उनलाई मैले नेकपा (माओवादी) को सशस्त्र विद्रोहका बेला भेटेको थिएँ। काँधमा बन्दूक भिरेकी उनको अनुहार भर्भराउँदो थियो। २१ वर्षअघि उनी र उनीजस्तै महिलालाई भेटेर फर्केपछि लेखेको थिएँ–‘बन्दूक बोक्ने सुन्दरीहरू अर्थात् अस्मिता र अस्मिताहरू।’
अस्मिता अर्थात् देवी खड्का, जो नेकपा (माओवादी) का तर्फबाट सांसद पनि भइन्। सशस्त्र विद्रोहकै बेला उनीमाथि आइलागेको आपत् त्योबेला पत्रपत्रिकामा धेरै आएको पनि हो। अगाडि गौरीशंकर हिमाल चर्लक्क देखिने सैलुङ लेखको काखमा रहेको सुन्दर फस्कु गाउँमा मैले उनलाई भेट्दा कसिलोसँग हात मिलाउँदै परिचय दिएकी थिइन्–म अस्मिता।
नाम अस्मिता। अस्मिता लुटिएकी यी देवी। त्यस्तो विडम्बनाको स्थितिमा फूलहरू फिलुङ्गा बन्न खोजिरहेको महसुस भएको थियो। त्यसलगत्तै ३० फागुन २०५७ मा मैले उनको भाषण उद्धृत गर्दै लेखेको रहेछु–‘महिलाको सबैभन्दा ठूलो सम्पत्ति लुटिए पनि म कति डराएकी छैन।’
तिनै अस्मितालाई फेरि मैले १६ चैत २०७८ मा भेटेँ। त्यो युद्ध मैदानको भेट। यो राजधानीको एउटा वैठक कक्ष। भित्तामा टाँगिएको छ एउटा ब्यानर। ब्यानरमा लागेका छन् केही पञ्जाछापहरू। राता, निला मसी पोतिएका ती पञ्जाछापबाट केही अनुहार चिहाइरहेका छन्। ती छोपिएका अनुहारले भनिरहेका छन्–ए लोकतन्त्रमा बाँचिरहेकाहरू, लौ न हामीलाई पनि बचाऊ।
त्यो ब्यानर अगाडि उभिएकी छन् देवी। देखिने देवी एउटी छन्। नदेखिने देवीहरू कैयन् छन्। तिनीहरू देखिन सक्दैनन्। देखिए भने तिनलाई फेरि समाजले पचाउन सक्दैन्। देवी बोल्दै गइन्। हामी उनलाई सुन्दै गयौँ। समयले दुई दशकको नेटो काटेछ। तर, समाज जहाँको तहीँ रहेछ।
राजनीतिक चिन्तक प्रदीप गिरीकै शब्द सापटी लिएर भन्ने हो भने यस्ता देवीहरूले हाँकेको आन्दोलनले राप र ताप दियो तर प्रकाश दिन सकेन। माओवादीलाई राज्य सञ्चालनको केन्द्रविन्दुमा पुर्यायो तर देवीहरू ओझेलमा परे। यतिबेला सफलता शिखरमा पुगेका नेताहरूप्रति यहाँ कुनै आलोचना गर्नु छैन। केहीले कुनै न कुनैरूपमा मौका पाएका छन्। देवीहरू भने त्यत्तिकै परित्यक्त छन्।
देवी खड्का दुई पटक सांसद भइन्। केही महिना राज्यमन्त्री पनि भइन्। भोलिका दिनमा उनी राजनीतिमा उत्तिकै सक्रिय हुन सक्षम छन्। नियतिले उनीसँग फेरि अरू देवीका निम्ति केही गर्नुपर्ने जिम्मेवारीको अपेक्षा गरेको छ। उनी फेरि त्यसका निम्ति तयार भएकी छिन्।
समाज फेर्छु भनेर हिँडेका एक हुल मान्छे मलामीमा पो परिणत भएछन्। त्यही भएर देवी र उनीजस्ताका निम्ति यो परिवर्तनको केही अर्थ भएनछ। देवीका कुरा सुनेँ। उनीहरूको भर्खरै सम्पन्न सम्मेलनमा आएका मागहरू पढेँ। यतिका वर्षपछि बल्ल यस्ता माग। यी समस्याको समाधान त उहिल्यै हुनुपर्ने होइन। देश, समाज, पार्टी होइन परिवारबाटै उनीहरू मिल्काइएका पत्कर पो बनेछन्।
त्यही भएर नयाँ संगठन बनेको छ–द्वन्द्वमा बलात्कारपीडित महिलाको राष्ट्रिय सम्मेलन। यसको संयोजक बनेकी छन् देवी।
यस्तो पनि हुन्छ? अस्मितालाई भेटेदेखि देवीसम्म आइपुग्दाको समयलाई फेरि एकपटक परिक्रमा गरेँ। अरू धेरैका आवाज सुनिएको रहेछ। यिनलाई त कसैले सुन्दै सुनेनछन्। कसले सुनोस् र? घरमा आमा वा बाबुले पनि यिनीहरू त्यहीबेला मरेका भए हुन्थ्यो भनेको पो यिनले सुनेका छन्। घरका मानिस त आफ्ना भएनन् भने अरूको के कुरा ? समाजले दोष तिनै पीडितको देख्छ अझै पनि।
देवी अगाडि बढ्न चाहन्थिन्। आफ्नो जीवनमा जे भयो उनी त्यो बिर्सन चाहन्थिन्। उनले बिर्से पनि घटनाले उनलाई सम्झाइरह्यो। घटनाले मात्र होइन, उनी सांसद भएर आएपछि पनि केही अव्यक्त खतराले उनलाई घेरिरहन्थे। त्यही भएर उनी यो विषयमा अगाडि बढ्न चाहन्नथिन। उनी चूप लाग्ने भएपछि खतरा उत्पन्न गर्न सक्ने व्यक्तिहरू पनि केही शान्त भएको महसुस नभएको होइन। त्योबेला जिम्मेवारी लिनुपर्नेहरू अहिले पनि छाती फुकाएर यही समाजमा हिँडिरहेकै छन्।
अब देवी बोल्न तयार छन्। तिनका लागि पनि सक्नेले नबोले कसले बोल्छ र? ती पीडित अनुहार अझै बाहिर देखिन सक्ने अवस्था छैन। देवीलाई लाग्थ्यो–हाम्रो अस्मिता त्यति सजिलै कहाँ जान्छ र? समाजका निम्ति भने त्यही ठूलो कुरा रहेछ। देवीको अहिलेको जीवन लाभांशमात्र हो। उनी त पहिल्यै मल खाडीमा पुरिइसकेकी थिइन्। राजधानी काठमाडौँबाट पद्यरत्न तुलाधरसहितको टोलीले गएर नखोजेको भए आज देवी कहाँ हुन्थिन् र? त्यही भएर पनि बाँकी जीवन आवाज उठाउने काममा लगाउनुपर्छ भन्ने उनलाई परेको छ। बाँच्नुभन्दा मर्नु त कता हो कता सजिलो हुने रहेछ।
सोचेजस्तो कहाँ हुन्छ र? यतिबेला उनका निम्ति आफ्नाभन्दा अरूका पीडाले गालेको छ। ती दह्रिली देवी पटकपटक रोइन् हामीसँग बोल्ने क्रममा। तिनी आफ्नाभन्दा अरूका पीडाले भक्कानिएकी थिइन्। नवगठित संस्थाले देवीहरू जस्ताको पीडालाई अभिलेख गर्न चाहेको छ। कम्तीमा यो मुलुकमा गणतन्त्र स्थापनाका निम्ति आफ्नो अस्मिताको सहादतको हिसाब हुन बाँकी छ। तिनले गरेको योगदानका निम्ति नतमस्तक हुने र सम्मान गर्ने प्रक्रियाको थालनी हुनुपर्नेछ।
देवीसहितका १५ जनाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई सामूहिकरूपमा भेटेको रहेछ। घटना यसरी पनि अगाडि बढेका छन् भन्ने उनीहरूको जानकारीमै नहुनु आश्चर्यको विषय हो। शान्ति प्रक्रियाका अनेकन् विषयमा ध्यान पुगे पनि आन्दोलनका क्रममा पीडित भएकाहरूलाई बुझ्ने मौका नपाएको देखिन्छ।
जतिबेला यी १५ जनाले आफ्ना पीडा सुनाए, त्यतिबेला देउवा र दाहालले आफूलाई रोक्न सकेनछन्। उनीहरूको त्यो आँसु पक्कै यथार्थ हो भने पीडितको पक्षमा काम होला। अन्यथा, ती आँसुको पनि केही अर्थ हुँदैन। देउवा र दाहालले आँसु झारेको भन्ने खबर बाहिरिएपछि मानिसले त्यसमा पनि प्रश्न गरेका छन्। उनीहरूले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगलाई सक्रिय तुल्याए भने बल्ल हो रहेछ भन्ने पुष्टि हुन्छ। यिनका मुद्दामा पनि केही हदसम्म संबोधन हुन सक्छ। शान्ति प्रक्रियाका निम्ति राज्यले गरेको बेहिसाब खर्चमा अलिकति यी पीडिततर्फ पनि थपियो भने खेर जाँदैन।
मेरो आँखाअगाडि झल्झली ती मानिस आउँछन्, जो द्वन्द्वका बेला मारिएका छन्, बेपत्ता पारिएका छन्, कुटिएका छन्। कैयन्को बिचल्ली भएको छ। शिक्षक मुक्तिनाथ अधिकारीको के दोष थियो र? बालिका काजोल खातुनले किन जिउँदै जल्नुपर्थ्यो होला र? यस्ता कैयन् परिवार र व्यक्ति आज पनि न्यायका निम्ति तड्पिएका छन्। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगलाई सक्रिय तुल्याएर न्याय नमरेको सन्देश दिन सकिन्छ।
यी सबै समस्याबाहेक देवीहरूलाई त पूरै बेवास्ता भएको छ। उनीहरू पछि अर्को पुस्तामा त्यो पीडा सर्न थालेको रहेछ। आमामाथि हिजो भएको घटनाले आज नानीहरूलाई पनि पीडित तुल्याउन थालिसकेको छ। यी विषयलाई अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले उठाए पनि देशभित्र नेतृत्व बेखबर रहेको देखिन्छ।
मैले फेरि त्योबेला लेखेको प्रसंग पल्टाएर हेरेँ। लेखेको रहेछु–‘रातोदिन काम गर्दा पनि समाजको सामन्ती संरचनाले बाँच्न अप्ठ्यारो पारेका महिलाका लागि शायद अहिले बन्दूक बोक्ने काम त्योभन्दा अलि सजिलो लागेको हुन सक्छ। आन्दोलनभित्रै पनि ती शोषित हुने गरेको आरोप यदाकदा नलाग्ने गरेको होइन। तर, प्रहरी कारबाहीका क्रममा उनीहरूमाथि भएको बर्बर अत्याचारले बन्दूक बोक्न थप प्रेरित गरेको भने सत्य हो।’
प्रकाशित: २० चैत्र २०७८ ०५:१० आइतबार