२३ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

देशभक्तिको मूल्य

पृथ्वीनारायण शाहले जनयुद्धजस्तै छापामार तरिकाले युद्ध गरेका थिए। अन्य राज्यका तुलनामा कमजोर गोरखाले नै किन नेपाल राज्य विस्तार गर्‍यो? कसैले यसलाई एकीकरण भन्लान्। यो भन्दा बलियो काठमाडौं उपत्यकाका राज्यले किन सकेनन्? यसको कारण छ, तुलनात्मकरुपले सम्पन्न ती राज्यका राजा बिलासिता, मोजमस्तीमा लिप्त थिए। तर पृथ्वीनारायण शाह फौज लिएर आफैं लडे। जनताको माझमा गए।

साना राज्य हुँदाखेरि आर्थिक, सामाजिक असुरक्षा मात्र होइन विकास पनि भएन। त्यसकारण बृहत् देश बनाउनुपर्ने वस्तुगत आवश्यकता पनि थियो। पृथ्वीनारायणको सोच र त्यसबेलाको वस्तुगत अवस्थाले गर्दा उनी नेपालको रुपमा विस्तार गर्न सफल भए।

बहादुर शाहसम्म आउँदासम्म ठीकै थिए। तर, त्यसपछि? खुंखार राजामा परिणत भए। उनीहरू मोजमस्ती र बिलासितामा लागे।
भारतलाई बृटिस साम्राज्यवादले पन्जामा पारेपछि आफ्नो अनुकूलको मान्छे नेपालमा पनि चाहन्थ्यो। भीमसेन थापाजस्ता देशभक्त मारिए। र, जंगबहादुर राणाको उदय भयो।

बृटिस उपनिवेशबाट स्वतन्त्र भए पनि भारतका शासकमा अंग्रेजको मानसिकता रहिरह्यो। छिमेकीलाई हेर्ने दृष्टिकोण अंग्रेजकै रह्यो। कसरी राज गर्ने? अरु देशको अर्थतन्त्र, राजनीतिलाई कसरी नियन्त्रण गर्ने भन्नेमा भारतीयहरूले अंग्रेजले जस्तै सोचिरहे। कसरी आन्दोलन गर्ने? कसलाई सरकारमा ल्याउने? भन्ने मानसिकता अंग्रेजकै रहिरह्यो।

राजा वीरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस् भनेर प्रस्ताव गरे। विश्वका सयौं देशले समर्थन गरे तर भारतले गरेन। किन गरेन? यो सबैलाई थाहा छ। वीरेन्द्रले चीनबाट हतियार लिन खोज्दा भारतले आर्थिक नाकाबन्दी गर्‍यो। यसको कारण छ, उनी भारतसँग झुक्न चाहेनन्। तर उनी सफल भएनन्। किन? राजाले राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न सम्भव थिएन। एक्काईसौं शताब्दीका जनता राजासँग गाँसिएर जान सम्भव थिएन।

राजा वीरेन्द्र मारिनुभन्दा डेढ महिनाअघि उनका भाइमार्फत् चिठी पठाएका थिए। विदेशीले चलाएका होइनन्, देशभक्त हुन् भन्ने थाहा पाएर राजाले दमन गर्न हुन्न भनेर साँच्ची उनले चिठी लेखे। 'दाइ बाहिर निस्कन गाह्रो छ, तपार्इंलाई भेट्न चाहनुभएको छ' भनेर उनका भाइले भनेका थिए।

राजाले माओवादीसँग भेट्न खोज्यो भनेर भेटेको भए माओवादीले राजतन्त्र मान्थ्यो त? मान्ने थिएनौं। राजा साँच्ची राष्टिय स्वाधिनताको पक्षधर भए 'गद्दी छाड्न' भन्ने थियौं- उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन तयार छौं, गद्दी त्याग्ने भए।

ठीक त्यही पृष्ठभूमिमा वीरेन्द्रको हत्या भयो।

मदन भण्डारी स्पष्ट वक्ता थिए। उनले राजालाई समेत श्रीपेच फुकालेर जनतामाझ आउन चुनौती दिए। उनले विस्तारवादी, साम्राज्यवादीले बोलाउँदा पनि 'फुर्सद छैन' भनेर भेटेनन्। उनी मारिए। उनी मारिएको केही समयपछि माधव नेपालसँगको भेटमा उनले भनेका थिए, 'अमेरिका र भारतले भेटौं भन्दा ठाड्ठाडै फुर्सद छैन भन्नेको ताल यस्तै हुन्छ।' त्यसबेलाको भेटमा बाबुरामजी र नारायणकाजी (सहित) थियौं। त्यसबेला हामी नेकपा एकताकेन्द्रमा थियौं।

भण्डारी मारिनुभन्दा केही समयअघि मात्र बसेर दुईचार घण्टा छलफल गर्ने कार्यक्रम बनेको थियो। ललितपुरका एक बुद्धिजीवीले कार्यक्रम बनाएका थिए। हामी चितवन विस्तारित बैठकमा जाँदाजाँदै उनको हत्या भयो।

आजको यस कार्यक्रममा आउनुअघि एकजना बुद्धिजीवीले पाँच मिनेट भए पनि भेट गर्ने भन्नुभयो। भेटमा उहाँले वीरेन्द्रको हत्या कसरी भएको थियो? भनेर प्रसंग उप्काउनुभयो, सोध्नुभयो।

अहिलेको परिस्थिति निकै गम्भीर छ।

राजाले राष्ट्रियताको लडाइँ जित्ने सम्भावना थिएन। मदन भण्डारीले पनि जित्न सम्भव थिएन। उनको 'स्पिरिट' राम्रो भएन। त्यो ढर्राले जित सम्भव नै थिएन। तर माओवादी? माओवादी नौलो तरीकाले आएको छ। क्रान्ति पुरानो तरीकाले जान्छ भनेर हुँदैन। आजको परिस्थितिअनुसार विकास गरेर मात्र सम्भव हुन्छ। राजा ज्ञानेन्द्रले माघ १९ पछि वीरेन्द्रको र महेन्द्रको नक्कल गरेका थिए। त्यसरी सम्भव छैन भनेर उतिखेर नै मैले भनेको थिएँ।

अहिले स्वाधिन राष्ट्र बन्ने प्रक्रियाको सुरुवात भएको छ। त्यसैले रिमोट कन्ट्रोल, आकाशवाणीबाट चल्ने रोबोटहरूले राष्ट्रियता र देशको नेतृत्व गर्न सक्तैनन्। त्यसैले पटकपटक वार्ता गर्दा पनि निष्कर्ष ननिस्केकाले तिनलाई चलाउने मालिकसँगै वार्ता गर्नुपर्छ भनेको हुँ।

मैले त्यसबेला पाँचवटा मुद्दामा भारतसँग वार्ता गर्नुपर्छ भनेको थिएँ। सीमा विवाद, व्यापार र पारवहनमा असन्तुलन छ, त्यसमा वार्ता, आर्थिक विकासका लागि चीन, भारत र नेपाल गरी तीन देशबीच वार्ता र नेपाल र भारतीय जनताको परिवर्तित समय र आकांक्षाअनुसारको सन्धी गर्नुपर्छ।

यो पार्टी हजारौं जनताले रगत बगाएर बनेको पार्टी हो। मधेसी, महिला, जनजाति, मजदुर, किसान सबैमा राष्टियताप्रति जागरुक बनाउँदै नयाँ राष्टिय शक्ति बनाउँदै बढेको पार्टी हो। अहिले केही साथीहरूले स्वायत्त गणराज्य बनाउँदाखेरिका कुरा पनि उठाउनुभयो। राष्ट्रियता कमजोर हुन्छ भन्ने सवालबाट कुरा उठाउनुभयो। हामीले गणराज्य र त्यसभित्र स्वायत्त प्रदेश घोषणा गरेर राष्ट्रको तागतलाई विदेशी हस्तक्षेपविरुद्ध एकजुट पार्न, शोषण-उत्पीडनमा परेका समुदायलाई अधिकारसम्पन्न तुल्याउनलाई गरेका हौं।

केन्द्रमा सरकार हुँदा, एउटा पार्टी सरकारमा हुँदा १०/१२ जनाले हेर्छन्। तिनलाई विदेशीले किन्न सजिलो भइरहेको छ। हुने छ। त्यसैले गणराज्य बनाएपछि तिनीहरूले कतिलाई किन्ने? कतिलाई खरिद गर्ने? जनताले खरिद गर्न दिने छैनन्। जनता कहिल्यै बेचिदैनन्। यो कुरा मैले उत्तेजना आएर गरेको होइन। यो विश्लेषण गरेर कुरा गरेको हुँ । देश संघीयतामा गएपछि कुनै पनि विदेशीलाई 'किन्न' सजिलो हुने छैन।

हामी चीन-भारत दुवै देशसँग समानता चाहन्छौं। ठूला देशले उदारतापूर्वक सोचून् भन्ने चाहन्छौं। तर (भारत) उल्टो भएको छ। हामी इतिहासको बोझ पन्छाउन चाहन्छौं। भारतीय स्वतन्त्रता संग्राममा नेपाली जनता र नेताको पनि योगदान छ। नेपालको सांस्कृतिक प्रभाव चीन र भारत दुवै देशमा छ। नेपाललाई हेप्ने गल्ती कसैले नगरुन्।

म प्रधानमन्त्री हुँदा कुनै पनि सम्झौता गरेको छैन। नौमुरे सम्झौता होइन। गणतन्त्र आएको अवसरमा उदारता देखाउँछ भने, उपहारस्वरुप बनाउँछ भने बनाउन भनेको हुँ। त्यसबेला (भारतले) बनाउँछु भनेको हो, तर बनाएन।

आजको छलफल वामपन्थी र देशभक्तको बृहत्तर मोर्चा बनाउने दिशामा जान ठूलो मद्दत गर्ने छ। यसले नयाँ नेपाल बनाउने अभियानमा जान सहयोग गर्ने छ भन्ने विश्वास छ।

वीरेन्द्र र मदन भण्डारी किन मारिए? सोच्न जरुरी छ। (भारतले नै नेपाली सेना, प्रहरी, सशस्त्रलाई तालिम, सामान उलपलब्ध गराउँछ भन्ने सशस्त्र प्रहरीका पूर्व डीआइजी गोपालमान श्रेष्ठका भनाइलाई जोड्दै) जोबाट हतियार लिए, जसले तालिम गरायो, तिनीहरूको पछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लाग्ने छैन्। उनीहरू दलालीको पक्षमा लाग्ने छैनन्। राष्ट्रको पक्षमा लाग्न सोच्नु हुनेछ। आफ्नो देशको लागि लड्ने कि अरुका लागि? नेपाल प्रहरी, सेना र सशस्त्रका सबै जवान र अफिसरहरूले सोच्ने बेला आएको छ। दलाल र विदेशीको पक्षमा लाग्ने कि शान्ति र राष्ट्रिय स्वाधिनताको पक्षमा? सोच्नुपर्ने बेला आएको छ।

हामी शान्ति र नयाँ संविधानको पक्षमा छौं। तर उनीहरू के गरी शान्तिप्रक्रिया बिथोल्ने र संविधान बन्न नदिने भन्ने षड्यन्त्रमा छन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले कठपुतलीको आदेश मान्ने कि जनताको? सेना, प्रहरीका जवान र अफिसरहरूले जबाफ दिने छन्। राष्टसेवक कर्मचारीले पनि सोच्ने छन्। जबाफ दिने छन्।

स्वाधिन नेपाले भारतसँग वार्ता गर्ने छ। यो वास्तविकतामा बदलिने छ। नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनता नङ र मासुजस्तै गाँसिएको छ। त्यसैले जसको हातमा रिमोट कन्ट्रोल छ, उसैसँग वार्ता गर्ने भनेको हो।

लोकतन्त्रको कुरा गरेर नथाक्नेहरूले लोकतन्त्रको मजाक नगरुन्। हामी शान्तिपूर्ण ढंगले नयाँ संविधान र शान्तिप्रक्रिया टुंगोमा पुगोस् भनेर लागेका छौं।
तर त्यसो हुन नदिने षड्यन्त्र भइरहेको छ। रोबोट चलाउने, नेपाली र नेपालीलाई भिडाउने, लडाउने, सोचेका भए त्यो जमाना गयो।

तीन करोड नेपाली जनता फौजीकृत हुन तयार हुने छन्। वीरेन्द्रको वंश नाश गरेजसरी लडाइँ रोकिदैन। माओवादी अर्कै विशेष धातुले बनेको पार्टी हो। वीरेन्द्र र मदन भण्डारीलाई हत्या गरेजसरी यो राष्ट्रिय स्वाधिनताको आन्दोलन रोकिन्छ भन्ने सोचेका छन् भने त्यो भ्रम मात्र हो।

भारतसँग जमिन मागेको होइन। समानता र स्वतन्त्रता खोजेको हो। हिमाल, पहाड र तराईका जनता जागृत भइसकेका छन्। जागेका जनतालाई जिस्काउने कोसिस नगरियोस्। नेपाली जनताको जितलाई कसैले रोक्न सक्तैन।

(नेवा राज्य समितिले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको 'राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चता' विषयक अन्तरक्रियामा माओवादी अध्यक्ष दाहालले दिएको अभिव्यक्तिको संपादित अंश।)

प्रकाशित: २५ पुस २०६६ १४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App