८ वैशाख २०८१ शनिबार
विचार

शिक्षाशास्त्र संकायको पुनर्संरचना

त्रिभुवन विश्वविद्यालयले केही दिनअघि सूचना जारी गरी एक वर्षे शिक्षाशास्त्री कार्यक्रम बन्द भएको घोषणा गर्‍यो। नियमितरूपमा विद्यार्थी उपस्थित भई पठनपाठनमा संलग्न नहुने, परीक्षामात्र दिएर प्रमाणपत्र लिने कामले शैक्षिक गुणस्तर खस्किएका कारण यसै वर्षदेखि सो कार्यक्रम बन्द गरी पुनः सेमेस्टर प्रणालीमा व्यवस्थित गरिने जानकारी विश्वविद्यालयले गरायो। सहजरूपमा शिक्षाशास्त्री परीक्षा उत्तीर्ण गर्न पाउने अधिकार हनन् भएको प्रतिक्रिया केही व्यक्तिबाट आए पनि शिक्षाशास्त्रभित्रको विकृति बोध भएका व्यक्तिहरू भने यसपटकको निर्णयबाट केही आशावादी भएका छन्।

शिक्षाशास्त्र संकाय व्यवस्थित नहुँदा र यसभित्र पठनपाठन हुने विषयवस्तुहरू स्तरीकृत नहुँदा नेपालको समग्र शैक्षिक प्रणाली नै कमजोर बन्न पुगेको यथार्थ सबैसामु छर्लङ्गै छ। विश्वविद्यालयको उदासीनता तथा कथित विद्वान्हरूको एकोहोरो रटानले गर्दा न शिक्षाशास्त्र संकायको पुनर्संरचना हुन सक्यो न त योग्य जनशक्ति उत्पादन गर्ने स्थलका रूपमा नै परिचित हुन पुग्यो। विदेशी विश्वविद्यालयमा स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका विद्यार्थीलाई कक्षा कोठामा गई कसरी पढाउने भन्ने विषयमा केन्द्रित भई शिक्षण विधिमा पारंगत बनाउन शिक्षाशास्त्रको स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने गरिन्छ। सैद्धान्तिक विषयमा राम्रो अङ्क ल्याउन नसकेका र सिकाइ सिपका लागि उपयुक्त नठहरिएका विद्यार्थीले शिक्षाशास्त्रमा भर्ना पाउन सक्दैनन् तर नेपालको अवस्था त्यसको ठीक विपरीत छ।  

अन्य विषयमा भर्ना पाउन नसकेका वा मेहनत गरी पढ्न नसक्ने विद्यार्थीले मात्र शिक्षाशास्त्रमा भर्ना भई पठनपाठन गर्ने प्रवृत्ति नेपालमा देखिन्छ।

अन्य विषयमा भर्ना पाउन नसकेका वा मेहनत गरी पढ्न नसक्ने विद्यार्थीले मात्र शिक्षाशास्त्रमा भर्ना भई पठनपाठन गर्ने प्रवृत्ति नेपालमा देखिन्छ। कमजोर विद्यार्थीले मात्र पढ्ने विषय भएकाले पठनपाठनको विषयवस्तुगत गहनतासमेत निकै फितलो र स्तरहीन रहेको यथार्थ कसैसामु लुकेको छैन। स्नातक वा स्नातकोत्तरसम्म सैद्धान्तिक र व्यावहारिक ज्ञान प्राप्त गरेका विद्यार्थीले शैक्षिक तालिमका रूपमा प्रयोगात्मक सिप सिक्नका लागि र कसरी पढाउने भन्ने विषयमा अभ्यास शिक्षण गर्नका लागि बिएड, एमएडका कार्यक्रम सञ्चालन हुनुपर्नेमा केही अनिवार्य विषय र केही सम्बन्धित विषयसित सम्बन्धित विषयवस्तुको सतही ज्ञान आर्जन गरेका भरमा प्रमाणपत्र पाउने व्यवस्थाले शिक्षाशास्त्र संकायप्रति वितृष्णा बढ्नुका साथै बेरोजगार उत्पादन स्थलका रूपमा चिनिने गरेको छ। त्रिभुवन विश्वविद्यालयले भनेजस्तै यस संकायमा गेसपेपरमात्र पढेका भरमा परीक्षामा उपस्थितमात्र भएर प्रमाणपत्र प्राप्त गर्ने विद्यार्थीकै बहुलता छ। अझ एक वर्षे शिक्षाशास्त्री कार्यक्रममा त एक रातको पढाइका भरमा परीक्षा उत्तीर्ण गर्ने र सम्बन्धित कलेजसँगको अस्वस्थ समझदारीका आधारमा प्रयोगात्मक शिक्षण कार्यसमेत कागजीरूपमा मात्र सम्पन्न गर्ने प्रवृत्तिले प्रश्रय पाएको थियो। चिनजानका मानिस भएका कलेजमा भर्ना हुने, परीक्षामा मात्र उपस्थित हुने, प्रयोगात्मक शिक्षण कार्य कागजीरूपमा मात्र मिलाउने गरेका कारण एकदिन पनि कक्षाकोठामा प्रवेश नगरेका र सम्बन्धित कलेजमा एक दिन पनि उपस्थित नभएका विद्यार्थीहरू शिक्षाशास्त्री बनेको सन्दर्भमा ढिलै भए पनि विश्वविद्यालयले सुधारका लागि काम गर्न खोजेकाले यसलाई आलोचना भन्दा स्वागत नै गर्नु उपयुक्त हुन्छ।

सिन्को भाँच्दैनन् प्राध्यापक

शिक्षाशास्त्र संकायका नाम चलेका प्रायःजसो प्राध्यापकहरू नेपालको शिक्षा बिग्रनुका पछाडि सरकार, शिक्षा मन्त्रालय, अभिभावक, विद्यार्थी र शिक्षकहरूलाई दोषी देखाउँछन्। उनीहरू हरेक समय अरूको आलोचना गर्ने, जिम्मेवारी अरूमाथि थोपर्ने र निराशाका गाथा सुनाउनेबाहेक अरू केही गर्दैनन्। नगण्य एकाध व्यक्तिलाई छाडेर सबैजसो प्राध्यापकहरू कक्षामा अनियमित नै हुने गर्छन्। कक्षामा गएर पढाउनुपर्दा ठूलै सजाय पाएको महसुस गर्ने प्राध्यापकहरूको यो रोग त्यहाँ पढेका विद्यार्थीमा सरेकाले विद्यालय तहको शिक्षण भताभुङ्ग भएको कुरा उनीहरूको स्वीकार गर्न चाहँदैनन्।  

कक्षा कोठामा प्रवेश गरे पनि पटक्कै नपढाउने तर सञ्चारमाध्यममा आफूलाई शिक्षाविद्का रूपमा परिचित गराउने प्राध्यापकहरू प्रायःजसो विश्वविद्यालयको पदलाई लाइसेन्स बनाइ निजी शिक्षण संस्थामा खट्छन्। यसका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका निजी संस्थाहरूसँगको साझेदारीमा विभिन्न किसिमका तालिमका नाममा आफूलाई व्यस्त राख्ने प्राध्यापकहरूको संख्या पनि ठूलै देखिन्छ। त्यसो त उनीहरूद्वारा सञ्चालन गरिने तालिमहरू पनि व्यवस्थित हुँदैनन्। कक्षाकोठामा पढाउनका लागि तयार गरिएका नोट हुबहुरूपमा प्रस्तुत गरेर तालिमलाई झनै झन्झटिलो बनाउने गरेकाले अहिले शिक्षासम्बन्धी तालिम भन्नासाथ सहभागीहरू नाक खुम्चाउन थाल्छन्।  

कक्षा व्यवस्थापन विषय पढाउने प्राध्यापकको कक्षा अस्तव्यस्त हुनु, पाठ्यक्रम पढाउने प्राध्यापकले निर्माण गरेका प्रश्नहरू शिक्षाको स्तर मापनमा अनुपयुक्त र पाठ्यक्रमको उद्देश्य भन्दा भिन्न हुनु, शैक्षणिक व्यवस्थापन विषयका प्राध्यापक विभाग व्यवस्थापनमा नै असफल हुनु शिक्षाशास्त्र संकायको मौलिक विशेषता नै हो। अनेकौँ किसिमका समस्याबीच जकडिएको शिक्षाशास्त्र संकायलाई समयमै पुनर्संरचना नगर्ने हो भने बेरोजगार उत्पादन स्थलमात्र होइन, विद्यालय तहको शिक्षालाई धराशायी बनाउने अस्त्र बन्ने सम्भावना यद्यपि छ। यसको प्रमुख कारक यस संकायमा संलग्न जनशक्ति नै हो।

विद्यावारिधि भाँडाकुटी जस्तै

स्नातकोत्तर तहसम्म अनिवार्य विषयका रूपमा शिक्षाका दर्शन, मनोविज्ञान र पाठ्यक्रमसित सम्बन्धित विषयवस्तुलाई समावेश गरेको शिक्षाशास्त्र संकायले विशिष्टीकरण गर्ने विषयलाई नै कम महत्व दिएकाले त्यहाँबाट उत्पादित जनशक्तिको शैक्षिक स्तर दयनीय हुने गरेको छ। स्नातकोत्तरपछि गरिने एमफिल र विद्यावारिधि उच्च स्तरका शैक्षिक उपाधि हुन्। कुनै विषय विशेषमा विशेष दखल हासिल गरेपछि र सम्बद्ध विषयमा विशिष्ट किसिमको अनुसन्धान गरेपछि मात्र प्राप्त हुने विद्यावारिधि उपाधि आफैँमा गहन कार्य मानिन्छ। 

सबैतिरका कमजोर विद्यार्थी संकलन गरेर अस्तव्यस्त वातावरणमा परीक्षामुखी भइ गुदी कुरो नपढाइ सतहीरूपमा भुलाएर दिइएको प्रमाणपत्रले उनीहरू बेरोजगार र कमजोरमात्र हुने होइनन्, उनीहरूका कारण विद्यालय तहको शिक्षासमेत उठ्नै नसक्ने गरी थला पर्ने निश्चित छ। 

सम्बन्धित विषय, समाज र राष्ट्रलाई नै उच्च योगदान गरेको ठहरिने विद्यावारिधि उपाधि शिक्षाशास्त्र संकायका सन्दर्भमा केटाकेटीले खेल्ने भाँडाकुटीजस्तै ख्यालठट्टाको देखिन्छ। दस कक्षाको गणितका प्रश्नको अध्ययन, माध्यमिक विद्यालयका विज्ञान किताबमा समावेश भएका पाठहरू, प्राथमिक तहका पाठ्यपुस्तकमा प्रयोग भएका शब्दको अर्थ र यस्तै क्षणिक एवम् सतही शैक्षिक गुणस्तरका र समाजलाई कत्ति पनि योगदान पुर्‍याउन नसक्ने विषयहरू शिक्षाशास्त्र संकायका विद्यावारिधिका विशिष्ट शीर्षक बन्ने गरेका छन्। विद्यालय तहका सामान्य विद्यार्थीलाई अनुसन्धानको आदत बसाउनका लागि दिइने परियोजना कार्य भन्दा ठूलो मूल्य नराख्ने विषयले यस संकायबाट विद्यावारिधिले विभूषित हुने गरेको देखिन्छ। त्यसो त मानविकी संकायबाट पनि हाल नाममात्रका थेसिसले लेखेर विद्यावारिधि गर्ने प्रवृत्ति बढ्न थालेको छ। राजनीतिक आस्थाका कारण विश्वविद्यालयमा प्रवेश पाएका र राहत र अनुदानस्वरूप करार र क्रमशः आन्तरिक प्रक्रियाबाट स्थायी भएका प्राध्यापकहरू विद्यार्थीलाई पढाउने, आफू अनुसन्धान कार्यमा संलग्न हुने भन्दा एनकेन एक÷दुईवटा लेख लेखेर बढुवाका लागि आधार तयार गर्ने तथा निजी विद्यालय, कलेज वा व्यवसायमा नै आफूलाई व्यस्त राख्ने गरेको देखिन्छ। यसले न त उनीहरूको अनुसन्धान क्षमता विकास भएको छ न कक्षा कोठाको स्तर नै राम्रो भएको छ। बरू पिएचडीका नाममा स्तरहीन, अपरिपक्व र निरर्थक कार्यले नाम अगाडि लेखिने डाक्टरको गरिमा स्खलित गर्ने काम गरेको छ।

प्रविष्टि नै कलुषित

स्नातक तहको भर्नाका क्रममा मेहनत गर्नुपर्ने विषय पढ्न नपाउने, अत्यन्त कमजोर र अनुत्तीर्ण समानका विद्यार्थीले मात्र स्नातक तहमा शिक्षाशास्त्रमा भर्ना गर्ने गरेका देखिन्छ। भर्ना भएदेखि नै के सिक्ने भन्दा कसरी प्रश्न बनाउने, कसरी पढाउने भन्ने कुरा घोक्न सुरु गरेका विद्यार्थी पाठ्यक्रमबाहिरका अनुपयुक्त र बेकारका प्रश्नहरू सामना गरी तह पार गर्ने अवस्थामा पुग्छन्। स्नातक तह सेमेस्टर प्रणालीमा गएपछि यसप्रकारको समस्यामा केही कमी आए पनि शैक्षिक गुणस्तरमा भने कुनै सुधार आएको देखिँदैन।  

जबसम्म राम्रो अङ्क प्राप्त गर्ने, नियमित पठनपाठनमा जोड दिने र आफूले आर्जन गरेको शिक्षामा उज्ज्वल भविष्यको सपना देख्ने विद्यार्थी यस संकायतर्फ आकर्षित हुँदैनन्, तबसम्म न प्राध्यापकहरूले पढाउँछन् न त विद्यार्थीहरू नै लगनशील र मेहनती बनेर अध्ययन गर्छन्। शिक्षाशास्त्र संकायलाई टिकाइराख्ने हो भने यहाँ राम्रा विद्यार्थीले प्रवेश गर्ने वातावरण र आकर्षण सिर्जना गर्न सक्नुपर्छ। सबैतिरका कमजोर विद्यार्थी संकलन गरेर अस्तव्यस्त वातावरणमा परीक्षामुखी भइ गुदी कुरो नपढाइ सतहीरूपमा भुलाएर दिइएको प्रमाणपत्रले उनीहरू बेरोजगार र कमजोरमात्र हुने होइनन्, उनीहरूका कारण विद्यालय तहको शिक्षासमेत उठ्नै नसक्ने गरी थला पर्ने निश्चित छ।

सबैतिर दुर्दशा

शिक्षाशास्त्र संकाय पढेका विद्यार्थीले महŒव पाउने गरेको शिक्षक सेवा आयोगको नतिजामात्र होइन, अध्यापन अनुमतिपत्रका लागि सञ्चालन गरेको परीक्षामा समेत उत्तीर्ण दर अत्यन्त लज्जास्पद देखिन्छ। विश्वविद्यालयमा विद्यार्थीले के पढे, प्राध्यापकले के पढाए भन्ने कुराको उत्तर त अध्यापनपत्रको परीक्षामा शिक्षाशास्त्री र स्नातकोत्तर गरेका विद्यार्थीले प्राप्त गरेको न्यूनतम अंकले इंगित गर्छ।  

प्रायः शिक्षाशास्त्र पढेका व्यक्तिलाई अनावश्यक पेडागोजीका धाक लगाउने, अप्रभावकारी र अव्यवस्थित कक्षाका कारण विद्यार्थीलाई पीडित बनाउने आरोप लाग्ने गरेको छ। शिक्षण सिकाइ क्रियाकलापमा नवप्रवर्तन गर्ने वा कक्षा कोठालाई व्यवस्थित गर्ने काम भन्दा शिक्षा क्षेत्रका प्राविधिक शब्दमात्र भट्टाउने गरेकाले यस संकायबाट उत्पादित जनशक्तिमाथि अविश्वास पैदा हुने गरेको छ। यसैले त निजी विद्यालयले स्नातक र स्नातकोत्तर तह शिक्षाशास्त्रमा गरेका शिक्षकलाई भर्ना लिन अनकनाउन आउन थालेका छन्। उनीहरूको विज्ञापन नै मानविकी वा विज्ञानमा स्नातकोत्तर व्यक्तिकेन्द्रित हुने गरेका छन्। सरकारी मापदण्ड पूरा गर्नका लागिमात्र सकभर एक वर्षे बिएड वा मूल विषयमा स्नातकोत्तरपछि शिक्षाशास्त्रमा स्नातकोत्तर गरेको व्यक्ति खोज्नुका पछाडि शिक्षाशास्त्र संकायको शैक्षिक गुणस्तरमाथिको अविश्वास नै हो।

निष्कर्ष

शिक्षाशास्त्र पढेका व्यक्ति र यस क्षेत्रमा संलग्न प्राध्यापकहरू यस संकायभित्र कमजोरी छन् भन्ने कुरा पटक्कै स्वीकार गर्दैनन्। उनीहरू संकायभित्र देखिएका कमजोरी सुधार गर्ने भन्दा अनावश्यकरूपमा प्रतिवाद गर्न तम्सने गरेका छन्। यस सन्दर्भमा पहिलोपटक आफूहरूले सञ्चालन गरेको एक वर्षे शिक्षाशास्त्री कार्यक्रम स्तरहीन, अनुपयुक्त र अव्यवस्थित भएको स्वयम् विश्वविद्यालय र सम्बन्धित डिनको कार्यालयले घोषणा गर्नु सुधारका लागि कुनै न कुनै रूपमा तयार हुन खोजेको संकेत हो।  

एक वर्षे बिएड कार्यक्रममात्र होइन, शिक्षाशास्त्र सङ्कायभित्रका सबै कार्यक्रमको पुनरावलोकन र पुनर्संरचनाका लागि विश्वविद्यालय तयार नहुने हो भने आगामी दिनमा यस संकायको अस्तित्वमाथि नै प्रश्नचिह्न लाग्नेछ। यसैले समय नघर्कँदै विश्वविद्यालयले उपयुक्त कदम चाली समग्र शिक्षाशास्त्रका कार्यक्रमहरूको बिनापूर्वाग्रह मूल्यांकन, पुनर्संरचना र सुधारका लागि कदम चाल्नैपर्छ।

प्रकाशित: १९ पुस २०७८ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App