यी युग पुरुषको जन्म वि. सं.१९७२ कार्तिक २४ गते काठमाडौं यटखा टोलमा भएको थियो। हरिमान सिंहका नाति सुब्बा ज्ञानमान र सुभद्रा कुमारी ( सानुनानी) का ज्येष्ठ पुत्रका रूपमा जन्मेका गणेशमान सिंह नेपालका क्रान्ति पुरुष, लोकतान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व, राष्टियता, लोकतन्त्र र समाजवादका स्तम्भ र 'लौह पुरुष'का रूपमा परिचित नाम हो। उनले भनेका थिए – 'यो शरीरमा रगतको एक थोपा रहुन्जेलसम्म कसैलाई धोका दिन्न। एकपटक बाघमाथि चढिसकेपछि त्यो बाघबाट आजसम्म कुनै तानाशाह उत्रेको छैन। सदाको निम्ति बाघको पिठ्युँमा बसौँ भन्दा त्यो पनि संभव हुँदैन।' अनुभूतिका राप र तापले पाकेका यी यथार्थ एवं कालजयी भनाइ सबै स्वतन्त्रता आन्दोलनका प्रत्येक योद्धाका लागि सूत्रजस्तै सारात्मक छन्। लोकजीवनमा यौटा सङ्ग्राम पुरुषले दिने विश्वासको राजनीति, अनि तानाशाही चिन्तनले गाँजेको शासकका अदूरदर्शी सोचका तन्तुतन्तु केलाउने गणेशमानको खुबी स्वतन्त्र बौध्दिक चिन्तकका लागिसमेत ऊर्जा नै बन्न पुगेको छ।
छ वर्षको कलिलो उमेरमै पितृवियोग सहन पर्यो गणेशमानले। हुनत उनी सिंहपरिवारमा लामो अन्तरालपछि जन्मिएका नाति भएका कारण सबैको खुसी, हर्ष र रहरको कारण बन्न पुगेका थिए। त्यसै भएर त दुर्लभ 'हीरा' समान ठानिएर सबैले 'हिरा' भने। काजी खानदानका भएकाले 'हिरा काजी' उनको बोलाउने नाम हुन पुग्यो। गणेशमान सानैदेखि नै मेधावी, साहसी र स्वाभिमानी थिए। तत्कालीन शासनमा हुने हैकमवादी तथा चाकडी प्रवृत्ति देखेर उनको मनमस्तिष्कमा राणातन्त्रप्रति विद्रोही भावना झाङ्गिएको थियो। उनका आफ्ना बडाबाजे काजी रत्नमानको त्यो समय विशेष धाक रबाफ थियो। गणेशमानको प्रारम्भिक शिक्षा घरमै मास्टर राखेर भयो। केही समयपछि उनलाई दरबार हाइस्कुलमा कक्षा पाँचमा भर्ना गरियो। छ कक्षामा अध्ययन गर्दाको बेलाका गणेशमानको वर्णन उनले आफैँ यसरी व्यक्त गरेका छन् – 'छ कक्षामा हुँदा म अलि मापा खालको थिएँ, त्यसैले कक्षामा जसलाई पायो त्यसलाई पिट्थेँ। एक दिन त्यही कक्षामा पढ्ने राणाजीलाई पिटिदिएछु, अनि त मलाई हेडमास्टरले बोलाएर बेतको लठ्ठीले पिट्नसम्म पिटे, लगत्तै म स्कूलबाट भागेर घर आएँ त्यसपछि त विद्यालय नै जान छाडिदिएँ। ' बाल्यकालीन यस घटनाले उनलाई झन् राणाविरोधी बनायो।
राणाजीको छोरालाई कुटेको हुँदा माफी माग्नु अनिवार्य हुन्थ्यो तर गणेशमानले भने 'विद्यार्थी विद्यार्थीबीच सानो र ठूलो भन्ने हुँदैन, सबै विद्यार्थी बराबर हुनुपर्छ' भनेर अड्डी कसे। तर त्यो कुरा सुनवाइ भएन। अनि उनी वि.सं. १९९३ तिर कलकत्तातर्फ लागे। यस क्रममा विद्यासागर कलेजबाट प्राइभेट परीक्षा दिएर म्याटि्रकुलेसन उत्तीर्ण भए। त्यसपछि कलकत्ता कै प्रेसिडेन्स कलेजमा आइएस्सीमा भर्ना भए। भारतमा त्यति बेला अङ्ग्रेज साम्राज्यविरुद्ध भारतीय जनताको आन्दोलनले क्रमशः आकार ग्रहण गर्दैथियो। त्यो क्रान्तिकारी परिवेशले गणेशमानको युवा मष्तिष्कलाई पनि हल्लायो। भारतका राष्ट्रपिता एवं शान्तिदूत मोहनदास करमचन्द गान्धी, मोहमद अली जिन्ना, सुभासचन्द्र बोस, बल्लभभाइ पटेल र जवहारलाल नेहरुजस्ता स्वतन्त्रता सेनानीका जीवनचर्याले उनको क्रान्तिचेतको पाउला लाग्यो। महात्मा गान्धीलाई प्रेरणास्रोत बनाएकैले उनी भन्ने गर्थे– 'म महात्मा गान्धीझैँ देवता बन्न राजनीतिमा लागेँ'। यो उक्तिले राजनीतिलाई समाजसेवाको उदाहरणीय बिम्ब बन्ने सामर्थ्य राख्छ। यसरी गणेशमान राजनीतिलाई देवत्व वा उत्कृष्ट आचारको प्रतीक ठम्याउँथे। त्यसै भएर त उनको दरो मान्यता थियो – ' राजनीतिबाट नैतिकता झिकिदियो भने व्यापार हुन्छ।' हो, निश्चयनै आज नेपालको राजनीति तुच्छ खाले वणिक् कर्मको दलदलमा फसेर दुर्गन्धित बन्नपुगेको छ। पञ्चतन्त्रका नीति श्लोक र कथाहरूको पारख गरेका यिनी आचार सुन्दर भएमा नै विचारहरु फक्रन सक्छन् विश्वासमा थिए । उनको राष्ट्रियताप्रतिको दृढ मान्यता कुनै पनि तागतले हल्लाएर हल्लिने प्रकारको थिएन। वास्तवमा प्रतिबन्धित कालमा 'दल' जनहितको लागि परिवर्तन चाहने तागत हो। 'नेता' भनेका त्यागका सुन्दर प्रतिमूर्ति हुन् भन्ने आदर्श मान्यताले घरजम गरेको थियो।
कलकत्ताबाट नेपाल आएपछि सहिद गङ्गालालसित राजनीतिक पार्टी खोल्ने सल्लाह गणेशमानले गर्दा गङ्गालालले भनेछन् – ' त्यो प्रजापरिषद् भन्ने पार्टी खुलेकै छ त्यसैलाई खोजौँ'।यसै सिलसिलामा गणेशमान सिंह र गङ्गालालले काठमाडौंको शोभा भगवती मन्दिरमा धर्मभक्तसमेत भएर सो दलको पार्टी सदस्यता लिएको रोचककथा छ। लगत्तै उनको १९९७ विसंमा मङ्गलादेवीसित विवाह भयो। प्रजापरिषद्का मुख्य हस्तीहरू टङ्कप्रसाद आचार्य, दशरथ चन्द, रामहरि शर्मा, चूडाप्रसाद आदिसितको बसउठ बढेको पत्ता लागेर ९७ साल कार्तिक २ गते गणेशमान पक्राउ परे। त्यसक्रममा गिरफ्तारमा परेका सबैलाई निर्मम यातना र कठोर सजाय दिइयो। गणेशमानलाई पनि अंश सर्वस्वसहित आजीवन कारावासको दण्ड दिइयो। उनले जेलमा पनि त्रू्कर शारीरिक यातना पाए। राजनीतिज्ञ होराप्रसाद जोशीले भनेका छन् — 'प्रजातन्त्रका लागि गणेशमानजीले जति दुःख सहनु भएको छ, त्याग र तपस्या गर्नु भएको छ ,त्यति गर्ने मान्छे मैले नेपालमा अर्को पाएको छैन। क्रान्ति युवकबाट मात्र हुनसक्छ भन्ने मान्यता उहाँमा थियो।' राजनीतिज्ञ श्रीभद्र खनालले लेखेका छन् –'गणेशमानजी लौहपुरुष नै हुनुहुन्थ्यो, लौहपुरुष भनेको फलाम जत्तिकै जति गर्दा पनि नभाँचिने स्वभाव भएको व्यक्ति हो, जुन उहाँको जीवनको हरेक मोडमा पुष्टि र प्रमाणित भएको छ। जनताले सहजरूपमा दिएका 'सर्वमान्य! सर्बोच्च नेता! फादर अफ डिमोक्य्रासी!' भन्ने उपाधि सार्थक छन्। इतिहासविद् चित्तरञ्जन नेपालीका दृष्टिमा – 'उहाँ साच्चैंको सच्चा राजनेता हुनुहुन्थ्यो, १९९७ देखि जीवन रहेसम्म पछाडि फर्केर नहेरी निरन्तर हिंडिरहनु राजनेताको गुण हो। लौहपुरुष त उहाँ पक्कै हुनुहुन्थ्यो।'
त्यसैले अधिकांश जानिफकारहरू उनकाबारे निचोडमा पुगेर स्वरमा स्वर थप्दै पुनरावृत्ति गर्न रुचाउँछन् 'गणेशमान मानिसभन्दा धेरै एउटा विचार हो, मानिसहरूको संयुक्त इच्छाको एउटा प्राकृत प्रकट हो, स्वतन्त्र वातावरण र स्वतन्त्र रहने विचार हो। उनी कहिल्यै पनि नमर्ने विचार हुन्। कुनै बेला कहीँ कतै नेपालीले कुनै अन्यायको विद्रोह गर्दै सत्यका लागि संघर्ष गर्छ भने त्यो व्यक्ति नै गणेशमान हो।' कति गम्भीर आत्मविश्वासको भावना मुखर छ सर्बोच्च नेता गणेशमानप्रति! त्यसैले त जीवनको उत्तरार्धमा नेपालका दलमा देखिएका विसङ्गतिसित लाप्पा खेल्दै उनले भने – 'पार्टीभित्र हिजोआज पद र शक्तिको संघर्ष बढी छ, तर विचारको संघर्ष भने एकदमै कम छ। पार्टीमा नीतिको राज नभएर नेताको हैकम चल्ने प्रवृत्ति बढेको छ। सबैले समान अवसर पाएनन् भने जातीय असन्तोष बढेर जान्छ, साम्प्रदायिकताले देशमा अस्थिरता ल्याउँछ। गणेशमानका कालजयी यी विचार कति दूरवर्ती रहेछन् भन्ने आज देखिँदै छ। त्यसै भएर उनले पार्टीभन्दा माथि उठेर यस्ता सूत्र निर्देश गरे — 'दलहरूले हमेसा सरकारको मूल्याङ्कन र त्यसको जानाकारी जनसमक्ष गराउनु, पार्टीले आन्तरिक एवं वाह्य संवाद चलाइरहनु, राजनीतिक स्थिरताका लागि राज्यका तीन प्रमुख अङ्ग स्वतन्त्र हुनुपर्छ र मानव अधिकार अकुण्ठित रहनुुपर्छ तथा देश हाँक्नेहरूको नैतिक मापदण्ड नेताले अपनाउनुपर्छ, जहाँ प्रजातन्त्र र राष्टियता तथा जनताको सबाल हुन्छ त्यहाँ राष्टिय सहमति हुनुपर्छ। प्रजातान्त्रिक समाजवादअनुसार काङ्ग्रेसले ठूला कार्यक्रम ल्याउन भौतिक पूर्वाधारमा सुधार गर्नु जरुरी छ, शान्तिसम्झौता गर्दा जनता र देशलाई अगाडि राखी राष्ट्रिय पुँजी तथा उद्योगको संरक्षण गर्नुपर्छ, अनि जनआन्दोलनका शक्तिहरु कम्तीमा तीन पटकसम्मको निर्वाचनमा सँगै जानु अनिवार्य हुन्छ।' माथिका यी अभ्यासपरक संकथनले साँच्चै गणेशमान कस्तो राष्ट्रिय स्वाभिमानको धरहरा हो? कस्तो लोकतान्त्रिक राजमार्गको वास्तुकार हो? कस्तो न्यायपूर्ण समाजको निर्माण चाहने समाजशास्त्री हो? कस्तो आर्थिक प्रणालीको व्यूहकार हो? भन्ने झल देखाउँछ। उनीमाथि गम्भीर शोध र उत्खनन जरुरी छ। सर्वहारावर्गको सर्वसत्तावादको वकालत गर्ने उग्र कम्युनिस्टलाई आफ्नो नेतृत्वको छातामुनि ल्याएर संयुक्त आन्दोलनद्वारा निरंकुश पञ्चायत फाल्न चानचुने व्यवस्थापन क्षमताले पुग्ने कुरा होइन। प्राप्त अन्तर्राष्टिय पुरस्कारले पनि सर्वाेच्च तथा सर्वमान्य नेता गणेशमान को हुन्? सारगर्भितरूपमा ध्वनित गरिरहेको छ।
'अवसरवादी तत्व जहिले पनि शब्दको मीठो खेल खेलेर आफ्नो कुकार्य लुकाउन खप्पिस हुन्छन्' भन्ने क्रान्तिकारी विचार सम्मान गर्ने लौहपुरुषले कहिल्यै राजाको दर्शनभेटका लागि बिन्ती बिसाएनन्। सरदार बल्लभ भाइ पटेल र महाभारत पात्र भीष्म जस्तै उनको सगरमाथा छवि सच्चा कलमकर्मीको वर्णनीय विषय बन्नसक्छ। सत्ताको आडमा भ्रष्टाचारको रौरवमा डुबेर दलको अस्तित्वलाई बन्धक बनाउनेहरूमा दलीय अनुशासनको डण्डा चलाउन र पार्टी शुद्धीकरण गर्न 'सुप्रिमो'हरू तयार हुनुपर्योम। बजेट सिध्याउन ताल न तुलका औपचारिक पदयात्राको नौटङ्की मञ्चन गर्नै पर्दैन।
(गणेशमान शतवार्षिकीको सन्दर्भमा)
प्रकाशित: २१ चैत्र २०७१ २२:१९ शनिबार