८ वैशाख २०८१ शनिबार
विचार

स्थानीय निर्वाचनको सन्देश

निर्वाचन : नेपालमा राजनीतिक व्यवस्थाका नाममा सात दशक भन्दा बढी कालखण्ड खर्च भएका छन्। निर्वाचन प्रजातन्त्रको अभिन्न र अनिवार्य भाग हो। निर्वाचनको सन्दर्भमा नेपाल सरकार वैधानिक कानुन, २००४ ले सर्वप्रथम गाउँ पञ्चायत र जिल्ला पञ्चायतहरूमा निर्वाचित जनप्रतिनिधिहरू रहने व्यवस्थादेखि २०७९ सालको स्थानीय निर्वाचनसम्म आइपुग्दा राज्यसँग पचहत्तर वर्षको र अन्तरिम शासन विधान, २००७ ले निर्वाचन आयोगको व्यवस्था गरेदेखि आयोगसँग बहत्तर वर्षको अनुभव छ। अझै राजनीतिक अन्योलता र अस्थिरता कायमै छन्। देशको पहिचान र अस्मिता खतरामुक्त हुन सकेको छैन।  

स्थानीय निर्वाचन २०७९ को सन्देश : समग्रमा पुराना पात्र र प्रवृत्तिमा व्यापक पुनरावृति भए पनि विगतका तुलनामा यस निर्वाचनले लक्षित गरेको सन्देशमा दलप्रति अविश्वास, राज्य शक्तिको अवैध दोहन गर्ने पुराना भ्रष्ट पुस्तालाई विस्थापित गर्नुपर्ने, नेतृत्व प्रतिस्थापन, स्थानीय तहमा गैरदलीय पद्धतिको चुनाव प्रणालीको उपादेयता तथा कर्मचारी, सुरक्षा राष्ट्रसेवकहरू र कैदी एवं विदेशमा रहेका नेपालीको मताधिकार तथा नो भोट, राइट टु रिजेक्टको आवश्यकतालाई समेत इङ्गित गरेको छ।  

२०७४ को स्थानीय निर्वाचनमा कुल मतदाताको ७४ प्रतिशत मतदान भएकोमा यसपालि ६४ प्रतिशत मात्र मतदान हुनुले निर्वाचन र दलीय राजनीतिप्रतिको वितृष्णा रहेको संकेत दिएको छ। सुरक्षा चुनौती खासै नभएको अवस्थामा पनि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भई पुन: निर्वाचन हुनु, १३ लाख भन्दा बढी बदर मत, मतगणनाको ढिलासुस्ती हुने, आचारसंहिताको पालनामा हेलचेक्र्याइँको अवस्थाले निर्वाचनको व्यवस्थापन र तयारी पक्षमा व्यापक सुधारको आवश्यकता देखाएको छ। 

नेपाली नागरिकले आगामी निर्वाचनका क्रममा राजनीतिक परिदृश्यबाट बढार्नुपर्ने राजनीतिक अनुहारहरूसमेतको एकिन गरिसकेको स्पष्ट संकेत देखिएकाले आगामी दिनमा राष्ट्रहितका खातिर न्यायोचित निर्णय गर्नेतर्फ केन्द्रित रहनु नै राष्ट्रप्रति ठूलो गुन ठहर्नेछ। 

दशकौँदेखि मुलुकको राजनीति सत्ता र शक्तिमा केन्द्रित रहेर भए/गरेका अकुत भ्रष्टाचार, दाउपेच, व्यापार प्रभाव तथा लोभानी पापानीको ललिपपमा चुनावमा लाखौँलाख मत प्राप्त गर्ने र मत दिने दुवै प्रवृत्तिलाई निरुत्साहित गर्न भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यता रहेकोसमेत खुलासा गरेको छ। यिनै सरोफेरोमा स्वतन्त्र उम्मेदवारको विजयी आयामबाट समेत यथार्थ चित्रण गर्नु औचित्यपूर्ण हुनेछ।

स्वतन्त्र उम्मेदवारहरूको जीतको सन्देश: स्वतन्त्र उम्मेदवारितालाई हेर्दा निम्न उल्लिखित स्वतन्त्र उम्मेदवारहरूको मेयर पदमा भएका चारवटा जीतले नयाँ आयामलाई परिलक्षित गरेका छन् :

काठमाडौँमा बालेनको जीत : यसले युवा पिढीँमा पुस्तान्तरण तथा भूगोल र जातभात भन्दा माथि उठेर भ्रष्ट पुस्तालाई विस्थापित गरिनुपर्ने संकेत गरेको छ। दल र नेताले सही काम कार्बाही गर्न/गराउन नसकेकाले स्वतन्त्र उम्मेदवारमध्ये शिक्षित, सेलिब्रेटी र परिपक्व युवा बालेनलाई व्यापक समर्थन पाएको अवस्थाले साम्प्रदायिक राजनीतिका अल्प दृष्टिका विभाजनवादी अल्प सोचका नेता र दललाई मुखभरीको जवाफ दिएको छ।  

धरानमा हर्क साम्पानको जीत : यसले स्थानीय समस्या र नागरिकको अजेन्डा लिएर राजनीतिलाई सेवा वनाउने तथा दलले कार्यकर्ताको सही पहिचान नगरेका अवसर नदिएका असल कार्यकर्तालाई स्थानीय मतदाताको मूल्यांकन भएको संकेत गरेको छ  

धनगढीमा गोपी हमालको जीत : यसले दलवाट पुन: स्वतन्त्रमा आएर सदाचार र विकासको प्रतिबध्दत्ता र स्थानीय विश्वासको व्यक्तित्वको उम्मेदवारलाई अवसर प्राप्त भएको झल्काएको छ।  

जनकपुरमा मनोज साहको जीत : यसले दलमा नेतृत्व पुस्तान्तरण तथा योग्य असल उम्मेदवार चयन गरी आन्तरिक गुटवन्दी र गुनासोलाई सम्बोधन गर्न नसके कार्यकर्ताहरू तथा मतदाताले दललाई पाठ सिकाउने पहलताको नतिजा दर्शाएको छ।  

राजनीतिक गठवन्धन र दलका नेतागणको प्रवृत्तिको सन्देश: दक्षिण एसियामा चुनावमा आ–आफनो घोषणापत्रसहित जनमत लिने र सरकार गठन सञ्चालनमा अवस्थानुसार विभिन्न दलसँग गठबन्धन गर्ने प्रचलन व्याप्त रहेकामा यहाँ राजनीतिक सिध्दान्त, मूल्य/मान्यता भन्दा फरक दलहरूबीचको गठबन्धन वास्तवमै अनौठो र संसदीय राजनीतिक प्रणालीमा वैचारिक विचलनका रूपमा देखिएकाले दल र नेतृत्व तहको राजनीतिक चरित्र र औचित्यतामाथि नै प्रश्न उठाएको छ।  

आरोप/प्रत्यारोपको पराकाष्टाले नेतागणको कमजोर मानसिकता र दरिद्र व्यवहार जनाएको छ। ने.का.का शेरबहादुर देउवामा व्याप्त वदैशिक प्रभाव, एमालेका के.पी. ओलीको कमेडी, माओवादीका पुष्पकमल दहालको चटकेपन र अस्थिरता, एकीकृत समाजवादीका माधवकुमार नेपालको एकोहोरो हठले राष्ट्रिय राजनीति राष्ट्रिय हकहितमा भन्दा व्यक्तिगत लाभमा केन्द्रित रहेको पुष्टि भएको छ। माओवादीका प्रचण्डलाई केही सुधारसहित असल उम्मेदवार देखाउन सकेमा मूल राजनीतिक धारमा केही स्पेस पाउने संकेत दिएको छ। यद्यपि विगतको निर्वाचनमा भन्दा बढी मत र स्थान गुमाउने दलमा पहिलो दलको अवस्थामा पुगेको छ।

नेपाली कांग्रेसलाई सैध्दान्तिक विचलनमा नरहन र कम्युनिस्टसँग चुनावी गठबन्धन नगर्न, उम्मेदवार चयनमा स्थानीय निकाय र कार्यकर्तालाई केन्द्रको अनावश्यक दबाब नदिन पाठ सिकाएको छ। यसैगरी आफ्नो स्वार्थका लागि एमालेले घोर दक्षिणपन्थी र घोर उग्र वामपन्थी कित्ताका राजनीतिक दल र समूहसँग हातेमालो गर्दै मत र पदप्रति आशक्ति देखाएको वर्तमान परिस्थितिमा पनि कुनै एक दलले मुलुकका सामु भरपर्दो राजनीतिक आधार प्रस्तुत गर्न नसकेको छर्लङ्गै भएको छ। संविधानमा भएको महिला सहभागिताको प्रावधानको पालना नभएको, परिवारवाद, केन्द्रको दबाब र प्रभाव व्यावहारिक नहुने र तराई–मधेस पार्टी स्थानीय स्तरमा कमजोर सावित तथा रिमोट कन्ट्रोलबाट सञ्चालीत रहेकोसमेत इशारा दिएको छ।  

विगत सात दशकमा गरिएका राजनीतिक अभ्यास (निर्वाचन) र राजनीतिक दलहरूको उपयोग तथा प्रयोगवादी नीतिहरूको परिणामस्वरूप वर्तमान स्थानीय निवार्चनले जे जस्तो परिणाम र सन्देश दिएको भए तापनि मूलधार भनिने पुराना राजनीतिक शक्ति केन्द्रहरूको प्राथमिकता चाहिँ सत्ता स्वार्थ र शक्तिका बलमा मुलुकको अवैध दोहन गर्नेतर्फमात्रै केन्द्रित छ भन्नेमा शंका रहेन। तसर्थ, नेपाली नागरिकले आगामी निर्वाचनका क्रममा राजनीतिक परिदृश्यबाट बढार्नुपर्ने राजनीतिक अनुहारहरूसमेतको एकिन गरिसकेको स्पष्ट संकेत देखिएकाले आगामी दिनमा राष्ट्रहितका खातिर न्यायोचित निर्णय गर्नेतर्फ केन्द्रित रहनु नै राष्ट्रप्रति ठूलो गुन ठहर्नेछ।

२००७ सालदेखि राजनीतिक पार्टीहरूको प्रयोजन : मुलुकमा प्राय: राजनीतिक दल र नेताहरू २००७ सालदेखि नै शक्ति केन्द्रहरूको रणनैतिक योजनाको चंगुलमा उपयोग हुँदै आएको इतिहास साक्षी छ। संक्षिप्तमा देहायबमोजिमको अवस्था परिस्थिति पाइन्छन् :

ने.का. पार्टीको नामको प्रयोजन : २००७ सालदेखि नै विदेशी सिको र प्रभावमा राणा शासन, राजसंस्था र सनातन पहिचान फाल्न एवं राष्ट्रिय साधन स्रोत र सम्भावनाहरू कौडीका भाउमा मिल्काउन।

कम्युनिस्ट दल पार्टीको प्रयोजन : दरवारकै छत्रछायाँमा रहेर दरवारलाई नै कमजोर गराउने, मुलुकभित्र शक्ति सन्तुलनका नाममा विभिन्न प्रभाव र रूपमा सक्रिय पाइन्छ। राष्ट्रिय र क्षेत्रीय राजनीतिमा पश्चिमा प्रभावलाई सिञ्चित गर्न भारतलाई शक्ति सन्तुलनको रणनीतिमा समेत सहायक बनेको छ।

माओवादी प्रयोजन : भष्मासुर जस्तै जसले सहारा दिन्छ उसैलाई तहसनहस पार्ने र मुलुक अस्थिरता र अनिश्चिततामा जाग्नमा उपयोग। संघीयताको वीजारोपण, धर्म निरपेक्ष कायम, राजसंस्थाको बहिर्गमन, बाह्य शक्तिका आडभरोसामा नेपालको राष्ट्रिय राजनीतिमा दखल जमाइ जलस्रोतलगायतका राष्ट्रिय साधन स्रोतमा हक कायम गर्न। तिब्बत चेप्टरमा पश्चिममा रणनीतिक चालमा सहयोगी बनेको देखिन्छ।  

राप्रपाको प्रयोजन : तीस वर्षे पञ्चायती व्यवस्थामा दरवारको बलियो छत्रछाया पाउँदा पनि राजनीतिक मूलधार समात्न नसकेको, केही उच्च नेतृत्व व्यक्तित्वहरू दरवारलाई नै झुक्याउँदै आफँ पतन भएका, कतिपय दोहोरो भूमिकामा रहेका तथा इमान्दार व्यक्तित्वहरू अवसरहीन अवस्थामा रहेको पाइन्छ।  

राजावादी, राष्ट्रवादी, देशभक्त समूह, अभियान एवं व्यक्ति विशेषको प्रयोग/प्रयोजन : स्वचालितरूपमा रहेकाहरूका अगाडि आउँदा सञ्चालितहरूको चुरीफुरी र षड्यन्त्रकारी भूमिका कारण गोलबध्द रही भरपर्दो वैकल्पिक शक्ति निर्माण गरी अपेक्षित नतिजा ल्याउनमा फलामको चिउरा बनेको अवस्था छ। दुर्भाग्य, आपसी विश्वासको कमी, मनमुटाव तथा आफूमात्र जान्ने र आफ्नो अस्तित्वलाई ठूलो र मुख्य ठान्ने कमजोर मानसिकताका कारण वैकल्पिक राजनीतिक शक्ति निर्माण र विकासमा उल्लेखनीय नतिजामुखी हुन सकेको छैन। साथै यसमा विदेशी शक्तिहरूको समेत चासो र षडयन्त्रको समेत भूमिकाले असर पार्दै आएको महसुस हुन्छ।  

(राष्ट्रिय अध्यक्ष, नेपाल नागरिक अभियान तथा पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक)

प्रकाशित: ५ असार २०७९ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App