९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

पितृ श्राद्ध पक्ष

आफ्ना स्वर्गीय पितृको स्मरणमा श्रद्धापूर्वक गरिने पितृ पूजा, तर्पण र पिण्ड चढाएर हार्दिक श्रद्धासुमन अर्पण गर्ने कार्य श्राद्ध हो। श्राद्ध वर्षको दुईपटक गरिन्छ। एउटा आफ्ना पितृको स्वर्गारोहण तिथि र अर्को सोह्र श्राद्धमा। पितृको स्वर्गारोहणको दिन या तिथिको श्राद्धलाई एकोदृष्टि भनिन्छ। एउटा मात्र पितृको स्मरणमा गरिने श्राद्ध, जसमा आफ्ना आमा, बुवा, पत्नी या पतिका तिथिमा गरिने श्राद्ध एकोदृष्टि श्राद्ध हो। यो श्राद्धमा एउटा मात्र पिण्ड दिइन्छ। तर्पण भने तीन पुस्ताका लागि पनि दिइन्छ। शास्त्र तथा कुलको संस्कार, प्रचलन र आचरण अनुसार पितृहरूले आफ्नो सेवा पाऊन् भन्ने उद्देश्यले श्रद्धापूर्वक गरिने पितृपूजा कर्म श्राद्ध हो। भाद्र शुक्ल चतुर्दशीपछि सोह्र श्राद्ध प्रारम्भ हुन्छ। यो चतुर्दशीलाई अनन्त चतुर्दशी पनि भनिन्छ। अहिले आश्विन महिनाको कृष्ण पक्ष अर्थात् सोह्र श्राद्ध पक्ष चलिरहेको छ।

आफ्ना स्वर्गीय बाबुबाजेहरू, दिवंगत भएका आफ्ना पुर्खा, पूर्वज जो अशरीर रूपमा पितृलोकमा निवासी भएका छन्, उनीहरूलाई नै हाम्रो सनातन संस्कारले पितृको संज्ञा दिएको छ। मृत्युपछि गर्ने संस्कारलाई व्यंग्य गर्दै जीवित हुँदा पनि आफ्ना आमाबा, पति, पत्नीलाई प्रेम र श्रद्धा दिनुपर्छ भन्ने भावले जिउँदा पितृ पनि भन्ने गरिन्छ। धर्मशास्त्र अनुसार जन्मजात तीन ऋण (देव ऋण, गुरु ऋण र पितृ ऋण)मध्ये, पितृ ऋण तिर्ने माध्यम श्राद्धलाई मानिन्छ। हिन्दू धर्मशास्त्र अनुसार तीन पुस्तापछिका पितृहरू देवत्वमा परिणत हुन्छन् भनिन्छ। श्राद्धमा तीन पुस्ता भित्रका माता, मातामहीहरूलाई पनि पिण्ड दिने गरिन्छ। मावलीतर्फका तीन पुस्ता, ससुरालीतर्फ ससुरा सासू, फुपूहरू र गुरु, गुरुआमालाई समेत तर्पण दिइन्छ। पारिवारिक सुमधुर सम्बन्ध र श्रद्धाको पाटोलाई यो कार्यले एकपटक स्मरण गराउँछ।  

युवाको दृष्टिमा श्राद्धः आजका युवाले यसको मर्मलाई गहन रूपमा बुझेका छैनन् र हामीले बुझाउन पनि सकेका छैनौँ। तर्पण के हो ? पिण्ड कसरी बन्छ ? पितृका लागि गरिने यज्ञ के हो ? यसलाई नबुझाईकन भोलि घरमा श्राद्ध छ, चोखो खानुपर्छ, शुद्ध हुनुपर्छ, माछामासु नखानु भनेर मात्र उनीहरूले नबुझ्ने अवस्था छ। श्राद्धमा पितृका नाममा छोरा, भतिजा वा नातिद्वारा चढाइने गाईको दूधमा चामल राखेर पकाएको साह्रो खीरमा केरा, घिउ, मह र कालो तिल राखेर बटारिएको डल्लोलाई पिण्ड भनिन्छ। यही पिण्ड दिएर, पूजा गरेर पितृहरूलाई जल चढाई तर्पण दिने कार्य श्राद्ध या पितृ कार्य हो भनेर बुझाउँदै गर्दा छोरीले भन्न भ्याइन्, ‘ए पिण्ड त झन्डै खीरको ठूलो लड्डु पो रहेछ।’

भोलि श्राद्ध छ, तिमीहरू समयमै घर आउनु नि भन्ने प्रश्नको जवाफमा छोराले भने– भन्ने बेलामा परिवारसँगै बसेर खाना, पितृ प्रसाद ग्रहण गर्नुपर्छ, पितृको आशीष लिनुपर्छ भनिएको हुन्छ। तर, हामीले सुन्दा त बाहरू श्राद्धको विधि गर्दा पनि बोल्ने, अरू कुराहरू गर्ने र भान्छामा आमाहरू पनि अरूकै कुरा गरेर बसेको देख्छु त ! पितृ कार्यलाई महत्व दिनुभन्दा पनि परिवारजन भेटेपछि अरूका कुरा गर्ने बहाना जस्तो बुझिन्छ। अनि, त्यसमा चाहिँ हामीलाई उपस्थित हुनैपर्छ भनेर जिद्घी गर्ने ?  

सामाजिक हुनुपर्छ, आफ्नो परिवारजनसँग भेटघाट र आफ्नो संस्कारलाई बुझ्ने मौका पनि हो नि। मैले बुझाउन नपाउँदै छोराको जवाफ आयो– सामाजिक हुने भनेको जसलाई भेट्दा आनन्द आउँछ, खुसी लाग्छ, अनि आफ्ना कुरा निर्धक्कले सुनाउन र अरूका मनका कुरा सुन्न पाइन्छ, रमाइलोको अनुभूति हुन्छ, त्यसलाई सामाजिक हुने भनिन्छ। श्राद्धमा भेट भयो, ठूलाबडाले सोध्छन् परीक्षामा कति अंक ल्याइस् ? पढेर कस्तो जागिर खाने हो ? खोइ हामीलाई श्राद्धको बारेमा बुझाएको ? मैले बुझे अनुसार त पितृले हामीलाई श्राद्धमा मात्र होइन सधैं आशीष दिनुहुन्छ। हाम्रो परिवारको समृद्धिमा उहाँहरूको योगदान र आशीषको बारेमा अरू बेला पनि कुराहरू सुन्ने र सुनाउने गर्नुपर्छ। हाम्रा पितृको सामाजिक योगदान, उहाँहरूको सफलताको कथा, उहाँहरूको संघर्ष हामीले थाहा पायौं भने पो हामीलाई उत्प्रेरणा मिल्छ। छोराको कुराले गम्भीर बनायो, हामी सोच्छौँ उनीहरू हाम्रो कुरा बुझ्दैनन् तर हाम्रो उद्देश्य अभिभावक भएर आफ्ना कुरा बुझाउने र आफूले भने अनुसार उनीहरूले बुझ्नुपर्छ भने मात्र होइन युवाको परिभाषा र अनुभवलाई पनि हामीले बुझ्ने कोसिस गर्नुपर्ने देखिन्छ। अन्यथा यो पुस्तान्तर अरू बढ्दै जानेछ।  

छोरी वर्जित !: पितृपूजा गर्न छोराहरूले कपाल मुण्डन गरी नुहाइधुवाइ गरेर अघिल्लो दिन एक छाक चोखो खाएर बस्छन् र भोलिपल्ट श्राद्धको दिनमा पण्डित निमन्त्रणा गरेर आफू कर्ता बसी पण्डितद्वारा श्राद्ध विधि अनुसार श्राद्ध गरिन्छ। यो दिन पितृका भान्जा, नाति, नातिनालाई टीका लगाई दान दक्षिणा गरी स्वादिष्ट मिष्ठान्न भोजन गरायो भने पितृ खुसी हुन्छन्। पितृले मोक्ष पाउँछन् भन्ने धारणा छ। त्यस्तै पण्डितलाई दान दक्षिणा र भोजन गराई तृप्त पार्दा पितृको उद्धार हुन्छ भन्ने परम्परा छ। छोरा भएर पितृको उद्धारका लागि पितृ कर्म गर्छ भने ऊ पितृ ऋणबाट मुक्त हुन्छ। उसले पितृबाट पाएको सम्पत्तिको सदुपयोग गर्न पाउँछ। ऊ पितृ भक्त कहलाउँछ। पितृका नाममा कुनै कर्म नगर्ने, पिण्डदान पनि गर्दैन भने ऊ पितृद्रोही हुन्छ। ऊ पितृ ऋणबाट कहिल्यै मुक्त हुँदैन। भगवान् खुसी भएर असल वरदान दिएका छन् भने पनि पितृ ऊसँग खुसी हुँदैनन् र देवताले आशीष र वरदान दिए पनि पितृले हरण गर्छन् भन्ने शास्त्रोक्ति छ। यति भन्न नपाउँदै छोरी अघि सरिन् अनि हजुरहरू पनि यही कुरामा विश्वास गर्नुहुन्छ ? छोरीका लागि पितृ र उनीहरूको आशीष जरुरी हुन्न ? छोरा नहुने पितृले अरूका भान्जा र पण्डित खोजेर कार्य गराउन लगाउने अनि छोरीको भूमिका नहुने ? धर्मशास्त्रले नै भनेको छ त– ‘पितृ देवो भवः मातृ देवो भवः।’ यसको अर्थ पिता र माता देवता समान हुन् भनिएको छ। अनि माता त छोरी होइनन् र ? जुन पिता माताले हामीलाई जन्म दिए, हुर्काए, पालनपोषण र शिक्षा दिलाए उनीहरूको सेवा गर्नु सन्तति सन्तानहरूको कर्तव्य हो भनिन्छ। छोरी आमा भएर मृत्युपछि मात्र मातृदेवो कहलाउने हो र ? जुन छोराछोरी पितृ, मातृ, गुरु र देशभक्त छन् उनीहरूको सदैव कल्याण हुन्छ। उनीहरूको भक्तिको सर्वत्र प्रशंसा हुन्छ। जुन सन्तान माता, पिता, गुरु र देश भक्त छैनन्। उनीहरूको व्यक्तिगत कल्याण हुँदैन। समाजमा अपहेलित र तिरष्कृत भएर बाँच्नुपर्छ पनि भनिन्छ, तर विधि र संस्कारमा छोरीको नाम आउँदैन त ? श्राद्धको व्यावहारिक पक्षलाई ख्याल राख्दै यो संस्कार र आफ्ना पितृप्रतिको श्रद्धाभाव कायम रहोस् भन्ने चाहने हो भने हाम्रा छोराछोरीलाई पनि यसमा सामेल गराउने र कुरा बुझाउने अनि व्यावहारिकतामा ढाल्ने प्रयास गर्नुपर्ने देखिन्छ। अन्यथा श्राद्धको संस्कार बिरालो बाँधेझैँ हुनेछ। अर्को पुस्ताले यो संस्कार बिर्सनेछन्।  

मृत्युपछि श्राद्ध, जीवित छँदा पाखण्ड : अहिले पनि समाजमा यस्ता व्यक्ति भेटिन्छन्, जसले जीवित आफ्ना मान्यजनप्रति कुनै सत्कारको भाव राख्दैनन्। वृद्धाश्रमको उदाहरणबाट प्रस्ट हुन्छ, जिउँदा पितृको सेवा नगर्ने र मृत्युपछि पनि काजकिरिया र पिण्ड तर्पण नगर्नेको संख्या बढ्दै गएको पाइन्छ। त्यसैले भन्ने गर्छन् नि, ‘जिउँदा पितृलाई माड छैन, मरेका पितृलाई खीर।’ कति सन्तानले त आफ्ना वृद्ध आमाबाको सेवा गर्नु त कता हो कता, उनीहरूको सारा सम्पत्ति आफ्नो नाममा बनाएर बाआमालाई स्याहारसुसार नगरी वृद्धाश्रममा पठाएका धेरै उदाहरण भेटिन्छन्। कतिले त सँगै घरमा राखे पनि असल व्यवहार नगर्ने, आदर नगर्ने, वृद्धावस्थामा मानसिक यातना दिने गरेको समेत समाचार आउँछन्। कतिले जीवनभर वृद्धाश्रम राख्ने, भाइभाइमा कसले पाल्ने भन्ने होडबाजी र सम्पत्तिका लागि मुद्दा लडिरहेका हुन्छन्। अनि, मृत्युपछिको काजकिरिया र पिण्डदान धुमधामले गरेका हुन्छन्। जीवनभर आमाबा के खानुहुन्छ, के मनपर्छ नसोध्नेले श्राद्धको एक दिन पण्डितलाई सन्तोषजनक भोजन खुवाउने र दानदक्षिणा दिएर समाजलाई देखाउने प्रयत्न पनि गरेका हुन्छन्। असल कर्मको फल यही जीवनमै प्राप्त हुन्छ र सुन्दर जीवनशैली नै स्वर्ग बन्छ। कर्म असत्य गर्ने अनि मृत्युपछि स्वर्ग पुग्ने अभिलाषा कति व्यावहारिक होला ? जीवनमा स्वर्गीय आनन्द प्राप्त गर्न आफ्ना रिपुहरूप्रति सजग हुने र आफ्नो कर्म अनि सम्बन्धलाई सम्यक् र सुखद राख्न सके पुग्छ। सुखद बनाउन धेरै कारण चाहिन्न, जे छ त्यसलाई सम्मान गरे पुग्छ। दुःखी बन्न र बनाउनका लागि त प्रशस्तै कारण खोज्न सकिन्छ। सुख व्यक्तिको स्वभाव हो भने दुःख आर्जन।  

त्यसैले हरेक कर्म, विधि, संस्कार र प्रचलनले हाम्रो जीवनमा सकारात्मक रूपान्तरण ल्याउन सकेको छ वा छैन ख्याल गरिनुपर्छ। व्यवहार सही भए मात्र कर्मकाण्डले पनि खुसी देला अन्यथा यो पाखण्ड नै बनिरहन्छ। संस्कारलाई निरन्तरता दिने प्रयाससँगै आफ्नो सुसंस्कार पनि विकसित हुँदै जानु जरुरी हुन्छ। हाम्रो संस्कार र व्यवहारको प्रभाव आजैबाट हामीले आफ्ना सन्तानलाई पनि बोध गराउन सक्यौं भने पुस्तान्तरलाई पनि कम गर्न सकिएला कि ?

प्रकाशित: १० आश्विन २०७८ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App