२० माघ २०८२ मंगलबार
image/svg+xml
विचार

सामान्यजस्तो देखिने समस्या: अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर

कसैको मृत्युको खबर सुन्दा नरमाइलो लाग्नु, त्यहाँ जान मन नलाग्नु सामान्य हो। मन नलागे पनि गइन्छ। मृतकका आफन्तहरूलाई भेटिन्छ, परेको सहयोग गरिन्छ। संसारका सबै मानवजातिको सामाजिक संस्कारभित्र पर्ने कुरा हो यो। तर यही सामान्य कुराले कसैको जीवनमा तनावको स्थिति सिर्जना गराइरहेको हुन्छ। यस्तै भएको छ ३५ वर्षीया रिनालाई। न त उनी यस्तो घटना हेर्न सक्छिन्, न त कसैलाई सान्त्वना दिनका लागि त्यहाँ जान नै सक्छिन्। मृतकको नाममा जुठो बारेको कुनै व्यक्ति उनको नजिक आयो भने उनी आफूलाई पटकपटक सफा गर्छिन्। उनी भन्छिन्, ‘मलाई असाध्यै डर लाग्छ उनीहरूको नजिक हुन। उनीहरूलाई छोयो भने केही नराम्रो भैहाल्छ कि जस्तो लाग्छ। त्यसपछि मलाई रातभरि निद्रा पनि लाग्दैन। छटपटी हुन्छ। मनमा अनेकप्रकारका डरलाग्दा कुरा खेलेर मन अशान्त हुन्छ।’

विनोदको धेरै समय सामान चेक गर्नमै बित्ने गर्छ। घरबाहिर निस्कने बेलामा झ्यालढोका बन्द गरेँ कि गरिनँ, ग्यासको रेगुलेटर बन्द गरेँ कि गरिनँ भनेर पटकपटक चेक गर्नुपर्छ उनलाई। कम्तीमा पनि ४/५ पटक त चेक गरेकै हुन्छन् उनले। तर पनि कहिलेकाहीँ अफिस पुगेर पनि घर खुल्लै रहेको पो छ कि भनेर तनावमा हुन्छन्। उनी भन्छन्, ‘म कहिलेकाहीँ दिनभरि छटपटिई रहन्छु त्यही पीरले। अफिसमा राम्ररी काम गर्न नसकेको पनि कति भैसक्यो। मेरो यो समस्याले कुन दिन जागिर नै जान्छ कि जस्तो लागिसक्यो।’

जुन विचारले दुःख दिएको छ, त्यसको सामना गर्नु नै यसको उपचार हो। सुरुको अवस्थामा व्यक्ति स्वयम्ले आफ्नो उपचार गर्न सक्छ भने जब रोग बढेर गम्भीर अवस्थामा पुग्छ, त्यसपछि प्रोफेसनलको सहयोगमा औषधी अथवा थेरापी वा दुवै एकसाथ लिनुपर्ने पनि हुन्छ।

जया भन्छिन्, ‘मलाई अरू मानिसबाट रोग सर्छ भनेर सारै डर लाग्छ। त्यसैले आजभोलि म हत्तपत्त घरबाहिर निस्कन्नँ। निस्किहालेँ भने पनि हतारहतार घर आएर पूरै सफा भएरमात्र आफ्नो काममा लाग्छु। कहिलेकाहीँ त यो काम दिनमा २/३ पटक पनि दोहोरिन्छन्। घरका अन्य सदस्यहरू बाहिर गएका भए उनीहरूलाई पनि नुहाउन लगाउँछु। मेरो यस्तो व्यवहारले सबै दिक्क भैसके। मैले गरिरहेको काम अनावश्यक हो भनेर थाहा छ तर पनि म आफूलाई रोक्न सकिरहेको छैन।’

यस्ता समस्या झेलिरहेका थुप्रै मानिसहरू हाम्रो समाजमा भेटिन्छन्। हरेक ५० जनामा १ जनालाई जीवनको कुनै न कुनै समयमा यस्तो समस्या हुन सक्ने अध्ययनले देखाउँछ। यो समस्या महिला र पुरुषमा समानरूपमा भेटिएको पाइन्छ। किशोरावस्था वा २०/२५ वर्षमा यो समस्या देखिन सक्छ। कुनै समयमा यसको लक्षण आफैँ हराएर जान पनि सक्छ। यसले निकै पीडा दिन पनि सक्छ। यो मनको एक किसिमको समस्या हो। जसमा एउटै विचार दिमागमा चलिरहन्छ। जसले तनाव पैदा गर्छ र त्यसलाई शान्त पार्न बारबार त्यही काम गर्न बाध्य हुन्छ मान्छे। यसलाई अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (ओसिडि) भनिन्छ।  

यसमा तीन कुरा हुन्छन्:

विचार

नकारात्मक विचार (डर, चिन्ता, निन्दा, ईष्र्या) दिमागमा निरन्तर आइरहन्छ। दिमागमा अनेक किसिमका भयानक तस्बिरहरू जस्त आफ्ना प्रियजनको मृत्यु, हिंसात्मक घटना, यौन क्रियाकलापका दृश्य देखिन्छन्।  

भावना

दिमागमा जस्तो विचार आयो, मनमा भावना पनि त्यस्तै उत्पन्न हुन्छ। त्यसैले यो अवस्थामा तनावपूर्ण, भयभित, दुःखी, अपराधबोधले ग्रसित मनोभावको सिर्जना हुन्छ। यस्तो ग्रसित मनोभावबाट उम्कनका लागि बारबार त्यही कार्य दोहोर्‍याइरहन बाध्य हुन्छ।  

कार्य

दिमागमा रोग संक्रमण हुने डरको विचार यदि कसैलाई निरन्तर आउन थाल्यो भने उसको मनोभाव भयभित हुन थाल्छ। उसका दिमागमा डरलाग्दा दृश्यहरू घुम्न थाल्छन्। अतीतका कुनै डरलाग्दा घटनासँग ती विचार जोडिन थाल्छन्। भविष्यमा हुन सक्ने भयङ्कर घटनाको कल्पना गर्न सक्छ मनले। मन तनावयुक्त हुन्छ। त्यसपछि उसले त्यो तनावलाई शान्त पार्न पटकपटक त्यही कार्य गरिरहन्छ। त्यो कार्यले एकछिनका लागि केही राहत दिएजस्तो लाग्छ तर फेरि त्यही काम गर्न बाध्य पारिरहन्छ। जस्तै पटकपटक हात धोइरहने, झ्यालढोका बन्द गरे–नगरेको चेक गरिरहने, सामानहरू एउटै प्याटर्नमा मिलाएर मात्र राख्ने, एउटै चिजलाई बारबार गनिरहने, आफूलाई आवश्यक नभएका सामानहरू पनि जम्मा गरेर राख्ने। यी सब दिमागका नकारात्मक विचार र मनको भावनाले प्रेरित पारिएका बाध्यात्मक कार्य हुन्। यी कार्यहरू जति दोहोरिन्छन्, त्यति नै यो समस्यामा फस्दै जान्छ मानिस। त्यसैले सुरुको अवस्थामा यो कुनै समस्या हो जस्तो लाग्दैन। जति पछि हुँदै गयो, यसको तीव्रता पनि बढ्दै जाने हुनाले समाधानको बाटो थाहा नहँुदा जीवन नै तहसनहस हुन पुग्छ।  

बारबार गरिने हरेक कार्य ओसिडी हो त ?

जुन विचारले मनलाई दुःखी बनाउँछ, भयभीत बनाउँछ, त्यसले मात्र समस्या ल्याउँछ। सकारात्मक विचारले मनलाई खुसी पार्छ, केही गर्ने प्रेरणा दिन्छ। त्यस्तो विचार निरन्तर दिमागमा आइरह्यो भने फाइदा नै हुन्छ। त्यसबाट प्रेरित कार्य जति गर्न सक्यो, त्यति नै फाइदा हुन्छ। तर कुनैकुनै यस्ता समस्याहरू छन्, जुन ओसिडीसँग मिल्दाजुल्दा छन्— बडी डिस्मर्फिक डिस्अर्डर, ट्राइकोटिलोमेनिया, हाइपोकोन्ड्राइसिसजस्ता समस्याहरूमा ओसिडीका केही लक्षणहरू मिल्न सक्छन्। कुनै पनि काम कसैले पटकपटक गरेको छ भन्दैमा त्यो ओसिडी भन्न मिल्दैन। जस्तै जुवातास खेल्नु, लागुऔषधको सेवन गर्नु, योगा/व्यायाम गर्नु आदि। यो मानिसले आनन्द लिनका लागि गर्छ भने ओसिडी भएको व्यक्तिले गर्ने हरेक कार्य बाध्यतावश गरिएको हुन्छ। त्यसबाट आनन्द आउँदैन।  

ओसिडीको कारण

वंशाणुगत

यो समस्या वंशाणुगत कारणले पनि आउन सक्छ। अगाडिको पुस्तामा समस्या थियो। त्यो समस्या पुस्तान्तर हुँदै आएको हुन सक्छ।  

तनाव

तनावका कारणले पनि यो समस्या ल्याउन सक्छ भने यसको कारणले पनि तनाव उत्पन्न हुन्छ। सेरोटोनिनको मात्रा घट्छ। एक तिहाइ मान्छेलाई तनावको कारणबाट मात्र ओसिडी भएको पाइएको छ। जागिर, नयाँ जिम्मेवारी, यौवन आरम्भ, बच्चाको जन्मजस्ता कुराले जीवनमा तनावको सिर्जना गरेको हुन्छ। त्यसप्रति सबैको ध्यान जान सकेको हुँदैन। सबैलाई जानकारी पनि हुँदैन। जानकारी भए पनि सकेसम्म तनावलाई व्यवस्थापन गर्नुभन्दा दबाउनतिर लाग्छन्।  

व्यक्तित्व

अत्यधिक सफाइमा ध्यान दिने, व्यवस्थित तरिकाले काम गर्ने, सारै नैतिक सिद्धान्तमा रहने मान्छेलाई पनि यो समस्या आउन सक्छ। यो गुण राम्रो हो तर कहिलेकाहीँ यही गुण अधिक हुन गई समस्याको रूप लिन सक्छ।

सोच्ने तरिका

स्वस्थ मानिसको दिमागमा २४ घण्टामा ६०—७० हजारसम्म विचार चल्छन्। अवस्थाअनुसार जस्तो विचार पनि आउन सक्छ। कसैको बानी नराम्रो विचार दिमागमा आउनु राम्रो होइन। त्यसलाई हटाउनु पर्छ भनेर सोच्दासोच्दै त्यही विचारमात्र आउन थाल्छ। त्यही विचारले दिमागमा घर बनाउँछ पत्तै नपाई।  

ब्याक्टेरियाको संक्रमण

स्ट्रेप्टोकोकस नामक ब्याक्टेरियाको संक्रमणका कारणले पनि ओसिडी भएको विभिन्न रिसर्चले देखाएको छ।  

निवारण

जुन विचारले दुःख दिएको छ, त्यसको सामना गर्नु नै यसको उपचार हो। सुरुको अवस्थामा व्यक्ति स्वयम्ले आफ्नो उपचार गर्न सक्छ भने जब रोग बढेर गम्भीर अवस्थामा पुग्छ, त्यसपछि प्रोफेसनलको सहयोगमा औषधी अथवा थेरापी वा दुवै एक साथमा लिनुपर्ने पनि हुन्छ। हेर्दा सामान्य लागे पनि यो समस्याले बिस्तारै जटिल रूप लिन सक्छ। यो समस्याले अर्कै रूप धारण गर्न पनि सक्छ। त्यसैले समयमै रोगको पहिचान गरी समाधानतर्फ लागेमा केही समयको उपचारपछि पूर्ण रूपमा स्वस्थ हुन सकिन्छ।

प्रकाशित: ७ श्रावण २०७९ ००:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App