७ वैशाख २०८१ शुक्रबार
विचार

विषादी अवशेषको स्वास्थ्यमा असर

बोट बिरुवामा लाग्ने शत्रुजीवको व्यवस्थापनमा प्रविधिको विकास साथसाथै विभिन्न अवधारणा खासगरी दोस्रो विश्वयुद्धताकादेखि रासायनिक नियन्त्रण विधिले व्यापकता पायो। विश्वमा दु्रततर गतिमा बढिरहेको जनसंख्यालाई खुवाउने चिन्तासँगै सन् १९६० को दशकमा हरित क्रान्ति सुरु भयो। 

उत्पादन बढाउने उद्देश्यले विषादीको अन्धाधुन्ध प्रयोग भइरहेको छ। अन्य मुलुकको दाँजोमा नेपालमा प्रतिहेक्टरका आधारमा विषादी प्रयोग ज्यादै कम छ। तर खाद्यान्नको बढ्दो मागमा आपूर्तिका लागि खाद्यान्न बालीको उत्पादकत्व बढाउनुपर्ने राष्ट्रिय आवश्यकता रहेकाले विषादीको प्रयोग बढ्ने अनुमान गरिएको छ। 

विषादी प्रयोगसम्बन्धी समस्या ज्यादै गम्भीर नभएको प्रतीत हुन सक्छ तर प्रयोग हुने स्थल, बाली, मात्रा, समय र विषादी भण्डारणको अवस्था तथा बजारको गहिरिएर विश्लेषण गर्ने हो भने समस्या गम्भीर भइसकेको छ।  

जसरी रासायनिक मलले क्षणिक उत्पादन बढाए पनि अन्ततः माटोको ऊर्वरा र उत्पादनशीलता ह्रास आउँछ त्यसैगरी विषादीले बाली बिरुवाका शत्रु कीरा मात्र नष्ट नगरी उपयोगी जीव पनि विनाश गर्ने, उत्पादित वस्तु दूषित बनाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकाले त्यस्ता विषादी प्रयोगमा नल्याउनु सामाजिक कर्तव्य बनिसकेको छ।

वातावरणीय प्रदूषणको समस्या विश्वमै एक मुख्य साझा चुनौती र चिन्तनको विषयवस्तु भइसकेको सन्दर्भमा नेपाल पनि यो समस्याबाट अछूतो हुन सक्दैन। विषादी प्रयोग गर्नुपर्ने वा नपर्ने भन्ने अवस्थाको पहिचान, विषादी प्रयोगको अन्तर तथा विषादी प्रयोगपछि खान हुने समयको पर्खाइ विषयको जानकारीविना विषादी प्रयोगले स्वास्थ्यमा नकारात्मक असर हुन सक्छ।  

पछि सन् १९६२ मा प्रकाशित लेखिका रेचल कार्सनको ‘साइलेन्ट स्प्रिङ’ पुस्तकले यस्ता विषादीले वातावरण तथा मानव शरीरमा पनि घातक असरहरूबारे विस्तृत उल्लेख गरेकीले विकसित राष्ट्रहरू विषादी व्यवस्थापनप्रति चनाखो हुन थाले र विषादीको विकल्प सोचिन थालियो। 

विषादीबाट उत्पन्न हुने नकारात्मक प्रभावलाई दृष्टिगत गर्दा विषादी प्रयोगको सही दिशा आत्मसात गर्नुपर्छ। रासायनिक विषादीको प्रयोग निरन्तर गर्न नहुने कुरा कृषक वर्गलगायत हामी सबै नागरिकले बुझ्नु अति आवश्यक देखिन्छ। आखिरमा सबै किसिमका विषादी विष हुन्, ती औषधि होइनन् भन्ने उद्गार कहिल्यै पनि बिर्सनु हुँदैन। 

वनस्पतिजन्य तथा अन्य जैविक विषादीहरूको आयात तथा खपत नगण्यरूपमा भैरहेको भए पनि बाली संरक्षणमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कार्यक्रम लागु भएका ठाउँहरूमा तिनको प्रयोग बढ्दै गएको छ। 

एकीकृत शत्रुजीव व्यवस्थापनले मुख्यतः स्वस्थ बाली उब्जाऔँ, बालीको नियमित अनुगमन गरौँ, मित्रुजीवलाई जोगाऔँ र कृषकलाई दक्ष बनाऔँ जस्ता चारवटा सिद्धान्तलाई शिरोधार्य गरेर काम गर्छ। विषादीको प्रयोगमा कमी ल्याउन एकीकृत शत्रुजीव व्यवस्थापन नै एकमात्र उपाय हो ।

विषादीका अवशेष असर  

जीवनाशक विषादीहरू आवश्यकता भन्दा बढी मात्रामा प्रयोग भएको अवस्थामा विषादीको केही अंश तरकारी, फलफूल र खाद्यान्नमा रहिरहने हुन्छ। यसरी रहिरहेको जीवनाशकलाई विषादीको अवशेष भनिन्छ। अवशेष भनेको बाँकी रहेको भाग हो। 

जीवन स्वस्थ रहन खानेकुरा स्वस्थकर हुन आवश्यक छ। खानेकुरा कुनै कारणले अस्वस्थकर हुन गएमा त्यसले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्छ र कतिपय अवस्थामा ज्यानै जान सक्छ। खानेकुरा अस्वस्थ हुनुमा प्रयोग गरिएका विषादीको अवशेष पनि एक महत्वपूर्ण पक्ष हो ।

निश्चित मापदण्ड भन्दा बढी विषादीको अवशेषको मात्राले मानव स्वास्थ्यमा प्रतिकूल असर/प्रभाव पार्ने कुरामा कसैको दुई मत हुँदैन। विषादीले तत्काल गर्ने हानि त आफ्नो ठाउँमा छँदैछ, कतिपय विषादीले प्रयोग गरेको धेरै पछिसम्म पनि असर गरिरहेका हुन्छन्।

यसलाई विषको अवशेषबाट हुने असर भनिन्छ। लगाताररूपमा विषादीको प्रयोग गरिनु र प्रयोगपछि निश्चित पर्खने समयको ख्यालै नराखी तरकारी, फलफूल र खाद्य पदार्थ टिप्नाले यस्ता विषादीको अवशेष खान तयार भएका खाद्य पदार्थमा सहनशक्तिको सीमा भन्दा बढी मात्रामा हुन सक्ने सम्भावना हुन्छ। यसले मानव स्वास्थ्यमा असर पुर्‍याउने गर्छ। 

साथै पर्यावरणीय सन्तुलनमा बाधक बनेको हुन्छ। विषादीका अवशेषले मानिसमा तुरुन्तै असर नपार्ने भए पनि निरन्तर थोरै मात्रामा शरीरभित्र प्रवेश गरेमा लामो समयको अन्तरालपछि विषको सामूहिक असर देखा पर्ने गर्छ। 

विषादीका प्रकृति र वातावरणीय प्रभावअनुसार विषादीको बालीमा रहने अवशेष मात्रा एवम अवधि पनि फरक फरक हुन्छ। विषको प्रत्यक्ष वा अप्रत्यक्ष असर मानव शरीरमा पर्ने कुरा विषादीको प्रकार र यसको मात्रामा भर पर्छ। 

विषको यस्तो अवशेष पानीबाट माटोमा र माछाबाट मानिसमा सरेको हुन सक्छ वा विषादी छर्केको घाँस, दाना खाएका जनावरको मासु वा दूधबाट सरेको हुन सक्छ वा विषादीको अवशेष भएको तरकारी, फलफूल र अन्न खाएकाले भएको हुन सक्छ। यस्ता विषादी खाद्य चक्रवाट जनावर र मानिसको बोसोमा जम्मा भएपछि विखण्डित नभएर बढ्दै गई स्वास्थ्यमा असर पुर्‍याउँछ ।

विषालुपनको परीक्षणबाट कडा विषालुपन (एउटामात्र खुराकको असर) वा दीर्घ विषालुपन (धेरै ससाना खुराकको असर) लाई मापन गरिन्छ। विषादीको ठूलो एकल मात्रा कुनै पनि माध्यमबाट शरीरभित्र प्रवेश हुनु वा पटक–पटक सानो सानो मात्रा छोटो समयको अन्तरमा शरीरभित्र प्रवेश भइ विषादीको घातकता देखिन्छ वा अनुभव गरिन्छ भने त्यसलाई कडा विषालुपना भनिन्छ।

 त्यस्तै लामो समयसम्म प्रत्यक्ष/अप्रत्यक्षरूपमा विषादीको ससाना मात्रा सेवन हुन आएमा वा विषादीको अवशेषयुक्त उत्पादन (अन्न, फलफूल, तरकारी आदि) सेवन गर्दा त्यसबाट देखिने वा अनुभव गरिने नकारात्मक असर दीर्घ विषालुपनको माप हो। यस्ता प्रभाव साधारणतया कैयन् महिनादेखि १ वर्षसम्म वा त्यस भन्दा पनि बढी समयसम्म रहन सक्छ। नपखालिएको फलफूल वा तरकारी खाने गरेमा यस्ता प्रभाव देखिन्छ। विषादीको प्रकार हेरी यसको असर तीक्ष्ण वा दीर्घकालीन हुन्छ।  

धेरै मात्रामा तीक्ष्ण प्रभाव (उपचार नगरेमा) ले ज्यान जान सक्छ भने थोरै तर दीर्घकालीन प्रभावले फोक्सो, दिमाग, कलेजो, मिर्गौला, मुटु तथा अन्य अंगमा असर पार्छ। विषादीबाट छालाको रोग, श्वास/प्रश्वाससम्बन्धी रोग, स्नायु प्रणाली, प्रतिरक्षा प्रणाली, सन्तान उत्पादन प्रणालीमा प्रतिकूल प्रभावको साथसाथै यस युगकोे सबैलाई त्रसित गराउने क्यान्सर रोग बनाउनमा जिम्मेवार देखिएको छ। 

यसको असरको जटिलता व्यक्तिको शारीरिक अवस्था, यस्तो पदार्थको मात्रा र संसर्गमा आएको अवधिमा भर पर्छ। यसको असर लामो समयपछि हुने भएकाले सर्वसाधारण व्यक्तिलाई बुझाउन पनि निकै कठिन हुन्छ तर यस्ता विषादीको प्रयोगमा सतर्कता अपनाउनुपर्छ। 

अवशेषबारे समाजमा पर्याप्त चेतना छैन। यसको असर न्यून गर्नको निमित्त प्रयोग गरेको विषादी कत्तिको हानिकारक छ र सोबाट कसरी बच्न सकिन्छ भन्ने पूर्ण जानकारी राख्नु र सोहीअनुरूपको सुरक्षित विधि अवलम्बन गर्नुपर्छ।  

पर्खने अवधि

विषादी छरिसकेपछि बाली काट्ने/टिप्ने/भाँच्ने/बेच्न लैजाने कार्य सुरु गर्नुपूर्व पर्खनुपर्ने समयको अनिवार्य पालना गर्नुपर्छ। अन्य बालीमा भन्दा तरकारी बालीमा विषादीको प्रयोग सबै भन्दा बढी गरिएको छ र यसको प्रचलन बढ्दो छ। 

तरकारी बाली रोपिसकेर छोटो समयमा नै खाइनु, केही तरकारी काँचै खाइनु लगाताररूपमा तरकारी टिप्न लायक हुनु र उत्पादित तरकारीको सञ्चय धेरै छोटो समयसम्म मात्र गर्न सकिने प्रकृतिको भएकाले यसमा विषादीको अवशेष बढी रहन्छ। 

यस्तो तरकारी उपयोग गरेमा सोझै मानव स्वास्थ्यमा असर पुग्ने हुँदा तरकारी बालीमा विषादीको प्रयोग अति संवेदनशील बन्न पुगेको छ। तरकारी टिप्ने समय भएका तरकारी बालीमा यस्ता विषादी प्रयोग गर्नुहुंँदैन। विषादी प्रयोग गरिएको छ भने यस्ता तरकारीलाई केही दिनपछि टिप्नुपर्छ। यस्तै विषादी प्रयोग गर्नुपरेमा कम समयसम्म असर रहने वर्गभित्र पर्ने विषादी प्रयोग गर्नुपर्छ ।

वैज्ञानिकहरूका विचारमा कुनै वयस्क व्यक्तिलाई नोक्सानी नहुने गरी दैनिक खुवाउन सकिने विषादीको मात्रालाई स्वीकार्य दैनिक विषादी मात्रा भनिन्छ। बालीमा रहने यही स्वीकार्य दैनिक मात्रालाई अधिकतम अवशेष सीमा भनिन्छ। 

यस दैनिक सेवन गर्न सकिने स्वीकारयोग्य परिमाणलाई उपयोग गरी प्रत्येक बालीमा विषादीको अधिकतम अवशेष सीमा, कति रहनुपर्ने हो सो निर्धारण गर्न सकिनेछ। विषादीको यही अधिकतम मात्रा नै बाली काट्ने समयमा उपयोगका लागि स्वीकृत गरिन्छ। विषादीको अवशेषलाई यस अधिकतम अवशेष सीमा भन्दा मुनि राख्नका लागि रोक्का अवधि कायम गरिन्छ। जसबाट बाली काट्नु भन्दा पहिले कति समयसम्म उपचार गरिएको बालीलाई त्यसै छाड्नुपर्ने हो, सो बताइन्छ।  

राज्य/सरकारको जिम्मेवारी  

काठमाडौँको कालीमाटी, झापाको काँकडभित्ता, सर्लाहीको नवलपुर, कास्कीको पोखरा, कैलालीको अत्तरिया, बाँकेको नेपालगन्ज र रूपन्देहीको बुटवलमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाबाट तरकारी र फलफूलमा विषादी विशेषतः आर्गानोफोस्फेटस र कार्बामेटसमा पर्ने विषादी अवशेषको परीक्षण हुँदै आएको देखिन्छ। 

कृषि उपजको निर्यात प्रवद्र्धनका लागि विषादी अवशेष विश्लेषण गर्ने प्रमाणीकृत प्रयोगशाला स्थापना गर्न चुनौतीपूर्ण छ। विषादी प्रयोग एक सार्वजनिक चासो र सरोकारको विषय हो। विनापरीक्षण कुनै पनि तरकारी र फलफूल भित्रन र बेचबिखन गर्न दिन हुँदैन। 

हरेक निकायले आफ्नो जिम्मेवारी पूरा गरेर मात्रै आयात र बेचबिखन गरौँ। परिवर्तित समयमा विषादी अवशेषको समसामयिक चुनौती र समस्यालाई मध्यनजर राख्दा मौजुदा जनशक्तिको दक्षता अभिवृद्धि र परिचालन, प्रयोगशालाहरूको क्षमता अभिवृद्धि र अन्य पूर्वाधार क्षमता सुधार एवं सुदृढीकरण गर्नुपर्ने देखिन्छ। 

जीवनाशक विषादी ऐन र नियमावलीबमोजिम सूचित भएकामध्येमा विशेषतः तरकारी र फलफूल बालीमा अत्यधिक मात्रामा प्रयोग हुने विषादीको अधिकतम अवशेष सीमा राज्य सरकारले चाँडो भन्दा चाँडो निर्धारण गर्नुपर्छ। हामीसँग यसका लागि प्रविधि र ज्ञान पनि छ। कुनै पनि विषयको सम्भावना र समस्या पहिल्याउनु समाधानको पहिलो खुट्किलो हो।  

(कन्सल्ट्यान्ट, युनिभर्सिटी अफ एडिनवर्ग, युके )

प्रकाशित: ४ कार्तिक २०७८ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App