६ कार्तिक २०७८ शनिबार
विचार

शिक्षा :नयाँ प्रविधि र सिपको खाँचो

पेसागत शिक्षाको धारणामा शिक्षककेन्द्रित शिक्षा प्रणाली हो तर आज विद्यार्थीकेन्द्रित शिक्षा प्रणालीमा आधारित छ। सिक्ने/सिकाउने प्रक्रियाका लागि पनि बालकेन्द्रित शिक्षा पद्धति उपयुक्त ठहर्छ। प्रविधिको विकाससँगै हरबालबालिकाको प्रवृत्तिमा पनि सुधार र परिवर्तन आइरहेको पाइन्छ। 

आज बालबालिका शिक्षक, पाठ्यपुस्तक, पाठ्यक्रम वा कक्षाकोठा विद्यालयको परिवेशसँगै आफू खुसी स्मार्टफोन, ल्यापटप, सेलफोन, अनलाइन, शिक्षा आदिका माध्यमबाट धेरै कुरा सिकिरहेका छन्। कक्षाकोठामा पढाउन जाने शिक्षकभन्दा पनि कतिपय विषयमा विद्यार्थी बढी जानकार हुन सक्छन्।

यसर्थ शिक्षकले कक्षाकोठामा जाँदा विद्यार्थीलाई कम आकलन गर्नु हुँदैन। शिक्षकले कक्षाकोठामा जाँदा नयाँ ज्ञान र ऊर्जासहित विद्यार्थीप्रति हँसिलो चेहरामा जानु आवश्यक हुन्छ। कक्षाकोठामा विद्यार्थीको ध्यान केन्द्रित गर्न नयाँ नयाँ विधि विषय छनोट गर्न सक्ने शिक्षकबाट नै गुणस्तरीय शिक्षा प्रत्याभूत हुन सक्छ।

आजको मुख्य समस्या गुणस्तरीय शिक्षाको हो। हिजो शिक्षाको पहुँच सबै ठाउँमा पुग्नुपर्छ भन्ने मान्यताका आधारमा टोल–टोल, गाउँ–गाउँमा विद्यालय प्रशस्त स्थापना गरिँदै आयो। यी विद्यालयमा स्तरीय शिक्षाको अभाव नै खड्कियो। अनि गुणस्तरीय शिक्षाको खोजीमा अभिभावक सरकारी विद्यालयभन्दा निजी विद्यालयका खोजीमा लाग्न थाले। 

सरकारी ठूला धनराशिमा स्थापित गाउँघर शहरका सार्वजनिक विद्यालयमा विद्यार्थी संख्या घट्दै आए। कतिपय सरकारी विद्यालय छन् त्यहाँ न्यनूतम पूर्वाधार छ, शिक्षक छन् तर विद्यार्थी छैनन्।

शैक्षिक नीतिका हिसाबले राजनीतिक परिवर्तनसँगै शिक्षा नीति तय हुनुपर्ने, त्यो भएन। शिक्षाका समस्या समाधानका लागि पहिले त राष्ट्रिय शिक्षा नीति चाहियो। पूर्ववर्ती सरकारहरूले पनि राष्ट्रिय शिक्षा नीति निर्माण तय गर्नेसम्बन्धी थुप्रै गृहकार्य गरे तर तार्किक निष्कर्षमा पुग्ने काम भएन। 

विकासका लागि शिक्षाको अवधारणालाई आत्मसात गरी राष्ट्रको यथार्थसँग गाँसेर प्राप्त स्रोत र साधनलाई उपयोग गर्न सक्ने जनशक्ति निर्माण गर्ने शिक्षा नै आजको चाहना हो। सक्षम अनुशासित दायित्वप्रति जिम्मेवार नागरिक शिक्षाले नै उत्पादन गर्ने हो। देशको चाहनाअनुसारको आवश्यक जनशक्ति पूर्ति होस् र अन्तर्राष्ट्रिय बाजारमा समेत हाम्रो जनशक्ति प्रतिस्पर्धी भई खडा हुन सकून्। यस्तै किसिमको शिक्षाको अपेक्षा राज्यले गरेको हो।

शिक्षामा लगानी बढेर गएको देखिए तापनि पहुँच विस्तार र गुणस्तरमा सुधार गर्ने दृष्टिकोणले हेर्दा यो अपुग ठहर्छ। अहिलेसम्म सरकार शिक्षण संस्थाहरूलाई प्रदान गरेको रकममध्ये अधिकांश रकम तलबभत्तामा नै खर्च हुन्छ।

 सरकारले शिक्षामा लगाएको लगानीको ठूलो हिस्सा सामुदायिक विद्यालयको तलबभत्तामै जान्छ। तर लगानीअनुरूप प्रतिफल हासिल नभएको समाजमा गुनासो बढी छ। लगानीको प्रतिकूल सुनिश्चित गर्न कार्यान्वयन तहदेखि सुधार आउनुपर्छ। देशभित्रै रोजगारी सुनिश्चित गर्न प्राविधिक शिक्षामा लगानी बढाउनुपर्छ। देशको दिगो विकासका लागि विदेशी निर्भरता घटाउँदै लग्नुपर्छ। 

अझै कुनै क्षेत्रमा दक्ष प्राविधिक चाहिएमा विदेशीको मुख ताक्ने चलन छ। यहाँ भने कैयौँ देशभित्रका युवाहरू विदेश रोजगारका लागि जान बाध्य छन्। निम्न स्तरको अदक्ष, अर्धदक्ष जनशक्तिका आडमा विदेश जान्छन् अनि कैयौँ विदेशमै क्षमताभन्दा बोझिलो कामले गर्दा हृदयघातलगायत अन्य रोग लागेर मर्ने गरेका छन्। 

यहाँका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर पनि विदेशमा काम पाइरहेका छैनन्। यस्ता हरसवालमा राज्यको ध्यान जानुपर्छ। किनभने राज्य सबै देशबासीको अभिभावक हो। सम्पूर्ण नागरिकको जिम्मेवारी लिन सक्नुपर्छ।

प्राविधिक, व्यावसायिक र व्यावहारिक शिक्षा राज्यले व्यवस्था गर्न सके विश्वको कुनै पनि भूभागमा गएर काम गर्दा आत्मसम्मानका साथ काम गर्न सक्ने हुन्छ। हाम्रा कतिपय युवा कामको खोजीमा खाडी मुलुकलगायत अन्य कैयौँ मुलुकतर्फ भौतारिरहेका छन्। 

कतिपय १२ कक्षा पूरा गरिगएका छन्। कतिपय मुलुकमा स्नातक, स्नातकोत्तर उत्तीर्ण गरेर गएका छन्। तर हाम्रा विश्वविद्यालयबाट उत्तीर्ण सर्टिफिकेटले काम दिएको छैन। ती मुलकमा हाम्रा युवा जनशक्तिको श्रम वा सिप मात्र उपयोग हुन्छ। 

उपर्युक्त सबैखाले हाम्रा जनशक्ति अर्धदक्ष वा अदक्ष कामदारका रूपमा त्यहाँ छन्। हामीकहाँ प्राविधिक र व्यावसायिक शिक्षाको कमीका कारणले गर्दा पनि हाम्रा विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्व बजारमा समुचित ढंगले उपयोग हुन नसकेको अनुमान गर्न सकिन्छ।

आजको विश्वव्यापीकरणको युगमा देशलाई विश्वसामु चिनाउने आधार भनेको शिक्षा हो। यही यथार्थलााई स्वीकार गरेर विकसित मुलुकहरूले आफ्नो विकासको गतिलाई तीव्रता दिन सकेका हुन। यी मुलुकले कम्प्युटर, रोबोट, एआइ जस्ता प्रविधि निर्माण गरिसके।

यी प्रविधिले मानिसभन्दा धेरै गुणा प्रभावकारी र सूचनामूलक बन्दै आएका छन्। यसले पछिका दिनहरूमा जसरी औद्योगिक युगको आरम्भसँगै मानिसले हातले गर्ने काम मेसिनले गर्न थालेपछि धेरै मानिसको काम खोसियो। त्यस्तै अब आउने दिनमा रोबोट, एआइ, कम्प्युटर आदिको प्रयोग हुने हुँदा मानिसले गर्ने काम यिनका माध्यमबाट हुनेछ। यसबाट झन ठूलो संख्यामा बेरोजगार बढ्ने अनुमान गर्न सकिन्छ।

कम्प्युटर, मोबाइल, रोबोट एआइलगायतका माध्यमबाट संसारका कार्य चल्ने हुँदा परीक्षामा बढी अंक ल्याएको विद्यार्थीभन्दा कम्प्युटरको  महत्त्व जाग्नेछ। शिक्षक पनि एक पटक पास भएर योग्य सावित  हुँदैमा सधैँका लागि योग्य ठहर्दैन। 

उसले जीवनभर सिकिरहनुपर्छ, अध्ययनको दायरा बढाउँदै जानुपर्छ। आज जानेका कुरा भोलि पुरानो भैसकेको हुन्छ। यसर्थ नयाँ नयाँ ज्ञान र सिपका लागि शिक्षक र विद्यार्थी दुवैले नयाँ नयाँ ज्ञान र सिर्जनाहरू सिकिरहनु जरुरी छ। पुरानो शैली र ढाँचाका परम्परागत पद्धतिमा नवीनतम सिप र ज्ञानले परिमार्जित गर्दै लग्नुपर्ने हुन्छ। 

आधुनिकताका नाममा समाजको मौलिकता लोप हुनुभएन। हाम्रो संस्कृति र स्वदेशीपनको रक्षार्थ हरेक बालबालिकालाई आफ्नो देशको इतिहास, भूगोल, संस्कृति, स्ंस्कार र शास्त्रीय ज्ञानसमेत भल्कने पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण हुनु जरुरी छ। 

शिक्षाले नै समाजको संस्कृति, संस्कार र समाजको मूल्य/मान्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम गर्नुपर्छ। साथै व्यावसायिक सिप र आयआर्जनको बाटो देखाउने काम पनि शिक्षाकै हो।

प्रकाशित: २० आश्विन २०७८ ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App