१७ माघ २०७९ मंगलबार
विचार

यस्ता दिन पनि आए

बाइरोडको बाटोमा

मुलुकको अग्रणी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अनेकन् कारणले महत्त्वपूर्ण साबित भएको छ। संघीय राजधानी काठमाडौंको मुटु भृकुटीमण्डपमा शुक्रबार सम्पन्न उद्घाटन समारोहमा वैरत्व साँधिरहेका दल एक ठाउँमा उभिएर एकअर्कालाई कटाक्ष गर्न भ्याएका छन्।

महाधिवेशनबाट कांग्रेसको नीति र नेतृत्वबारे निर्णय हुने नै छ। तथापि उद्घाटन समारोहमा भएको उपस्थिति र त्यहाँ व्यक्त धारणाबारे आम चर्चा भइरहेको छ। खास गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले उठाएको प्रश्नले धेरैलाई छोएको छ। उनले प्रस्ट शब्दमा भनेका छन्– ‘देशको राजनीति अहिले आम जनताको दृष्टिमा लिकबाट बाहिर गएको छ।’

बडा गजबको संयोग छ। पाठ सिकाउने युवा नेता लिङ्देन २०४६ सालको परिवर्तनपछि राजनीतिमा आएका व्यक्ति हुन्। पाठ (न)सिक्ने नेताहरू २०४६ सालको परिवर्तनका वाहक हुन्। यतिका वर्षमा राजनीति यस्तो ठाउँमा पुगेछ, जहाँ पूर्वपञ्चहरूले स्थापित गरेको दल राप्रपाका अध्यक्षले बाध्य भएर भन्नुपरेको छ– हामीलाई जनताले नामबाट चिन्दैनन्, ‘को चोर आएछ’ भन्छन्।

महाधिवेशनमा आएका अतिथिले दिने शुभकामना हो। अरूबेला जस्तोसुकै कटाक्ष भए पनि त्यहाँ उभिएर मीठा कुरा गर्ने हो। त्यसो गरिरहनु लोकतन्त्रका निम्ति हानिकारक छ। त्यसैले लिङ्देनले सरल पूर्वेली लयमा भने– सरकार सरकारजस्तो छैन, संसद् संसद्जस्तो छैन, अदालत अदालतजस्तो छैन।

हो, अबको राजनीतिक नेतृत्वमा हुनुपर्ने गुण यही हो। पुराना नेतालाई ऐना देखाउन सक्ने नयाँ पुस्ताका नेताको आवश्यकता यसै कारण भएको हो। उमेरमा भर्खरका मात्र होइन, पाका भए पनि फरक व्यक्ति दल र सरकारको नेतृत्वमा पुग्न आवश्यक छ। उही व्यक्ति उही कुरा कति सुन्नु ?

आम नागरिकलाई लाग्दो हो– नेताहरूले हामीलाई बुझेका छैनन्। तर, नेताहरूले आम नागरिकका कुरा बुझेका छन्। मात्र तिनले बुझ पचाएका हुन्। बुझ पचाउने नेतालाई जनबोली जस्ताको तस्तै ल्याएर सुनाएपछि लिङ्देनको उचाइ झन् हलक्क बढेको छ। उनले पनि त्यहाँ कांग्रेसजस्तो लोकतान्त्रिक दल भनेर प्रशंसाको पुल बाँध्न सक्थे। त्यसो नगरेर उनले ठीक गरे।

एउटा पक्षचाहिँ ठीक हो, यही कुरा लिङ्देनले अरू दलको महाधिवेशनमा गरेका भए स्थिति सहज हुने थिएन। कांग्रेसमा यति सुन्ने धैर्य छ। उपस्थित कांग्रेसजनले उनका अभिव्यक्तिमा थप्पडी मारे। त्यति मात्र होइन, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले ‘हामी चोर होइनौं’ भन्दा पनि तिनले ‘हो’ भनिरहे। दाहाल अवाक् हुन बाध्य भएका छन्।

लिङ्देनको बोलीप्रति आपत्ति गर्नेमा दाहाल र नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद शर्मा ओली हुन्। ओलीले लिङ्देनलाई ‘भर्खर जन्मेको बाच्छो हिँड्न जान्दैन’ भनेर तुष्टि लिए। तर, आम नागरिकले उनलाई हिँड्न जान्ने ठानिसकेका छन्। प्रतिस्पर्धाबाट दलको नेतृत्व लिने र राजनीतिक संस्कार देखाउन सक्ने व्यक्तिका रूपमा उनलाई धेरैले महसुस गरेका छन्। निश्चित रूपमा आफूप्रति प्रशंसाका पुल बाँध्ने व्यक्ति नभई ठाडै बोल्न सक्ने लिङ्देनजस्ता नेता अहिलेको राजनीतिक नेतृत्वका निम्ति बिझाउने हुन सक्छ। वास्तवमा लिङ्देनजस्ता पात्र अब बिझाउने हुनुपर्छ। जुत्ताभित्रको ढुंगाजस्तै बिझाउनुपर्छ अनि मात्र अहिलेको बिग्रेको बाटो सुध्रिन्छ।

हामीकहाँ परिवर्तनप्रतिको उत्कट अभिलाषा छ। त्यसलाई जसले मूर्तरूप दिए हुन्छ। कुनै पनि रूपमा यथास्थितिप्रति यहाँ चाहना छैन। हिजो राणाशासन थियो। फेरि शाह शासन आयो। आज देउवा, ओली, दाहाल, नेपाल आदि शासन छ। त्यस्तो शासनबाट पनि परिवर्तनको अपेक्षा छ। त्यसैले त आम मानिसको परिवर्तनप्रतिको चाहना लिङ्देनजस्ता युवा नेताबाट प्रस्फुटित हुन्छ। परिवर्तनप्रतिको यही उच्छ्वास कांग्रेसको आगामी नेतृत्वमा कसरी प्रतिविम्बित होला भन्ने जिज्ञासा यतिबेला भइरहेको छ।

संयोगले यसपटक लिङ्देनलाई त्यत्रो ठूलो मञ्च प्राप्त भएको हो। उनी राप्रपा महाधिवेशनबाट निर्वाचित नभएका भए आम नागरिकले पठाएको ऐना नेतालाई देखाउन पाउने थिएनन्। अन्यथा उनै कमल थापाका लालित्यपूर्ण भाषामा कांग्रेस, एमाले र अन्य दल तथा तिनका नेताको प्रशंसाका शब्दगुच्छा आदानप्रदान हुन सक्थ्यो। नारायणी किनारमा थापाले ओलीका निम्ति खर्चेका सुन्दर शब्द अझै गुञ्जित भइरहेका छन्। एउटाले अर्काको प्रशंसामा व्यतीत गर्ने समय कहाँ छ र ?  

राप्रपा यस्तो दल हो, जसलाई आम मतदाताले केही निश्चित अजेन्डाका निम्ति यसअघिका निर्वाचनमा मत दिएका हुन्। ‘एक भोट दाइलाई एक भोट गाईलाई’ त्यो बेलाको नारा थियो। त्यो बेला मत पाउने दाइ अर्थात् कांग्रेस र गाई अर्थात् राप्रपा थिए। त्यो एउटा सांकेतिक प्रयोग थियो। लोकतान्त्रिक दलहरूलाई पनि सन्तुलनमा राख्न एउटा वैकल्पिक दलको आवश्यकता महसुस गरिएको हो। कठिन परिस्थितिमा राप्रपाले केही निश्चित अजेन्डा उठाइरहेको हुनाले आम नागरिकले त्यसलाई पनि केही न केही न्याय गर्नुपर्ने आवश्यकता महसुस गरेका हुन्।

राप्रपामा मात्र होइन, सबै दलमा अपेक्षित सुधार देखिएन। सबै उस्तै देखिए। वास्तवमा उस्तै खालका धेरै दल देखेर पनि आम नागरिक वाक्क हुने रहेछन्। त्यही भएर भिन्न पात्रको खोजी हुन्छ। लिङ्देनमा अहिले त्यही भिन्न पक्ष आम नागरिकले देखिरहेका छन्। यस्तै हो भने उनलाई आगामी निर्वाचनमा समेत सफलता प्राप्त हुनेछ। ओली र दाहालले नपत्याएका लिङ्देनजस्ता धेरै पात्र बिस्तारै देखिनु अहिलेको समयको आवश्यकता हो। परिवर्तन चाहने हो भने अब नेता फेर्न तयार हुनुपर्छ। त्यसका निम्ति केही दिनयता वातावरण सकारात्मक हुँदै गएको देखिन्छ।

हाम्रो लोकतन्त्रमा गतिशीलताको कमी भएको छ। कुनै शासनमा नेतृत्वका हकमा बढ्ता स्थिरता देखिन थाल्यो भने विकृति आउन थाल्छन्। हामी राजतन्त्रका कुरा गर्छौं। यस्तो राजतन्त्र जनताका घरबाट पनि आउन सक्छ। लोकतान्त्रिक शासनमै पनि हामीले जनताकै नेता भनिएका व्यक्तिबाट थर्किनुपर्ने अवस्था आएन र ? कांग्रेस सभापति शेरबहादुर देउवाले त्यतिकै ‘रुन पनि नपाइने’ शासनको कुरा गरेका होइनन्। अहिले उनले ओलीबाट मुलुकलाई ‘मुक्त’ गरेको कुरा त महाधिवेशनलाई सम्बोधन गर्ने क्रममै व्यक्त गरेका छन्। त्यही भएर फेरि पनि उनले आफ्नो दलको नेतृत्व खोजिरहेका छन्।

यसकारण लोकतन्त्रमा कतैबाट खतरा छ भने त्यो नेताबाटै हो। लोकरिझ्याइँमार्फत उदाउने केही नेताले यसलाई विकृत बनाउँछन्। तिनलाई आफैं राजा बन्ने धुन चढ्छ। यस्तो प्रवृत्ति हामीले बेलाबेला देखेका छौं। तिनलाई अहिले पनि आफू अरूभन्दा अलि बढी बराबर भएजस्तो लाग्छ। जर्ज अर्वेलको ‘एनिमल फार्म’ बेलाबेला दोहोरिन खोज्छ। त्यसैले आफूलाई शासक होइन, सेवकको स्तरमा राख्न सक्ने व्यक्ति नै राजनीतिक नेतृत्वमा आउनु उचित हुन्छ।  

राप्रपा अध्यक्ष लिङ्देनमार्फत प्रकट भएको यो समय चेतना क्रमशः अगाडि बढ्नुको विकल्प छैन। लोकतन्त्रभित्रबाट कहिले उदारवादी, कहिले अनुदारवादी नेता आउन सक्छन्। जस्ता नेता आए पनि लोकतन्त्रका संस्था बलिया हुने हुन् भने यसलाई भत्काउन सक्ने छैनन्। अमेरिकामा डोनाल्ड ट्रम्पजस्ता राष्ट्रपति आएर पनि उनीहरूको प्रणालीमा ठूलो क्षति हुन पाएन। फेरि त्यसमा सुधारको काम भइरहेको छ। हामीकहाँ पनि सुधारका निम्ति समय आएको छ। लोकतन्त्रलाई बलियो बनाउन जताबाट आए पनि हुन्छ, असल नेता आउन आवश्यक छ। जनताले आफूलाई के भन्दै छन् भनेर महसुस गर्ने गरी आउनुपर्छ।

लिङ्देनले भाषण गरेर लोकतन्त्रका नेतालाई लाजमर्दो बनाइदिएका छन्। उनलाई भर्खर जन्मिएको ‘बाच्छो’सँग तुलना गर्नुभन्दा हाम्रा काम कस्ता भएछन् भनेर आत्मचिन्तन गर्नु आवश्यक छ। जनता त यिनै हुन्, टाउकै पुरिने गरी माला पनि लगाइदिन्छन्, चोर पनि भन्छन्। अगाडि माला लाइदिनेभन्दा पछाडि नेता बिग्रिए भन्ने नेतालाई सुन्नु उचित होला कि?

प्रकाशित: २६ मंसिर २०७८ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App