६ जेष्ठ २०७९ शुक्रबार
विचार

जनमतलाई जडमत बनाइँदैछ

आज म काठमाडौंमा छु, जहाँ म यस्तो कुरा नबोलौं जसले मेरो भिडियो भाइरल बनोस्। म यहाँ विवाहमा आएको होइन। हाम्रो देशको मिडियाको हालत हेर्नुहोस्। विवाहमा जानु पनि यति नराम्रो काम भइदियो। म यहाँ विवाहमा आउनुपर्ने थियो भने पनि म आयोजकसँग हात जोड्थेँ र म जहाँ बस्छु त्यहाँ सजावट अलि कम गरिदिनु होला भन्थें।

अलि फाटेको देखेपछि सायद भिडियो भाइरल नहोला। विवाहमा रमाइलो गर्नु पनि नराम्रो जस्तो भइदिएको छ। अहिले कोही व्यक्ति विवाहमा गएको भन्ने विषयमै हंगामा मच्चाइएको छ। त्यसैले म भिडियो भाइरल होला भनेर धर्मराएको छु। त्यसकारण म गोदी मिडियाको तारिफ गर्नका लागि हिमाल मिडियामा आएको हुँ।

भारतमा आएको मिडिया स्पेसको परिवर्तनबारे हामी यहाँ चर्चा गर्न भेला भएका हौं। म भारतबाहिर भारतीय गोदी मिडियाको आलोचना गर्न सक्दिन। किनकी आइटी सेलवालाहरू रिसाउँछन्। विदेशमा कुनै खराब कुराको चर्चा गर्दा देशको विदेशमा बदनामी हुन्छ।

यसकारण म विदेशमा भएका कारण मेरो कर्तव्य हुन्छ, कुनै खराब चिजको तारिफ गर्नु। यसकारण म गोदी मिडियाको तारिफ गर्छु। यसको अर्थ गोदी मिडियालाई राम्रो नठान्नु होला। गोदी मिडिया भारतको आफ्नो ब्रान्ड हो। विश्व इतिहासमा केही किसिमका खराब मिडियाका उदाहरण भेटिन्छन्।

तर, भारतको गोदी मिडियाको आफ्नो क्लास छ। दिल्ली या नोयडामा मिडियाको सत्यानास गर्नेवाला व्यक्ति यो कुराबाट खुसी हुन सक्छन् कि म काठमाडौंमा उनीहरूको नराम्रो गरिरहेको छैन। प्रशंसा गरिरहेको छु। दिल्लीमा एक एंकरले लाइभ कार्यक्रममा भने–लात्ताले हानेर निकालिदेऊ।

यस्तो कुराको तारिफ गर्नुपर्छ किनभने उसले लात्ती हानेनन्। लात्ती हान्ने कुरा मात्र गरेको हो। यसको अर्थ हुन्छ एंकर त्यति खराब व्यक्ति होइन। होइन भने कम्तीमा उसले पाहुनाको कपडासम्म च्यात्न सक्थ्यो। कुनै च्यानलमा एंकरले पाहुनालाई लात्ताले हान्ने कुरा गरेको जान्न मन छ भने भारत आउनुहोस्।

म दुनियाँभरका व्यक्तिसँग आग्रह गर्छु गोदी मिडिया हेर्न भारत आउनुहोस्। यसबाट भारतको पर्यटन बढ्छ। गोदी मिडियाका सोभिनियर बिक्री हुन्छन्। मानिसहरू टेलिभिजनमा सूचनाको सट्टामा एकअर्कालाई लात्तीघुस्सी हानेको देख्न पाउँछन्। यसले पर्यटनको विकास हुन्छ। हुन सक्छ हामीहरू पत्रकारिताबाट निकालियौं भने भने त्यही सोभिनियर बेच्दै गरेको देख्न पाइनेछ।

यो भारतको मिडियाको आफ्नो ब्रान्ड हो। बहसका क्रममा थप्पड, चप्पल सबै चलिसकेको छ टेलिभिजनमा। लात्तले हान्ने कुराबाट नेपालका पत्रकारलाई ईर्ष्या हुन सक्छ। तपाईंहरू यस्तो कार्य गर्नबाट पछि पर्नुभयो। यस्तो कहिल्यै नहोला। भयो भने पनि तपाईंहरू भारतभन्दा पछि नै पर्नुहुन्छ। जब तपाईंहरू लात्ती हान्ने स्थितिमा पुग्नुहोला, त्यतिबेला गोदी मिडियाको त्यो एंकरले गोली चलाइरहेको हुनेछ।

म गोदी मिडियाको कति तारिफ गरौं। म गोदी मिडियाको ब्रान्ड एम्बासडर बनेर आएको छु। एउटा अर्को तारिफ पनि नोट गर्नुहोला। गोदी मिडिया बन्दुकबिनाको मिलिसिया हो। मिडियालाई मिलिसिया बनाउने प्रयोग कहीँ सफल भएको छ भने त्यो भारतमा भएको छ। सन् १९९० को दशकमा सूचना क्रान्ति गर्ने भनियो। सुरुवातमा शिक्षा, कला आदि विषयमा जोड दिन्छन्। विस्तारै विस्तारै परिवर्तन हुन्छ।

नेपाल यी सबै दबाब र प्रभावबाट धेरै हदसम्म मुक्त छ। अहिलेदेखि नै नेपालले आफ्नो वैकल्पिक मिडियाको खोजी गर्न सुरु गर्नुपर्छ। जनतालाई शिक्षित बनाउने काम सुरु गर्नुपर्छ। लोकतन्त्रमा नागरिक बन्ने काम फोकटको होइन। यसका निम्ति दैनिक अभ्यास गर्नुपर्छ। यो कुनै प्राध्यापकले सिकाएर हुँदैन। यो यस्तो जिम्मेवारी हो जहाँ सबैले प्रत्येक दिन मेहनत गर्नुपर्छ। पसिना बगाउनुपर्छ।  

यो सबै प्रक्रियामा मतदान गर्नु सबैभन्दा कम शारीरिक श्रमको काम हो। तर, सुरुदेखि नै लोकतान्त्रिक संस्था निर्माणमा या आफूभित्रको लोकतान्त्रिकताको निर्माणमा लाग्नुपर्छ। मतदान गर्नुभन्दा पहिले श्रमदान गर्नुपर्छ। जबसम्म तपाईंले नागरिक बन्ने श्रमदान गर्नुहुन्न तबसम्म तपाईं मतदान गर्ने उत्तराधिकारी बन्नु हुन्न।

मैलै यहाँ आउनुअघि सोचेको थिएँ जहाँ उभिन्छु, त्यहीँबाट भाषण दिन्छु। गोदी मिडियाले जस्तो दौडिँदै भाषण दिन्छन्। हाम्रा एंकर यता र उता दौडिरहेका हुन्छन्। गोदी मिडिया यति मौलिक छ कि यिनको कारणबाट भारतमा बुलन्द पत्रकारिताको उदय भएको छ। एंकर दसै दिशामा कुदेरै जान्छन्। ऊ दौडिँदै आउँछ र योग गुरुलाई बोक्छ।

यसरी भारतमा धावक पत्रकारिताको उदय पनि भएको छ। कुदेर पत्रकारिता गर्ने भएकाले शारीरिक फिटनेसको पनि पक्ष छ। जो फिट हुन्छ उही गोदी मिडियाको कुवामा दौडिन्छ। हाम्रा प्रधानमन्त्रीसँगै यी मिडिया पनि आए भने उनलाई कुद्नका निम्ति दुईचारवटा मैदान खाली गरिदिनुहोला।

तिनलाई दौडनका निम्ति पर्याप्त ठाउँको आवश्यकता हुन्छ। यिनीहरू कुदेको कुद्यै तपाईंको घरआँगनमै आइपुग्छन्। परदेशमा आफ्नो देशको सुख्खा रोटी पनि अमृतजस्तो हुन्छ। यसकारण मैले गोदी मिडियाको तारिफ गरेको हुँ। परम्परागत रूपमा मिडियाको काम जनमत निर्माण गर्नु हो।

यसका लागि सूचनाको पवित्रता र विश्वसनीयता सर्वोच्च हुनु आवश्यक छ। गोदी मिडियाको दौडमा सूचना सर्वोच्च हुँदैन। त्यसको ठाउँमा धारणा सर्वोच्च भएको छ। विनासूचना र प्रश्न तरहतरहको जनमत अहिले बनिरहेको छ। यसले जनमतलाई जडमतमा परिवर्तन गरिरहेको छ।

जन जो छन् ती चलायमान हुन्छन् जड स्थिर हुन्छ। जब मत जड हुन्छ र सबै किसिमले स्थिर बनाइन्छ। जनमत परिवर्तनशील हुन्छ। यसमा जडता हुँदैन। यसकारण अहिलेसम्मको विकास यात्रामा नेतालाई जनमत परिवर्तन होला कि भन्ने डर लागिरहन्छ। नेताहरूले जनमतलाई जडमतमा परिवर्तन गर्ने व्यवस्था बनाइसकेका छन्।

भारतमा मात्र होइन दुनियाँका धेरै देशमा यस्तो भइरहेको छ। भारतको मोडल मौलिक छ। तर, यसैगरी जनमतलाई जडमत बनाइरहेका छन्। यस्तो स्थितिमा जस्तो हुकुम गरे पनि जनताले मान्ने परम्परा सुरु हुन्छ। कुनै सूचना दिइयो भने पनि जनताले ह्वाट्स एप युनिभर्सिटीमा गएर त्यसलाई पुष्टि गर्छन्। अहिले दुनियाँभरमा यस्तो झुटको राज सुरु भएको छ।

भारतमा जब न्युज च्यानल सुरु भइरहेको थियो। नब्बेको दशकमा नयाँनयाँ व्यक्ति यसमा प्रवेश गरिरहेका थिए। सूचनाका माध्यमको विस्तार भयो भन्ने थियो। सूचना सरकारको नियन्त्रणबाट मुक्त भइरहेको थियो। हामीमध्ये कसैलाई थाहा थिएन हामीले यति चाँडै धोकाम पर्दैछौं। त्यसले सूचनाले भरिएका नागरिक तयार गरिरहेको थियो। तर, च्यानलमा सूचनाको लागि प्रतिस्पर्धा हुन थाल्यो। 

पत्रकारले तिखा प्रश्न गर्नुको सट्टा ऊभित्र आत्मविश्वास भरिन थाल्यो। सन् २०१४ मा आइपुग्दा जनताको यो आत्मविश्वासले अलग अलग झण्डा लिएर आउँछ। जनताबीचमा जाने एक किसिमको होडबाजी पनि भयो। च्यानलले कार्यक्रम जनताको बीचमा बनाउन थाले। आन्दोलनको बीचबाट एंकर वा रिपोर्टरले सिधा लाइभ गर्न थाले। अब अहिले त्यही एंकर वा संवाददाताले आन्दोलन गर्न आएका जनतालाई आतंककारी भन्न थालेको छ।

गोदी मिडियामा जनविरोधको एउटा नयाँ पत्रकारिता सुरु भएको छ। जब तपाईं कुनै समस्या वा सबाल लिएर सडकमा आउनुहुन्छ त्यतिबेला रिपोर्टरले भन्छ तपाईं भारतलाई बदनाम गर्न आउनु भएको छ। यसको पछाडि विदेशीको हात छ भन्छ। यसरी विपक्ष विरोधी पत्रकारिताको अभ्यास भइरहेको छ। आज सबै मिडिया कम्पनीका एकै मालिक छन्।

(भारतीय टेलिभिजन एन्डीटिभीका समूह सम्पादक एवं रामाेन मागसाइसाइ पुरस्कार बिजेता पत्रकार रवीश कुमारले राजधानीमा शनिबार आयोजित मिडिया मेलामा दिएको प्रस्तुतिको सम्पादित अंश।)

प्रकाशित: २५ वैशाख २०७९ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App