८ वैशाख २०८१ शनिबार
विचार

के आफूलाई युवा ठानिरहन सकिन्छ?

पछिल्लो एक दशकभन्दा बढी समय प्याडी जोन्सले साल्सा नृत्यमार्फत दर्शकलाई मनोरञ्जन दिइरहेकी छन्।

सन् २००९ मा एक स्पेनिस ट्यालेन्ट सोबाट चर्चामा आएकी उनले ‘ब्रिटेन गट ट्यालेन्ट’ कार्यक्रमबाट बेलायतमा, डस सुपर–ट्यालेन्ट कार्यक्रमबाट जर्मनीमा र बैल्यान्डो नामक एक नृत्य कार्यक्रमबाट अर्जेन्टिनामा लोकप्रियता हासिल गरेकी छन्। त्यसबाहेक सन् २०१८ मा इटालीमा आयोजित म्युजिक फेस्टिबल ‘सनरेमा’मा उनले प्रख्याती कमाएकी हुन्।

जोन्सले ८५ वर्ष उमेर नाघी सकेकी छन्। गिनिज वर्ल्ड रेकर्डका अनुसार उनी विश्वकी सबैभन्दा बढी उमेरकी साल्सा नर्तकी हुन्। त्यसो त, बेलायतमा हुर्केकी जोन्स सुरुदेखि नै नृत्यमा आकर्षित थिइन्।

२२ वर्षको उमेरमा डेविडसँग विवाह गर्नुअघि नै उनले व्यावसायिक हिसाबले नृत्यृ गरिसकेकी थिइन्। उनका चार छोराछोरी छन्। सेवानिवृत्तिपछि उनले पुनः नृत्य थालिन् र वाहवाही पाएकी छन्। ‘म मेरो उमेरको हेक्का राख्दिनँ, किनभने मलाई ८० पुगेको अनुभव हुँदैन,’ उनले सन् २०१४ को एक अन्तर्वार्तामा भनेकी छन्।

पछिल्ला पाँच दशकमा गरिएका कैयन् अध्ययनले जोन्सले भनेझैँ जीवनप्रति यस्तै दृष्टिकोण राख्दा यसले औषधिको काम गर्ने देखाएका छन्। उमेर बढेसँगै व्यक्तिगत प्रगति हुने धारणा राख्नेहरू उमेरले ७०, ८० र ९० को दशक पुग्दा पनि राम्रो स्वास्थ्य अवस्थामा रहेको पाइएको छ। यसविपरीत उमेर बढेसँगै असहाय र कमजोर महसुस गर्नेमा यस्तो देखिएको छैन। यो फरक भनेको मानिसको कोषिकाको जैविक आयु (बायोलोजिकल एजिङ) र समग्र जीवनको आयु (ओभरअल लाइफ स्पान)मा हुने फरकका कारण यसो भएको हो।

मैले दिमाग र शरीरको सम्बन्धमा आधारित रहेर लेखेको किताबमा यी र यस्ता तर्क र प्रमाणका बारेमा धेरै सोधकार्य गरेको छु। विशेष गरी हाम्रो सोचाइले हाम्रो उमेर र दीर्घायुपनालाई कसरी असर गर्छ भन्ने विषयका नतिजा आश्चर्यजनक देखिएका छन्। विज्ञान त यो विषयमा झनै प्रस्ट देखिएको छ। ‘सन्दर्भ सामग्रीका लागि अहिले ठोस आधार तयार भएका छन्,’ अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका प्राध्यापक अलिसन ब्रदर्स भन्छन्, ‘विश्वका विभिन्न देशमा रहेका प्रयोगशालाले यस विषयको अध्ययनका लागि धेरै विधि अपनाएका छन्, तर सबैको नतिजा एउटै छ।’

समयलाई पछि फर्काउन सक्ने भए

हाम्रा सोच र आकांक्षाले बुढ्यौलीको गति बढाउने अथवा घटाउने सम्बन्धमा हाभर्ड विश्व विद्यालयका मनोचिकित्सक एलेन ल्यान्गरले एक अध्ययन गरेका छन्।

उनको अध्ययनले महत्त्वपूर्ण संकेत गरेको छ। अध्ययनका क्रममा उनले सन् १९७९ मा ७० देखि ८० वर्ष उमेर समूहका मानिसलाई नजिकैको मोनास्ट्रीमा एक साता लामो रिट्रिटमा लग्नुअघि विभिन्न संज्ञानात्मक तथा शारीरिक परीक्षण गरेकी थिइन्।

उक्त मोनोस्ट्री (मठ)लाई सन् १९५० को शैलीमा सजाइएको थियो। त्यही ऐतिहासिक कालखण्डसँग मिल्ने हिसाबले बैठक कोठामा रेडियो गीत बजाइएको थियो भने फिल्म हेर्न सक्ने व्यवस्था गरिएको थियो।

अनुसन्धानकर्ताले सहभागीलाई आफू सन् १९५९ मा जस्तै गरी दिन बिताउन भनेका थिए। उनीहरूलाई त्यतिबेलाको वर्तमान कालमै रहेर आफ्ना आत्मकथा लेख्न भनिएको थियो। उनीहरू सबैलाई स्वतन्त्र रूपमा त्यसो गर्न भनिएको थियो। उनीहरूलाई आफ्ना कोठामा आफ्ना सरसासमान लैजान दिइएको थिएन।

हरेक दिनको दुईपटक अनुसन्धानकर्ताले उनीहरूसँग सन् १९५९ मा भइरहेका राजनीतिक तथा खेलकुदका घटनाक्रमका बारेमा छलफल गर्ने गर्थे र यस्ता छलफलमा त्यो अवधिभन्दा पछि भएका घटना क्रमको चर्चा हुँदैनथ्यो। यो वार्तालापको उद्देश्य उनीहरूमा रहेको युवावस्थाको पुनरावृत्ति गर्नु थियो।

तुलनात्मक अध्ययन गर्न अनुसन्धानकर्ताले नयाँ सहभागीसहित एक साता पछि अर्काे रिट्रिटको आयोजना गरेका थिए। बस्ने कोठाको सजावट, भोजन तथा सामाजिक सम्पर्क उस्तै कायम गरिएको थियो तर यसपटक सहभागीलाई विगतको संस्मरण गर्नका लागि त्यतिबेलाकै अवस्थामा बाँचिरहेको अनुभूति गर्न आवश्यक नपर्ने व्यवस्था गरिएको थियो।

अध्ययन अन्तर्गत यी दुई रिट्रिटपश्चात् सहभागीको परीक्षण गरिएको थियो। सुरुको परीक्षण (बेसलाइन टेस्ट)को तुलनामा अधिकांश सहभागीले रिट्रिटपछि सुधार देखाएका थिए। तर, सन् १९५९ को अवस्थामा अनुभूति लिने अवसर दिइएको समूहमा धेरै फाइदा भएको देखिएको थियो।

यसमध्ये पहिलो समूहका ६३ प्रतिशतले संज्ञानात्मक परीक्षणमा राम्रो नतिजा देखाएका थिए भने त्यसपछिको समूहमा सहभागीमध्ये ४४ प्रतिशतमा मात्र संज्ञानात्मक परीक्षणको नतिजा राम्रो पाइएको थियो।

पहिलो समूहमा सहभागीको आँखाको दृष्टि बढेको, शरीरको हाडका जोर्नी बढी लचक भएको तथा हात चल्ने सीपमा बढोत्तरी देखिएको थियो। कतिपयको घुँडा दुख्ने बिरामीमा पनि कमी देखिएको थियो।

उमेरलाई हेर्ने दृष्टिकोण

नतिजा रोचक रहे पनि यो सानो स्याम्पल साइजमा गरिएको अध्ययन थियो। यस प्रकारका महत्त्वपूर्ण नतिजाको दाबी गर्दा प्रमाण पनि सशक्त हुनैपर्छ। हाम्रो सोचले हाम्रो शारीरिक उमेरलाई प्रभाव पार्छ भन्ने विषयलाई थप वैज्ञानिक आधार आवश्यक रहनु स्वाभाविक हो। यस सन्दर्भमा एल स्कुल अफ पब्लिक हेल्थका बेक्का लेभीले गरेका दुईवटा अध्ययन महत्त्वपूर्ण छन्।

उनले एक अध्ययनमा सन् १९७५ देखि यता एक हजारभन्दा बढी सहभागी संलग्न रहेको ओहियो विश्वविद्यालयले गरेको एक दीर्घकालीन अध्ययनका तथ्यांकलाई समीक्षा गरेकी छन्। अध्ययनमा सहभागी हुँदा अधिकांश सहभागीको सरदर आयु ६३ वर्ष थियो र त्यसपछि उनीहरूलाई लगातार बुढ्यौलीपनका बारेमा आफ्नो धारणा राख्न भनिएको थियो।

उदाहरणका लागि ‘उमेर बढ्दै गएपछि हामी कम उपयोगी (लेस युजफुल) हुँदै जान्छौँ’ भन्ने भनाइप्रति उनीहरूको प्रतिक्रिया लिइएको थियो। अध्ययन सुरु भएयता उमेरप्रति सकारात्मक धारणा राख्नेहरू २२.६ वर्ष बाँचेको पाइएको थियो भने कमजोर धारणा राख्नेहरू सरदरमा १५ वर्ष मात्र बाँचेको पाइएको थियो।

सर्वेक्षणअघि सहभागीको स्वास्थ्य अवस्था तथा दीर्घायुलाई असर पार्न सक्ने अन्य सामाजिक आर्थिक जोखिमको पनि हिसाबकिताब गरिएको थियो।

सन् २००२ मा सार्वजनिक गरिएको यो अध्ययनको नतिजा अहिले पनि उत्तिकै सान्दर्भिक छ। ‘यसअघि पहिचान नभएको भाइरसले मानिसको सरदर आयु सात वर्षले छोट्ट्याएको पाइएको भए, त्यसको कारण पत्ता लगाउन र उपचारमा ठूलो प्रयास गरिन्थ्यो,’ अध्ययनकर्ता लेभीले अनुसन्धान प्रतिवेदनमा भनेकी छन् ‘अहिलेको अवस्थामा एउटा कारण प्रस्ट छ, त्यो बूढापाकालाई हेर्ने हाम्रो गलत सामाजिक दृष्टिकोण हो।’

त्यसपश्चात् भएका अन्य अध्ययनले पनि मानिसको आकांक्षा र उमेरबीचको सम्बन्धलाई पुष्टि गरेका छन्। उमेरजन्य समस्या आफैँले अनुभूति गर्नुुअघि नै अधिकांश मानिसले ‘बूढापाका असहाय हुन्छन्’ भन्ने आमधारणाले प्रभावित भएका हुन्छन्। आफू ३० वर्षको हुँदा यस प्रकारका अवधारणा राख्ने मानिसलाई ३८ वर्षपछि सम्म मुटु रोगको जोखिम हुने लेभीको अध्ययनले देखाएको छ।

यो सन्दर्भमा भएको अर्काे अध्ययनको नतिजा पनि सान्दर्भिक छ। बुढ्यौली सम्बन्धी अवधारणाले अल्जाइमर रोग निम्त्याउन सक्ने देखिएको छ। कुल चार हजार सात सय ७६ सहभागी रहेको र चार वर्ष लगाएर गरिएको एक अध्ययनले बुढ्यौलीप्रति सकारात्मक धारणा राख्नेमा यो रोग लाग्न सक्ने सम्भावना ५० प्रतिशतले कम देखाएको छ।

बुढ्यौलीलाई रोक्न नसक्ने क्षयीकरण भनेर ठान्ने मानिसको तुलनामा सकारात्मक धारणा राख्नेमा यसरी अल्जाइमर रोगको सम्भावना आधाले कम रहेको पाइएको छ। चाखलाग्दो पक्ष के छ भने बुढ्यौलीप्रति सकारात्मक धारणा राख्दा अल्जाइमर रोग लाग्न सक्ने आनुवंशिक जोखिम भएका मानिसमा पनि यो रोगको सम्भावना कम देखिएको छ। यसले सकारात्मक सोचले आनुवंशिक विरासतमा आएका रोगका जोखिमबाट पनि बच्न सकिन्छ भन्ने देखिन्छ।

सम्भव कसरी?

मानिसको आनीबानी पनि यो सन्दर्भमा महत्त्वपूर्ण मानिन्छ। उमेरलाई कमजोरी र अक्षमता मान्दा हामीले कम व्यायाम गर्न थाल्छौँ। यसरी कम दैनिक क्रियाकलापले मुटु, अल्जाइमर लगायत अन्य रोग निम्तिन सक्छन्।

हाम्रो उमेरप्रतिको अवधारणाले हाम्रो शरीर विज्ञानलाई प्रत्यक्ष असर गर्दछ।उमेरप्रति नकारात्मक धारणा राख्ने प्रौढमा रक्तचापको समस्या अत्यधिक हुन्छ भने सकारात्मक धारणा राख्नेमा यो कम हुन्छ।

यो तर्क किन सही छ भने हामीले आफूलाई कमजोर तथा असहाय महसुस गर्दा साना चुनौती पनि ठूला बन्ने गर्छन्। यस्तो महसुस हुँदा अन्ततः कोर्टिसोल भन्ने हर्मोनको अत्यधिक उत्पादन हुन जान्छ र शरीरमा जलन बढ्छ, यी दुवै कारणले स्वास्थ्य अवस्था बिग्रन्छ।

यसको प्रभाव हाम्रो शरीरमा रहेका कोषिकाको केन्द्रमा रहेका आनुवंशिक ब्लुप्रिन्टमा पनि देखिन्छ। हाम्रो कोषिकाअन्तर्गत रहेका क्रोमोजोमले जिनलाई च्याप्प बाँधेको हुन्छ र यसले डिएनएलाई नष्ट हुनबाट जोगाएको हुन्छ। क्रोमोजोममा रहेको टेलोमेरेज क्यापले यो भूमिका निभाएको हुन्छ। तर, उमेर बढ्दै गएपछि टेलोमेरेज छोटिँदै जान्छ र यसले दिने सुरक्षा कमजोर हुँदै जान्छ।

यसले अन्ततः कोषिकाको भूमिका समेत प्रभावित हुन पुग्छ। उमेरप्रति नकारात्मक धारणा राख्ने मानिसमा यो प्रक्रिया तीव्र हिसाबले हुने पाइएको छ, जसकारण उनीहरूको शरीरका कोषिका जैविक हिसाबले बढी उमेरका हुन पुग्छन्। तर, सकारात्मक धारणा राख्ने मानिसका कोषिका तुलनात्मक रूपमा कम उमेरका देखिन्छन्।

अधिकांश वैज्ञानिक उमेरप्रतिको धारणा, दीर्घकालीन स्वास्थ्य र दीर्घायुपनको प्रत्यक्ष सम्बन्ध रहेको मान्छन्। ‘यो प्रमाणित विषयवस्तु बनिसकेको छ,’ जर्मनीको मार्टिन लुथर विश्वविद्यालयमा उमेरसम्बन्धी अध्ययन गर्ने अनुसन्धानकर्ता डा. डेभिड बेस भन्छन्, ‘यो सबै पिँढीका मानिसलाई अत्यन्त महत्त्वपूर्ण विषय हो।’

यसबाहेक उमेरप्रति हेर्ने नकारात्मक अवधारणालाई हाम्रो संस्कृतिले पनि मलजल गरेको हुन्छ। उदाहरणका लागि जन्मदिनको शुभकामना कार्ड (ग्रिटिङ कार्ड)लाई लिन सकिन्छ। ‘म ७० वर्षका एक साथीका लागि जन्मदिनको शुभकामना कार्ड लिन गएँ, एउटा पनि त्यस्तो कार्ड भेटिनँ, जुन हास्यास्पद (जोक) थिएन,’ अमेरिकामा प्रौढका विषयमा अध्ययन गर्ने संस्था एएआरपीकी सञ्चार प्रमुख मार्था वोड्रिउ भन्छिन्। प्रसिद्ध व्यक्ति, विचारका नेतृत्व गर्ने तथा अन्य प्रभावकारी व्यक्तित्वले यो विषयको उठान गर्न आवश्यक रहेको उनी ठान्छिन्।

त्यसैले उमेरसम्बन्धी हाम्रा अवधारणालाई पुनर्विचार गर्न आवश्यक छ। अध्ययनले पनि हाम्रा सोचाइ लचकदार हुने देखाएका छन्। उमेरका बारेमा रहेका परम्परागत तथा घातक धारणा त्यागेर सकारात्मक रहँदा तनाव व्यवस्थापन गर्न सजिलो हुन्छ। नियमित व्यायाम र दिमागको प्रयोगले आइपर्ने चुनौती सामना गर्न सजिलो हुन्छ।

अर्काे शब्दमा भन्नुपर्दा हामी साल्सा नर्तकी प्याडी जोन्सजस्तै बाँच्न सक्छौँ। अन्तर्वार्ताका क्रममा जोन्सले आफ्नो स्वास्थ्यका लागि भाग्यलाई जिम्मेवार रहेको बताउन सावधानी अपनाएकी थिइन्। तर उनले अधिकांश व्यक्तिले आफ्नो सुनौला उमेरमा रहेका क्षमताबारे कम हेक्का राख्ने बताएकी थिइन्। निर्धारित सीमालाई प्रश्न गर्नुपर्ने उनको कथन थियो।

‘तपाईंलाई केही गर्ने चाहना छ भने त्यो गर्नुस्। तपाईंले त्यसो गर्न सक्नुभएन भने गर्न सक्ने अर्काे कुरा गर्नुस्,’ उनले अन्तर्वार्तामा भनेकी थिइन्।

हाम्रो उमेर जति भए पनि जित्न सक्छु भन्ने अवधारणाले आउने कैयन् दशकसम्म सुस्वास्थ्य र खुसियाली ल्याउन सक्छ।

(लेखकको पुस्तक ‘दी एक्सपेक्टेसन इफेक्ट– हाउ योर माइन्डसेट क्यान ट्रान्सफर्म योर लाइफ’ बाट सम्पादित अंशको सारांश सामग्रीमा आधारित।)

प्रकाशित: २४ पुस २०७८ ०५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App