१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

किरात धर्मगुरु आत्मानन्द जन्मोत्सव र उधौली

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्म २०११ मंसिर १८ गते शुक्रबार पुण्यप्रसाद र चन्द्रमायाको ज्येष्ठ सुपुत्रका रूपमा हालको एक नं. प्रदेशको माङ्सेबुङ–५,इलाम जिल्ला, इभाङ–५ पुछार अगौटेमा भएको हो।

मुमाको दूध नपिएका बालकलाई गाईको दूध खुवाएर बचाइएको,आमा दोस्रो पोइला गएकीले विमाता र बजु जोगमायाबाट पालनपोषण भई हुर्कनुभयो। जन्मसिद्ध मासुमंस,जाँडरक्सी सेवन नगरेका शिशुको ज्योतिषी नाम सोमबहादुर थियो।

बाल्यकलामै अर्काको आत्मा देख्ने हुनाले बजुले आत्मा आत्मे आत्मादर्शीबाट आत्मानन्द प्रख्याति हुन पुगेका बालागुरुले महागुरु फाल्गुनन्दको हुबहु गोह सूत्र अनुसन्धानबाट ज्ञानसमाधि प्राप्त गरी सिद्ध पुरुष हुन पुगी,फाल्गुनन्द सोह्रौँ राष्ट्रिय विभूति भगवानको दोस्रो अवतारले पुजयनीय हुनुहुन्छ। किरात धर्ममा अवतारलाई मुहिगुम अङसिमाङ् भनिन्छ।

मुहिगुम अङसिमाङ प्रथम – महागुरु फाल्गुनन्द अवतार!

महिगुम अङसिमाङ द्वितीय – धर्मगुरु आत्मानन्द अवतार!

किरात धर्म दर्शनमा येहाङ,लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरिजङ्गापछिका फाल्गुनन्दको मुन्धुम दर्शन पूरा गर्न आफ्नो अवतरणको मूल उद्देश्य रहेको रहस्य बताउनुभएको छ। अतः फाल्गुनन्दको स्वयं पनाति आत्मानन्द दुवै युग पुरुष एक सिक्काका दुई पाटा,किरात धर्म दर्शनका दुई अवतार सिद्ध भइसकेको छ।

ज्ञानबोधभूमि इलामको माई फुल्लुङ्गी तपोस्थलमा २०२७ साउन २५ देखि माघ २५ गतेसम्म पाँच जना चेलाका साथ गुफा साधना गरी सिद्धात्मा महाज्ञानीले ध्यान,ध्याता र ध्येय एकत्र गरी परमात्मा परमेश्वर तागेरानिङ्वाभूमाङ्को दर्शन पाई आत्मा साक्षात्कार गर्नुभएको देवात्माको स्वागत सत्कार १०८ दियो कलश बाली ध्वजापतका र सेतो कपडा १०८ मिटर बिछ्याएर माङलाङ ताक्मा प्रथम घोषणा गरिएको थियो। आधिकारिक रूपमा सम्मान पाउनुपूर्व कैयौँ पटक ज्ञानसिद्धि पाएका आत्मानन्द तत्कालीन ‘बालागुरु’ संज्ञाले सम्बोधित र गेरुवस्त्र जामाधारण गरेका ज्ञानात्माको दैविक चरित्र बाललीला शक्तिशाली थियो।

पहिलो अवतार फाल्गुनन्द ब्रह्मचार्य व्रतमा र दोस्रो अवतार सांसारिक जीवनमा आउने भविष्यवाणी अनुरूप बालागुरुले २०३२ माघ २२ गते वसन्त पञ्चमीको पुण्यतिथिमा गुरुमाता पविहाङमा साँवासँग प्रणय बन्धनमा देवविवाह सम्पन्न गरी ६ पुत्र ६ पुत्रीका माता पिता भई किरात धर्म,मुन्धुम, संस्कृति उत्थानमा आजीवन समर्पित हुनुहुन्छ।

आफ्नो र फाल्गुनन्द जन्मभूमि चुक्चिनाम्बा, ज्ञानभूमि फुल्लुङ्गी, कर्मभूमि सिलौटी – लोब्रे, तीर्थभूमि कुम्भकर्ण,भ्रमणक्रममा २/२ पटक पैदलयात्रा तीर्थभूमि र २/२ पटक हेलिकप्टर यानद्वारा हल्लेश्वर, पाथीभरा, पाङलाङ,श्रीङ्चोक, मारुङतेम्बे पारुङतेम्बे, सिन्चेलुङ फक्ताङ्लुङ माङ्फुक्कु तागेरानिङवाभुमाङ फुक्कुको देवदर्शन गरी सयौँं, हजारौँं मन्दिर तथा फाल्गुनन्द प्रतिमा स्थापना, उद्घाटन र देवभ्रमण गरी महागुरुको कर्म अक्षरश स्वरूप ज्ञानमा अवतरण गरिरहनुभएको छ।

दया,शान्ति,अहिंसा र सत्यका व्याख्याताले सत्यहाङमा संज्ञा लागि किरात धर्म ‘हाङमास्साम्यो’ नामाकरण गरी राज्यको चौंथो दर्जा किरात धर्मको स्थान रहेको राष्ट्रिय जनगणनामा छ।

पृथ्वीतलमा आवासित मानव लोककल्याणका लागि २०४९ कात्तिक २५ गते ‘विश्वशान्ति र मानव एकता’ हेतु अखण्ड बत्ति र अनन्त महाबत्ति प्रज्वल्लित गर्नु भई विश्व ब्रह्माण्डबारे भविष्यवाणी गर्नुभयो।

२०४९ माघ ३ र ४ गते २ दिनको लामो भविष्यवाणीमा भारत–पाक युद्ध, युरोपियन मुलुकहरू साथै भारत राज्य टुक्रिने,अमेरिकाको शक्ति घट्ने, महाआँधीबेहरी, महावायु, चट्याङ झर्ने, शक्तिशाली धर्महरू समाप्त हुने, भूकम्प पटक–पटक तथा महाभूकम्प आउने, सूर्यको तापक्रम बढ्ने, हिमालय पग्लेर होचिने, पेट्रोलियम पदार्थ गायब हुने,भयंकर महाअनिकाल, तेस्रो विश्वयुद्ध हुने, स्वर्गलोकबाट १५० आत्मायान पृथ्वीमा झरिसकेको र विश्वमा ५० लाखमात्र मनुष्य बाँच्ने क्रमिक महिला जनसंख्या बढ्दै जाने, पुरुष संख्या लोप हुँदै अल्पिने। अन्तत्वोगत्वा नारी मात्र भई संसार अन्त्य हुने बताउनुभएको छ।

राजा–देवता एउटै हो, देवता हिँड्ने बाटोमा राजा वा राजनेता हिँड्ने, अबको १० देखि ५० वर्षभित्र नेपालमा आमूल परिवर्तन र विश्वभर नै नयाँ नौलो दर्शन सुरु भइसक्ने बताउनु हुने मुक्तात्माले विश्वले एक दिन आफूलाई सोध्ने दिन आउने प्रतीक्षामा सेवा एवं काम गरिरहेको बताउनुहुने महात्माको भविष्यवाणी ग्रन्थ २०५७ सालमा प्रथम र २०६७ साल दोस्रो संस्करण प्रकाशित छ।

धन हुनेको धन, मन हुनेको मन र ज्ञानीहरूको ज्ञान पनि हराई विश्वमा एउटै सत्यवादी दर्शन शुभारम्भ हुने त्रिकालज्ञ आत्मानन्दको महत्व उच्च कोटीको मात्र नभएर नेपालमा एकमात्र सिद्ध पुरुष हुनुहुन्छ।

आत्मानन्द मिसन–किरात धर्म तथा साहित्य उत्थान संघ,किरात चोःल्लुङ आङसिमाङगेन्ना सेवा, गुरुआश्रम भौतिक पूर्वाधार समिति, महागुरु फाल्गुनन्द प्रतिष्ठान र किरात ज्योतिष उत्थान संघ,विश्व किरात नारी संघ आदि संस्था विद्यमान छन्।

२०५७ मा प्रथम र २०६७ मा दोस्रो पटक किरात धर्म अन्तराष्ट्रिय महासम्मेलन २/२ पटक सम्पन्न गराई ७/७ बुँदे घोषणा जारी गराई, मुन्धुम विश्वविद्यालय,विश्व धर्म दर्शनमा किरात धर्मको ज्ञान उजागर गर्न आत्मा अनात्मा–परमात्माका महाज्ञान मुन्धुम ज्ञानले, मनुष्य मोक्ष गराउने लक्ष्य बोकेका धर्मगुरु अन्तर्राष्ट्रिय गुरुदेव स्थापित हुनुभएको छ।

उहाँको व्यक्तित्वको उचित कदरस्वरूप झापा विर्तामाङ माङ्सेबुङ रोडलाई आत्मानन्द मार्ग, किरातेश्वर धाम लारुम्बामा आत्मानन्द रिङ्रोड, आत्मानन्द अस्पताल, आत्मानन्द उच्च मावि २/३ ठाउँमा आत्मानन्द मन्दिर स्थापना भएको छ।

महागुरु फाल्गुनन्दका ५०/६० साम्जिक मुन्धुम सम्पादन, प्रकाशन गर्नुभइ किरात धर्म दर्शनको रूप, स्वरूप प्रतिपादन,प्रवर्द्धन औँ सम्वर्द्धन एवं संरक्षण गर्नुभइ मानव मोक्षदाता, ज्ञानदाता, चेतनदाता र पथप्रदर्शक गुरुदेवको २०७८ मंसिर १८ गते ६८ औँ शुभ जन्मोत्सवको पुण्यतिथिमा अलौकिक सिद्धिशक्ति, महाज्ञानशक्ति, महादेवशक्ति एवं चिरायुको मंगलमय शुभकामना अगाध श्रद्धा, आस्था भक्तिपूर्वक प्रार्थना गर्छु।

सो अवसरमा किरात धर्मावलम्बीहरूको उधौली पूजा ‘मुबेक्वा चेःसोक सेवा’ किरात चाँड पर्वसँग दुई महान् चाडपर्व उत्सवको पावन दिनमा अन्न धन्न सह प्राप्तिका लागि परमात्मा परमेश्वर तागेरानिङवाभुमाङसँग प्रार्थना गर्दै थल, जल, अग्नि, वायु, आकाश शान्ति, मानव शान्ति, विश्वब्रह्माण्ड शान्तिको चाहना मनोकामना–शुभकामना,सेवारो।

(लेखक किरात धर्म संस्थापक महासचिव एवं मुन्धुमविद् हुन्।)

प्रकाशित: १७ मंसिर २०७८ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App