राज्य, पार्टी र त्यसको नेतृत्व लागेको छ। जसले परिवर्तनको संवाहक वर्गलाई मूलधारका राजनीतिक पार्टीप्रति असन्तोष खडा गरी बेलाबेलामा वैकल्पिक राजनीतिक शक्तिको प्रयास गरेको देखिन्छ। कहिल्यै भेट नहुने माक्र्सवाद र उपयोगितावादको मिलन नेपालमा सम्भव भएको छ। पटकपटक भएका राजनीतिक आन्दोलनले सडकबाट सत्तामा लिने नेतृत्वको वर्ग रूपान्तरणबाहेक आम जनताको जीवनमा अन्तर आउन सकेको छैन। नेपालका पार्टी र नेतृत्वले माक्र्सवाद, लेलिनवाद वा माओवाद र गान्धीवाद जस्तोसुकै दर्शन अवलम्बन गर्न खोजे तापनि अन्ततः मेकियाभेलीको व्यवहारवादी दर्शनबाट बढी निर्देशित भएको देखापरेको छ।  

वि.सं. २०४६ को बहुदलीय प्रजातन्त्र प्राप्तिपछि बनेका राजनीतिक दलको नेतृत्वका सरकारहरूले आफ्नो स्वामित्वमा रहेका १४ वटा उद्योग तथा कम्पनीहरू बेचेका छन् भने पाँच वटा ठूला उद्योगहरू दशकौंदेखि बन्द गरेर राखेको अवस्था छ। देशमा कुल ३५ हजार ५२० स्कुलमध्ये ६,६८७ निजी स्कुलहरू छन्। त्यसैगरी निजी क्याम्पसहरूको सङ्ख्या ७४७ हुन पुगेको छ र सबै विश्वविद्यालयहरूको आङ्गिक क्याम्पसहरूको सङ्ख्या जोड्दा मात्र १४७ रहेको छ। यी निजी क्याम्पसहरूको सङ्ख्या वि.सं. २०४६ पछि तीव्ररूपले बढेको छ। स्वास्थ्य शिक्षामा पनि कुल १९ वटा मेडिकल क्याम्पसहरूमध्ये ११ क्याम्पसहरू निजी स्तरमा सञ्चालन भएको पाइएको छ। 

त्यस्तै स्वास्थ क्षेत्रमा केही समय पहिलेको तथ्याङ्कले सरकारी अस्पताल मात्र १२३ देखाएको छ भने निजी अस्पतालहरूको सङ्ख्या ३६६ पुगेको छ। जसमध्ये ९९ ओटा निजी अस्पतालहरू काठमाडौँ उपत्यकामा मात्र सीमित छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको सूची (सन् २०२०) मा नेपाल १८० देशमध्ये ११७ स्थानमा रहेको छ। सार्क देशहरूमध्ये भुटान, भारत र श्रीलंकाभन्दा पनि नेपाल सूचकाङ्कमा पछाडि रहेको छ। उत्पादनको क्षेत्रमा निर्यात र आयातको अनुपात १२.२ (२०१९–२०) रहेको छ।  

माथिका तथ्याङ्कहरूद्वारा हाम्रो देशले असमान सन्धि, शिक्षा, स्वास्थ्य र उद्योगमा निजीकरण, उत्पादनमा जोड नदिने, परनिर्भरतालाई नै राज्य दर्शन बनाएको पुष्टि हुन्छ। यो दर्शनले भोलिको दिनमा देशलाई कहाँ पुर्‍याउँछ, आम जनताको चासोको विषय बनेको छ। 

प्रकाशित: २१ श्रावण २०७९ ०१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App