११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

सबल नेतृत्व र सिंगापुरको विकास

गत साता सिंगापुरका पूर्व प्रधानमन्त्री ली क्वान यूको निधनले एक पटक धेरैलाई सिंगापुर विकासको पृष्ठभूमि सम्झायो। पचास वर्ष पहिले प्रतिव्यक्ति राष्ट्रिय आय केवल ३५० अमेरिकी डलर रहेको यस मुलुकको हालको प्रतिव्यक्ति आय ६० हजार अमेरिकी डलरको हाराहारी पुगेको छ।क्रय शक्तिका आधारमा सिंगापुरको प्रतिव्यक्ति आय विश्वको तेस्रो नंबरमा पर्छ भने यो कम भ्रष्टाचार हुने मुलुकहरूमा सातौं हो। सिंगापुर बन्दरगाह संसारकै दोस्रो व्यस्त व्यापारिक नाका हो। यो मुलुकको वैदेशिक व्यापार कुल गार्हस्थ्य उत्पादनको चार गुणा बढी छ। सिंगापुरमा वैदेशिक लगानी प्रचुर मात्रामा छ भने त्यहाँबाट हुने वैदेशिक लगानी पनि उत्तिकै उच्च छ। यी उपलब्धिहरूको सेरोफेरोमा पाँच दशककै अन्तरालमा एक सानो गरिब टापु राष्ट्र कसरी समृद्धिको शिखरमा पुग्न सफल भयो भन्ने विश्लेषण गर्नु जरूरी छ।

सिंगापुर सन् १९६५ मा मलेसियाबाट अलग्ग हुँदा त्यहाँको आधा जनसंख्या निरक्षर थियो, सत्तरी प्रतिशत भूमिहीन थिए र एक तिहाइ जनता सहर बजारको आसपासमा गैरकानुनीरूपमा बसोवास गर्थे। सिंगापुरको राजनीतिक नेतृत्वले मुलुकको कायापलट गराउने उद्देश्यका साथ सबैभन्दा पहिले आर्थिक विकास बोर्डको स्थापना गरायो र यसले वैदेशिक लगानीलाई भिœयाउने नीति लियो। पुँजी निर्माणको दर अत्यन्त तीव्र गतिमा अघि बढ्यो। राजनीतिक स्थिरताले गर्दा सोचेअनुरूप वैदेशिक लगानी पनि आउँदै गयो। सन् २००० मा पुग्दानपुग्दै औद्योगिक उत्पादनमा ७५ प्रतिशत विदेशी लगानी हुन थाल्यो भने निर्यातको ८५ प्रतिशत विदेशी लगानीका उत्पादनहरूबाट भरिन थाल्यो। घरेलु लगानीलाई बढावा दिने उद्देश्यले केन्द्रीय सञ्चय कोषको स्थापना गरियो। फलस्वरूप, कुल गार्हस्थ्य बचत र लगानीको दर उच्च दरले वृद्धि हुन थाल्यो र सिंगापुर विश्वमै सबैभन्दा बढी गार्हस्थ्य बचत दर भएको मुलुकका रूपमा चिनियो। सन् १९७०, १९८० र १९९० को दशकमा सिंगापुरको सरदर वार्षिक आर्थिक वृद्धि दर आठ प्रतिशतभन्दा माथि रह्यो। प्रधानमंत्री ली क्वान युले तीस वर्षको अन्तरालमा ८० प्रतिशत सिंगापुरे जनसंख्या मध्यम आय समूहमा प्रवेश गरेको घोषणा गरे। यसपछि सिंगापुरले विभिन्न सामाजिक सुरक्षाका प्रावधान लागु गर्दै गयो। यस्ता प्रयासहरू मूलतः अमेरिका र युरोपेली मुलुकहरूको शैलीमा नै लागु गरिए। तेस्रो चरणमा शैक्षिक सुधारका कार्यक्रमहरू राखिए।

सिंगापुरमा खेतीयोग्य जमिन ज्यादै कम भएकोले औद्योगिक उत्पादन र सेवा क्षेत्रलाई बढावा दिइयो। इलेक्ट्रोनिक्स सामान र विभिन्न रासायनिक पदार्थको उत्पादन, पेट्रोलियम पदार्थको प्रशोधन र बैङ्क तथा वित्तीय क्षेत्रको विकास सिंगापुरका प्रमुख आर्थिक गतिविधिका रूपमा स्थापित भए। अहिले पनि इलेक्ट्रोनिक्स सामान, विभिन्न रासायनिक पदार्थ र अन्य केमिकलहरूको उत्पादनले कुल गार्हस्थ्य उत्पादनको झन्डै ७० प्रतिशत स्थान लिन सफल भएका छन्। जनशक्ति उत्पादनलाई पनि यसैसँग सामञ्जस्य कायम गर्ने शैलीमा विकास गरियो। सेयर धनीहरूले बैङ्क तथा वित्तीय संस्थामा आफूले लगानी गरेको रकमभन्दा बढीको ऋण संकट देखा परेमा त्यसमा भागीदार हुनुनपर्ने व्यवस्था लागु गरियो।

सन् १९७० को दशकदेखि यस मुलुकले निर्यात प्रवर्धनको माध्यमबाट विकासको फड्को मारेको हो। खुला आर्थिक नीति, शिक्षा र मानव संशाधन विकासमा जोड, अनुशासन र राजनीतिक स्थायित्व, अनि सामाजिक सद्भाव सिंगापुर विकासका खम्बा हुन्। मानव संशाधनको विकासमा सिंगापुरले धेरै उदार नीति लिएको छ। अनुसन्धान, आविष्कार, र उद्यमशीलताको विकासका लागि राज्यले ठूलो लगानी गरेको छ। निश्चित स्तरभन्दा बढी आम्दानी गर्नसक्ने विशेषज्ञलाई विभिन्न प्रकारका श्रम स्वीकृति दिने गरिएका छन्। यस प्रावधानले विश्वका विभिन्न मुलुकबाट सिंगापुरमा सेवा प्रदान गर्ने विशेषज्ञ असंख्य हुनपुगेका छन्। फलतः सिंगापुरले आयतनभन्दा पनि गुणस्तरीय अर्थतन्त्रको विकास गर्दै लगेको छ।

माथिका तथ्यहरूले साना राष्ट्रहरू पनि सही विकास रणनीतिका माध्यमबाट समृद्ध बन्न सक्छन् भन्ने देखाउँछन्। तर यी नीतिमात्र आकर्षक भएर पुग्दैन। तिनलाई इमानसनथ लागु गर्ने सबल नेतृत्व पनि उत्तिकै जरुरी हुन्छ। हाल नेपाललगायत विश्वका धेरै विकासशील मुलुकका विकास नीतिहरूको अध्ययन गर्ने हो भने तिनीमा नराम्रो पक्ष फेला पार्न गाह्रो पर्छ, तर अपेक्षित सफलता प्राप्त गर्न भने धेरैले सकिराखेका छैनन्। तुलनात्मकरूपले अध्ययन गर्दा समस्याहरू यहीँनेर देखिन्छन्। पहिलो, सार्वजनिक नीतिहरूका बीचमा देखापर्ने विरोधाभासलाई किटान गर्न सकिएको हुँदैन। किनभने, कार्यान्वयनका पक्षमा विशेषज्ञभन्दा राजनीतिक र प्रशासनिक पृष्ठभूमिका व्यक्तिको बाहुल्य हुन्छ। दोस्रो, मूलरूपमा नीतिहरू राम्रा भए पनि धेरैजसो परिस्थितिमा राजनीतिक नेतृत्व कमजोर, भ्रष्ट, र अक्षम हुन्छन्। सिंगापुरका सन्दर्भमा यस्ता कमजोरी पर्याप्त सम्बोधन गरिएका थिए।

सन् १९५९ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएपछि सिंगापुर बिटि्रस कमनवेल्थअन्तर्गतको स्वशासित क्षेत्र बन्यो। त्यसपछि गरिएको चुनावबाट पिपुल्स एक्सन पार्टी विजयी भएपछि यसका नेता ली क्वान यु त्यहाँका प्रधानमन्त्री बने। सन् १९६३ मा सिंगापुर कमनवेल्थ छोडेर मलेसियाली संघमा आवद्ध हुन पुग्यो। क्वालालम्पुर सरकारका केही प्रावधान मान्न अस्वीकार गरेर प्रधानमन्त्री लीले सिंगापुरलाई पूर्ण रूपले मलेसियाली संघबाट पनि अलग गरे।

लगातारका चुनावहरूबाट ली क्वान युको पार्टी विजयी हुँदै गएपछि अन्य दुई पार्टीहरू सिंगापुर प्रजातान्त्रिक पार्टी र सिंगापुर मजदुर पार्टी कमजोर बन्दै गए। उनीहरूले सिंगापुर नाममात्रको प्रजातान्त्रिक मुलुक भएको र मूलरूपमा अदालत र संसद् सरकारकै इसारामा चल्ने गरेको आरोप लगाउन थाले। सिंगापुर एकदलीय पद्धतिमा चलेको आरोपहरू लाग्नथाले। अर्कोतिर प्रधानमन्त्री लीले धेरै सकारात्मक कार्य सुरु गरे। भ्रष्टाचार नियन्त्रणले ठूलो प्राथमिकता पायो। हालका वर्षहरूसम्म आइपुग्दा ट्रान्स्परेन्सी इन्टरनेसनलले नियमित प्रकाशित गर्ने प्रत्येक प्रतिवेदनले सिंगापुर एसियाकै सबैभन्दा कम भ्रष्टाचार भएको मुलुकको रूपमा देखाउँछ भने विश्वमा यो दस कम भ्रष्ट मुलुकहरूमा पर्छ। भ्रष्टाचारलाई निर्मूल गर्ने प्रयासमा कडा कानुनी व्यवस्था गर्दा नागरिक स्वतन्त्रता, मानव अधिकार, र मौलिक हकको उपहास भएको टिप्पणी पनि बराबर हुन थाल्यो। यस्ता टिप्पणीको परवाह नगरी लीले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिए। क्षमतावान व्यक्तिहरूलाई सिंगापुरमा आकर्षण बढाउने उनको नीति हालसम्म पनि कायमै छ। बचत र लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले आय करका दरहरू अत्यन्त कम गरियो। त्यसले गर्दा मानिसहरूमा स्वेच्छाले कर तिर्ने प्रवृित्तको विकास भयो। व्यक्तिगत आयकरको दर नेपालजस्तो गरिब मुलुकमा सबैभन्दा बढी ४० प्रतिशतसम्म छ भने सिंगापुरमा लीले २० प्रतिशतमा सीमित राखे। नेपालजस्ता मुलुकमा करको दर उच्च भएकोले कर छल्ने प्रवृित्त बढी छ भने सिंगापुरमा करको दर कम भएकोले स्वेच्छाले कर तिर्ने प्रवृित्त बढी छ।

धेरै पटक चुनाव हुँदैमा मुलुक प्रजातान्त्रिक बन्ने हैन। त्यसका लागि सचेत र सभ्य नागरिक समाज अनि तदनुकूल नागरिक संस्थाहरूको विकास हुनु जरुरी हुन्छ। लीको समयमा विपक्षीहरू कमजोर रहे पनि नागरिक समाजको संस्थागत विकास भने हुन पुग्यो। आफ्नो राजनीतिक पृष्ठभूमि समाजवादी चरित्रको भएपनि बिस्तारै उनले समाजवादी मोह त्यागे। वामपन्थीहरूसँग मिलेर ब्रिटिस साम्राज्यसँग स्वतन्त्रताको लडार्इँ लडे पनि पछि वामपन्थीहरूसँग उनको सम्बन्ध कटु हुन पुग्यो। त्यसले गर्दा लीलाई सत्ताच्युत गर्ने प्रयास पनि भयो तर त्यसबाट उनी मुस्किलले जोगिए। वामपन्थीहरूसँगको कटु सम्बन्ध यतिमा मात्रै सीमित रहेन। भियतनाममा अमेरिकी सेनाको उपस्थितिलाई सहयोग पुर्याथई दक्षिण भियतनामलाई उत्तरको कम्युनिस्ट पकडबाट छुटाउन उनले धेरै सहयोग पुर्याथए। लीको यही नीति दक्षिणपूर्वी एसिया भर विस्तार भयो र यो क्षेत्र निर्यातमुखी खुला अर्थतन्त्रको प्रभाव क्षेत्र बन्यो। सारांशमा भन्नु पर्दा लीले सिंगापुरमा राजनीतिमा नियन्त्रण र आर्थिक गतिविधिमा खुलापनको वातावरण सिर्जना गरे।

चीनमा अध्यक्ष माओको निधनसँगै सांस्कृतिक क्रान्तिको पनि अन्त्य भएपछि नेतृत्वमा पुगेका देङ् स्याओ पिङले सिंगापुरका नेता लीको सहयोगमा चीनिया विकासको मोडेल बनाउने योजना बनाए। उनले सन् १९७८ मा सिंगापुरको भ्रमण गरे। लीसँगको छलफल अत्यन्त प्रभावकारी अनुभव भएपछि उनले आफ्नो सिंगापुर भ्रमणलाई लम्याए। चीन फर्केपछि उनले सुरु गरेका आर्थिक सुधारका कतिपय कार्यक्रम सिंगापुरकै शैलीमा अघि बढाएका थिए।

प्रकाशित: १५ चैत्र २०७१ २२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App