८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

थप विश्वविद्यालय चाहिन्छ र?

विद्यालयको विधेयक राष्ट्रिय सभामा छलफलमा नै छ। नयाँ विश्वविद्यालय स्थापना गर्नुभन्दा पहिला यस क्षेत्रका विविध विषयमा गहन छलफल आवश्यक छ। के नेपालमा साँच्चै थप विश्वविद्यालयको आवश्यकता हो? के हाम्रा विश्वविद्यालयले विश्वविद्यालयमा गर्ने कार्य नगरेर नयाँ विश्वविद्यालय खोल्न लागिएको हो? के हाम्रा विश्वविद्यालयलाई चाहिने मात्रामा विद्यार्थी उच्च शिक्षामा छन्? हाम्रो प्राज्ञिक उन्नयनको काम सन्तोषजनक छ? के हाम्रो उच्च शिक्षाले ज्ञान अर्थव्यवस्थालाई टेवा पुर्‍याएको छ? अथवा नेपालबाट दिनानुदिन विदेशी विश्वविद्यालयमा पढ्न जाने विद्यार्थी रोक्नका लागि हामीले नयाँ विश्वविद्यालय खोल्न लागेका हौँ? वा विदेशी विद्यार्थीका लागि नयाँ गन्तव्यका रूपमा नेपाललाई विकास गर्ने हेतुले यसो भनिएको हो?  

शिक्षाले मूलतः तीनवटा काम गर्नुपर्ने देखिन्छ– (१) सामाजिक रूपान्तरण, (२) आर्थिक विकासको कार्यादेश तयार, (३) अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्न सक्ने स्नातकको उत्पादन। के हाम्रा विश्वविद्यालयले यी उद्देश्यलाई ध्यान दिएर कार्य गरिरहेका छन्?  

सामाजिक रूपान्तरणका लागि विश्वविद्यालयले आफ्नो देशको भाषा, कला, संस्कृति, साहित्य, इतिहास, भूगोललगायतका विषयवस्तुलाई देशको हरेक कुना र समाजमा पुर्‍याउनुको साथै अन्तर्राष्ट्रिय जगत्सम्म पुर्‍याउनु आवश्यक छ। समाजमा हुने सामाजिक, राजनीतिक, आर्थिक र अन्य प्रकारका सकारात्मक तथा नकारात्मक असरबारे समाजमा सुसूचित गर्ने नागरिकहरू तयार गर्ने काम विश्वविद्यालयको हो। के हाम्रा विश्वविद्यालले यी विषयवस्तुलाई प्राथमिकताका साथ अध्यापन गराइरहेका छन्?

देशको समग्र आर्थिक विकासका लागि उद्यमशील र प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ। नेपालका विश्वविद्यालयहरूमा परम्परावादी सिकाइ शिक्षणले न विद्यार्थीलाई सिप प्रदान गर्न सक्यो न त आर्थिक उपार्जनको माध्ययको विकास। यस्तो अवस्थामा प्राविधिक धारको शिक्षालयमार्फत अटोमोबाइल, कार्पेन्टर, प्लम्बिङ, सिँचाइ, पशु पालन, कृषि, परम्परागत सिप आदिका प्राविधिक शिक्षालय स्थापना गरी उच्च शिक्षाका विद्यार्थीलाई उद्यमशील र आर्थिकरूपमा सबल र सक्षम बनाउने कार्यादेशसहितको प्राविधिक धारका उच्च शिक्षालय स्थापन गर्नु आवश्यक छ। जसले सिप सिकाइ वृद्धि गरी स्वरोजगारी सिर्जना गर्नुका साथै आर्थिकरूपमा सबल र सक्षम बनाउन सहयोग गर्दछ। यसको साथै दिनानुदिन विदेशिने विद्यार्थीलाई रोक्न प्राविधिक शिक्षाको आवश्यकता छ जुन उच्च शिक्षामा मात्र होइन, विद्यालय तहबाट नै उपलब्ध गराउनु आवश्यक छ।  

नेपालमा भएका अनुसन्धान तथा अन्वेषणले आममानिसको जीवन र जीविकोपार्जनसँग सम्बन्धित विषयवस्तुलाई जोडका साथ उठान गर्न सकेका छैनन्। आजको उच्च शिक्षाले विश्वविद्यालका स्नातकलाई आलोचनात्मक, खोजमूलक र अनुसन्धानमूलक बनाउनु आवश्यक छ। यसका लागि विश्वविद्यालयले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ज्ञान आर्जन र यसको प्रयोगको बदलिँदो विश्व परिवेशमा बिग डेटा, मेसिन लर्निङ तथा आर्टिफिसियल इन्टिलिजेन्सको उपयोग जस्ता विषयवस्तुलाई अध्यापन गराइ अन्तर्राष्ट्रिय जगत्का विद्यार्थीलाई समेत आकर्षण गर्नु आवश्यक छ।  

थप विश्वविद्यालय किन?

हाल नेपालमा ११ वटा केन्द्रीय, एउटा प्रादेशिक विश्वविद्यालय र ४ वटा विश्वविद्यालय स्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। ती विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हेर्ने हो भने कतिपयमा १००० जना विद्यार्थी पनि छैनन्। विदेशी विद्यार्थीलाई आकर्षण गर्ने कुरा कागजमा सीमित छ। यहाँका १२ वटा विश्वविद्यालय (११ वटा संघीय र एउटा प्रादेशिक) साथै ४ वटा विश्वविद्यालय स्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरका विद्यार्थी आकर्षण गर्ने कुनै कार्यदिशा तयार गरेका छन् त? यसो हुन सकेको छैन भन्दा एकाध, दुई विश्वविद्यालयमा भन्दा अरू विश्वविद्यालयमा विदेशी विद्यार्थी शून्यप्रायः हुनुले जनाउँछ।  

कतिपय विश्वविद्यालय जुन उद्देश्यका साथ स्थापना भएका थिए ती विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीको सोधपत्र र अनुसन्धान हेर्दा ती विश्वविद्यालयले आफ्नो उद्देश्य बिर्सेकोसमेत भान हुन्छ। यस्तो अवस्थामा थप विश्वविद्यालय खोल्नुको कुनै औचित्य छैन।  

सबल र सक्षम उच्च शिक्षा  

विश्वविद्यालयमा भएका कुन अनुसन्धानले आमनागरिकको जीवनमा प्रत्यक्ष फरक पार्ने वा असर गर्ने कुरा गरेको छ? यसबारे गहनरूपमा छलफल गरौँ। यसका साथै विश्वविद्यालयबाट प्रकाशित हुने जर्नलहरूको विशिष्टीकरणको समेत मूल्यांकन गरौँ। विश्वविद्यालयमा कार्यरत सीमित प्राज्ञिक व्यक्तिले अन्तर्राष्ट्रिय स्तरको जर्नलमा लेख तथा रचना प्रकाशित गर्दैमा तिनले नेतृत्च गरेका विश्वविद्यालयबाट प्रकाशित हुने जर्नल अन्तर्राष्ट्रिय स्तरमा मापनमा नै आउनु नसक्नु कसको दोष हो? के त्यो वर्गले ती जर्नललाई विशिष्टीकरण गर्नेतर्फ ध्यान दिनुपर्दैन। उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई सोध र अनुसन्धानमा निपूर्ण बनाउने कार्यमा विश्वविद्यालयलाई बढी जिम्मेवार बनाऔँ। देशका लागि आवश्यक पर्ने अनुसन्धानको कार्य विश्वविद्यालयबाट नै गर्ने वातावरण सिर्जना गरौँ।

सक्षम विश्वविद्यालय कसले बनाउने?  

विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन, सोध र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने काम राजनीतिक दलको हो वा प्राज्ञिक वर्गको? प्राज्ञिक वर्गले आफ्नो सानो फाइदा तथा राजनीतिक नियुक्तिलाई प्राथमिकतामा राखेर विश्वविद्यालयमा अध्ययनरत लाखौँ विद्यार्थीको भविष्यलाई दाउमा राख्न पाइन्छ? यसतर्फ राजनीतिक दल र तिनको नेतृत्वले पनि सोच्नु आवश्यक छ। विश्वविद्यालयलाई राजनीति भन्दा बाहिर राखौँ। प्राज्ञिक उन्नयनको काम गर्न दिउँ। विश्वविद्यालयलाई उत्कृष्टको केन्द्र (सेन्टर आफ एक्सिलेन्स) का रूपमा विकास गरौँ। 

यसका लागि नेपालमा रहेका विश्वविद्यालयलाई नेपालको कला, साहित्य, संस्कृति, भूगोल, इतिहास आदिबारे अन्तर्राष्ट्रिय जगत्लाई चिनाउन सक्ने वातावरणका साथ एक्काइसौँ शताब्दीले अंगीकार गरेको बिग डेटा, मेसिन लर्निङ तथा आर्टिफिसियल इन्टिलिजेन्स जस्ता विषयवस्तुलाई पाठयक्रमको मूलधारमा ल्याई अध्यापन गर्ने प्रणाली विकास गरौँ। यसो गर्न सकियो भनेमात्र हाम्रा विश्वविद्यालयले उत्पादन गरेका स्नातक अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्छन् र विकासका लागि ज्ञान अर्थव्यवस्था (नलेज इकोनोमी) ले टेवा पुर्‍याउँछन्। अन्यथा शिक्षामाथि राजनीतिक दबदबा राखियो भने न संविधानले भनेझैँ विश्वविद्यालय स्वायत्त हुन्छन् न त तिनले हाम्रो समाजका लागि आवश्यक पर्ने सक्षम र सबल नागरिक नै उत्पादन गर्न सक्छन्।

समाधानको उपाय

दिगो भविष्य निर्माणका लागि हामीलाई डेटा भन्दा बढी अनुसन्धान गर्ने आधार, रिपोर्टहरू र ड्यासबोर्डहरू आवश्यक पर्छ भने अर्कोतर्फ मानव पुँजीको प्रबन्ध गर्नु जरुरी देखिन्छ। मानव पुँजी प्रबन्धले देशलाई आवश्यक पर्ने अनुसन्धान र अन्वेषणको खाका कोर्न मद्दत गर्छ। यदि त्यसो गर्न सकियो भने मात्र हामीले गरेका अनुसन्धानले आमनेपालीको जीवनस्तर उकास्न सहयोग पुर्‍याउँछ। अतः अब नेपालका विश्वविद्यालय, रिसर्च इन्स्टिच्युट, रिसर्चरलगायतले आममानिसको जीवनसँग सम्बन्धित मुद्दा र विषयवस्तुको घेरामा रहेर अनुसन्धान तथा अन्वेषण गर्ने हो भने पक्कै पनि हामीले गरेका अनुसन्धानले आमनागरिकको सुनौलो भविश्य तयार गर्न र देश विकासको मार्ग प्रस्तुत गर्ने खाका तयार गर्न सक्छ।

हाम्रा विश्वविद्यालयले जुन प्रकारका प्राज्ञिक उन्नयनको कार्य गर्नुपर्ने हो सो हुन सकिरहेको छैन। यसको अपजस यसको नेतृत्व गर्ने सरकार प्रमुखको मात्र रहँदैन। विश्वविद्यालयका उपकूलपति, डिनलगायत प्राध्यापकहरू नै स्वयं प्राज्ञिक उन्नयन कार्यमा कति कमजोर र उदासीन छन् भन्ने कुराको आत्मसमीक्षा गर्नु आवश्यक छ। अतः हाम्रा विश्वविद्यालयको शिक्षा, सोध, अनुसन्धान र सिकाइ प्रक्रिया प्रविधिमैत्री नहुँदा विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने केन्द्रका रूपमा चित्रित भएका आभास हुन्छ। 

प्रकाशित: ४ श्रावण २०७९ ००:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App