नेपाल सरकार थिचिन सुरु भएको चाहिँ देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हो। एकातिर भूकम्प आयो अर्कोतिर बाढी नै आयो विदेशी जहाजको। भारतीय सेनाका अमेरिकामा निर्मित सी१५ जहाज यस्तो ढंगले आयो कि नेपालको विमानस्थलको एउटामात्र रनवेले धान्नै सकेन। नेपालमा सहयोग गर्न आएका अरू विमान कोही ढाकातिर पर्खन बाध्य भए भने कोही आकाशमै तीनचार घन्टासम्म चक्कर खाएरमात्र भुइँ टेक्न पाए। फेरि विदेशीका हेलिकप्टरले जथाभावी सैनिक क्षेत्रसमेत मिचेर उडान गरेको देखेर नेपाली सेनाका उच्च अधिकारी मुर्मुराउँदै बस्नबाहेक केही गर्न सकेनन्। केही सामान, धेरै पत्रकार र ठूलो प्रचारबाजी गरेर उडेका सहायताका उडानले नेपाल सरकारलाई थप रुवायो। जहाज उनैसँग, रनवेमा उनकै कब्जा अनि त्यहाँ पुगेर फेरि सरकारको अनुपस्थिति भयो भनेर उनै राग अल्पाछन् र ठूला मिडियामार्फत् संसारभर नेपालको बेइज्जत गर्छन्। नेपाल सरकारको उपस्थिति हुन नसकेरै तिनलाई पठाएको हो भनेर विदेशी मिडियाकर्मीले बुझेनन्, सरकार अन्योलमा पर्योे। तर बोझमा बस्न रुचाउने सरकारले तिनको समस्या घटाउन खासै चिन्ता गरेन। बरु नेपाल र नेपालीपन बुझ्ने विदेशी पत्रकारले नै तिनलाई ठाउँ लगाए।
यस्तो बेलामा चाहिएको स्थानमा सहायता सामग्री नपुगेर चिन्ता हुन्छ तर नेपाल सरकार भने सहायता सामग्रीको बोझमा दबिएर निस्सासिएर पनि आनन्द मानेको छ। कहाँ कति क्षति भएको छ, कति घाइते छन्, कति अझै जीवितै दबिएका छन् त्यसको केही मेसो नपाएको सरकार धेरैदिनसम्म उद्धार सामग्रीको दुरुपयोग होला भनेर पनि दबाबमा पर्योर। भूकम्प आउने बित्तिकै पठाइएका हजारांै किलो चाँडै बिग्रने सामग्री कतै जान नसकेर सरकारको गोदाममै कुहियो। भूकम्प आएको आठौं दिनसम्म पनि सरकारले सहायता सामग्री उपयुक्त ढंगले वितरण गर्न सकेको देखिएको छैन। तर बिचरा सरकार पनि के गरोस्? कसैले रोटी, फलफुलजस्ता बिग्रने सामान पठाउँ छन् भने सरकारको के दोष? उस्को काम त दुरुपयोग हुनबाट रोक्नु हो, सदुपयोग नभए हुँदैन। अझै सहायताका रूपमा आएका धेरै सामान बाहिर गएका छैनन्। अब तिनले धेरै बाहिर गइराख्नु पनि नपर्ला। किनभने जनताले पाल, कम्बल, औषधि आदि त सरकारबाहेककै स्रोतबाट पाउन थालिसकेका छन्। बिस्तारै साइत मिलाएर सरकारको वेयर हाउसमा भएका सामान व्यापारीको गोदाममा सर्नेेछन्। अनि त जनताले ती सामान सहजै पाइहाल्छन्। अलि अलि पैसा खर्च गर्नुपर्ने न हो। त्यो पनि सकभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले गरिदिई हाल्छन। सरकारी कर्मचारीको पनि दुनो सोझिने गैससका कर्मचारीको पनि दुनो पनि सोझिने, काम पनि देखिने, कति गज्जबको काइदा। जति जान्यो त्यति फाइदा।
सरकारी वेयर हाउसमा भएको सामान पसलेको गोदामबाट जति सजिलो नि हुन्न नि जनतालाई बाँड्न। सरकारले दिँदा एउटालाई दियो अर्को कराउँछ, एकातिर पुर्याईयो अर्कोतिर असन्तोष। विमानस्थलमा मात्र होइन जिल्ला जिल्लाको नगरपालिका, गाविस भवन र प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पनि त्यही समस्या। दाताहरू दिन ल्याउँछन् नलिउँ पनि भएन। लिउँ जनता झगडा गर्छन्, दिन पनि सकिएन। यस्तो झगडा निम्त्याउनुभन्दा यसो अँध्यारो समय पारेर बिस्तारै बजारमा पुर्याियो टन्टै साफ। गोजी गरम दिमाग ठण्डा। अहा, क्या राम्रो जुक्ति!
अब बिस्तारै सरकार विदेशी सहयोग रकमको भार खेप्नुपर्ने बाध्यतामा छ, विचरा सरकार! अहिलेसम्म भुटान सरकारको १० करोड र अरू अलिकति रकममात्र आएको छ अरे! दिक्क लाग्दो हो,
सरकारलाई पनि, सामान पुर्यामउन तँछाड र मछाड गर्नेहरू रकम पठाउन किन यस्तो ढिलो गर्छन् कुन्नि? सरकारले विदेशी सहयोग रकमले मजाले थिचिन चाहन्छ। प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जति धेरै पैसा जम्मा भयो त्यति यिनको सामर्थ्य देखिन्छ। खर्चगर्योँ, जनतालाई बाँड्यो भने त कम भइहाल्छ, अनि भएन टेन्सन? त्यसो नहुँदो हो त भूकम्प जानेबित्तिकै सहायतास्वरूप हरेक गाविसमार्फत केही पैसा पठाउन कसैले रोकेको थिएन होला। अहिले पनि ऋण स्वरूपै भए पनि सरकारले घर पूरै भत्केकालाई यतिसम्म, आंशिकलाई यति उपलब्ध गराउने भनेर घोषणा गरिदिई हाले त हुन्थ्यो नि। तर फेरि उद्धार कोषमा रकम सकिएला। कस्तो टेन्सन्?
अब जनताको रोष र वितण्डाको बोझमा थिचिन मन छ क्यारे सरकारलाई, नत्र सहायता सामग्री बाँडन यति ढिलाइ किन गर्थ्याे? ल रसुवा, गोरखाका उत्तरी क्षेत्रजस्ता हेलिकप्टरमात्र पुग्ने ठाउँमा त हेलिकप्टर पाइएन वा जान सकेन रे तर काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, ललितपुर, भक्तपुर जिल्लामा त मोटर पुग्छ नि। तर त्यहाँ पनि अहँ केही पुगेको छैन। कम्तीमा पनि गएको एक सातासम्म सहायता सामग्री केही पुगेको छैन। निजी तवरबाट सहयोग गर्नेले अहिलेसम्म गरिरहेका छन् तर अब बिस्तारै त्यो क्रम पनि कम भएर जानेछ। किनभने कुनै पनि ठाउँमा अब सहायता सामग्री लिएर जान सकिँदैन। बीचैमा लुटिने, आक्रमणमा परिने डर सुरु भएको छ। सरकारलाई समस्याको थुप्रो जम्मागर्ने सोख नभईदिएको भए सामानको थुप्रोमा बस्नु त जरुरत थिएन। यस्तो अवस्थामा बदमासलाई पनि बदमासी गर्न गाह््रो हुन्छ। किनभने भोका र नांगा जनताका नाममा आएको सहायता अरूले चोर्न खोजे त्यहीँ जनताले कारबाही गर्नेथिए। तर सरकारले त्यो मौका आउनै दिएन। उ त महादेवको मणिको रक्षा गरेर बसेको कालो नागजसरी सहायता र उद्धार सामग्रीमाथि पहरा दिएर बसेको छ। वास्तवमा उसले सबै जिम्मेवार संस्थालाई अगाडि लगाएर सहायता सामग्री बाँडनु पर्ने। अनि त्यस संस्थाले कुन गाविसको कुन वडाको लागि के सामग्री कति लग्यो भनेर अनलाइनमा प्रष्टसँग राखिदिए त्यस्तो सामग्रीको सुरक्षा जनताले आफैँ गर्नेथिए। तर सरकारलाई त्यसो गर्न मन लागेन। माथिकालाई अपजसको भागी, अख्तियारको अपराधी हुँला भन्ने डर लाग्यो होला। तलकार्को र्यािल चुहियो होला। जे होस्, सरकारी सामान जान धेरै ढिलाइ भइसकेको छ तर कसैलाई यस ढिलाइको खासै मतलब भएजस्तो चाहिँ देखिँदैन।
अब केही दिनमा त सरकारले सहायता पनि केही न केही त अवश्य पुर्याउला। अधिकांश जनता यसैपनि विदेशमा छोराछोरी, दाइभाउजुले कमाएको पैसाको सहारामा बाँचेका छन्। तिनलाई विदेशबाट पैसा पनि आउला अनि किनेर पनि खालान्। त्यसबेला सरकार फेरि केही न केही समस्या उब्जाएर एकपल्ट फेरि भारीले थिचिन पक्कै चाहला। त्यतिखेर आउनेछ पुनर्निर्माणको विषय। यस सरकारले अब नेपालको पुनर्निमाणमा कसैको पनि अरू सहयोग चाहिँदैन, दिनेभए पैसामात्र देऊ भन्नेछ। जनताले खोलेको सहयोग कोषमा त पैसा आउन हुँदैन, आए सिधै राष्ट्रिय कोषमा जान्छ भन्ने सरकारले पुनर्निर्माणमा अरूलाई सहजै प्रवेश गर्न देलाजस्तो लाग्दैन। अहिले देशको संप्रभुताको विषयमा जति कुरा उठेको छ त्यसबेला झन् ठूलो इज्जतको विषय हुनेछ विदेशीलाई पुनर्निर्माण गर्न दिनु। अनि सरकारले फेरि एउटा बोझ बोक्नेछ र जनतालाई सजिलै नयाँ घरमा बस्न पाउने अवसर रोक्न भाँजो हाल्नेछ।
सरकारको ध्यान जनतालाई परेको समस्याबाट उन्मुक्ति दिलाउनेमात्र हुने हो भने अधिकांश समस्या त्यसै समाधान हुनेछन्। भएको सहायता सामग्री जिम्मेवार संस्थाको जिम्मेवारीमा बाँड्न दिनु पर्छ। किनभने सरकारका कर्मचारी, प्रहरी, सेना सबैको आआफ्नो घरमा आफ्नै समस्या छ। तिनी पीडित धेरै छन् सहायताकर्मीभन्दा। साथै सुरक्षा निकाय र सरकारले पूर्व र पश्चिम घर भएकालाई मध्यक्षेत्रमा ल्याएर काम लगाउने र मध्यक्षेत्रका पीडामा परेकालाई आआफ्नो घरमा लडेका खाँबा उठाउन, मरेका बस्तु गाड्न र सरसफाइ गर्न पठाउनु पर्ने थियो। तर सरकारलाई त सधैँ केही न केही भारले थिचिएर बस्नै आराम लाग्छ। यसैले उसले आफूलाई हलुंगो हुने कार्य गर्ला भन्नेमा शंकै छ।
प्रकाशित: २० वैशाख २०७२ ००:१२ आइतबार