१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

राजनीतिमा आधुनिकीकरण वा अनुकरण?

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।  

अभ्युत्थानमधर्मस्य तदात्मानं  

सृजाम्यहम्।।

जब जब संकट र अधर्म बढ्छ तब म प्रकट हुनेछु भनेर महाभारतको युद्धमा भगवान श्रीकृष्णले भनेझैँ राजनीतिक संकट होस् वा सामाजिक अराजकतामा कृष्ण अर्थात् पालनकर्ता, रक्षक बनेर आउने राजनेता राज्यलाई चाहिएको छ। महाभारतको कथा र युद्ध धर्मको कथा र युद्धमात्र होइन। व्यक्तिभित्र रहेको सत्य र सेवा अनि अराजकता र स्वार्थी भावको ज्वलन्त उदाहरण पनि हो।

आज पनि त प्रत्येक दलमा, प्रत्येक विचारधारामा आफ्नो प्रभुत्वका लागि महाभारत नै त गरेको देखिन्छ। भगवान बुद्ध भन्नुहुन्थ्यो– ‘कुनैपनि कुरा, राजनीतिक दल या समाज परिवर्तनका विषयमा कुनैपनि नेता या व्यवस्थालाई यो सदियौँदेखि चलिआएको भनेर स्वीकार नगर। सबैले मान्दै आएको परम्परागत शैली भनेर विश्वास नगर। निर्वाचनमा उमेदवारी दिने व्यक्ति असल र आफ्नै हो भनेर अन्धभक्त नबन। म पुरानो परम्परालाई जोगाउँछु भन्ने नेतालाई होइन, म आफ्नो स्वविवेकले राज्यमा यो चाहन्छु जसले राज्य र आमनागरिकको भलाइमा काम हुन्छ, यस्तो स्वविवेकी नेतालाई चुन।’

समग्रमा भन्नुपर्दा कसैलाई रोज्नु र विश्वास गर्नुअघि सोच–यो व्यक्तिले राज्य र समाजको विकासका बारेमा विवेकपूर्ण कर्म गर्ला? जुनसुकै समूह र समाजमा होस्, जसले स्वधर्मको पालना गर्न सिकेको छ उसले मात्र विकासका काम अघि बढाउन सक्छ। धर्म र विकास एकअर्काका पर्याय हुन् पवित्रता र चेतनापूर्ण यसलाई समाजमा प्रयोग गर्न जानियो भने। जीवनको पवित्रता, कर्मप्रतिको पवित्रता र मानसिक पवित्रतालाई सन्तुलनमा राख्न सकेको व्यक्ति असल नेतृत्व बन्न सक्छ।

अब त्यो व्यक्तिका हरेक कर्म निस्वार्थ, बहुजन हिताय र सुमधुर सम्बन्धकासाथ विकास हुन सुरु गर्छ। यसो हेर्‍यो भने नयाँ समय आए पनि परम्परा र सोच पुरानै अनुकरण गरिएको हुन्छ। जस्तो संस्कार र सोच थियो त्यसमा रूपान्तरण आएको हुँदैन। सही मार्ग प्रशस्त गर्न नसकेका योजना, सोच र तरिकालाई परिमार्जित गरेर सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक सबै पक्षमा नयाँ रूपान्तरण ल्याउनु आधुनिकीकरण हो। अरूकै अनुकरण गर्नु पनि आधुनिकीकरण होइन, परम्पराका अभ्यासलाई नयाँ तरिकाले कर्म गर्नु र त्यसको लाभ आमनागरिकले महसुस गर्न पाउनु आधुनिकीकरण हो। कुनै विशेष वर्ग या समुदायमा मात्र पहुँच पुग्नु विकास र परिवर्तन होइन।

स्थिरता र परिवर्तनमा राजनीतिको भूमिका

राजनीतिज्ञ क्लाड केल्ब भन्छन्– ‘राज्यमा भएका स्रोत/साधनको विवेकपूर्ण समुचित प्रयोग गरी त्यसको लाभ नागरिक समाजलाई प्रदान गर्नु र समाजमा स्थायित्व अनि सुरक्षा प्रदान गर्नु राजनीतिको परिणाम हो।’ सहज जीवनशैलीको विकास, न्यूनतम आवश्यकता पूरा हुन सक्ने व्यवस्था, शिक्षा, स्वास्थ्य र रोजगारीमा सुनिश्चितता अनि गतिशील अर्थव्यवस्था कायम गर्न सक्ने नेतृत्व सही नेतृत्व हो।

यसको परिणाम तब अनुभूति हुन्छ जब नागरिकको प्रतिव्यक्ति आम्दानी वृद्धि भएको छ, व्यापार, वाणिज्य र उद्योगधन्दा गतिशीलरूपमा सुचारु छन् अनि भौगोलिक र सांस्कृतिकरूपमा सबैले जीवनस्तर सुधार भएको महसुस गर्न पाएका होउन्। विकास कहिले पनि केन्द्रीकृत हुँदैन। समग्रतामा विकेन्द्रीकरणका आधारमा, एकीकृत शासन व्यवस्था सफल राजनीतिको उदाहरण हो।

गठबन्धनका नाममा विचारधारा र आस्था भन्दा पनि स्वार्थपूर्ण लाभ र आफ्नो पक्षमा मत लिन खोज्नु राजनीतिक उद्देश्य होइन। गठबन्धनको शक्ति या दलगत शक्ति भन्दा महत्वपूर्ण शक्ति त्यो हो जब नेतृत्वले नागरिकको माग भन्दा बढी विकासको फल दिन सक्ने गरी समग्रतामा आफूलाई तयार पार्न सकोस्। अनुचित मागलाई परास्त गर्दै उचित मागलाई पूर्णरूपमा प्रदान गर्न सक्नु राजनीतिक अर्थात् दलगत शक्ति हो।

हरेक कुरा व्यक्तिगत र दलगत फाइदालाई केन्द्रमा राखेर शोषण प्रवृत्ति देखाउनु कसरी शक्ति प्रदर्शन भयो र? नागरिक जीवनसँग सम्बन्धित सबै गतिविधि र व्यवस्थापनको केन्द्रमा राज्य र नागरिकलाई राख्न सक्नु आधुनिक विचारधारा र विकासको संकेत हुनेछ। राज्य या समाजको विकासमा नागरिक पहुँच हुनु आधुनिकीकरणको उदाहरण हो। हेरौँ त हाम्रो अभ्यास पहुँच भनेको केवल सीमित, हुनेखानेको हातमा छ। त्यसैले त हुनेखाने र हुँदाखानेबीचको खाडल बढ्दैछ। लोक कल्याणकारी र जान उत्थानका कार्यमा अहिलेसम्म कस्तो अभ्यास रह्यो र अब के हुनुपर्दछ सचेत र इमान्दार हुने समय आएको छ नेतृत्व गर्नेका लागि।

राजनीति र जनसाधारणको उपस्थिति

जब निर्वाचन नजिकिँदै गर्छ अनि सुरु हुन्छ घरदैलो अभियान। त्योबीचमा कैयौँ विपद् र असहज स्थिति आइपर्छन्, त्यतिबेला चूपचाप हुन्छन् नेतृत्वहरू। राजनीतिमा उम्मेदवारमात्र महत्वपूर्ण हँुदैन, नागरिकको भूमिका र उपस्थितिले अरू धेरै महत्व राख्छ। नागरिकले चुनेर, मत दिएर विजयी गराएका हुन्छन् नेतृत्व तहलाई। तर विडम्बना, जनसाधारण सधैँ पछि र नेता अघि पारेका छौँ हामीले नै। सत्यताका लागि खुलेर आवाज उठाउन, प्रतिवाद गर्न र सही रोज्नमा बाधा केले पारेको छ र देश बनेन भन्दै कुर्लिने? कम्तीमा नागरिकले त आफ्नो सही विवेक प्रयोग गर्न जान्नुपर्‍यो।

आफैँमाथि सही विवेक प्रयोग गर्न नसक्नु आफैँले आफैँलाई अन्याय गर्नु हो। संस्थागत, व्यवस्थागत वा व्यवहारगत परिवर्तन र विचारधारा होस् नागरिक समाजको राय, निर्णय र रोजाइले धेरै ठूलो भूमिका खेल्छ। नागरिक सचेतना अर्को महत्वपूर्ण पक्ष हो विकास प्रक्रियामा। पारम्परिक अभ्यास, तर्क, अनुकरण र शक्ति प्रदर्शन भन्दा महत्वपूर्ण हुन्छ नैतिक आचरण र त्यसअनुसारको कर्मको परिणाम नागरिक तहसम्म पुर्‍याउनुमा। नयाँ प्रक्रिया, व्यवस्था, सोच र परिवर्तनशीलता विकासको मापन बनेर आउनुपर्छ तब राजनीतिक विचारधारा र नेतृत्वको कर्म सार्थक भएको महसुस हुनेछ।

गठबन्धनको आधुनिकीकरण

सुनिन्थ्यो, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र पनि हुँदैनन्। विगतको निर्वाचनबाट सुरु भएको गठबन्धनको अभ्यासले एकातिर फरक दर्शन, नीति र सिद्धान्तको व्याख्या गर्ने राजनीतिक दलहरू पनि मिलेर एकता कायम गरेका, परम्परागत मान्यता त्यागेका जस्तो राम्रो समाचार दिन सक्छ। तर अर्कोतिर द्वैध चरित्रको पनि आभाष दिलाउँछ किनकि जसरी पनि निर्वाचन जित्नुछ र पदमा पुग्नुछ, त्यसपछिको राजनीति या नागरिक विश्वास देखाजायगा भन्ने चरित्रलाई पनि उजागर गरेको पाइन्छ।

गठन, विघटन र गठबन्धनका प्रक्रिया र अभ्यास राजनीतिका बलिया खम्बा नभएर स्वार्थी चलखेल र विकृति हुन् भनेर बुझ्न थालिएको पनि छ। अस्वाभाविकलाई स्वाभाविक मान्नु राजनीति हो भन्ने राजनीतिप्रतिको खिल्ली महसुस गर्न सकिन्छ। आफ्नो अस्तित्व, आफ्नो सिद्धान्तलाई बलियो बनाएर नागरिकको विश्वास जित्नु राजनीति हो तर राजनीतिलाई विकृत बनाएर नागरिकलाई झुक्याउने, अल्मल्याउने प्रवृत्ति भयो भने यो कसरी स्थायी होला? राम्रो हुँदाको र आफ्नो पक्षमा हुँदा राम्रो व्याख्या गर्ने, नराम्रो हुनासाथ अर्को दललाई दोष देखाउने प्रवृत्ति कायम हुनु नौलो नै भएन।

आफ्नै असल पक्ष र कमजोरीलाई आफैँले मूल्याङ्कन गर्ने वा दोष अरूलाई दिने परिपाटी विकास गर्दै जाने? गठबन्धन दीर्घकालीन समाधान र अभ्यास बन्न सक्छ वा सक्दैन? यसले सही उम्मेदवारी छनोट गर्न सक्छ वा सक्दैन? गठबन्धनको परिवर्तन र लाभ नागरिक समाजले कसरी महसुस गर्ने? प्रत्येक दलका घोषणापत्र हेर्दा लाग्छ, विश्वकै सम्पन्न र अलौकिक राज्यमा परेको छ नेपाल। तर कुराले भात पाक्दैन भनेझैँ विकासका अजेन्डाअनुसारको परिणामले हो नागरिकको विश्वास जित्ने।

प्रकाशित: १३ वैशाख २०७९ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App