५ आश्विन २०८१ शनिबार
image/svg+xml
विचार

विकासको मोडल सिक्ने कि?

एक दशकअघि विषम परिस्थितिमा गुजरात राज्यको मुख्य मन्त्री पद सम्हालेका नरेन्द्र दामोदर मोदी अहिले भारतका प्रधान मन्त्री छन्। गुजरातमा गरेको विकास र प्रगतिले उनी आधुनिक भारतका १४ औं प्रधान मन्त्री बन्न सफल भएका हुन्। दुई महिनाअघि प्रधान मन्त्री पदको सपथ लिएका मोदी आइतबार नेपाल उत्रे।उनी आएपछि नेपाली राजनीतिमा एउटा छुट्टै तरंग उत्पन्न भएको छ। साथै शंका पनि। यसअघि भारत पुगेर नदीनाला उपयोगमा भारतलाई आधिपत्य सुम्पिँदै आएका नेपाली नेताहरु एकलव्य स्वभावका प्रधान मन्त्री सुशील कोइरालाले पनि त्यसरी मोदीको आगमनमा सुम्पिने हुन् कि भन्ने शंकामा छन्। भारतीय प्रधान मन्त्री मोदी पक्कै पनि यहाँ आएर असमान सन्धि, सम्झौता गरेर आफ्नो फक्रिँदो छवि पक्कै बिगार्न चाहन्नन्। वंश विरासतको राजनीतिका कटु आलोचक मोदीलाई नेपालको शासन व्यवस्थामा अस्थिरता उत्पन्न गराएर पक्कै पनि दिल्लीबाट निर्देशन गरिरहने चाह पक्कै छैन। 
उनले आफ्नो देशमा चुनावी सभाका बेला प्रतिपक्षीलाई सवक सिकाउँदै भन्ने गरेको एउटा टुक्का स्मरण गर्नु सान्दर्भिक हुनेछ– “दिन र लिन पनि ५६ इन्चको फराकिलो छाती चाहिन्छ।” (देने के लिए और लिने के लिए भी ५६ इन्चका सिना चाहिए )। उनीबाट उपहारको आशा पनि राख्ने र आगमनमा शंका गर्ने प्रवृत्ति दरिद्र चिन्तनको उपज हो भन्न सकिन्छ। केही पाउँदा केही गुन लगाउन सकियो भने उनले भन्ने गरेजस्तै 'आँखामा आँखा जुधाएर पडोसीसँग समवन्ध स्थापित गर्न सकिन्छ।' यदि एकतर्फीरूपमा अञ्जुलीमात्र पसारियो भने त्यसले स्वाभिमान हैन, स्तुति गाउन बाध्य बनाउँछ भन्ने कुराको हेक्का राख्न आवश्यक छ। 
मोदी नेतृत्वको सरकारले गुजरातको विकासमा पुर्या्एको योगदानले भारतमा विकासको मोडल नै 'मोदी मोडल' स्थापित भइसकको छ। जुन तथ्य मोदी भ्रमणको पूर्वसन्ध्यामा दिल्ली पुगेका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापाले व्यक्त पनि गरिसकेका छन्। मोदीको कार्यकुशलतालाई गुजराती जनताले विकाससँग तुलना गरेर गर्व गर्छन्। गुजरातको विकासमा मोदीको योगदानलाई अवमूल्यन गर्न सक्ने आधार छैन्। त्यो मोडल यतिखेर सिंगो भारतमा स्थापित गर्ने तयारीमा उनी छन्। आफूले स्थापित गरेको विकासको मोडल भारतमा सफल हुनेबित्तिकै छिमेकी देशहरुमा निर्यात गर्ने महत्वाकांक्षा उनमा देखिन्छ। त्यही महत्वाकांक्षालाई साकार पार्ने योजनामा रहेका मोदी त्यसको पृष्ठभूमि तयार गर्न 'पडोसी देश' सँगको सम्बन्ध नयाँ शिराबाट विस्तार गर्न लालायित छन्। 
उनले गुजरातको विकासमा सामाजिक सुरक्षा विषयका अतिरिक्त आर्थिक उन्नतिलाई पनि उत्तिकै जोड दिए। एक दशकको अन्तरमा गुजराती जनताको आय वृद्धि गर्न मोदी नेतृत्वको सरकार सफल सावित भयो। गुजरातलाई १६ सय किलोमिटर समुद्री किनारले घेरेको छ। समुद्री किनारलाई उपयोग गर्दै पर्यटन विकासका कार्यक्रममा हौसला प्रदान गरेर मोदी नेतृत्वको सरकार सर्वसाधरणको आय आर्जन वृद्धि गर्न सफल रह्यो। पर्यटन विकासका अतिरिक्त उनले कृषि उत्पादनलाई जोड दिए। कृषक परिवारलाई आत्मनिर्भर बनाउन योजना ल्याएर पहल गरे। गुजरातको राजधानी अहमदवाद सहरबाट बग्ने सावरमती नदी सफाइको अभियान, सरदार बल्लभभाइ पटेर सरदार सिँचाई नहर निर्माण आदि। गुजरातको मुख्य कृषि उत्पादन कपास हो। 'फाइभ एफ' को सूत्र बनाएर कपास उत्पादनलाई प्रोत्साहन गरे। 'फार्म टु फाइबर, फाइबर टु फैब्रिक, फैब्रिक टु फेसन, फेसन टु फरेन' र 'फाइभ टी' ट्रेडिसन, टुरिज्म, ट्रेड, टेक्नोलोजी भन्ने विकासको नारालाई अघि सारेर सार्थक परिणाम ल्याउन सरकार सफल रह्यो। 
सन् २०१३ मा दिल्लीको एक कार्यक्रममा बौल्दै आफ्नो विकास अवधारणा विस्तार गर्दैं 'मेरो विकास नीति सिंगल पिलरमा हैन्। मैले सुरु गरेको विकास नीति तीनखम्बे (वान थर्ड पिलर) हो' भनेका थिए। उनले कृषि, उद्योग र सर्भिस सेक्टरलाई प्राथमिकतामा राखेर गुजरातको विकास सुरु गरेको स्थलगत अध्ययनबाट जानकारी हुन्छ। मोदी साँच्चै आधुनिक गुजरातका निर्माणकर्ता हुन्। यही तथ्यलाई आत्मसाथ गरेर गुजरातको विकासमा जस्तै नेपालको विकासका लागि पनि भारतीय प्रम मोदीले आफ्नो कार्यकालमा योगदान गरिदिनेछन् भन्ने नेपाली जनताको अपेक्षा अनुचित हुने छैन।

प्रकाशित: १८ श्रावण २०७१ २०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App