१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

राष्ट्रघाती बढार्ने युवा अठोट

नेपाली युवा जागेका छन्, तातेका छन् र जुरुक्क उठ्न थालेका छन्। राष्ट्रघाती बढार्ने तयारीमा छन्। तीसौँ वर्षदेखि करोडौँ जनतालाई ढाँटेर राजनीतिक उद्योगबाट करोडौ/अर्बौ रुपियाँको चलअचल सम्पत्ति कमाएर पनि अनैतिक काममै रमाइरहेका प्रवञ्चकहरू अवश्य बढारिन्छन्।

यसरी बढारिन्छन् नाम–निशान रहने छैन। हरेक कुराको सीमा हुन्छ। सीमा नाघेपछि पतन हुन्छ। भ्रष्ट पतीतहरूलाई निर्वाचन अब ‘निर्वासन’ बन्छ। पातकी, घातकी, राष्ट्रद्रोही, जनद्रोही र विदेशीका अनुचर–गुप्तचर बनेका कसिंगरहरू फ्याँकेपछि बल्ल नेपाल सुन्दर/सुग्घर बन्छ। यही बुझेर युवा जागेका छन्।

हो, युवा जागेका छन्। अठार–उन्नाइसदेखि तीस–पैतीस वर्षसम्मका युवाको आवाज बुलन्द बनिरहेको छ, सामाजिक सञ्जालमा, टोलटोलमा, गाउँघर र हजारौँ मिडियामा। उनीहरू केही नगरी राजस्व चपाउनेहरूलाई सधैंका लागि लखेट्न चाहन्छन्। राष्ट्र लुट्नेहरूसँग हिसाब खोज्दैछन्। दश लाख रुपियाँको काम गरेर एक करोड रुपियाँ खर्च भएको देखाउने भ्रष्टाचारीको मेरुदण्ड छाम्दैछन् युवा। यस्तो चेतनाले एक दिन भ्रष्ट युग अन्त्य हुन्छ।

दुई वर्ष पहिले विश्वमा पैतीस वर्षभन्दा कम उमेरका सांसद दुई प्रतिशतमात्र रहेको एउटा सर्वेक्षणबाट पुष्टि भयो। सत्तरी वर्ष नाघेकालाई पनि दलका ‘युवा नेता’ भन्ने र अन्ठानब्बे वर्षको उमेरमा देहान्त भए पनि ‘असामयिक’ (समय नपुग्दै) मृत्यु भएको खबर अरू राष्ट्रमा सुनिँदैन। मानिस सय वर्षसम्म पनि निरोगी रहन सक्छ तर पचासौँ वर्ष राजनीतिमा पद ओगटेर बस्नु उचित मानिँदैन।

नेल्सन मन्डेला, महाथिर महमद, लि क्वान यु जस्ता ‘अपरिहार्य’ पात्र अपवाद हुन सक्लान्। विश्वमा तीस वर्षमुनिका युवा पचास प्रतिशत जति छन्। उनीहरूको मर्म, सोच, आवश्यकता, सपना र मार्गचित्र हजुरबा र हजुरआमा पुस्ताले सहज रूपमा अनुभूत गर्न सक्दैनन्। १९६ राष्ट्रका दुई हजार युवालाई जर्मनीको म्युनिखमा सन् २०२१ को अप्रिल २३ देखि २६ सम्म एउटा सम्मेलनमा बोलाइयो।

त्यसमा दक्षिण अफ्रिकी युवा ठूली मेडोनशिला, पाकिस्तानी नेता सेरी रहमान, जापानी युरिको कोइकी, न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्क लगायत थिए। उनीहरू राष्ट्रका लागि योगदान गरेका सक्षम युवा भएकाले धारणा पनि स्पष्ट थियो। राजनीतिमा लागेर त्यसैलाई उद्योग–व्यापार बनाउन चाहने प्रवृत्ति र दृष्टिकोण भएका नेपालका कतिपय ‘युवा नेता’ पद पाउनासाथ लुट्न थाल्छन्।

जसलाई राष्ट्र सर्वोच्च हुन्छ, सर्वोपरि हुन्छ र शिरमाथि रहनुपर्छ भन्ने लाग्छ, त्यस्ता युवाले मौका पाए भने अवश्य राष्ट्र र जनतालाई मद्दत पुग्छ। राष्ट्रोत्थान हुन्छ। युवा पनि सबै सक्षम, इमानदार, देशभक्त र स्वावलम्बी हुँदैनन् तसर्थ असल छान्ने क्षमता जनतामै छैन भने उनीहरूका प्रतिनिधि पनि नालायक हुनु अस्वाभाविक होइन।

सन् २०१९ मा फिनल्यान्डको प्रधानमन्त्री निर्वाचित हुँदा साना मारिन युवा थिइन्। पच्चीस वर्षमै उनी सोसल डेमोक्र्याटिक पार्टीबाट मन्त्री भएकी थिइन्। हाल उनी ३६ वर्षकी भइन्। चिलीका राष्ट्रपति गाब्रियल फन्ट उनको उमेरकै नेता हुन्। उनी विश्वका सबैभन्दा युवा नेता मानिन्छन्। भारतको संविधानको धारा १७३ ले प्रान्त र संसद्को सदस्य बन्न २५ वर्ष पुगेको हुनुपर्छ भनेको छ।

नेपालमा पनि सांसद बन्न २५ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ तर कुनै सक्षम युवाले सांसदको टिकट पाउन हजुरबाहरूको भजन–कीर्तन र चाकडी गर्नुपर्छ। कुनै दलको भएर पुग्दैन, बलियो गुटको कारिन्दा हुनुपर्छ। सांसद मात्र होइन, अब त गाउँपालिका प्रमुख वा नगर प्रमुख बन्न ‘भागबन्डा’ मा बाँडिने एउटा लड्डु हुनैपर्छ।

प्रसिद्ध अमेरिकी व्यापारी हेनरी फोर्ड भन्छन्–“जसले प्रयत्न गर्दैन, ऊ वृद्ध हो। जसले अध्ययन त्याग्छ, उमेरले युवा भए पनि ऊ पनि वृद्ध हो। तसर्थ, मस्तिष्कलाई सदैव तन्नेरी बनाएर राख।” यसको अर्थ सत्रपल्ट हारेका बाहरू युवाका विकल्प हुन सक्छन् भन्ने होइन। तीसौँ वर्षदेखि जनताको बुद्धि भुट्ने र राष्ट्र लुट्नेलाई अब युवाले समर्थन गर्ने सम्भावना देखिँदैन।

परिवर्तनलाई सकारात्मक र राष्ट्रमुखी बनाउन युवा चाहिन्छ भन्दै जुरुक्क उठेका असल युवा वर्ग राष्ट्रका हरेक तह र तप्कामा पुगे भने अहिले व्याप्त विकृति न्यून हुँदै जाने सम्भावना रहन्छ। सयौं युद्ध सरदारलाई जितेर चीनका राष्ट्रनायक बनेका छिन–सि– हुआङले युवावस्थामै चीन एकीकरण गरे। बीस वर्षको उमेरमा राजगद्दी सम्हालेका पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे।

राष्ट्रलाई स्वावलम्वी बनाउने, उद्योग–खानी र व्यापार चलाउने अनि धर्म संस्कृति संरक्षण गर्नुपर्छ भन्ने ती राष्ट्रनायकले अमेरिका स्वाधीन हुनुभन्दा आठ वर्षपहिले नै नेपाललाई प्रवल, प्राञ्जल र प्रदीप्त तुल्याए। मुलुकी ऐन निर्माण गर्दा राजा सुरेन्द्र तथा प्रधानमन्त्री जंगबहादुर राणा (कुँवर) दुवै युवा थिए। धर्मशास्त्रहरूमा आधारित मुलुकी ऐन कानुन र संविधानका विद्यार्थीहरूका निम्ति आज पनि महत्वपूर्ण मानिन्छ।

राजनीतिमा प्रवेश गर्दा अब्राहम लिंकन युवा थिए। उनको सोच परिपक्व, उदार तथा दूरदर्शी थियो। विन्स्टन चर्चिल, नेल्सन मन्डेला, मार्टिन लुथर किङ जुनियर आदि मात्र होइन, नेपालकै कतिपय राजनीतिज्ञले युवावस्थामै छुट्टै परिचय बनाएका थिए। नेपाली कांग्रेसको नेतृत्व सम्हाल्दा विश्वेश्वरप्रसाद कोइराला तीस वर्षको हाराहारीमा थिए।

चालीस वर्ष नकाट्दै मदन भण्डारी र पुष्पलाल श्रेष्ठ प्रसिद्ध भइसकेका थिए। तसर्थ, छलकपट गरेर सत्तामा जानु, जुन दलको सरकार बने पनि सिद्धान्तहीन गठबन्धन गरेर खानपिनमा रमाउनु र राष्ट्रको भन्दा भ्रष्टको कित्तामा उभिएर अकुत धन आर्जन गर्नु सफलता होइन। दिनमा तीन घण्टा दल बदल्ने भारतको हरियणास्थित पलबल गाउँका ‘आयाराम–गयाराम’ भनिने अवसरवादी पात्र जस्ता प्रवृत्ति हुनेहरू नेपाली राजनीतिमा धेरै छन्।

गयालाल नामका व्यक्तिले सन् १९६७ मा नौ घण्टाभित्र तीनपल्ट पार्टी परिवर्तन गरे। पहिले उनी कांग्रेसमा थिए। केही घण्टा जनता पार्टीमा प्रवेश गरे। साँझ पुनः कांग्रेसमै फर्किए। त्यसपछि गयालाल प्रवृत्ति ‘आयाराम–गयाराम’ भनेर चर्चित भयो। पञ्चायतकालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल नामको विद्यार्थी संगठनको केन्द्रीय सभापति बनेका एक युवा युवापुस्तामै मन्त्री भए। राजदरवारको संरक्षण, सम्बद्र्धन, सम्पोषण, स्नेह, मद्दत र अभिभावकत्व पाएर सुखभोग गरे।

निर्दलीय प्रणाली छउन्जेल त्यसमै अडिग रहे। २०४६ सालपछि पूर्वपञ्चहरूले एकैदिन दुईवटा दल बनाए। उनी त्यहाँ शक्तिशाली भए। संवैधानिक राजतन्त्र एवं संसदीय प्रजातन्त्र रहेको २०४७ सालको संविधान आजका धेरैजसो वामपन्थी र कांग्रेसी नेताले समेत स्वीकार गरे। पूर्वपञ्चको जत्थामा पनि को ठूलो र को प्रजातन्त्रवादी हुने भन्ने होड चल्दा माथि उल्लिखित पात्रले आफ्नै दलको सरकार ढाल्ने काम गरे।

तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नै मन्त्रीले आफ्नो सरकार ढालेपछि मुसा प्रवृत्तिले जता पनि प्वाल पार्न सक्छ भन्दै व्यंग्य गरे। विकृतिका केही उदाहरणमध्ये शेरबहादुर देउवाको प्रयत्नमा भएको सांसद किनबेच काण्ड, गिरिजाप्रसाद कोइरालाका पालामा भएका झण्डै आठ/दश वटा ठूला भ्रष्टाचार, एमालेको विभाजन, मुसा काण्ड, महाकाली सन्धिमा भएको राष्ट्रघात लगायतका विकृतिलाई उपमाका रूपमा लिइन्छ।

कुनै दलको अन्धभक्त भएका लेखक, बुद्धिजीवी, वकिल, प्राध्यापक, सरकारी तलवजीवी, उद्योगपति र व्यापारीले मन परेको नेताले जघन्य अपराध गरे पनि मौन बस्ने वा वकालत गर्ने प्रवृत्ति छ। यसपल्ट थपिएका झण्डै छत्तीस लाख मतदातामध्ये लाखौँ १८/१९ वर्षदेखि २५/२६ वर्षका छन्। तीमध्ये लाखौँ युवा चरम विकृति देखेर तातेका छन्। गाउँ, नगर वा संसद्को चुनावमा स्वच्छ मानिस खोज्दैछन् उनीहरू।

राष्ट्रघाती बढार्ने प्रयत्न गर्दैछन्। उनीहरूले सही निर्णय गरे भने राजनीतिका नाममा पटक–पटक ठग्नेहरूको कन्तविजोक हुन सक्छ। राष्ट्र लुट्नेको सर्वस्वहरण र ज्युँदो मरण हुन सक्छ। प्रसिद्ध साहित्यकार ओस्कर वाइल्डको कथन घतलाग्दो छ, 'युवा अवस्था समाप्त भएपछि मात्र मानिसले त्यसको महत्त्व थाहा पाउँछन्।' तसर्थ युवाले युवावस्थामै सही, दूरदर्शी र सार्थक निर्णय गरे भने पश्चाताप गर्दै प्रौढावस्था बिताउनुपर्दैन।

२०४६ सालको राजनीतिक परिवर्तन र २०६२/६३ सालको उथलपुथल हुँदा जे/जस्ता सपना देखाइयो, ती आज असत्य सावित भएका छन्। त्यसैले युवा तातेका हुन। टर्कीमा फिल्ड मार्सल, लेखक, नेता र आधुनिक टर्कीका संस्थापक कमाल अतातुर्कले सन् १९२३ देखि पन्ध्र वर्ष शासन गर्दा ठूलो प्रगति गरे। त्यसको आधार युवा नै थिए।

‘पौष्टिक र शुद्ध दूध खान गाईको स्याहार गर्नुपर्छ, गोरुको टाङमुनि बाल्टी थाप्नुहुँदैन” भन्ने एकजना नेताको कथन मिडियामा अहिले चर्चित भइरहेको छ। यसको अर्थ स्पष्ट छ, परिवर्तन चाहनेले सही अठोट गर्नुपर्छ। इजिप्टका गमाल अब्देल नासेरले पनि त्यहाँका जनताको जीवनस्तर उठाउन अनेक काम गरे।

राष्ट्रलाई विदेशी प्रभावबाट मुक्त गराएर ‘टर्कीबासीले मात्रै टर्कीको बारेमा निर्णय गर्छन्’ भन्ने साहस गरे। सन् १९५३ देखि गणतन्त्र सुरु भयो इजिप्टमा। त्यो भन्दा अघि बाइस पुस्तासम्म राजतन्त्र थियो। सुरुमा विदेशीकै दबाबमा गणतन्त्र भए पनि राष्ट्रलाई विदेशीको आदेशमा चलाएनन् नासेरले। उनी राष्ट्रवादी थिए। विकासवादी र न्यायप्रिय थिए।

प्रथम राष्ट्रपति महमद नगिब युद्धमन्त्री, प्रधानमन्त्री हुँदै राष्ट्रपति भए। पूर्व मेजरजनरल नगीबले युवा वर्ग र सेनाको मन जिते। युवाकै मद्दतले मात्र राष्ट्र निर्माण सम्भव हुन्छ भन्ने प्रमाणित गरे। धेरैले युवापुस्तामै राष्ट्रको बागडोर सम्हालेर ऐतिहासिक काम गरेका उदाहरण छन्। चीनको ग्रेटवाल बनाउन सुरु गर्दा सम्राट हुई युवा थिए।

जर्मनीको एकीकरण गर्ने विस्मार्क शारीरिक र मानसिकरूपले फुर्तिलो रहेकै अवस्थामा प्रसिद्ध भए। तसर्थ, युवा अवस्थाको ऊर्जा, साहस, शक्ति, सामथ्र्य, ज्ञान र प्रतिभा राष्ट्र निर्माणमा समर्पण गर्न चाहने युवालाई उपेक्षा गर्न मिल्दैन। जेल बसेको, हजारौँलाई मारेको, लुटेको, चुटेको, अपहरण गरेको र कैयन् कर्तुत वा कुकर्मलाई त्याग वा बलिदान मानेर मतदान गर्नेहरूका कारण फलाम ठोक्नुपर्नेलाई सलाम ठोक्नुपर्ने अवस्था आयो।

सुरक्षाकर्मीहरूलाई पनि अपराधीको रक्षक हुँदा अवश्य पीडा हुँदो हो। तसर्थ नेपाल र नेपालीको भाग्य र भविष्य सुधार्न जसरी लाखौँ युवा उठ्न र जुट्न थालेका छन्, त्यो प्रशंसनीय छ। युवा वर्गको यो उत्साह, अठोट र जाँगरले राष्ट्रघातीहरू बढारिन्छन् भन्ने विश्वास प्रबल हुँदै गएको छ। किनभने कुनै पनि मुलुकमा सधैँ असत्य प्रबल हुँदैन। सत्यको जीत हुन्छ।

प्रकाशित: १६ वैशाख २०७९ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App