६ कार्तिक २०७८ शनिबार
विचार

त्यस्तो नहोस्

इतिहासकार बाबुराम आचार्यले ‘फेरि यस्तो कहिल्यै नहोस्’ भन्ने पुस्तक लेखेका छन्। जसमा नेपालमा भएका ठूलाठूला राजनीतिक दुर्घटना, हत्या र षडयन्त्रका कथाहरूको माला बुनिएको छ। नराम्रा घटना नदोहोरिउन् भन्ने सबैको चाहना हुन्छ। तर समयमै विवेक पुगेन भने त्यस्ता घटना दोहोरिन्छन्। नेपालमा पनि पटक–पटक दुर्भाग्यपूर्ण घटना दोहोरिएका पाइन्छ।  

नेपालमा बीस हजारभन्दा धेरै विदेशी शरणार्थी रहेका युएनएचसीआर जस्ता सराकोरवालाको अध्ययनले देखाएको छ। तिब्बती मात्र झण्डै चौध हजार छन् भनिन्छ। यस्तै भुटानी, रोहिन्जा (बर्मेली), इराकी, बंगलादेशीलगायत कैयन् देशका नागरिक शरणागत भएर नेपालमा बसिरहेका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

भनिन्छ, मूर्खले आफैँ भोगेर चेत्छ। विवेकशीलले अरूबाट शिक्षा लिन्छ। कहिले पनि पराजित नभएको नेपालका जनता शरणार्थी बनेर आजसम्म परदेशी हुनुपरेको छैन। त्यस्तो नहोस् पनि। यति हुँदाहुँदै पनि शुभकामना मात्र पर्याप्त हुँदैन।  

मन, वचन र कर्मले राष्ट्रलाई बलियो बनाउन सकिएन भने एकदिन हामी पनि शरणार्थी बन्ने निश्चित छ। किनभने यस्तो धेरै देशमा भएको देखिन्छ। अफगानिस्तान पनि कहिल्यै पराधीन भएको थिएन। तर लाखौँ जनता शरणार्थी भए।  

दक्षिण अमेरिका, अफ्रिका र एसियाका कैयन् मुलुकमा शरणार्थीको संख्या बढ्दैछ। हालै सम्पन्न संयुक्त राष्ट्र संघको महासभामा समेत यस्ता विषयमा विभिन्न देशका प्रतिनिधिले चर्चा गरे। उनीहरूको निचोड थियो, शरणार्थी समस्या राजनीतिक अस्थिरता, बाह्य षडयन्त्र तथा आर्थिक विषमताबाट पैदा हुन्छ।  

भुटानीहरूले ‘ल्होत्साम्पा’ भन्ने गरेका तल्लो र समथर भागमा बस्ने नेपाली मूलका जनता नेपालबाट शरण खोज्दै गएका होइनन्। भुटानका शासकले गोरखाका राजालाई पत्राचार गरेपछि राजा रामशाहले गोरखाका सयौँ जनतालाई हिमालपारिको बाटो हुँदै भुटान पठाएको इतिहासविद्हरूको मत छ। यस्तै मेची नदीपारि दार्जिलिङ जिल्लामा बस्नेहरू नेपालबाट गएका शरणार्थी होइनन्।

नेपाली सेनाद्वारा प्रकाशित केही पुस्तक र दस्तावेजमा हाल भारतको दार्जिलिङ जिल्लामा पर्ने ‘नागरी’ भन्ने ठाउँमा राजा पृथ्वीनारायण शाहले ब्यारेक (छाउनी) राखेका थिए भनिएको छ। सो ब्यारेकलाई पछि करफोक (इलाम) मा सारियो। कालान्तरमा इलाम बजारको उत्तरतिरको गढीमा सेनाको ब्यारेक राखियो।

‘इलाम–चारखोल’ दश लिम्वूवानमध्ये एक थियो भनेका छन् गवेषक इमानसिंह चेम्जोङले। (स्रोत : किरात इतिहास)। युद्धप्रसाद वैद्य (इलाम) को तर्क छ– पृथ्वीनारायण शाहले वि।सं। १९३१ मा इलाम जितेका थिए। ऊबेला तमोरदेखि टिस्टासम्म ‘इलाम’ थियो।  

तसर्थ टिस्टा नदी पश्चिममा पर्ने दार्जिलिङका बासिन्दा शरणार्थी होइनन्। सुगौली सन्धिपहिलेको नेपालका जनता थिए उनीहरू। सन्धिपछि उनीहरू अंग्रेजका जनता र भारत स्वतन्त्र भएपछि कानुन तः भारतीय भए।

महाकालीपारि पर्ने कुमाउ र गढवालभन्दा पर सतलज नदीसम्म नेपाल थियो। सुगौली सन्धिअघि नै कालापानी (हाल दार्चुला) नेपालको भूभाग भनेर स्वीकार गरिएको गोप्य दस्तावेज फेला परेको बिबिसीले तीन वर्षपहिले नै प्रशारण गरेको थियो।

सुगौली सन्धिका बेला भारतमा लन्डनबाट पठाइएका महाप्रशासक (गभर्नर जनरल) लर्ड मोइराले ब्रिटेनको दरवारमा पठाएको गोप्य दस्तावेजमा कालापानी नेपालकै हो भनिएको छ।  

हाल सो क्षेत्रमा सयौँ भारतीय सैनिकले परेड खेलिरहेका छन् तर नेपालका उच्चपदस्थहरू चिया चिसो भए जति पनि दुःख मानिरहेका छैनन्। भारत रिसाउँदा जागिर धरापमा पर्छ भन्ने भयाक्रान्त दास मनोविज्ञानले उनीहरूले शिर झुकाइरहेका देखिन्छ।

‘पेपर्स रेस्पेक्टिङ द नेपाल वार’ ग्रन्थ साक्षी छ– अंग्रेज शासकले समेत कालापानी नेपालकै हो भनेका छन्। काठमाडौँका शासकले यथेष्ट प्रमाण जुटाएर दिल्लीसँग आँखा जुधाएर ‘कालापानी हाम्रो हो, तिम्रा सैनिक फिर्ता लैजाऊ’ भन्न किन सक्दैनन् रु किनभने ठूला दलका कैयन् ‘ठूला’ नेता र कतिपय उच्च अधिकारी भारतबाटै पालिएका छन्।  

महाकाली नदीको मुहान कहाँ छ भन्ने टुंगो नलगाउँदै महाकाली सन्धि पारित गर्न हतारिए नेपालका नेताहरू। तर पच्चीस–छब्बीस वर्षपछि पनि त्यो राष्ट्रघाती सन्धिको घाउ दुखिरहेको छ। कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न सरकार डराएको छ। सरकारी अधिकृतहरू भन्छन्– त्यहाँ भारतीय सैनिक बसेको छ, कसरी जाने रु

उसो भए मध्यरातमा भारतका आठरदश हजार सैनिकले राजधानी काठमाडौँ घेरे भने आत्मसमर्पण गर्ने रु झन्डै दुई हजार किलोमिटर खुला सिमानाबाट भारतीय सैनिक नेपाल पसे भने हामी नेपाली पनि आजदेखि ‘पूर्व नेपाली’ भयौँ भनेर हात उठाउने रु दार्चुलामा बसेका भारतीय सेनाले नेपालको राष्ट्रिय स्वाभिमान, साहस र सौर्यको परीक्षा लिइरहेका देखिन्छ।

यता काठमाडौँ मस्त निदाएको छ। भारतीय सेनाले के त्यसरी चीन वा पाकिस्तानमा गएर परेड खेल्ने साहस गर्छ रु अवश्य गर्दैन। तसर्थ हामी लाचार, लाछी, पामर, नामर्द र हुतिहारा नै हौँ। हामी वीरका सन्तान हौँ भनेर गीत गाउनु पनि अब बेकार छ।

नेपाल जस्ता अन्य छिमेकीप्रति पनि भारतले सदाशय देखाइरहेको छैन भनेर दक्षिण एसियाका धेरै कूटनीतिज्ञ, लेखक, पत्रकार र विश्लेषकले टिप्पणी गर्दै आएका छन्। भारतको कुटिल नीतिलाई लिएर दक्षिण एसियाका धेरै लेखकले कैयन् पुस्तक र हजारौँ लेख लेखेका छन्।  

त्यस्ता पुस्तकमा भारत दक्षिण एसियाको सबै भन्दा ठूलो खलनायक भएको चित्रण गरिएको छ। नेपालमा २०४७ र २०६३ पछि भारतले देखाएको व्यवहार हेर्दा ऊ नेपालको छिमेकीमात्र हो, मित्र होइन भन्ने धेरेको विश्लेषण छ।

पाकिस्तान र भारत एकअर्कालाई स्थायी दुश्मन ठान्छन्। प्रोफेसर रोहण गुणरत्नेले आफ्ना पुस्तकमा श्रीलंका विभाजित गर्न भारतले धेरै कर्तुत गरेको खुलासा गरेका छन्। सार्कलाई माटोमा मिलाएर दक्षिण एसियाको ‘लिडर स्टेट’ बन्न खोज्ने भारतले बिमस्टेक नामको छुट्टै संगठन बनायो।  

सोही संगठनको छातामा संयुक्त सैनिक अभ्यास पनि गरायो। तर नेपालले भाग नलिएर हामी भारतको सैनिक गुटमा छैनौँ भन्ने सन्देश दियो। भारतको आकार ठूलो भए पनि छाति सानो छ भन्ने उदाहरण धेरै छन्।

‘नेबरहुड फस्ट’ (पहिले छिमेकी) भन्ने भारत सरकारको नीति व्यवहारमा ठ्याक्कै उल्टो देखिन्छ। छिमेकीलाई सताउने, थिचोमिचो गर्ने र पाएसम्म हेपिरहने नीतिलाई कसरी नेभरहुड फस्ट मान्ने भन्ने प्रश्न गर्दै भारतीय लेखकहरूले समेत यस्तो व्यवहारमा परिवर्तन नआए दक्षिण एसियामा भारतले शत्रु बढाउँदै जाने र त्यसको फाइदा चीनले लिन सक्ने विश्लेषणसमेत गरेका छन्।

नेपाललगायतको चार आना जग्गा पाए पनि मिच्ने नीति हेर्दा छिमेकीको माटो क्वाप्प पार्ने र घुटुक्क निल्ने नीति देखिन्छ भारतको। यसैलाई ‘नेबरहुड फस्ट’ भनिएको हो भने यस्तो नीति भारतका लागि प्रत्युत्पादक सावित हुन सक्छ। गाउँ वा टोलमा पनि कसैले दादागिरी गरिरह्यो भने सबै मिलेर दोक्च्याउने गर्छन्। एकदिन भारतले पनि त्यस्तो नियति भोग्नु नपर्ला भन्न सकिँदैन।

नेपाल, बंगलादेश, श्रीलंका, मालदिभ्स, भुटान सबैको ‘हेडसर’ हुन खोज्ने भारतले लिएको नीतिका कारण छिमेकीहरू ऊसँग टाढिँदै गएका छन्। ती सबैको त्रास छ, भारतले आफ्ना राष्ट्रका लाखौँ जनतालाई आपसमा जुधाएर सबैलाई शरणार्थी बनाउने प्रपञ्च रचिरहेको छ। त्यसैले छिमेकीहरू अहिले पनि कामना गर्छन्–त्यस्तो नहोस्।

प्रकाशित: २२ आश्विन २०७८ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App