७ वैशाख २०८१ शुक्रबार
विचार

बालेन्द्रको विजय परिवर्तनको बिजारोपण

स्थानीय तह नै राज्य, लोकतन्त्र, विकास र समृद्धिको जग हुन्। विगत ५ वर्षको कार्यकालमा कति स्थानीय सरकारले विगतका उपलब्धि सार्वजनिक गरेका छन् उनीहरूले कार्यालय छाड्नुअघि आफ्ना विगतका उपलब्धि, कार्यसम्पादन र खर्च जनतासमक्ष पेस गर्नुपर्ने थियो। तर धेरैजसो स्थानीय निकायले जनतालाई राम्रो सेवा दिन नसक्दा विगतको अभिलेख राख्न सकेका छैनन्। तसर्थ उनीहरूको लोकतान्त्रिक संस्कृति र राजनीतिक सचेतना सुधार गर्न आवश्यक छ।

स्थानीय तहको निर्वाचनको नतिजालाई लिएर विभिन्न विश्लेषण भइरहेका छन्। चुनावी नतिजासँगै दलहरूको शक्ति सन्तुलन फेरिएको छ। विगतमा स्थानीय तहमा पहिलो दल बनेको एमाले आज दोस्रो दल बन्न बाध्य भएको छ भने दोस्रो दल बनेको कांग्रेसले पहिलो दल बन्ने अवसर पाएको छ। माओवादी केन्द्रले केही सुधार गरे पनि तेस्रो स्थानमा छ।

यो निर्वाचनको सबैभन्दा राम्रो विशेषता भनेको जनताले विश्वास नगर्ने, विकासका काम गर्न नसक्ने, सार्वजनिक सेवामा ढिलासुस्ती गर्ने, भ्रष्टाचारमा संलग्न र जनतालाई झुटा आश्वासन दिनेलाई चुनावमा हराए।

हाम्रो वर्तमान राज्य संयन्त्र केन्द्र, प्रदेश र स्थानीय तहका भ्रष्टहरूको नियन्त्रणमा रहेको सत्य हो। अधिकांश सरकारी संयन्त्र कुनै न कुनै रूपमा नेता र कर्मचारीतन्त्रको निहित स्वार्थ समूहको नियन्त्रणमा छन्।

दलहरू जहाँबाट आए पनि अधिकांश ठाउँमा जनताले धेरै सोचेर मतदान गरेको पाइयो। तर गठबन्धन बनेको ठाउँमा नेता/कार्यकर्ताले गठबन्धनको पक्षमा मत हालेका पाइएको छ। धेरै जनप्रतिनिधिले ठूला–ठूला आशा दिए र वाचा मात्र गरे तर जनताको हितमा केही योगदान गरेनन्। यसपटक स्थानीय तहको विकासका लागि इमान्दारिता नभएका नेतालाई जनताले पत्याएनन्। वरिष्ठ नेताहरूको निहित व्यक्तिगत स्वार्थमा उम्मेदवार बनेका धेरै नेतालाई जनताको विश्वास जित्न मुस्किल परेको थियो। कतिपय क्षेत्रमा जनताले गठबन्धनको नाममा भोट हाल्छन् तर यो निर्वाचनमा धेरै नयाँ र युवा अनुहार देखा परेका छन्।

निर्वाचनमा प्रमुख दल एमालेले सबैभन्दा बढी हार बेहोरेको छ। पार्टी विभाजन र अन्य दलको गठबन्धनले एमालेलाई जसरी पनि हराउनुपर्छ भन्ने अभियानका कारण एमालेलाई केही घाटा भएको छ। तर सबैभन्दा ठूलो पराजय एमालेले आफ्नै कारणले बेहोरेको देखिन्छ। एमालेका उम्मेदवारको उम्मेदवारी दिने बेलामा धेरै ठाउँमा नगरपालिका र गाविसमा बसेका पुरानालाई टिकट दिने गरेको छ। पुरानालाई टिकट दिएर जनताको मन जित्न एमालेले कति काम ग¥यो फेरी टिकट दिनेहरू जनतामाझ लोकप्रिय भए कि भएनन् २०७४ सालमा २ सय ९७ नगरपालिका जितेर एमाले पहिलो दल बनेको थियो, त्यसयता एमालेबाट जितेका जनप्रतिनिधिको हैसियतबारे कहिल्यै अध्ययन र विश्लेषण गर्न सकेको छैन। पाँच वर्षको अवधिमा एमालेको यो ठूलो गल्ती थियो। कांग्रेसले उस्तै समस्या झेल्नुपर्‍यो तर गठबन्धन र अन्य दलबाट प्राप्त मतका कारण कांग्रेस केही पुरानालाई गुमाए पनि स्थानीय तहमा नयाँ युवा अनुहार थप्न सफल भएको छ।

अहिलेको स्थानीय निर्वाचनले दिएको अर्को सन्देश भनेको गाउँमा बसेर सार्वजनिक काम र समाजसेवामा लाग्ने व्यक्ति जुनसुकै दलमा आबद्ध भए पनि चुनाव जित्न सक्छ। तर नेताको निहित स्वार्थबाट आएका तर समाजको सेवा गर्न नसक्ने, जति नै खर्च गरे पनि नैतिकता र इमान्दारिताको अभाव भएका व्यक्तिलाई अहिलेको स्थानीय निर्वाचनले सन्देश दिएको देखिन्छ। अर्कोतर्फ यो निर्वाचनले अर्को महत्वपूर्ण सन्देश पनि दिएको छ। त्यो हो– स्वतन्त्र र युवा उम्मेदवारप्रति जनताको आकर्षण। देशकै ठूलो र राजधानी काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह विजयी भएका छन्। त्यसैगरी देशका अन्य केही ठूला सहरमा पनि स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढेको देखिन्छ। अहिलेका राजनीतिक दल र नेताहरूप्रति जनता असाध्यै निराश छन्। हाम्रो वर्तमान राज्य संयन्त्र केन्द्र, प्रदेश र स्थानीय तहका भ्रष्टहरूको नियन्त्रणमा रहेको सत्य हो। अधिकांश सरकारी संयन्त्र कुनै न कुनै रूपमा नेता र कर्मचारीतन्त्रको निहित स्वार्थ समूहको नियन्त्रणमा छन्। सरकारी प्रशासक उच्च दरमा भ्रष्टाचार र अनियमिततामा संलग्न छन्। जनप्रतिनिधि, राज्य संयन्त्र र सरकारी प्रशासक सबै भ्रष्ट भएर प्रमुख राजनीतिक दलको हितमा काम गर्दा देशको पूर्वाधार विकास र प्रगतिको बाटो ठप्प भएको छ। त्यसैले यस्ता समस्या सिर्जना गर्न भूमिका खेल्ने राजनीतिक दल र नेताहरूप्रति ठूलो निराशा छ।

बालेनले पाएका मत राजनीतिक मोलतोल, पुरानो पार्टी नेतृत्व, नातावाद, कृपावाद आफन्तवाद राजनीतिक दलहरूमा जमिन्दारी प्रणाली र आन्तरिक लोकतन्त्रको चरम अभावलगायत सबै प्रकारका आधिपत्यको विरुद्धमा छन्। एकैसाथ विविधताको सम्मान, स्रोतहरूको उचित प्रयोग र पारदर्शिता अत्यधिक माग गरिएको छ। यो गणतन्त्र र संघीय संरचना, यसको संस्थागत र संविधान र कानुनको उपयुक्त सुधारको पक्षमा पनि छ। सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि सिन्डिकेटको चंगुलबाट चक्र तोड्ने उनको ऊर्जा युवाहरूले देखाएको सही बाटो हो। उपमेयरमा सुनिता डंगोल ठूलो मतान्तरले विजयी हुनुले काठमाडौँका मतदाताले युवा र ऊर्जावान् युवा नेताप्रति विश्वास गरेका र परीक्षित नेताहरूको पुरानो दोहोरीलाई अस्वीकार गरेको देखाएको छ।

बालेनको स्वतन्त्र उम्मेदवारीमा जनकपुरका मनोज साह, धनगढीका गोपाल हमाल, धरानका हर्क राईजस्ता समानता छन्। बालेन्द्र शाहको काठमाडौँमा उम्मेदवारी अन्यका घटनाजस्तै पार्टीगत, पुरानो दोहोरिने, अविश्वासका उम्मेदवार, आन्तरिक लोकतन्त्रको चरम अभाव, भ्रष्टाचारको लोभ अवसर र ठूला दलमा उम्मेदवारको खरिद–बिक्रीको परिणाम हो।

मतगणनामा काठमाडौँका अधिकांश वडामा बालेनको अग्रता छ। उनले आफ्ना प्रतिद्वन्द्वी भन्दा धेरै मत पाएका छन्। केशव स्थापित र सिर्जना सिंह उनी भन्दा मतगणनामा निकै पछि परेका छन्। ती सबै काठमाडौँका मतदाताले व्यक्त गरेका भावना र समर्थन हुन्। यो निर्वाचन परिणामले तल्लो तहमा लोकतान्त्रिक मूल्य/मान्यतालाई अझ फलदायी र नेपालको निर्वाचनमा दीर्घकालीन प्रभाव पारेको छ।

बालेन जित्नेबित्तिकै निम्न मुद्दा प्रमुख प्राथमिकता हुन्। स्थानीय समस्याको पहिचान र तिनको समाधान, स्थानीय भाषा, संस्कृति, विविधताको संरक्षण, लोकतन्त्रको संरक्षण, कार्यप्रणालीमा पारदर्शिता र सार्वजनिक कोषको सम्मानजनक उपयोग। अन्य महत्वपूर्ण क्षेत्रहरू संघ–राज्य–महानगरपालिकाबीच समन्वय, उपभोक्ता हितको संरक्षण, व्यापारका लागि अनुकूल वातावरण सिर्जना र शिक्षा र स्वास्थ्य क्षेत्रमा नाफाभन्दा कम लागतमा गुणस्तरीय सेवा भावनाको विकास आदि हुन्। मतदाताको शुभकामना र समर्थनले ऊर्जा, प्रतिबद्धता र आत्मविश्वास बढोस्। साथै नवनिर्वाचित मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, कामनपाका सबै वडाका अध्यक्ष, सदस्यहरूले विकास र व्यवस्थापनका केही मुख्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न जरुरी छ। उनीहरूलाई प्रधानमन्त्री, मन्त्रीहरू, सरकारी निकायहरू, सांसदहरू र आमजनताको बलियो समर्थन चाहिन्छ।  

सरकारी मन्त्रालय र कर्मचारीतन्त्रसँग उचित समन्वय र सन्तुलन हुनुपर्छ। नगरवासीले लामो समयदेखि फोहोर फाल्ने समस्या भोग्दै आएका छन्, त्यसको स्थायी समाधान कामनपा र त्यसको टोलीले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र हो। अन्य अत्यावश्यक क्षेत्रहरू, स्वस्थ खानेपानीको उचित व्यवस्था, दुर्घटना न्यूनीकरण ट्राफिक, व्यवस्थापन, सडक मर्मत र सम्भार वायु प्रदूषण कम गर्ने र नदीहरूमा, फोहोर फाल्न रोक्नु अति आवश्यक दैनिक वस्तुहरू स्वस्थ र उचित मोलमा पाइने व्यवस्था, मूल्य वृद्धि नियन्त्रण, हरियाली, खुला ठाउँ र पार्कहरूको निर्माण, सुलभ र कम खर्चमा स्वास्थ्य र शिक्षामा पहुँच, कानुन, नीति र नियमको सहीरूपमा पालना र कारबाही, भ्रष्टाचारमा रोक र सजाय अन्य आवश्यक कार्यक्रम हुन्।  

बालेनको काठमाडौँ महानगरपालिकाको उम्मेदवारी र उनले उठाएका लहर, ल्याएको नयाँ सोच र जोश र राजनीतिमा सिन्डिकेटलाई दिएको प्रहारले पक्कै पनि नयाँ आयाम थप्नेछ। अहिले काठमाडौँमा रैथाने पुरानो बासिन्दा को हुन् र को बाहिरबाट आएका यस्ता विषयमा सकारात्मक बहस गर्नुअघि हामीले हाम्रो देश, लोकतन्त्र र संविधानलाई सबैभन्दा माथि राखेर कस्तो समाज र व्यवस्था चाहन्छौँ भनेर सोच्न जरुरी छ। देशका विभिन्न क्षेत्रका भाषा, संस्कृति र जीवनशैलीका अन्य पक्षहरू सबैको साझा सम्पत्ति हुन्। यसको संरक्षण र दायित्व सबैको हो।

स्थानीय सरकारको सफल सञ्चालनमा स्थानीय विशिष्टताको संरक्षण, स्थानीय आवश्यकता र समस्याहरूको पहिचान र समाधान र प्रदेश, संघ र अन्य राष्ट्रहरूसँग समन्वयका आयामहरू समावेश हुन्छन्। त्यसैगरी प्रादेशिक स्वशासनको वास्तविक अर्थ प्रादेशिक विशिष्टताको संरक्षण, आवश्यकता र समस्याको पहिचान र समाधान र सबैसँग समन्वयको व्यावहारिक अभ्यास हो। बालेनको सफलता यी सबैमा निर्भर छ। विश्वास गरौँ कि उनी सहीरूपमा सफल हुनेछन्। उनी उदाहरणीय बन्नेछन् भन्ने विश्वास गरौँ र उनको जोश बढाऔँ। किनभने विविधताको सम्मान र समृद्ध लोकतान्त्रिक समाज निर्माण गरेरमात्र यी समस्याको समाधान सम्भव छ।

प्रकाशित: २८ असार २०७९ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App