महामानव व्यक्तित्वलाई जति सम्झे पनि तिर्सना मर्दैन। सहिद शुक्रराज शास्त्री एक कर्मठ समाजसेवी र विद्वान्का रूपमा परिचित हुन थालेको अवस्थामा उनको विद्वतामाथि आक्रमण भयो। त्यो बेलाको निरंकुश राणा शासनले उनको विद्वता सहन सकेन। नेपालमा सहिदको बाटो प्रारम्भ गर्ने शुक्रराज शास्त्री नै हुन्। विशाल नेपालको एकीकरणमा वलिदान दिनेहरूलाई सपुत भनिन्छ भने देश र जनाताको हितमा वलिदान दिनेहरू सहिद हुन्। नेपालका सहिदमध्ये सबैभन्दा पहिला शुक्रराज शास्त्रीलाई बुझ्न सकियो भने तमाम नेपालीलाई आफ्नो देशको राष्ट्रियता र प्रजातन्त्र बचाउनका लागि पे्ररणा मिल्छ।
शुक्रराज शास्त्रीको जीवन थागालाई एक पटक ध्यान दिन सकियो भने नेपालमा के थियो, के हुनु पथ्र्याे र के भयो भन्ने कुराले आङ सिरिङ्ग हुन्छ। नेपालमा अमर चार सहिदको गाथाको अध्ययन गर्यो भनेमात्र वास्तिवकतामा पुगिन्छ। शुक्रराज शास्त्रीलाई षडयन्त्रमा फसाएर एक सुयोग्य समाज सुधारक महामानवलाई विक्रम संवत् १९९७ साल माघ १० गते राति टेकुको एक रुखमा झुण्ड्याएर फाँसीमा चडाइयो। माघ १० गते, स्मरणीय सहिद शुक्रराज शास्त्रीमा आत्मीय श्रद्धाञ्जली अर्पणको दिन हो।
२०१९ सालमा भद्रकालीअगाडि चार अमर सहिद र राजा त्रिभुवनको सालिक निर्माण गरेर सहिदहरूप्रति न्यानो अभिवादन गरियो। जहानिया राणा शासन फ्याँकेर मुलुकलाई आधुनिक युगमा प्रवेश गराउने काम राजा त्रिभुवनकै सहकार्यमा भएकाले त्योबेला सहिदद्वारमा चार सहिदहरूसँगै त्रिभुवनको सालिक राख्नुपर्ने निर्णय भयो। सहिद गेटको डिजाइनर इन्जिनियर शंकरनाथ रिमाल हुन्। पहिला राजा त्रिभुवन र चार सहिदको सालिक राख्ने कुरा नभएर प्रजातन्त्रको स्तम्भ राख्ने मात्र कुरा भएको र पछि चार सहिद र राजा त्रिभुवनको सालिक राखियो।
तर राजा महेन्द्रबाट राजा त्रिभुवनको सालिक त्यहाँ राख्ने भनेको थिएन। पछि सबैको सल्लाहले राजा त्रिभुवनको समेत सालिक राख्नु सर्वमान्य कुरा रहेकाले त्यस्तो निर्णय भएको थियो। त्यस्तै ललितपुरको पाटनढोका र पुल्चोकको मोडमा ललितपुरबासीको सक्रियतामा अमर सहिद शुक्रराज शास्त्रीको सालिक खडा गरियो। ९९९७ साल माघ ९ गते राति जुन रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याइयो, काठमाडौँ नगरपालिका–१२ वडाले त्यही रुखको छेउमा महान् सहिद शुक्रराज शास्त्रीको पूर्ण कदको सालिक उभ्याएको छ।
शुक्रराज शास्त्रीको जन्म विक्रम संवत् १९५० श्रावण पूर्णिमाको दिन भएको थियो। उहाँका पिता माधवराज जोशीको जन्म विक्रम संवत् १९०५ मा भएको थियो। उहाँको राणा परिवार तथा जङ्गबहादुरसँग राम्रो सम्बन्ध थियो। माधवराज जोशी विक्रम संवत् १९३२ तिर तीर्थयात्रामा जगन्नाथ र पछि काशी पनि पुग्नुभएको थियो। त्योबेला उहाँले आर्य समाजका प्रवर्तक दयानन्द सरस्वतीसँग भेट्ने अवसर पाउँदा वैदिक धर्मको प्रचार, व्याख्या सुनेर प्रभावित हुनुभयो। त्यसको प्रभावले उहाँले आफ्नै देशमा रहेर आर्य समाज स्थापना गरी वेदको ज्ञानको प्रभावले समाज सुधारमा संलग्न हुन थाल्नुभयो। माधवराज जोशीले योगीहरूसँग पनि संगत बढाउनुभएको थियो। उहाँले विक्रम संवत् २०५५ सालमा ललितपुरमा आर्य समाज स्थापना गर्नुभयो। यसमा वीरशमशेर पनि खुसी नै थिए।
माधवराज ज्योतिष विद्यामा पनि प्रसिद्ध हुनुहुन्थ्यो। माधवराज जोशीले तल्लो जातका मानिसलाई समेत वेदको ज्ञान दिलाउन थालेकामा बाहुनहरूबाट विरोध भएको र पुरोहित प्रयागराज पाण्डे पनि भित्रभित्रै असन्तुष्ट थिए। बाहुनहरूको विरोध सुनेर वीरशमशेरले भनेका थिए– ‘मानिसमा वेद पढ्ने बुद्धि छ भने वेद पढ्दा के हुन्छ ?’ यस हिसाबले त्योबेला वीरशमशेर खुसी नै थिए। उता श्री ५ पृथ्वीवीरविक्रमको पनि माधवराजले ठीक भनिरहेको छ भन्ने कुरा थियो। माधवराज जोशीको भनाइ थियो– ‘वेद सत्य विद्याका पुस्तक हुन्, वेद पढ्नु, पढाउनु, सुन्नु र सुनाउनु सबै आर्यको परम धर्म हो। सत्यलाई ग्रहण गर्न र असत्यलाई छोड्नमा सर्वदा उदत्त रहनुपर्छ। सबैसँग प्रीति धर्मअनुसार वर्तनुपर्छ।’ उहाँका कुराहरू सत्य भए तापनि पछि चन्द्रशमशेरमा माधवराज जोशी सक्रिय हुँदै गए भने जनताका आँखा खुल्छन् र राणा शासनविरुद्ध जनता जाग्न सक्छन् भन्ने डर पैदा भयो। त्यसो भएपछि माधवराजलाई जेल हालियो।
माधवराज जोशीप्रति साहै्र षडयन्त्र हुन लाग्यो। त्यसपछि अरू दोष लगाएर नेपाल बाहिर लखेट्ने अवस्थामा थिए। तर माधवराजले दुई वर्षको सजाय पूरा भएपछि पनि राणाले जेल मुक्त नगर्लान् जस्तो लागेर विक्रम संवत् १९६४ चैतमा जेलबाट भागे र वीरगन्ज पुगे। त्यसपछि आफ्ना परिवार लिएर गोरखपुर र लखनउ र देहरादुन आर्य समाज पुगे। उत्तर प्रदेशको सिकन्दरवादमा अमरराज र शुक्रराज छोरालाई गुरुकूलमा भर्ना गराए। छोरी चन्द्रकान्तालाई कन्या पाठशालामा भर्ना गराए। शुक्रराज शास्त्रीले गुरुकूलमा विदालंकार र पञ्जावबाट शास्त्री गर्नुभयो। पछि केही समय इलाहावाद स्कुलमा प्रमुख पण्डितमा जागिर पनि खानुभयो।
भारतमा रहँदा शुक्रराज शास्त्रीले महात्मा गान्धी, सुवासचन्द्र बोससँग पनि भेटघाट गरी नेपाली समाजबारे विचार आदान–प्रदान गर्नुभएको थियो। चन्द्रशमशेरपछि भीमशमशेर शासनमा आए र त्यसपछि जुद्धशमशेर सत्तामा रहेको समयमा शुक्रराजजी काठमाडौँ आउनुभयो। काठमाडौँको भोटाहिटीमा आर्य समाजको काम भइरहेको थियो। शुक्रराज शास्त्री आर्य समाजको नीतिअन्तरगत देशभित्र प्रचलित अन्धविश्वास, अशिक्षा, जातपात, छुवाछूत, बालविवाह जस्ता कुसंस्कारको विरोध र महिलाको सामाजिक उत्थानको अभियानमा सक्रिय हुन थाल्नुभयो। आर्य समाजको कुरालाई लिएर उहाँले हिन्दु समाजभित्र मूर्ति पूजाको पनि विरोध गर्न थाल्नुभयो। योचाहिँ हिन्दुलाई चित्त बुझ्ने कुरा भएन।
शुक्रराजको विवाह १९९५ साल मंसिरमा भएको थियो। उनकी श्रीमती गर्भवती थिइन्। बच्चा भएपछि मात्र सभामा भाषण गर्न जानु राम्रो हुन्छ भनेर उहाँलाई सल्लाह दिए तापनि शुक्रराज शास्त्रीले इन्द्रचोकको डबलीमा जनसमूहअगाडि कडा भाषण गरे– ‘जिन्दगीको बाजी लगाउँ, के बाँचुँ गुलाम बनेर।’ यस्तो ज्ञानवर्धक प्रेरणादायी भाषण सुनेपछि शुक्रराज शास्त्रीलाई चारतिरबाट जनसमूहबाट फूलमाला लगाइयो। यस घटनाबाट राणा डराए।
त्यसपछि शुक्रराज शास्त्रीविरुद्ध षडयन्त्रका जाल बन्न लाग्यो। यति सानो कुरामा नै शुक्रराजलाई भोलिपल्टै गिरफ्तार गरियो। त्योबेला पद्मशमशेरले प्रश्न गरे– ‘खुलेयान उठेर भाषण गरेको ? नेवार भएर वेदशास्त्र उच्चारण गरेको ?’ भन्ने प्रश्नको उत्तरमा शुक्रराजले जवाफ दिए– ‘उभिएर बोल्ने बानी परेको, आचरण शुद्ध राख्न र निडर बन्नका लागि उपदेश दिएको, महाराजले ६।७ वर्षका कन्याको विवाह नगर्न भनेर ऐन बनाएकामा महाराजलाई आधा धन्यवाद दिएको हुँ। नेवार परिवारमा जन्मँदैमा गीता, वेद र ब्रह्मसुत्रको प्रवचन गर्न नपाइने भन्ने कुनै विधान र शास्त्रमा छैन, यो मेरो अधिकार हो’ भनेपछि राणा क्रूर भए।
त्योबेला राणा र अरू त्यहाँ भएकाहरूले ‘माफी माग माफी दिन्छु’ भनेका थिए। त्यो सुनेर शुक्रराजको जवाफ थियो– ‘मैले के अपराध गरेको छु र माफी माग्ने ? यदि मैले अपराध गरेको भए मैले सजाय पाउनुपर्छ। तर म कुनै हालतमा पनि माफ माग्ने छैन।’ यसो जवाफ दिएपछि उनलाई साङ्लो लगाएर तीन वर्षको कैद सजाय तोकियो। शुक्रराजलाई साङ्लो नमिलेर लगाउन नसक्दा शुक्रराजले भनेका थिए– ‘राज्यमा साङ्लोको नै व्यवस्था छैन भने राज्यबाट अरू के आशा गर्ने ?’
शुक्रराज जेल चलान गरिए। जेल चलान गरेका बेला चौतर्फी जनताको आँखा रसाएका थिए। अत्याचारको पीर जस्तो पीडा के होला ? शुक्रराज शास्त्रीलाई जेल चलान गरेको पाँच दिनपछि शुक्रराजकी पत्नी मेनकादेवीले छोरी जन्माइन्। प्रसूति अवस्थामा ज्वरो आएर प्राण त्यागिन् र छोरीको पनि मृत्यु भयो। शुक्रराजलाई जानकारी गराइए पनि अन्तिम भेट्न पनि दिइएन। २०९७ सालमा कसलाई मृत्युदण्ड दिने र जन्म कैद गर्ने सबै विवरणसहितको फैसला पद्मशमशेर र मोहनशमशेरले सुनाएका थिए। तीन महिना सिंहदरबारभित्र कैदमा राख्दा हरेक दिन कैदीहरूलाई वयानमा कोर्रा लगाइन्थ्यो।
विक्रम संवत् १९९७ साल माघ ९ गते राति मोटरमा राखेर टेकु वाग्मतीतिर लगियो। राति नै शुक्रराज शास्त्रीलाई टेकुको एक रुखमा झुण्ड्याइएको थियो। त्यस्तै माघ ११ गते धर्मभक्तलाई सिफलको रुखमा झुण्ड्याइयो। दशरथ चन्द र गंगालाललाई शोभा भगवतीपूर्व विष्णुमती किनारमा माघ १५ गते निर्ममतापूर्वक गोली ठोकेर मारिएको थियो। सहिदहरूको लाशलाई सर्वसाधारणलाई त्रसित गराउन प्रदर्शनसमेत गरियोे। चार अमर सहिदहरू वैधानिक राजतन्त्रका पक्षधर थिए। नेपालमा जहानियाँ राणा शासनको अत्याचारको पराकाष्ठा नाघिसकेको थियो।
शुक्रराज शास्त्रीलाई फासीमा चढाउन लागेको अवस्थामा वेद र गीता पाठ गरेपछि उनले भने– ‘घाटीमा फाँसीको फन्दा म आफैँ लगाउँछु, तिमीहरूले गल्ती गर्लाउ। म निरपराधी हुँदा पनि तिमीहरूले मृत्यु दण्ड दिँदैछौं, अब तिमीहरूले भोग्नुपर्ने हुन्छ, अनकौँ प्रायश्चित गरे पनि शान्ति पाउने छैनौं, तिमीहरूको कुलको सबै नास हुनेछ, अत्याचारी राणालाई सद््बुद्धि देऊ’ भन्दै ‘ओम तत्सत्’ भनेपछि खुट्टाले टेकेको इँटालाई धकेलिदिएपछि शुक्रराज शास्त्रीको खुट्टाले भुइँ छाड्यो। अनि उनी सहिद भए। शुक्रराजको हल्लिरहेको शरीरको छातीमा राणाले लेखेका थिए–‘गद्दी ताक्नेको यस्तै दण्ड हुन्छ।’
प्रकाशित: १० माघ २०७८ ०३:२८ सोमबार