१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
विचार

परिकल्पनाको संकट

स्वैरकल्पना सामान्यतया साहित्यको क्षेत्र हो। कवि वा कथाकार यथार्थमै बाँधिनुपर्छ भन्ने छैन। तिनले कल्पना लोकमा रमाउने स्वतन्त्रता पाएका हुन्छन्। नेपालका राजनीतिकर्मीहरूमा साहित्यप्रति असाध्यै आशक्ति भएकोले होला, तिनले अरू केही सिर्जना गर्न नसके पनि उखानटुक्का र लोककथा भने सुनाइरहेकै हुन्छन्। स्वैरकल्पनाका मामिलामा नेपालका राजनीतिकर्मी सामान्य शब्दशिल्पिलाई सजिलै पराजित गर्न सक्छन्। त्यसैले होला, नेपालको राजनीति तथ्य र तर्कभन्दा पनि आवेश र उत्तेजनाद्वारा सञ्चालित भइरहेको हुन्छ।

परिचित्रण भन्न मिल्ने मानसिक चित्रको खाका पनि एक प्रकारको कल्पना नै हो। स्वैरकल्पनाको तुलनामा परिचित्रण भने केही यथार्थपरक हुन्छ। सम्भावनाहरू केलाइएका हुन्छन्। जटिलताको बेवास्ता गरिएको हुँदैन। कठिनाइको आकलन गरिन्छ। र, त्यसपछिको परिचित्र आकर्षक वा अनाकर्षक के हो ठम्याइन्छ। त्यस्ता कल्पना जागरूक भएर देखिने सपनाजस्ता हुन्छन्। त्यसको कार्यान्वनका लागि इच्छाशक्ति भए पुग्छ।

स्रोतको अभावले रोकिने स्वैरकल्पनामात्र हो, परिचित्र योजनामा उत्रिएपछि आवश्यक स्रोत आफसेआफ ओइरिन थाल्छ। त्यसैले होला भनिएको, दूरदृष्टि मानसिक चित्र कोर्न सक्ने क्षमताबाट उब्जिन्छ। ज्ञानभन्दा कल्पना महत्वपूर्ण हुन्छ भने एल्बर्ट आइन्स्टिको निर्क्योल सम्भवतः यसै अवधारणाबाट उत्प्रेरित थियो। कल्पना शक्तिबेगर ज्ञान र विज्ञानको विस्तार सम्भव छैन।

साहित्यको स्वैरकल्पना एवं विज्ञानको परिचित्रणजतिकै महत्वपूर्ण भूमिका समाज रूपान्तरणमा परिकल्पनाको हुन्छ। भूगोल बदल्न बरू सकिएला, इतिहासको बढीमा गर्न सकिने भनेको पुनर्व्याख्यामात्रै हो। संस्कृति सुस्तरी मानसिक बनोटको अंग बनिसकेको हुन्छ। अर्थ–राजनीति समसामयिक विचार प्रवाहबाट मुक्त रहन सक्दैन। भूराजनीति वैश्विक शक्ति सन्तुलनले निर्धाति गर्ने गर्छ। परिकल्पनामा त्यस्ता सबै परिसीमाहरू (लिमिटेसन्स) पहिल्याएर समाजिक परिवर्तनको रूपरेखा तयार गर्नुपर्ने हुन्छ। परिकल्पनाबेगरको समाज वा राष्ट्र जतिसुकै सुदृढ भए पनि क्षयोन्मुख हुन बेर लाग्दैन।

संसारका बलशाली साम्राज्यहरू परिकल्पना नवीकरण गर्न नसकेकाले समाप्त भएका छन्। कतिपय पुनः उदाएका पनि छन्। वर्तमान चीनको शक्ति सैन्य आधारबाट विश्वव्यापारमा लाग्ने निर्णयबाट अगाडि बढेको हो। भारत अझैसम्म पनि जवाहरलाल नेहरूको परिकल्पनाअनुसारको बहुलतासहितको राष्ट्रिय एकता सुदृढीकरणमै व्यस्त छ। नेपालको परिकल्पना भने के हो? त्यस अहम् प्रश्नको उत्तर पाउन नसकेपछि बीपी कोइराला (सन् १९४२–१९८२) नेपाल एउटा स्वतन्त्र भौगोलिक इकाई रहेको, तर राष्ट्र हुन नसकेको निष्कर्षमा पुगेका थिए। बीपीले अवस्थाको पहिचान त सहीरूपमा गरे, कारण र निदान भने पहिल्याउन सकेनन्। सायद उनका मूलभूत राजनीतिक भूलहरूमध्ये राजा र आफ्नो राष्ट्रियताबीचको फरक देख्न नसक्नु सबैभन्दा महŒवपूर्ण थयो।

संस्कृति आधारित राष्ट्रियता स्थिर एवं निर्दिष्ट हुन्छ। पुर्खाहरूले आर्जेको मुलुकमा परिवर्तन खोज्नु अपराधमात्र नभएर पाप पनि हुन जान्छ। त्यसैले बीपीका राजनीतिक कार्यसूचीले व्यापक जनसमर्थन हासिल गरे पनि राष्ट्रिय स्वीकार्यता भने पाउन सकेन। दुईतिहाइ बहुमत पाएको सरकार सैन्यबलले विघटन गरिँदा प्रतिरोधको साटो पुस १ गतेका दिन स्वागतमा दीपावली गरिएको थियो। दुर्भाग्य नै मान्नुपर्छ, झन्डै दुई दशक कारागार र निर्वासनमा बिताएर राष्ट्रिय जनमतको सामना गर्ने बेलासम्म पनि बीपीको परिकल्पनाको केन्द्र बिन्दुमा राजा नै थिए। राष्ट्रियताको त्यस्तो परिकल्पनाले भने इरानमा शाहको पतन, अफगानिस्तानमाथि तत्कालीन सोभियत संघको नियन्त्रण एवं अरू देशको सार्वभौमिकताको पटक्कै वास्ता नगर्ने आक्रामक अमेरिकी राष्ट्रपति रोनाल्ड रिगनको उदयसँगै समाप्त भइसकेको थियो।

पवित्र पितृभूमि

बीपीको 'राजा र मेरो घाँटी जोडिएको' अवधारणालाई दार्शनिक रूसोको बलिदानी नागरिक दृष्टान्तसँग जोडेर बु‰न सकिन्छ। प्लुटार्कको कथा सम्झाउँदै रूसो लेख्छन– प्राचीन स्पार्टानगर राज्यमा एउटी महिलाका ५वटै पुत्र सेनामा थिए। युद्ध मैदानबाट खबर ल्याउने सेवकले उनलाई सुनाउँछन– महिलाका पाँचै पुत्र लडाइँमा मारिएछन्। युद्ध भने स्पार्टाले जितेको हुन्छ। दुःखमनाउ गर्नुको साटो ती भद्र महिला मन्दिरमा गएर ईश्वरप्रति कृतज्ञता ज्ञापन गर्छिन्, 'धन्यभाग, मेरा पुत्र देशका लागि काम लागे।' यो अवधारणा ईश्वरीय सत्ताको स्वीकार्यतामा टिकेको छ।

वैश्व युगका स्थापित एवं आकांक्षी बुर्जुवाहरूले भने लाभ–हानीको लेखाजोखालाई प्राथमिकतामा राख्ने गर्छन्। दण्ड तथा पुरस्कार दुवैमा राजसंस्थाको एकाधिकार रहेकाले बीपीको मेलमिलाप नीति प्रयोगमा नआउँदै बेकामे ठहरियो। बीपीको देहान्तलगत्तै बेनेडिक्ट एन्डरसन (सन् १९३६–२०१५) ले राष्ट्रियतालाई परिकल्पित समुदाय (इम्याजन्ड कम्युनिटी) भन्दै व्याख्या गर्दै सोही शीर्षकमा पुस्तक प्रकाशित गरे।

परिकल्पित समुदाय पवित्र पितृभूमि पनि हुन सक्छ। कसैको प्रिय मातृभूमिले पनि परिकल्पित समुदायको दर्जा पाउन सक्छ। तर, मूलतः राष्ट्रका जरा त्यहाँका बासिन्दाहरूको मानसपटलमा गाडिएका हुन्छन्। यस अवधारणाको स्रोत पनि दार्शनिक रूसोले प्रख्यात बनाएको सामाजिक अनुबन्धको सिद्धान्त नै हो। परिकल्पित समुदायको संरचना भने धर्मगुरूहरूको प्रभाव स्खलन, पुरातन राजसंस्थाको पतन, सम्पर्क भाषाको उदय एवं मुद्रण पुँजीवादको विस्तारद्वारा मात्र संस्थाकरण गर्न सकिन्छ। एन्डरसनको अध्ययन मूलतः दक्षिण पूर्वीय एसियाका देशहरूमा आधारित थियो। तर, उनको राष्ट्रियतासम्बन्धी निर्क्योल भने देश, काल र परिस्थितिबाट मुक्तजस्ता लाग्छन्।

नेपालको परिकल्पनामा भने अद्यपि पुरातन अवशेष यथावत् छन्। हिन्दु धर्ममा गुरूहरूको भूमिका गौण रहने गरेको भए पनि पुरेततन्त्रको जकडबन्दी अपेक्षाकृत बढी भएकाले धर्मभिरूता कम छैन। राजा अब रहेनन्। उनले स्थापित गरेको तन्त्र भने झनै फुक्काफाल भएर कार्यरत छ। सम्पर्क भाषा विस्तार एवं मुद्रण पुँजीवादको तुलनात्मक लाभ एउटा खास समुदायलाई बढी भएकाले तिनको स्वीकार्यता घटेको छ। प्रजातान्त्रिक अभ्यासले राष्ट्रियतालाई व्यापक बनाउनुको साटो विवादित तुल्याएको स्पष्ट अनुभव गर्न सकिन्छ।

क्रान्तिकारी अग्रपंक्तिको सोच सम्भ्रान्तीय मान्यताको सर्वहाराकृत रूपमात्र हो। त्यस अर्थमा पुरेतवाद नेपालका तथाकथित साम्यवादीहरूको अनुवांशिकीमै अंकित हुन्छ। कुनैबेला 'अध्यक्ष माओ हाम्रा पनि अध्यक्ष हुन्' भन्ने नारा उचालेर राजनीतिमा लागेका नक्सलवादीहरूको नेपाली संस्करणका लागि मधेसीजति जम्मै 'भारतीय' हुन् भन्नेलाई हेर्दा हुन्छ। तिनको उपयोगिता छ, आवश्यकता भने छैन। त्यस्तो मूल्य र मान्यताद्वारा दीक्षित 'मालेमा' विचारधाराका राजनीतिकर्मीहरूले राष्ट्रियताको नयाँ परिभाषा दिन सक्ने कुरै भएन।

साम्यवादीहरूको साम्प्रादायिक संकीर्णता नेपालको मौलिक विशेषता हो। सामान्यतः अरू जुनसुकै देशका वामपन्थीहरू राष्ट्रियताका मामिलामा अपेक्षाकृत सहिष्णु र उदार हुन्छन्। नेपालमा भने प्रगतिशील एवं पुरातनपन्थी एउटै सिक्काका दुई पाटाजस्ता लाग्छन्। सायद त्यही भएर होला, विद्यमान 'माले–मण्डले–मसाले' गठजोडको नेतृत्वरूपमा नेतात्रय 'पुष्प–कमल–ओली' भएको जस्तो देखिए तापनि सारमा भने यो सरकारले पञ्चायतकालीन राजनीतिक संस्कृितको निरन्तरतालाई नै दर्शाउँछ। यही गठजोडको चाहनाअनुसारको संविधान जारी भएकाले वर्तमान राजनीतिले अन्ततः राष्ट्रियता कमजोर हुने डर उत्पन्न हुन गएको हो।

देशलाई मामम गठजोडबाट सबैभन्दा बढी खतरा रहेको कुरा जीपी कोइरालाले सन् ८०कै दशकको अन्त्यतिर औँल्याइसकेका थिए। त्यस्तो गठजोडको सम्भावनालाई विफल तुल्याउन उनले मृत्युशैयाबाट समेत प्रयत्न गर्न छाडेनन्। नेपाली कांग्रेसलाई समाप्त गर्ने एकमात्र राजनीतिक उद्देश्य भएको एमालेलाई साथमा लिएर उनले माओवादीलाई मूलधारमा ल्याए। माओवादीको सहयोगले एमालेलाई ठाउँमा राखे। माओवादीलाई पुनः तिनको औकात देखाउन एमालेलाई काँधमा बोके। त्यसपछि भने उनले एमालेलाई भुइँमा ओराल्न ज्यान गए सकेनन्। सुशील कोइराला भने आफ्ना अग्रजको कार्यनीतिलाई निरन्तरता दिन अक्षम ठहरिए। फलतः उनको दलमात्र नभएर नेपाली राष्ट्रियताको व्यापकता नै जोखिममा पर्न पुगेको छ।

भाँडिएको भ्रातृत्व

बीपीको मेलमिलाप नीतिमा नेकाका मधेसीहरू त के, पहाडीमूलका सामान्य जनसमेत कतै थिएनन्। त्यस कार्यनीतिको एकमात्र उद्देश्य प्रजातान्त्रिक आन्दोलनलाई भूराजनीतिका बाध्यताहरूबाट जोगाएर भावी पुस्तालाई सुम्पिनुमा सीमित थियो। त्यस कार्यमा बीपी सफल भए। राजाले विश्वासघात गरेका कारण प्रजातन्त्रलाई गति र दिशा प्रदान गर्न भने उनले सकेनन्। राजसंस्था स्थायी सत्ताको अस्त्र भएर क्रियाशील रहन बाध्य भई नै रह्यो। मधेसीहरूको मूलप्रवाहीकरण रोकेको दोष बीपीको थाप्लोमा राख्न मिल्दैन। यसबारे उनले यथेष्ट ध्यान नपुर्या एको भने पक्का हो।

गणेशमान सिंहलाई तत्कालीन वाममोर्चासँग 'मेलमिलाप' गर्नुपर्ने बाध्यता भारतीय पक्षको दबाबले गर्दा आइपरेको थियो। दक्षिण एसियामा वर्गभन्दा बढी नभए पनि कम्तीमा उत्तिकै महत्वपूर्ण मुद्दा वर्णको हो भन्ने भारतीय समाजवादी चिन्तक राममनोहर लोहियाको निर्क्योल नेका पंक्तिभित्र सबैभन्दा गहिरोसँग बु‰ने व्यक्ति गणेशमान थिए। आफ्नो बुझाइलाई कार्यान्वन गर्ने अवसर उनले परम्परागत शक्ति संरचनाप्रति प्रतिबद्ध कृष्णप्रसाद भट्टराईलाई सुम्पिदिए। राजाले बीपीलाई झुक्याएझैँ वाममोर्चाले अन्ततः गणेशमानलाई धोका दियो। मधेस कांग्रेससँग त रह्यो, कांग्रेस भने मधेसको फेरि पनि हुन सकेन।

जीपीसँग मधेसले अलि बढी नै आश राखेको थियो। उनको पहिलो 'मेलमिलाप' भने तत्कालीन सशस्त्र विद्रोही माओवादीसँग हुनुपर्ने लेखिएको रहेछ। तर, अन्ततः माओवादीले पनि विगतमा राजा र एमालेलेझैँ नेकासँग विश्वासघात नै गर्योँ। जीपीको जीवनको दोश्रो र अन्तिम 'मेलमिलाप' भने मधेसवादीहरूसँग भएको थियो। त्यस सम्झौताको कार्यान्वन हुन नपाउँदै उनी बिते। त्यसपछि उनको बाँकी काम पूरा गर्ने जिम्मेवारीका साथ सुशील प्रधान मन्त्री भएका थिए।

इतिहासमा सधैँ मेलमिलापको दोश्रो पक्षसँग धोका पाउँदै आएको नेकाले यसपटक भने स्वयं धोकाधडी गरेको छ। कारण खोतल्दा नग्न साम्प्रदायिकताबाहेक अरू केही देखिँदैन। राष्ट्रवाद त लाज छोप्ने लगौँटी न हो, जातीय स्वार्थले गर्दा नेकालाई समेत मामम गठजोडमा मिसिन आखिर लाज त नलाग्ने नै रहेछ।

म्ामम गठजोडको भागबण्डाबाहेक कुनै बृहत् उद्देश्य हुन सक्दैन। स्तालिनवादको अन्त्यपछि नै माले राजनीतिकर्मीहरू व्यक्तिगत सुखसयलको जोडजाममा रमाउन थालिसकेका थिए। मण्डलेहरू स्वभावतः वर्तमानजीवी हुन्छन्, तिनको भविष्यको रूपरेखा भन्नु नै भूतकालको पुनरावृत्ति हो। त्यस्तो सम्भावना तत्काल देखिँदैन। माओवादीहरूमा त झन् सूत्रबाहिर जान सक्ने सम्भावना नै समाप्त भइसकेको हुन्छ। माओवादी 'सुध्रिनु' भनेको बुर्जुवा मूल्य र मान्यताबाट सर्वथा मुक्त र स्वच्छन्द पुँजीपति जन्मिनु हो। तिनले स्वैरकल्पना पस्किन सक्छन्। परिकल्पना त के, परिचित्रणसमेत गर्न सक्दैनन्।

सम्भावनाहरूको अन्त्य सायद सामाजिक ऐक्यबद्धता नष्ट गर्ने सबैभन्दा अन्तिम अवस्था हो। मामम गठजोडले आफ्नो चरित्रअनुसारकै काम गरेको छ। अपराध भने नेकाको हो। आधा देशले संविधान दिवस मनाइरहँदा बाँकीले 'कालोदिन' भन्दै दुःखमनाउ गर्ने परिस्थिति सुशीलले सृजना गरेका हुन्। देश र मधेसले उनको भूल बिर्से पनि इतिहासले सायद नेका पंक्तिलाई समेत माफी दिन सक्ने छैन।

नाकाकस्सीका राजनीतिक असर तात्कालिकमात्रै हो। कूटनीतिकरूपमा समेत भारतलाई चिढाएर नेपालको त के, स्वयं राजनीतिकर्मीहरूको हितसमेत सुरक्षित छैन भन्नेकुरा 'पुष्प–कमल–ओली' गठजोडले ठम्याइसकेको हुनुपर्छ। आर्थिक प्रभाव कहिल्यै पनि अपूरणीय हुँदैनन्। युद्धपछि पनि अर्थतन्त्र उच्छलन (रिबाउन्ड) भएका दृष्टान्त अनेकन छन्। विश्वासको संकट चिरेर परिकल्पनाद्वारा आश जगाउने क्षमता कतै नदेखिनु समसामयिक नेपालको सबैभन्दा ठूलो त्रासदि हो।

प्रकाशित: २ पुस २०७२ २२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App