१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

सन्दर्भ विश्व अहिंसात्मक दिवस: सामाजिक आन्दोलन र ग्रामीण अर्थतन्त्र

अक्टोबर, २ लाई विश्व अहिंसात्मक दिवसका रूपमा मनाइने गरिन्छ। भारतका अहिंसावादी नेता महात्मा गान्धीको जन्म दिनको अवसर पारेर सन् २००७ देखि हरेक वर्ष यो दिनलाई अहिंसात्मक दिवसका रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले पारित गरेको हो।  

विश्व मानव इतिहास हिंसा र द्वन्द्वका कैयन् घटनाक्रमहरू सामना गर्दै यहाँसम्म आइपुगेको छ। ‘जीत’ को चाहना हरेक मानिसमा छ। जीत, सुखी, सम्पन्न र वैभवको चाहनाले विभिन्नखालका युद्ध र द्वन्द्व सिर्जना हुने गरेका छन् तर यसबाट ठूलो क्षति हुने गरेको हामी देख्छौँ। सुन्छौँ।  

अहिले पनि विश्वका विभिन्न स्थानमा यस्ताखालका हिंसात्मक द्वन्द्वका घटना भइरहेका छन्। हरेक कुराको प्राप्ति र जीतका लागि द्वन्द्व नै विकल्प त होइन यद्यपि मानिस यसैतर्फ बढी लागेका देखिन्छ।  द्वन्द्व, युद्ध राम्रो पक्ष होइन किनकि यसले धेरै जनधनको क्षति गर्छ। यसले मानवीय क्षतिमात्र नभइ आर्थिक अवस्थासमेत कमजोर बनाउँछ। यस कारण द्वन्द्व र युद्धबाट हुने क्षतिहरूलाई न्यूनीकरण गर्न र मानव अस्तित्व संरक्षण गर्न अहिंसात्मक सामाजिक आन्दोलन र अहिंसात्मक आर्थिक क्रियाकलाप एउटा विकल्प हुन सक्छ। र यो आवश्यक पनि छ।  

मानिसले अहिंसात्मकतवरबाट गरिने कार्यबाट पनि जीत सम्भव छ। यस विषयमा बहस, छलफ, संवादहरू हुनु जरुरी छ। मानिसलाई अहिंसाको बाटोबाट परिवर्तनका लागि सामाजिक आन्दोलनका गतिविधिहरूमा लाग्न उत्प्रेरित गर्नु जरुरी छ। अहिंसात्मक मार्गले मानिसलाई मानव हुनुको अस्तित्व बोध गराउन पनि मद्दत गर्छ भन्ने जागृत गराउनु जरुरी छ। यसले सोच्ने क्षमता विकास गराउँछ।  

यस धर्तीमा एक पटक जन्म लिने हरेक मानिसलाई पूरा आयु बाँच्ने हक छ। मानिसबीच एकअर्कामा भाइचाराको भावना जागृत गराउन जरुरी छ। हामी देखिरहेका छौँ, नेपालमा पनि विभिन्नखालका हिंसात्मक घटना भए र भइरहेका छन्। आन्दोलन र विरोधका कार्यक्रम हुँदा हिंसात्मक घटना हुन्छन्। कुनै माग राख्दा हिंसात्मक आन्दोलन नै हुनुपर्छ भन्ने जरुरी छैन। यसका लागि विभिन्नखालका अहिंसात्मक बाटा पनि हुन्छन्। विकल्प प्रशस्त हुन्छन्, त्यसतर्फ पनि बहस, छलफल केन्द्रित हुन जरुरी छ। हामी देख्न सक्छौँ, यस्ता हिंसात्मक घटना हुुनु, द्वन्द्वहरू हुने विभिन्न कारण हुन्छन्। 

समाजमा हुने असमानता, गरिबी, फरक जीवन यापन, जीवनशैली, फरक व्यवहार जस्ता कारणले समानताको चाहना अर्थात त्यस भन्दा पनि माथि पुग्ने मानिसका चाहनाले विभिन्न द्वन्द्व हुने गरेका छन्।  नेपालकै परिवेशमा कुरा गर्ने हो भने पनि विगतमा नेकपा माओवादीले १० वर्षे ‘जनयुद्ध’ ग¥यो। त्यस अवधिमा कैयौँ मानिसको अकालमै ज्यान गयो। कैयौँ अङ्गभङ्ग हुन पुगे। साथसाथै राज्यमा ठूलो जनधनको क्षति भयो। मधेस आन्दोलन, विभिन्न राजनीतिक आन्दोलन आदिमा हिंसात्मक घटना हुने गरेका छन्। यस्ता घटनाले वास्तवमा भन्ने हो भने मानिसले पूरापूर बाँच्न पाउने हक खोसिरहेको छ। मानिसले पूरा आयु बाँच्न पाउनु उसको प्राकृतिक अधिकार हुन्छ, यस्ता गतिविधिले त्यो नष्ट गरिदिन्छ र अकालमै कैयौँ ज्यान जान्छ। 

यस्ता घटना बढ्दैछन्। यो विडम्बना हो। यस्ता हिंसात्मक घटना÷परिघटनाबाट हुने क्षति न्यूनीकरण गर्नका लागि अहिंसात्मक सामाजिक आन्दोलनहरू एउटा राम्रो अर्थात उत्तम विकल्प हुन सक्छ। नेपालको अहिलेको अर्थव्यवस्था समावेशीखालको छैन। गरिबमुखी छैन। किसानमुखी छैन। शोषणकारी छ। दमनकारी छ। एउटालाई शोषण गरेर अर्काे धनी हुनेखालको छ। जमिनको शोषण, प्राकृतिक स्रोतको दोहन र शोषण गर्नेखालको बाटोमा छ।  

आज विश्वले गान्धीलाई शान्ति र अहिंसाको प्रतीक मान्छ। अहिंसावादी नेता गान्धी पिँधमा रहेका मानिसको आर्थिक सशक्तीकरण नभएसम्म परिवर्तन सम्भव नहुने कुरा गर्नुहुन्थ्यो। जो व्यक्ति पिँधमा छ उसलाई ध्यान दिनुपर्छ र उसलाई माथि उठाउनुपर्छ। भन्नुहुन्थ्यो– पिँधमा रहेका मानिसको जीवनमा जबसम्म परिवर्तन आउँदैन तबसम्म आर्थिक समृद्धि सम्भव हुँदैन। त्यतिबेला उहाँले देखेका सपना र अहिलेको अवस्था उस्तै छ।

हामीकहाँ मात्र होइन, यतिबेला संसारकै अर्थव्यवस्थाले अहिले धनीलाई मात्र फाइदा पुगिरहेको छ। समीक्षा गरौँ त, अहिले धनीको स्थान कहाँ छ र गरिबको स्थान कहाँ छ ? अधिकांश मानिस गरिबीमा बाँचिरहेका छन्। भोकमरीमा छन्। खानाले एक पेट भर्न गाह्रो छ। घर बनाउने जमिन छैन। आङ ढाक्ने कपडा छैन। गरिखाने जमिन छैन। छोराछोरी पढाउन, कापी कलम किन्ने पैसा छैन। रोग लाग्दा उपचार गर्ने पैसा छैन। राज्यको नीति र कार्यक्रम गरिबलाई उन्मुक्ति दिने भन्दा पनि धनीलाई झन् झन् धनी बनाउँदै लानेखालको छ। राज्य स्रोतमा गरिबको पहुँच छैन।  

अहिलेको विकासले धनीलाई नै छोएको छ। हुनेसँग अथाह छ। नहुनेसँग शून्य। विकासका मोडल गरिबकेन्द्रित हुन सकेनन्। प्रसिद्ध राजनीतिज्ञ काल्र्स माक्र्सले भनेझैँ समाजमा हुने र नहुनेबीचको खाडल अहिले पनि ठूलो छ। जनताले विभिन्न नाममा कर तिर्छन्। तर के सरकारले कर तिर्ने जनताको समस्या समाधानमा ध्यान दिएको छ त ? उनीहरूलाई गरिबका समस्याबारे जानकारी छ त ? यो पेचिलो प्रश्न छ, अहिले पनि। त्यसैगरी हामीकहाँ, भूमिहीनता बढ्दो छ। मानिसका आवश्यकता दिनदिनै बढ्दैछ। त्यसलाई परिपूर्ति गर्ने सामथ्र्य मानिससँग छैन।

कृषियोग्य जग्गा धनीहरूकै कब्जामा छ। धेरै जमिन धनी मानिसको कब्जामा हुने हो भने किसानले के काम गर्ने ? के खाने ? यस विषयमा कतै छलफल र बहस हुन सकेको छैन। राजधानीका ठूला ठूला ठाउँमा हुने छलफल, सेमिनार र गोष्ठीले गाउँमा बस्ने किसानको समस्या समाधान गर्न सक्ला र ? गरिबका लागि जल, जङ्गल, जमिन ‘जीवन’ हो। तर यिनै साधनबाट उनीहरू वञ्चित हुँदैछन्।  

नेपालका ३ करोडमध्ये २ करोड भन्दा बढी जनसङ्ख्या गाउँमा बसोबास गर्छन्। गाउँलाई सहरप्रति निर्भर बनाइँदैछ। मानिस सहरोन्मुख भइरहेका छन्। आवश्यकताले मानिसलाई बाध्यता पनि बनाइरहेको छ। गाउँमा रोजगारीका अवसर सिर्जना हुन सकिरहेको छैन। सिपअनुसारको काम नपाउने स्थिति छ। सिप छ, श्रम छ। गाउँमा संशाधन छन्। तर यो चलायमान हुन सकिरहेको छैन। त्यसलाई चलायमान बनाउने अर्थनीति नेपालमा छैन। भएका उद्योग त रुग्ण नै भइसके।

नेपाली समाज अहिले पनि शोषणकारी छ। विभेदकारी छ। यो पनि हिंसाको एउटा पाटो हो। कसैलाई कुट्दैमा, क्षति पु¥याउँदा मात्र हिंसा हुने होइन, शोषण, दमन र विभेद हुनु पनि हिंसा हो। सदियौँदेखि चल्दै आएको जातीय शोषणाका घटना अहिले पनि समाजमा छ। गरिब, मजदूर र भूमिहीनमाथि अन्याय र शोषण जारी छ। यस्तो कार्य जबसम्म रोकिँदैन, तबसम्म समृद्धि सम्भव छैन। यस्तो कार्य अन्त्यका लागि अहिंसात्मक सामाजिक आन्दोलन जरुरी भएको हो।  

अहिले गाउँगाउँमा आफ्नो उत्पादन भन्दा पनि बाहिरबाट आयातित सामानले बढी ठाउँ ओगटेका छन्। स्थानीय उत्पादन कम र भए पनि कम प्राथमिकतामा पर्ने गरेका छन्। पहिले–पहिले गाउँघरमा जुनखालको अर्म÷पर्मको चलन थियो, जुन सहकार्य थियो, त्यो अहिले छैन। भए पनि ज्यादै थोरै छ। हिजोको दिनमा एकअर्काप्रति गरिने जुन सम्मान थियो, त्यो घटेको छ।

समुदायकै नेतृत्वमा अर्थतन्त्रको विकास गाउँमा कसरी हुन सक्छ भन्ने विषयमा अव बसहमा ल्याउनुपर्छ। स्थानीय अर्थतन्त्र, स्थानीय श्रम, स्थानीय सिपलाई सम्मान र उचित उपयोगको विषयमा पर्याप्त छलफल र बहसहरू हुनु जरुरी छ। आफ्नो गाउँको नमुना विकास गर्ने प्रशस्त अवसरहरू अहिले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशस्त छ।  

हामीले अहिंसात्मक अर्थतन्त्रको मोडल तयार गर्न, अभ्यास गर्नका लागि गाउँ–गाउँमा यो अभ्यास गर्न जरुरी छ। त्यसका लागि पहिला भूमि सुधारको कार्यक्रम जरुरी छ। त्यसपछि क्रमशः मानिसका अन्य आवश्यकता परिपूर्तितर्फ राज्यका निकायले ध्यान दिनुपर्छ।  

समृद्ध नेपाल र सुखी नेपालीका लागि मुख्य आधार भनेको ग्रामीण अर्थतन्त्रको विकासले मात्र दिन सक्छ। राजधानीमा बसेर वा सहरमा बसेर ग्रामीण अर्थतन्त्रको विकास हुन सक्दैन। त्यसका लागि ग्रामीण सहभागितामा नै नीति तथा रणनीति र योजनाहरू बन्नुपर्छ। गाउँमा कसरी अहिंसात्मक अर्थतन्त्रको विकास गर्न सकिन्छ भनेर मानिसलाई बुझाउन सामाजिक अभियानहरू हुनु जरुरी छ।  

आजको समयमा हाम्रो अर्थव्यवस्था, हाम्रो शैक्षिक व्यवस्था, हाम्रो राजनीतिक, सांस्कृतिक र सामाजिक व्यवस्था बदल्न जरुरी छ। त्यसका लागि अहिंसात्मक सामाजिक आन्दोलन गतिलोसँग उठ्नुपर्छ। यस विषयमा बहसहरू बढाउदै लानुपर्छ। 

प्रकाशित: १७ आश्विन २०७८ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App