१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

एक दुखान्त नाटक

आशंका, अनिश्चितता र अव्यवस्थाका बाबजुद कांग्रेसको १४औं महाअधिवेशन सम्पन्न भएको छ। उम्मेदवारको पक्ष वा विपक्षमा लागेका व्यक्ति तथा समूह प्रशन्न भएका हुन सक्छन्,तर सचेत नागरिकको शुष्क प्रतिक्रिया र सडकका नागरिकका निराशाजनक अभिव्यक्तिले १४औँ अधिवेशन उत्साहप्रद र आशालाग्दो नभएको देखिन्छ।

पार्टीका अधिवेशन नेतृत्व र नीतिको परिवर्तन तथा परिमार्जनका अवसर हुन्। पुरानै नेतृत्व पुनस्थापित भए पनि यो नेतृत्वले आम नेपाली तथा नेपाली कांग्रेसका कार्यकर्ताको भावना बुझेर आफूलाई परिमार्जन गर्न सक्छ कि सक्दैन,निकट भविष्यमा यसको कार्यशैलीबाट हामी सबैले अनुभूत गर्नेछौँ। सुधारको अपेक्षा धेरै नभए पनि तत्कालै नकारात्मक प्रतिक्रिया दिनु पूर्वाग्रही धारणा हुन जान्छ।

वैचारिक द्वन्द्व

यो अधिवेशन यथास्थितिवाद र प्रगतिशील परिवर्तनवाद बीचको वैचारिक द्वन्द्व थियो। यो द्वन्द्वले केवल कांग्रेसका कार्यकर्तालाई मात्र चलायमान बनाएको थिएन,आम नेपालीलाई पनि प्रभावित पारेको थियो।

कुनै पनि राजनीतिक पार्टीको विचार र नेतृत्वले समाजलाई प्रभावित पारेको हुन्छ। त्यसमाथि नेपाली कांग्रेसजस्तो देशको अग्रणी नेतृत्वदायी पार्टीको विचार र नेतृत्वले समाज प्रभावित हुनु स्वाभाविक हो। यथास्थितिवादको नेतृत्व शेरबहादुर देउवाले गरेका थिए।

उनका प्रचार सामग्रीमा देखिएका नारा तथा उनले उद्घाटन समारोहमा व्यक्त गरेका विचारबाट बुझ्न सकिन्थ्यो,वर्तमान सरकारको स्थिरता तथा अहिलेसम्मको उनको अनुभवको सम्मान नै उनलाई निर्वाचित गराउनुपर्ने आधार हो।

अर्थात् यथास्थिति नै पर्याप्त हो र परिवर्तन खोज्नु भनेको अस्थिरता सिर्जना गर्नु हो। यो नारा नेपालीले बारम्बार सुन्दै आएको नारा पनि हो। यथास्थितिवादको पक्षधर देउवा समूहको स्पष्ट नारा आएकाले त्यो समूहबाट परिवर्तनको अपेक्षा गर्नु तथा त्यस समूहको धारणामा थप टिप्पणी गर्नु अनावश्यक छ।

वैकल्पिक नेतृत्व

परिवर्तन र यथास्थितिवादबीचको द्वन्द्वलाई ओझेलमा पार्न तथा यथास्थितिवादभित्रै वैकल्पिक नेतृत्वमा स्थापित हुन विमलेन्द्र निधि प्रस्तुत भएका थिए। उनले विचारको राजनीतिभन्दा विरासतको राजनीतिलाई मलजल गर्ने भरमग्दुर प्रयत्न गरे। शशांक कोइराला,प्रकाशमान सिंहसँग गठजोड गर्ने प्रयत्न गरे।

तिनैजना आ–आफ्ना विरासत जोगाउने अडानमा रहँदा गठजोड टिकाउ र फलदायी हुन सकेन। अन्तिम क्षणमा तिनैजना विरासत जोगाउन यथास्थितिवाद नै उपयुक्त हुने ठानी देउवालाई नै सहयोग गर्न पुगे। गणतान्त्रिक नेपालमा विरासतकै आडमा अब नेपाली कांग्रेसको प्रथम व्यक्ति बन्न त्यति सहज हुनेछैन।

पौडेल समूहः महत्वाकांक्षीको जमघट

१३औं महाधिवेशनपछि पार्टीभित्र विधि,पद्धति र अग्रगामी सोचका लागि पौडेल समूह निरन्तर सक्रिय रह्यो,संघर्ष गर्‍यो। आम कार्यकर्तालाई संस्थापन पक्षको विधान मिच्ने,पार्टीभित्र अवसरवादीलाई हुल्ने,विधान,पद्धति र परम्परा विपरीत क्रियाशील सदस्यता वितरण गर्ने लगायत नेपाली कांग्रेसको संस्कार विपरीतका क्रियाकलापको विरुद्धमा संघर्ष गर्न ऊर्जा प्रदान गर्‍यो।

यो समूहमा शेखर कोइराला,प्रकाशमान सिंह,शशांक कोइराला समेत भए पनि यसको नेतृत्व रामचन्द्र पौडेलले गरे। उम्मेदवारी दिने अघिल्लो दिनसम्म उनीहरूले हाम्रो विचार समूहबाट साझा उम्मेदवार बनाउँछौं भन्दै सार्वजनिक रूपमा वाचा गरे।

वडा अधिवेशन सुरु हुँदै गर्दा चारैजनाले एउटै मञ्चबाट हामीमध्ये एक उम्मेदवार बन्नेछौं भनी सञ्चारमाध्यमबाट प्रतिबद्धता जनाए। अन्तिम समयमा यो समूह एकजुट रहन सकेन। शेखर कोइराला र प्रकाशमान सिंह दुवैले सभापतिमा उम्मेदवारी दिए। रामचन्द्र र शशांक निष्क्रिय बसे।

 एकले अर्कोलाई समर्थन र सहयोग गर्न नसक्ने, म नै हुनुपर्दछ भन्ने दम्भ र स्वार्थका कारण पौडेल समूहले आफ्नो समूह विचारका लागि नभई स्वार्थका लागि सामीप्यता बनाएको पदाकांक्षीहरूको जमघट मात्र भएको समूहमा परिणत गर्‍यो।

पौडेलः नेता वा पदाकांक्षी?

नेपाली कांग्रेसभित्र वर्तमान समयमा विचार प्रस्तुत गर्न सक्ने, सार्वजनिक मञ्चमा स्पष्टताका साथ कुरा राख्न सक्ने, लोकतन्त्र र समाजवादको समयसापेक्ष व्याख्या गर्न सक्ने अति कम नेतामध्ये अग्रणी नेता हुन्,रामचन्द्र पौडेल। आफ्ना भाषण तथा आलेखमार्फत उनले नेपाली कांग्रेसमा वैचारिक योगदान दिएका छन्। बिपीका विचारलाई अगाडि बढाउने प्रयत्न पनि गरेका छन्।

पार्टी सभापतिले नेपाली कांग्रेसलाई केपी ओली सरकारको प्रतिछाया बनाउन लाग्दा उनकै प्रयत्नले सरकारको नेतृत्व गर्ने अवसर जुटाई नेपाली कांग्रेसलाई बचाए। लोकतन्त्र बचाउन निकट भविष्यको आफ्नै प्रतिस्पर्धीलाई प्रधानमन्त्री बनाएकामा उनी प्रशंसित भएका छन्।

पौडेल समूहभित्र अरू उम्मेदवारभन्दा उनी वरिष्ठ पनि भएकाले उनै सभापतिको उम्मेदवार बन्दा राम्रो हुन्छ भन्ने म लगायत अधिकांश नेता, कार्यकर्ताको मनसाय पनि थियो। उनलाई साझा उम्मेदवार बनाउन धेरै प्रयत्न भएको थियो। तर प्रकाशमानजीको हठका कारण सम्भव हुन सकेन।

यसका बाबजुद उनले आफ्नो समूहलाई सफल बनाउन प्रयत्न गर्नेछन् भन्ने सबैको अपेक्षा थियो। तर,उनी आफू साझा उम्मेदवार बन्न नपाएको दुःख र पीडामा यति धेरै विचलित बने कि आफ्नो कर्तव्यलाई तिलाञ्जली दिँदै निष्क्रिय बसे। पदका कारणले मात्र नेता बन्ने अक्षम व्यक्ति हुन् उनी। क्षमतावान् व्यक्ति त्याग,निष्ठा,निरन्तरता,लक्ष्य तथा आदर्शप्रतिको समर्पणले पद नहुँदा पनि सम्मानित बन्छन्। गान्धी, जयप्रकाशले पदको आकांक्षा राखेनन्। तर महान् छन्। बिपी पदका कारण महान् भएका होइनन्।

सिद्धान्तप्रतिको अविचलित निष्ठा र लक्ष्यप्रतिको एकाग्र समर्पणले महान् बने। केपी ओली, शेरबहादुर बारम्बार प्रधानमन्त्री बनेका छन्। तर, जनताको मनबाट सम्मानित हुन सकेका छैनन्।

रामचन्द्रजीले यति सामान्य कुरा बुझ्न सकेनन्। विचार बोकेर हिँडे तर विचारको संरक्षण गर्ने दायित्वबाट विमुख बने। आफ्नो विचारप्रति इमानदार नरहेको प्रमाणित गरिदिए। पदाकांक्षी मात्र देखिए। आफ्नै समर्थकलाई निराश बनाए।  

सिंहः गणेशमान पुत्र मात्र

पार्टीभित्रको बेथिति र विकृतिविरुद्ध खरो बोल्नेमा प्रकाशमान सिंह अग्रपंक्तिमा थिए। वर्तमान पार्टी सभापतिलाई उनले बारम्बार असक्षम सभापति भने। जब प्रतिस्पर्धामा पछाडि परे,परिवर्तनको मुद्दा छाडी आफैँ असक्षम भनेको व्यक्ति नै सभापति बन्नुपर्छ भन्दै समर्थनको आह्वान गरे।

गणेशमान पुत्रले ज्ञानेन्द्र पथ अनुशरण गरे। गणेशमानले प्रधानमन्त्री बन्न अस्वीकार गरे। प्रकाशमानले उधारो सत्ताका लागि वचन उल्लंघन गर्दै सिद्धान्तसँग सत्ताको सौदाबाजी गरे।

शेखर: वचन एउटा कर्म अर्कै

मानिसलाई आशा जगाउन सजिलो हुन्छ। दुई–चारवटा मिठामसिना तथा आदर्शका कुरा गरिदिएपछि केही समय मानिसले आशा गर्दछन्। जस्तोः विद्यार्थी राजनीतिबाट आएका नेतृत्वमा पुग्न हतार भएका अधिकांशले गरेका छन्। तर, भरोसा दिलाउन वचन र कर्ममा संयोजन हुनुपर्छ। वचन र कर्मविपरीत हुँदा केपी ओलीको अवस्था हुन्छ। मजाकको पात्र बनिन्छ। वचन र कर्ममा संयोजन भएन भने मानिसले भरोशा गर्न सक्दैनन्।

१३औँ अधिवेशनपछि शेखर कोइराला निरन्तर देश दौडाहामा हिँडे। विगत पाँच वर्षमा क्षेत्रमै पुगेर सर्वाधिक कार्यकर्ता भेट्नेमा उनै अगाडि छन्।। उनले कार्यकर्ता माझ स्वच्छता र इमानदारिताको कुरा गरे। धेरै मानिसले उनका कुरा सुने। उनले नेपाली कांग्रेसलाई इमानदार,नैतिक तथा प्रगतिशील नेतृत्व दिन सक्छन् भन्ने अपेक्षा गरे। त्यही आशाका कारण उनी देउवा समूहविरुद्ध प्रगतिशील पक्षधरको नेतृत्व गर्दै निकटतम प्रतिस्पर्धी बन्न सक्षम भए।

तर, अन्तिम प्रतिस्पर्धामा असफल बने। परिवर्तनवादको पक्षलाई सफलतामा पुर्‍याउन उनी असफल भए।। उनको टिम देखेपछि कार्यकर्ताले भरोसा गर्न सकेनन्। कोइरालाको टिममा कार्यकर्ताले कृष्णप्रसाद भट्टराईप्रतिको अन्तर्घात देखे,अमेरिकाका ग्रिनकार्डधारी व्यवसायी देखे, अन्य धेरै कुरा देखे,तर परिपक्वता देखेनन्।

वचनप्रति इमानदारिता देखेनन्। त्यसैले आशा गरे,भरोसा गर्न सकेनन्। अन्तिम समयको विनयशीलता पहिले देखेनन्। अझै पनि आशा गरेका छन् र मौका दिएका छन्। आफूमा सुधार ल्याउँदै भरोसा लायक नेता बन्न।

दुखान्त

पौडेल समूहका सबै नेताले नायक बन्ने अभिनय गरे। संघर्ष पनि गरे। जनता तथा कार्यकर्तालाई आकर्षित गरे। आशावादी बनाए। तर, आफैँले कार्यकर्तालाई दिएको वचन तथा आफ्ना प्रतिबद्धताप्रति इमानदार रहेनन्। तीन वर्षदेखिको न्यायप्रेमी कांग्रेस कार्यकर्ताको आशामा चिसो पानी खन्याइदिए।

खुसी साथ चलचित्र हेर्न गएको दर्शक नायकको असफलताले जसरी भारी मन लिएर हल बाहिर निस्कन्छ, पौडेल समूहका नेताहरू पनि असफल अभिनेता बनिदिए। १४औँ अधिवेशनले पौडेल समूहलाई विसर्जन ग¥यो। आशा गरौँ,नवीन सुरुवातको।

प्रकाशित: २ पुस २०७८ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App