१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
विचार

ईश्वरीय कृपाको आश

राष्ट्रपति विद्या भण्डारी विवाह पञ्चमीको अवसर पारेर जनकपुरस्थित जानकी मन्दिर पुग्दा राज्यशक्तिको प्रदर्शन त्यस भ्रमणको प्रमुख अवयव बन्न पुगेको थियो। कम्तीमा दुई दिनका लागि जानकी मन्दिर परिसर सैनिक छाउनीजस्तै देखिएको थियो। जुत्ता र कुत्ताले गर्दा वैष्णव धर्मावलम्बीहरूको आस्था कुल्चिएको विवाद अझै पनि मिथिला क्षेत्रमा साम्य भइसकेको छैन। विधि र पवित्रतालाई अरू हिन्दु सम्प्रदायमा भन्दा वैष्णवहरूले केही बढी महत्व दिन्छन्।

शैव र शाक्तहरूको बोलवाला रहेको नेपालको सुरक्षा निकायले वैष्णवहरूको संवेदनशीलता ठम्याउन नसक्नु अस्वाभिक भएन। राष्ट्रपतिको सुरक्षा संयन्त्रले मन्दिरको गर्भगृहसम्म जुत्ता लगाएरै पसेको गल्तीका लागि माफी मागेको भए तिनकै इज्जत बढ्थ्यो। तर, शासकीय दम्भले अन्धो भएपछि तार्किक कुरा पनि अर्घेल्याइँ लाग्ने रहेछ। उल्टै जनकपुरका धर्मभिरूलाई दोषी ठहर्या्उने माले–मण्डले–मसाले (मामम) सरकारसँग सम्बद्ध प्रचारवाजहरूको कुतर्क अद्यापि चली नै रहेको छ।

पशुपतिमा विशेष पूजा लगाइँदा भने जुत्ता र कुत्ताजस्ता कुराको चर्चा कतै सुनिएन। तखत किल्लाभित्रको धार्मिकस्थलमा सायद सुरक्षाको त्यस्तो आवश्यकता नदेखिएको पनि हुन सक्छ। जनकपुरमा चढाइएको भेटी गोप्य थियो। पशुपतिनाथका चरणकमलमा भने धर्मनिरपेक्ष गणतन्त्रका प्रथम नागरिकको एक महिनाको पारिश्रमिक अर्पण गरिएको कुरा छापाहरूमा श्रध्दा एवं भक्तिपूर्वक छापिएको रहेछ। राजतन्त्रका जराहरू नेपाली समाजमा गहिरोसँग गाडिएकाले होला, राष्ट्रपतिको राजकीय तामझाममा कसैले आँैला उठायो भने सोझै राजद्रोह (लेज मैजेस्टे) ठहरिने अवस्था कायमै छ। अन्य सामान्य नागरिकजस्तै सम्माननीय राष्ट्रपतिलाई पनि आफ्नो आस्थाअनुसारको कर्म गर्ने छुट छ। उनी कुनैबेला कम्युनिस्ट थिइन् वा थिइनन् भन्ने कुरा सार्वजनिक चासोको विषय होइन। साम्यवाद पनि अरू धर्मजस्तै एउटा आस्था हो। आस्था परिवर्तन गर्न पाइन्छ। नयाँ मुसलमानले धेरै प्याज खान्छ भन्ने उखान छ। कम्युनिस्ट धमभिरू भएपछि भैँसीपूजा गर्ने रहेछ भन्नेकुरा देखिएकै हो। फेरि राष्ट्रपति भण्डारीको आस्था पुनर्परिवर्तन नयाँ कुरा पनि होइन। सुनिएअनुसार विश्व हिन्दु परिषद्का अशोक सिंघल काठमाडौँ आउँदा उनलाई भेट्न सकभर छुटाउँदैनथे। त्यसअर्थमा उनी साम्यवादबाट जन्मकालको धर्मतर्फ फर्केको धेरै भइसकेको हुनुपर्छ।

वैष्णव मन्दिर र शैव देवालयपछि अव राष्ट्रपति कुनै शाक्तहरूको शक्तिपीठतिर लागिन् भने अचम्म मान्नुपर्दैन। त्यसपछि बाबा र गुरूहरूको पालो आउन सक्छ। तेत्तीसकोटी देवीदेउता भएको धर्ममा जति पूजापाठ गरे पनि एकजुनिमा पुग्ने होइन। कुरा के मात्र हो भने स्वस्तीशान्ति गरे संकटमोचन हुन्छ भन्ने आशले गर्दा कर्मबाट समस्त नेपाली समाजको विश्वास समाप्त भएको छ। आफ्नो कर्मको जिम्मेवारीसमेत कोही लिन चाहँदैन। जे भइरहेछ, त्यो सबै प्रभुकै इच्छा हुने भएपछि केही नगरे पनि फरक नपर्ने नै भयो। वर्तमान मामम गठजोड सरकारको मूलमन्त्र नै निरपेक्षता, उदासीनता एवं अकर्मण्यता बन्न गएको त्यसै होइन रहेछ! वार्तारूपी भजनकिर्तन गर्दै गरे कुनै न कुनै दिन संयुक्त मधेसी मोर्चा आफ्नो आन्दोलन फिर्ता लिन बाध्य हुनेछ। अनन्य भक्तले आफ्नो भगवानलाई धम्क्याउन पनि पाउँछ। घुर्की लगाउँदै चाकरी गरिरहे दिल्लीको मन पनि पग्लिने छ। र, नाकाकस्सी सुस्तरी सहज हुँदै जाने छ। त्यतिबेलासम्मका लागि राज्यसंरक्षित तस्करीमा भरपर्नुको विकल्प छैन।

भुइँचालो पीडितका लागि त उसै पनि भगवानबाहेक अरू कुनै कुरामा भरोसा गर्ने ठाउँ नै छैन। सरकारले दानमा आएको खाद्यान्न अव्यवस्थित गोदाममा कुहाँउछ। प्रहरीहरूले राहतसामग्रीको सुरक्षा गर्नुको साटो व्यापारीलाई जिम्मा लाउँछन्! सेनाले सहयोगको भाँडाकुँडा रक्सी र कुखुरासँग विनिमय गर्छ। ईश्वरीय सत्ताबाट पनि विश्वास उठ्ने हो भने यस्तो विषम परिस्थितिमा बाँच्ने समेत आश हराउन सक्छ।

पुरानालाई त बानी परिसकेकाले कुनै कुरामा पनि अब अचम्म लाग्दैन। दुनियाँ देखेका तर देश बु‰न बाँकी रहेका नयाँ पुस्ताका मान्छेले भने कहिलेकाहीँ आश्चर्य मान्दै सोध्छन्– हैन, यस्तो पनि कुनै राज्य हुन्छ! सातामा एकदिन पनि धारामा पानी आउँदैन। लगालग ३ दिनसम्म बिजुली बेपत्ता रहन्छ। पैसा तिरेर पनि मट्टीतेल, ग्यास वा अन्य इन्धन पाइँदैन। अख्तियार दुरूपयोगको जाँच गर्ने निकायले लगभग पूरै राज्य संयन्त्रलाई निगरानीमा राखेको जनाउ दिन्छ। तैपनि कहीँकतै कोही बोल्दैन। लाग्छ, देशमा अमनचैन छ। असन्तुष्टि र आक्रोशजस्ता भाव नै नेपाली समाजबाट हराएको छ। किन यस्तो भएको होला? प्रश्न जटिलजस्तो लागे पनि उत्तर खोज्नेलाई दुईटा शब्द सजिलै फेला पर्छ– भाग्यवाद र राष्ट्रवाद!

कर्मको खेल

नेपालको विकास हुन नसकेको कारण खोतल्ने क्रममा समाजशास्त्री डोरबहादुर विष्टले परिवारवाद, चाकरी प्रथा, आफ्नो मान्छे प्रवृत्ति एवं नियतिको निशर्तः स्वीकारतालाई राम्ररी केलाएर भाग्यवादको व्यापकतालाई मुलुकको निरन्तर पछौटेपनका लागि दोषी ठहर्याकएका छन्। गालीगलौजबाहेक उनका प्रस्तावनाहरूको तर्कसंगत खण्डन गर्ने हिम्मत अहिलेसम्म कुनै बौद्धिकले जुटाउन सकेका छैनन्। हुन पनि दलित जति नै पढे पनि दलित नै रहिरहने, तर जनै भिर्नासाथ अनपढ बाहुन पवित्र ठहरिने समाजमा तर्कको कुरा गर्नु व्यर्थ नै ठहरिन्छ। राजाजस्तै राष्ट्रपति हुन पनि ललाटमै लेखिएर आउने कुरा हो। बाँकी अंकगणित त आफसेआफ मिल्छ।

भाग्यवादी व्याख्यालाई पत्याउने हो भने हिन्दुहरूको पुण्यभूमिलाई विदेशी प्रभावमा अर्धधर्मनिरपेक्ष बनाइएकाले भुइँचालो गएको हो। भूगर्भविद्हरू त्यसै जान्ने भई टोपल्छन्। भूखण्डहरूको गति र टक्करका बारे शास्त्रहरूमा कतै केही छैन। त्यसैले त्यस्ता सबै कुरा वाहियात छन्। एक महिनाको पारिश्रमिक भूकम्पपीडितको साटो बरू पशुपतिनाथमा नै चढाउन उपयुक्त हुन्छ। त्यसैमा देशको कल्याण छ। सम्माननीय राष्ट्रपतिको सल्लाहकार मण्डलसँग असहमत हुन सकिएला, तर त्यस्तो विश्वास नेपाली समाजमा व्यापक छ भन्ने तिनको निर्क्योललाई ठाडै खारेज गर्न सक्ने ठाउँ छैन।

हिन्दुधर्ममा भाग्यवादको अर्को व्याख्याले भने पुरेततन्त्रका सञ्चालकहरूलाई अप्ठ्यारोमा पार्न सक्छ। जातीय व्यवस्थाबेगरको हिन्दु धर्मको कल्पनासमेत गर्न गाह्रो छ। जात रोजेर पाइने कुरा नभएर पूर्वजन्मको कर्मले निर्धारण गर्छ। त्यसैले जातअनुसारको कर्मलाई पनि धर्मकै हैसियत प्राप्त छ। ब्राह्मणलाई प्रतिपादन, क्षत्रीयलाई प्रतिरक्षा, वैश्यलाई प्रतिपालन र शूद्रलाई परिचर्याको जिम्मेवारी दिइएको जातीय व्यवस्थाको पवित्रतालाई प्रजातन्त्रले खल्बल्याएको छ। त्यस्तो मान्यतालाई मान्ने हो भने, नेपालका सबै समस्याको जरो गणतन्त्र हो। बरू शूद्र राजा हुन सक्छ, तर ब्राह्मण सर्वोच्च राजकीय पदका लागि उपयुक्त मानिँदैनन्। क्षमापूजा त चाहिएकै रहेछ। परम्पराको उल्लंघन जो भएको छ।

बाहुन राजा भएको देशमा विपत्ति निम्तन्छ भनिएको छ। भनाइ छ, ३२ दाँतका साथ जन्मिएका चाणक्यका राजज्योतिष बाबुले ब्राह्मणकुलको व्यक्ति राजा हुने डरले आत्तिएर आफ्नो नवजात शिशुको जम्मै दाँत उखेल्न लगाएका थिए। त्यसैले चाणक्य राजगुरू भएर उनको कीर्ति अजरअमर भयो। सायद उनी स्वयं सम्राट भएका भए दम्भी र अत्याचारी हुन्थे। धर्मभिरूता घट्दै गएकाले होला, नयाँ पुस्तामा समारोहिक राजासमेतको आकर्षण खासै छैन। धर्मको पकड भने कमजोर भएको देखिँदैन। गएको चुनावमा दाइ वा भाइ जोसँग जोडिएर भए पनि गाई छापले तहल्का मच्चाएको त्यतिकै होइन! राजासँग जोडिएर आउने राजधर्मभन्दा पुरेत–पुजारीतन्त्रले ल्याउने धर्मराज्य बढी विध्वंशक ठहरिन सक्छ। त्यो किनभने, धर्मराज्यको अवधारणासँग राष्ट्रवादको उन्माद जोडिएर आउँछ। र, आम वातोन्माद (मास हिस्टिरिया) मूलतः राष्ट्रवादले जन्माउँछ।

भाग्यवादलाई दोषी ठहर्याँउने समाजशास्त्री विष्टको अवधारणा आवश्यक र महŒवपूर्ण भए पनि अपूरो छ। नेपालको नियतिका लागि सरकारी तवरमा बढावा दिइएको राष्ट्रवाद कति पनि कम जिम्मेवार छैन। राष्ट्रवादका अगाडि 'खोक्रो' विशेषण झुन्ड्याउनै पर्दैन। आफ्नो माटो, भाषा, संस्कृति एवं परम्परासँग लगाव झल्काउने राष्ट्रियता मानवीय स्वभाव हो। जब त्यो राष्ट्रवादमा रूपान्तरित हुन्छ तब आफ्नासँग प्रेमको ठाउँ अरूप्रतिको घृणाले ओगट्छ। त्यसपछि समाज पतनोन्मुख हुन बेर लाग्दैन। नेपाल सुस्तरी लगभग त्यस्तै अवस्थाउन्मुख हुन लागेको हो कि? डरसँग सधैँ डराउनैपर्छ भन्ने छैन। कहिलेकाहीँ भयले सच्चिने उत्प्रेरणा पनि प्रदान गर्न सक्छ।

संक्रामक सोच

साम्यवादका सन्त महर्षि मार्क्सले घोषणा गरिदिए– धर्म सामान्यजनको अफिम हो। उनले प्रतिपादन गरेको राजनीतिक सोचको लत भने विश्व इतिहासमा सबैभन्दा छिटो फैलिएर समाप्त हुने 'धर्म'रूपी अफिममा दरिन पुगेको छ। 'विचारधाराको अन्त्य' नामकरण गरिएको त्यस्तो खालीपन पुर्न थरिथरिका प्रयोग भइरहेका छन्। सभ्यताको संघर्ष भनिएको अमेरिकीहरूको धर्मयुद्ध संसारभरि नै चलिरहेको छ। ससाना सांस्कृतिक संघर्ष पनि जताततै चालु छन्। सबैभन्दा प्रभावकारी नयाँ अफिम भने राष्ट्रवादको उन्मादको रूपमा द्वितीय विश्वयुद्धपछि पुनः उदाउन थालेको पूर्वाभाष नेपालको सार्वजनिकवृत्तमा समेत अनुभव गर्न सकिन्छ।

हिजोआज एकथरि खाँटी राष्ट्रवादीहरूले 'लौ भन्नुस्, तपाईं पहिले मधेसी कि नेपाली?' भन्ने प्रश्न सोध्छन्। उत्तरदाताका लागि सामाजिक स्वीकारताको महŒव बढी छ भने सगर्व पहिले नेपाली भएको घोषणा गरेर आफ्नै स्वत्वको हुर्मत आफै लिन्छन्। धेरैजसो भने सत्य बोले आलोचित हुने डरले प्रश्नबाटै पन्छिन खोज्छन्। अलबर्ट आइन्स्टाइन झूठो बोल्न जरूरी ठान्दैनथे। सन् १९२९ को अन्त्यतिर उनलाई एउटा 'अजासु' पत्रकारले सोध्यो, 'लौ भन्नुस्, तपाईं पहिला यहुदी कि जर्मन?' उनले तुरून्तै भने, 'म त यहुदी नै हो नि, त्यसपछि मात्र जर्मन!'

नभन्दै आइन्स्टाइन आजीवन यहुदी रहिरहे। जर्मन भएर रहन उनीभन्दा अगाडि तीन हात उफ्रेर 'म त सबैभन्दा पहिले जर्मन!' भन्न नामूद यहुदी राष्ट्रप्रेमीहरूले पनि सकेनन्। शेक्शपियरले भूतकाललाई भविष्यको पूर्वाभाषका रूपमा अर्थाएका छन्। सायद आइन्स्टाइनले युरोपमा राष्ट्रवादको उन्मादलाई राम्ररी पहिल्याएका थिए। त्यसैले त उनले हिटलर सत्ताको उदयभन्दा कम्तीमा ४ वर्षअगाडि नै घोषणा गरिदिए– राष्ट्रवाद बु‰न नसकिने रोग हो, मानवजातिको दादुरा। त्यसबेलासम्म पनि दादुरा भयंकर संक्रामक एवं निको नहुने रोग मानिन्थ्यो, राष्ट्रवादजस्तै।

द्वितीय विश्वयुद्धपछि जर्मनी, जापान, फ्रान्स, बेलायतलगायत धेरै मुलुकले त्यस रोगबाट मुक्ति पाए। नेपालमा इतिहास ढिलो सुरू भएकाले होला, संक्रमण अद्यापि बाँकी छ। धरातलीय यथार्थले भने पुरानो रोगको पकडले गर्दा मुलुक थला परेको आत्मबोध बढ्दै गइरहेको छ। नागरिकता लिन चाहनेलाई शंका गर्ने, तर घरखेत बेचेर जसरी भए पनि अमेरिका जान मरिहत्ते गर्नेहरूको राष्ट्रप्रेमको गुणगान गर्ने देश जस्तो हुन सक्थ्यो, समसामयिक नेपाल त्यसभन्दा रत्तिभर फरक छैन। मामम सरकार प्रमुख नचिनिएका व्यक्ति होइनन्। उनी सार्वजनिकरूपमै गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, संघीयता एवं सकारात्मक विभेदद्वारा सारभूत समानता स्थापित गर्ने राजनीतिक कार्यसूचीका घोरविरोधी रहँदै आएका छन्। जीवनको यो मुकाममा आएर आस्था फेरिन सक्दैन। भत्किनलाई देशले दुःख पाउनु थियो, त्यो भइरहेछ।

ईश्वरिय आदेश हो, जे भयो त्यो हुनु नै थियो। र, राम्रैका लागि भयो। जे भइरहेछ, त्यो पनि हुनु नै छ। राम्रैका लागि भइरहेछ। अन्ततः जे हुनेछ, त्यो पनि राम्रै हुनेछ। राष्ट्रवादले निम्त्याउने विध्वंशभन्दा बरू भाग्यवादकै भर परे उत्तम हुनेछ। सम्माननीय राष्ट्रपतिको धार्मिक सक्रियता स्वागतयोग्य छ। मामम सरकारबाट लोकतान्त्रिक संस्कार वा धर्मनिरपेक्ष व्यवहारको अपेक्षा राख्नु मुर्खता हुनेछ। हुनेहुनामी भइसकेपछि गर्न बाँकी त प्रार्थनामात्र न रहन्छ!

प्रकाशित: १६ पुस २०७२ २१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App