१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

होसमा आऊ नेताहरू!

फागुको समयमा उच्छृङ्खल ठिटाले बाटोमा हिँडिरहेका युवतीलाई फोहोर पानी, रङ भरिएको बेलुनले जथाभावी हाने झैं डीएसपी दिलीप चौधरीको जिन्दगीसँग फागु खेले, त्यस्तै उच्छृङ्खल अनि उत्तेजित जमातले।

चौधरीमाथिको घातक हमला रोक्न सकिन्थ्यो होला, सायद। प्रधानमन्त्री माधवकुमार नेपाललाई एयरपोर्टबाट नारायणहिटी दरबारको हेलिप्याडमा उतारेर बालुवाटार लग्नुपर्ने हो। मुठभेड गर्नै भनेर सडकमा उत्रिएको उत्तेजित भीडबाट सबारी लैजान खोज्नु सम्बन्धित सरकारी अधिकारीको लापरबाहीको पनि हद हो।

उत्तेजित भीडमा मानवता हुँदैन। भीडको मानसिकताले छोपिदिन्छ, मानवभित्र लुकेको मानवतालाई। क्षणभंगुर जीवनको मालिक मानव भिडभित्र मदमत्त बन्छ- आफूलाई अजर, अमर ठान्न पुग्छ।

मैले त्यहीँ सडकमा उत्रिएका पार्टीकै एक भलाद्मीलाई फोन गरें, अलि उत्तेजित भएर। 'भलादमीजी, त्यसरी कसैलाई मरणासन्न हुने गरेर पिट्न पाइन्छ? अनि कृष्णसेन अनलाइनमा चौधरीलाई निसाना एक महिनाअघि नै बनाई सकिएको रहेछ, के हो यस्तो?'
विनासंकोच तुरुन्त जवाफ पाएँ, 'त्यसले सिंहदरबारमा माओवादीले 'पिकेटिङ' गर्दा दुःख दिएको रहेछ। बदमास रहेछ, त्यो त।' मैले प्रश्न गरेँ, 'भलादमीजी, कसैलाई कोही मन पर्दैन भने त्यसलाई मार्न पाइन्छ त?' जवाफ पाएँ, बिनासंकोच। 'अवन्तिकाजी, तपाईंलाई चाहिँ खाली चौधरीलाई ढुंगाले हानेकोमा पीर पर्‍यो। तर, माओवादी सांसदलाई प्रहरीले ढुंगा हानेर घाइते बनाएको चाहिँ देख्नुभएन?'

उत्तर आइरह्यो, मैले सुनिरहें। 'प्रजातन्त्रमा त्यस्तो हुन्छ। जनताको 'म्यान्डेट' पाएर आएका चाहिँ बाहिर, नपाएकाहरू चाहिँ देश चलाउने? ६ सय १ सदस्य संसद्मा माओवादीको २ सय ४० सिट छ, कांग्रेस र एमाले दुवै मिलाएर २ सय २३ सिट। तर, एउटा उपसभामुखबाहेक राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख सबै अरू पार्टीको।'

'माओवादीले जस्तो त्याग र तपस्या अरू कसैले गरेको छैन। प्रचण्डले प्रधानमन्त्रीको पद त एक घन्टामै छोडिदिए। सबै अखबारहरू माओवादीको विरोधमा लेख्छन् - खाली त्यही कृष्णसेन अनलाइन छ आफ्नो, सो त्यसमा लेख्नबाहेक अरू कुनै चारा छैन।'

भलाद्मीजीले भन्नुभएका कुराहरू मैले पनि बुझेको छु, आफ्नै तरिकाले। तर, यी सब परिपञ्चको चौधरीको जीवनसँग ढुंगा, इँटा तथा रडले फागु खेल्नुसँग के सम्बन्ध? केबल यो प्रश्नको जवाफ मानवतासँग सम्बन्धित छ।

राजनीतिको फोहोरी खेलमा जित्न मानवतालाई लात हान्नु कस्तो दुःखको कुरा। तर, सडकमा उत्रिएको उच्छृङ्खल भिडलाई दोषको भागिदार नबनाऔं। ती नादान हुन्। दोषी त हुन् नानाथरिका प्रलोभन देखाई तिनलाई सडकमा उतार्ने यी नेताहरू।

अरू जीवित प्राणीप्रति प्रेम, सद्भावना, करुणा, दया, त्याग, तपस्याको भावना- त्यही मानवताको अर्को नाम हो।

भोलि हाम्रो मृत्युपरान्त अरूले सम्झने गुण पनि यिनै हुन्- 'ओहो! फलानो कति दयालु थिए, सबैप्रति समान व्यवहार गर्थे, प्रेम गर्थे, कति त्यागी थिए, अहिंसाका पुजारी थिए।'
यी पदलोलुप नेताहरूले भुलेका छन् जिन्दगी दुई दिनको खेल हो, माया हो। अनि जब यो खेल सिद्धिन्छ त बाँकी रहनेछ सिर्फ मानवता। यो सत्य कवीर जस्ता सन्तले बुझेका थिए-
'कवीरा जब हम पैदा हुये,
जग हँसे हम रोये,
ऐसी करणी कर चलो
हम हँसे, जग रोये।'

कवीर भन्छन्- 'जब हामी जन्मन्छौं, रुँदै जन्मन्छौं, हाम्रा वरपरका सबै खुसी हुन्छन्, हाँस्छन्। यस्तो काम गरौं कि जानेबेला हाँस्दै जान सकौं, अनि हाम्रा वरपरका सबै आँसु बहाऊन्, हाम्रो लागि।'

देशलाई आफ्नो क्रिडास्थल ठानिरहनुभएका प्रचण्डजी, गिरिजाजी, माधवकुमारजी तथा अन्य नेताहरू, होसमा आउनुस्। क्षणिक यो जीवनको एउटै सत्य छ- त्यो हो 'मानवता', अरू केही होइन।

प्रकाशित: ९ पुस २०६६ २३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App