१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

युवा, राजनीति र रोजगारी

फाइल तस्बिर।

नेताहरूले आफ्ना सन्तानलाई सम्पन्न मुलुकमा पढ्न पठाएर गरिब नागरिकका सन्तानमाथि राजनीति गर्ने परिपाटी अन्त्य गरिनुपर्छ।

‘पोलिटिक्स इज् डर्टी गेम।’ लामो समयदेखि युवाहरूको मुखबाट सुनिँदै आएको हो तर यतिबेला भने धारणा फेरिएको छ। खास गरी गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूले जितेपछि  राजनीतिप्रतिको धारणा फेरिएको पाइन्छ। कम्तीमा  राजनीति बुझ्नुपर्छ, सचेत हुनुपर्छ भन्ने मान्यता बलियो बनेको छ। यति मात्र होइन अन्याय, अत्याचार,भ्रष्टाचार, बेथिति, बेरोजगारी समस्याका विरुद्ध कडा रूपमा आवाज उठाउनुपर्छ भन्ने मान्यता पनि बन्यो।

काठमाडौंमा बालेन शाह र धरानमा हर्क साम्पाङ अनि धनगढीमा गोपी हमालको जीतपछि जनतामा एक प्रकारको खुसियाली छायो। यसले के पनि झल्कायो भने पुराना राजनीतिक दलहरूभन्दा स्वतन्त्र उम्मेदवारहरूप्रति आकर्षण बढेको छ। पुराना राजनीतिक दलहरूप्रति आमनागरिकको वितृष्णा छ। यो क्रम अझ बढ्दो छ। नेपाली जनताले अब पुराना दलबाट आशा र सम्भावना देखेका छैनन्। त्यसमा पनि युवामा निरासा बढी भेटिन्छ।

युवाले नेपालमै सम्भावना नदेख्नुमा राजनीतिक समस्या प्रमुख कारण हो। राजनीतिमा संलग्न नभएर कुनै जागिर, व्यवसाय गर्न सकिँदैन भन्ने आमधारणा व्याप्त छ। राजनीति, कर्मचारीतन्त्र र बिचौलियाको बिगबिगीका कारण सत्ता र शक्तिमा सीमित व्यक्तिको हालिमुहाली छ। व्यवसाय गर्नका लागि, रोजीरोटी गर्नकै लागि पनि स्वदेशमा सहज वातावरण छैन। दिन/प्रतिदिन बढ्दो महँगीले गर्दा जनतामा हैरानी, सास्ती थपिएको छ। स्वदेशमा सम्भावना खोज्नुको साटो विदेशिनु सजिलो बाटो रोज्नेहरूको संख्या दिन दुगुना, रात चौगुना बढ्दो छ।

आम युवालाई स्वदेशमै रोजगारीको सम्भावना र अवसर बढाउन सकेनौँ भने विदेश पलायन हुने यो क्रम अझ बढिरहने छ। नेपाल गरिब मुलुकका रूपमा सूचीकरण भइरहने छ। सुखी नेपाली, समृद्ध नेपालको नारा  केवल नारामै सीमित हुनेछ। हामी नेपाली जहिल्यै गरिब रहिरहनेछौँ। हाम्रै थाप्लोमा वैदेशिक ऋणको भार बर्सेनि थपिनेछ।

दलहरूले अंगाल्नुपर्ने बाटो

दलहरूले यो देशको नीति बनाउने हो। देशको मुहार फेर्ने शक्ति पनि दलहरूसँगै छ। संयन्त्र पनि उनीहरूसँगै छ। अब उनीहरूले पुरानै नारा, पुराना अजेन्डा बोकेर होइन,नयाँ अजेन्डा, कार्यशैलीका साथ अगाडि बढ्न ढिलाइ गरिनु हुँदैन। युवाहरूकै काँधमा टेकेर सत्ता र शक्तिमा पुग्न खोज्ने राजनीतिक दलहरूले बेलैमा सोच्नुपर्छ कि युवाबिना कुनै पनि कुरा सम्भव छैन। वर्सेनि युवाहरूलाई जापान, कतार, कोरिया, इजरायल पठाएर खुसी हुनुको अर्थ छैन। बरु नेपालमा कोरिया, कतार, दुबई, जापान, मलेसियाबाट दक्ष जनशक्ति झिकाउन सके त्यसको अर्थ रहन्छ।

रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको छ। नेपाली युवाहरूले विदेशमा बगाएको रगत, पसिनाबाट देशको अर्थतन्त्र चलिरहेको छ। तर सबैभन्दा बढी अन्याय, हेला र चेपुवामा त्यही वर्ग परेको छ। नेपालको अन्तर्राष्ट्रिय विमानस्थलदेखि फर्किँदासम्म सबैभन्दा बढी अपमानित त्यही वर्गले हुनुपरेको छ। परिवार पाल्ने सपना बोकेर गएका युवाहरू लास बनेर देशको विमानस्थलमा आइपुग्दाका दृश्यले कुनै पनि राजनीतिक प्राणी, देशका नीति निर्माताहरूलाई कत्ति पनि छुँदैन।

छोएको भए स्वदेशमै अवसरका प्रशस्त बाटा सिर्जना हुने थिए। यो डरलाग्दो अवस्थालाई बेलैमा सम्बोधन नगर्ने हो भने भोलि बिकराल अवस्था आउन सक्छ। दलहरूले युवालाई स्वदेशमै रोजगारी दिलाउने वातावरण अविलम्ब सिर्जना गर्नुपर्छ। आफ्ना सन्तानलाई सम्पन्न मुलुकमा पढ्न पठाएर गरिब नागरिकका सन्तानमाथि राजनीति गर्ने परिपाटी अन्त्य गरिनुपर्छ।

कि त विदेशमा पढ्न पठाएका, कमाउन पठाएका आफ्ना सन्तान स्वदेशमा झिकाउनुपर्छ, होइन भने गरिब नेपालीका सन्तानलाई सधैंभरि भरिया मात्र बनाउने परिपाटी अन्त्य गरिनुपर्छ। नेपालीलाई गुमराहमा राखेर वर्षौसम्म सत्ता र शक्तिको मातमा रमाउने काम बन्द गरिनुपर्छ।

भनिन्छ, देशमा नयाँ राजनीतिज्ञ जन्मियो भने अरूलाई बेरोजगार बनाउँछ, उद्योगी जन्मियो भने कयौँलाई रोजगारी दिलाउँछ। देशमा यसै पनि च्याउ जसरी राजनीतिक पार्टीहरू जन्मिएका बेला त्यसैमा नयाँ-नयाँ राजनीतिक पार्टी जन्मिनुभन्दा उद्योग, कलकारखाना स्थापना गर्नमा ध्यान पुर्‍याउनुपर्थ्यो तर त्यतातिर कसैको बुद्धि पुगेको देखिँदैन। परिवारको एक छाक भोक टार्नकै लागि, जीविकोपार्जनका लागि नेपालीहरू विदेसिनु अत्यन्तै दुखद् विषय हो।

विडम्बना, नेपालका कुनै राजनीतिक दल, नीति निर्माता, सरोकारवालाहरू कसैले यस विषयलाई गम्भीर रूपमा लिएको पाइँदैन। नेपालमा स्वरोजगारका सम्भावना, अवसरहरू सिर्जना गर्नका लागि ढिलाइ गरिनु हुँदैन। दक्ष जनशक्तिलाई आकर्षक तलब, सेवा/सुविधा दिने हो भने कसैले पनि अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोप ताक्ने थिएनन्। काम गर्न इच्छुक, परदेशमा १५ घण्टा पसिना बगाउनेहरूलाई तालिम, सिप प्रदान गरेर स्वदेशमै रोजगारी प्रदान गर्न सकिन्छ। अबका दिनमा राजनीतिक दलहरूले आफ्नो रोडम्याप यसलाई बनाउन जरुरी छ।

युवाले निर्वाह गर्नुपर्ने भूमिका

युवाहरूले आफ्नो जीवनको ऊर्वर समय, ऊर्जा, सिर्जनात्मक क्षमता राजनीतिक दलको झण्डा बोकेर दौडिनु हुँदैन। बरु आफ्नो सिप, कला, अध्ययन, अनुसन्धानमा खर्चिनु बेस हुन्छ। यसको अर्थ राजनीतिबाट टाढा बस्नुपर्छ भन्न खोजेको होइन। मानिस राजनीतिक प्राणी हो।राजनीतिबाट पूरा अलग हुन सकिँदैन। एक सचेत नागरिकका रूपमा झन् युवाले पन्छिन मिल्दैन। नेता, कुनै राजनीतिक दलको अन्धभक्त भएर लाग्नुको साटो आफ्नो, विवेक, बुद्धि प्रयोग गरेर सशक्त भूमिका खेल्नुपर्छ।

युवा केवल उमेरले मात्र निर्धारण गर्न सकिने कुरा  होइन। सोच, विचार, सक्रियता, सिर्जनशीलता, जुझारूपनले निर्धारण गर्ने कुरा हो। हामी केवल अन्धभक्त भएर कुनै व्यक्ति वा राजनीतिक दलको पछि लाग्ने होइन। बरु यो ऊर्वर समय आफ्नो ज्ञान, सिप, अनुभव र क्षमता बढाउनमा लगाउनुपर्छ। समयको महत्त्व, जीवनको महत्त्वको ख्याल गरेनौँ भने पछुतोबाहेक हाम्रो हातमा केही पर्नेवाला छैन।

युवाप्रति सरकारको दायित्व

कोभिड महामारीले गर्दा नेपालको श्रम बजारको अवस्था, रोजगारी सम्भावना कम भएका छन्। बढ्दो महँगीले जनता अत्तालिएका छन्। झन् कतिपयले श्रीलंकासँग तुलना गरेर देशको अवस्था चित्रण गर्दा मानिसमा भय, त्रास र डरको वातावरण पैदा भएको छ। यस्तो कहालिलाग्दो अवस्था निर्माण भएका बेला आममानिसलाई सरकारले सकारात्मक वातावरणको अवस्था सिर्जना गर्नुपर्छ। डर र त्रासको वातावरण सिर्जना भइरहँदा कसैले पनि नयाँ उद्यम, व्यवसायमा लगानी गर्न मन गर्दैनन्। बरु भएकै उद्यम, व्यवसाय पनि बन्द गर्नतर्फ लाग्छन्।

यस्तै विदेशमा बस्नेहरूले पनि नेपालमा लगानी गर्न इच्छा राख्दैनन्। देशको अवस्था सकारात्मक दिशातर्फ गइरहेका बेला मात्र लगानीकर्ताले नयाँ व्यवसाय गर्न रुचाउँछन्। फेरि मध्यपूर्व, साउदी अरेबिया, युएइ र कतारमा कोरोनाको लहर फैलियो र ठूलो संख्यामा नेपाली स्वदेश फर्किनुपर्दा त्यसले अर्को खालको समस्या निम्त्याउँछ। त्यसको पूर्वतयारी अहिलेदेखि नै थाल्दा उचित हुन्छ।

विभिन्न देशमा भएका विद्रोहपछाडिका कारण केलाउँदा युवाहरूको बेरोजगारी, आम्दानीको असमानता र खाद्यान्नको मूल्य वृद्धि नै मुख्य कारण छ। ‘अरब स्प्रिङ’ यसैको एउटा बलियो उदाहरण हो। समयमै युवाका समस्या, बेरोजगारी र खाद्यान्नको मूल्य वृद्धि नियन्त्रण गरिएन भने नेपालमा पनि कुनै न कुनै विद्रोह फेरि हुन बेर छैन।

कसरी बढीभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ? सबै समुदाय र क्षेत्रका युवाले कसरी रोजगारी पाउन सक्छन्? त्यतातर्फ योजना बनाउन र तयारी थाल्न ढिलो भइसकेको छ। राजनीतिक दलहरूले केवल आफ्ना कार्यकर्ता मात्र पाल्ने हैन। नीति निर्माताहरूले पनि नेताको आदेश पालना गर्ने मात्र होईन। देशका समग्र युवाको भविष्य र सपनालाई अविलम्ब सम्बोधन गरिनुपर्छ।

(सिइओ, थ्रिकम नेपाल)

प्रकाशित: १३ श्रावण २०७९ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App