३० आश्विन २०७८ शनिबार
विचार

महामारी सम्बोधनको वैकल्पिक योजना

महामारीका लागि उपयुक्त समय हुँदैन, तर कोरोना भाइरसले विश्वलाई सबैभन्दा खराब क्षणमा आक्रमण गरेको छ। भाइरस आक्रमण अघिको एक दशकमा चीन झन् बढी अधिनायकवादी तथा मुखर बनेको छ।

यो अवधिमा अमेरिका, भारत र ब्राजिलमा राष्ट्रवादी तथा लोकरिझ्याइँ गर्ने सरकार शक्तिमा आसीन रहे भने चीन र अमेरिका बीचको भूराजनीतिक मात्र होइन, पश्चिमा राष्ट्र बीच आपसी तनाव बढेको छ। यसले वस्तुनिष्ठ सत्यको धारणालाई प्रश्न उठाउनुपर्ने स्थितिको सिर्जना भएको छ।

महामारीका बेला हिलो छ्यापाछ्याप गर्न कति उपयुक्त होला, तर नेताबीच एकापसमा वार्तालाप हुन नसक्दा विश्वव्यापी सहयोग र सहकार्य लगभग सम्पूर्ण रूपमा टुटेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको दबाबमा झुकेको देखिएको छ भने अमेरिकाका लागि डब्लुएचओलाई आक्रमण गर्ने  निहुँ मिलेको छ। यो अवधिमा भएका केही राम्रा पक्ष ओझेलमा परेका छन्।  

महामारीको अझै अन्त्य भएको छैन र विज्ञले विश्व समुदाय एक हुन, डब्लुएचओलाई सुधार गर्न तथा भविष्यमा आइपर्न सक्ने महामारीका लागि तयार रहन सुझाव दिएका छन्। पछिल्लो डेढ वर्षमा देखिएको ज्वलन्त सवाल भनेकोे टुटफुटको अवस्थामा हामीले कसरी काम गर्न सक्छौँ भन्ने हो। सन् २०२० ले सिकाएको सबैभन्दा महत्त्वपूर्ण पाठ भनेको ठूलो तनावबीच विश्वव्यापी समस्यालाई सम्बोधन गर्न हामीसँग उचित योजना आवश्यक हुन्छ भन्ने हो। 

कोभिड– १९ यति विघ्न महँगो र पीडादायी रोग थिएन। सन् २००२–२००३ मा चीनमा फैलिएको तथा सुरुमा लुकाउन खोजेको सार्स महामारी यता चीनले आफ्नो सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यापक गर्न ठूलो लगानी  गर्‍यो। 

यो अवधिमा चीनले रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)लाई सशक्त गर्नुका साथै नयाँ तथ्यांक प्रणालीको विकास गर्‍यो भने अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यलाई अगाडि बढायो। तर, महामारी सुरु हुनुअघि चीनले यो प्रतिबद्धता कार्यान्वयनमा अरूचि देखाउन थालिसकेको थियो। 

बेइजिङमा रहेका अमेरिकी दूतावासका वरिष्ठ अधिकारीका अनुसार कोभिड– १९ सुरु हुनु केही वर्ष अघिदेखि चीनले जनस्वास्थ्यका विषयमा अन्तर्राष्ट्रिय समुदायसँग रहेको सहकार्य तोडिसकेको थियो। दूतावासका स्वास्थ्य अधिकारीले चीन सरकारसँग एच–७ एन–९ नामक बर्डफ्लुको नमुना जानकारी मागेका थिए। भविष्यमा आइपर्ने माहमारीका लागि यो नमुनाको अध्ययन जरुरी भए पनि उक्त अनुरोधको चीनले सुनुवाइ गरेन। 

यसबाहेक अर्काे एक संकेत त्यतिबेलै देखिएको थियो। त्यो के हो भने, अमेरिका र चीनको सम्बन्धको ४०औँ वर्षिकोत्सवका अवसरमा सन् २०१९ मा जनस्वास्थ्यलाई केन्द्रमा राखेर एक कार्यक्रमको आयोजना गरिएको थियो। तर अतिथिवक्ताका रूपमा निम्त्याइएका चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अधिकारीले कार्यक्रमको एक दिनअघि आफू सहभागी नहुने जानकारी दिएका थिए। त्यो घटनाले भविष्यमा आउन सक्ने संकटलाई इंगित गरेको थियो।

जब चीनमा कोरोना महामारीको सुरुवात भयो, त्यतिबेला सार्स महामारीपछि गरिएका सुधार कमजोर भइसकेका थिए। चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र प्रमुखले सामाजिक सञ्जालमार्फत भाइरसबारे जानकारी पाएका थिए। बेइजिङमा रहेका अमेरिकी जनस्वास्थ्य अधिकारीले सूचना प्रवाहको स्थिति अत्यन्त कमजोर रहेको देखेका थिए। 

केही समालोचकले चीनका क्षेत्रीय अधिकारीले बेइजिङलाई खराब समाचार दिन अरूचि देखाएको मान्छन्। तर राष्ट्रपति सी चिनफिङले यो मामलालाई आफ्नो नियन्त्रणमा लिएपछि महामारीको विषय झन् धेरै गुणा अस्पष्ट बन्न पुगेको थियो। भाइरसको आनुवांशिक सिक्वेन्सबारे जानकारी नदिने चिनियाँ सरकारको निर्देशन हुँदाहुँदै पनि एक चिनियाँ वैज्ञानिकले त्यसलाई सार्वजनिक गरेका थिए।

यतिबेला बाँकी संसारले चीनलाई नजिकबाट हेरिरहेको थियो। विश्वव्यापी जनस्वास्थ्यका विषयमा चीनमा भएको सुधार तथा सहकार्यले नतिजा दिनुपर्नेमा यो प्रयास असफल बनिसकेको थियो। देशभित्र भाइरसको प्रसारलाई रोक्न सफल भएपछि चीनले आफ्नो विदेश नीतिलाई बढी स्विकारात्मक पार्न, हङकङमा प्रदर्शन रोक्न, भाइरसको उत्पत्तिका बारेमा थप अध्ययन हुनुपर्ने अस्ट्रेलियाको मागप्रति आक्रामक हुन, भारतसँगको सीमा क्षेत्रमा झडपमा उत्रन तथा विश्वव्यापी रूपमा ब्याँसोजस्तो लडाकुको रूपमा प्रस्तुत हुने कूटनीतिलाई जोड दिएको थियो।

महामारीले चीनलाई आफ्नो शक्ति तथा सामथ्र्यलाई सुनिश्चित गर्ने अवसर दिएको छ। महामारीमा सबै राष्ट्र एक ठाउँमा उभिनुपर्नेमा त्यसो हुन सकेन। पश्चिमा राष्ट्रले समयमै उपयुक्त रणनीति नलिँदा चीन आफ्नै हिसाबले अगाडि बढ्न पुग्यो।

त्यसो त, अमेरिकाका सहयोगी राष्ट्र तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैदेशिक नीति सही हिसाबले अगाडि नबढाउने आशंका गरेका थिए। ट्रम्पको एक्लै हिँड्न चाहने राष्ट्रवादले उनीहरू चिन्तित थिए। ट्रम्पका सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार म्याथ्यु पोटिङगर र अन्यले जनवरी २९ मा चीनसँग आंशिक हिसाबले यात्रा प्रतिबन्ध लगाउन अनुरोध त गरे, त्यसपछि आउन सक्ने संकटबारे सही जानकारी दिन सकेनन्। 

ट्रम्पका वरिष्ठ सहयोगीले बजार व्यवस्थालाई असर गर्ने काम नगर्न सुझाए। उनीहरूले ‘पर्ख र हेर’को रणनीति अवलम्बन गर्न सुझाएका थिए। यहीबीच राष्ट्रपति सीले सबै कुरा नियन्त्रणभित्रै रहेको भनेर राष्ट्रपति ट्रम्पलाई आश्वस्त पारेका थिए।

अर्काेतिर त्यति बेला युरोपको आत्मतुष्टि झन् खराब देखिएको थियो। २०२० जनवरीको मध्यतिर ‘युरोपियन कमिसन’ अन्तर्गतको ‘हेल्थ सेक्युरिटी कमिटी’ले सम्भावित संकटबारे सम्मेलन गरेको थियो, तर सदस्य राष्ट्रमध्ये आधालाई मात्र बोलाइएको थियो। 

जनवरी ३० मा रोममा दुई चिनियाँ यात्रुमा कोभिड– १९ संक्रमण देखिएपछि इटाली सरकारले युरोपियन युनियनको स्वास्थ्यमन्त्रीको आपतकालीन बैठक गर्न खोजेको थियो। तर, यो बैठक दुई सातापछि मात्र आयोजना हुन सकेको थियो। 

फेब्रुअरीको मध्यमा युरोपियन युनियनका वैदैशिक नीति प्रमुख जोसेफ बोरेलले वाशिङ्टनको भ्रमण गरेका थिए, तर महामारीको विषयमा कुनै छलफल भएन।विशेष गरी हर्ड इम्युनिटीमार्फत भाइरस नियन्त्रण हुने बेलायतको तर्कप्रति अमेरिकी सरकारले आश्चर्य प्रकट गरेको थियो।

मार्चको मध्यसम्म आइपुग्दा बजार तहसनहस हुने क्रममा थियो। युरोप तथा युरोपियनका राष्ट्र भाइरसको प्रसारण रोक्न सीमा बन्द गर्ने तथा औषधोपचार सामग्रीको जोहो गर्न प्रतिस्पर्धामा उत्रने काम गरेका थिए। भाइरस नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन नगरे लाखौँको मृत्यु हुने चेतावनी ट्रम्पका सल्लाहकारले दिएका थिए। 

पूर्ण लकडाउनको पक्षमा नरहेका ट्रम्पले त्यही कारणले मार्च ११ मा अर्थतन्त्रलाई तीन सातासम्म बन्द गर्न अनुमति दिएका थिए। तर, भाइरसको बाँध टुटिसकेको थियो र राष्ट्रिय संकट आसन्न बनिसकेको थियो। चीनले सबै ठीकठाक छ भनेर आश्वस्त पारेर महामारीजस्तो गम्भीर विषयमा छक्याएको ट्रम्पले आफ्ना सहयोगीलाई बताएका थिए।

सन् २०२० को सुरुमा चीनलाई अमेरिकाले हेर्ने दुई दृष्टिकोण थिए। अर्थतन्त्र तथा व्यापारको दृष्टिले चीनसँग एक प्रकारको प्रतिद्वन्द्विता थियो भने अर्काेतिर भूराजनीतिक संघर्ष थियो। महामारीअघि ट्रम्प पहिलो दृष्टिकोणका हिमायती थिए। तर मार्चपछि उनले आफ्नो धारणा परिवर्तन गरेका थिए। 

त्यसपछिको १० महिनामा पछिल्ला तीन वर्षसम्म नगरिएका प्रतिबन्ध तथा नियामक व्यवस्था कार्यान्वयन गर्न तथा सहयोगी राष्ट्रसँगको सहकार्य अगाडि बढाउन ट्रम्प सक्रिय बनेका थिए। ट्रम्पको कार्यकाल समाप्त भएपछि पनि जो बाइडेनको प्रशासनले पनि त्यही रणनीतिलाई अख्तियार गरेको छ र चीनसँगको रणनीतिक प्रतिस्पर्धालाई महत्व दिएको छ। यही बेला युरोपियन राष्ट्रको चीनप्रतिको रबैया पनि कडा बनेको छ।

यही आलोकबाट हेर्दा महामारीलाई ट्रम्प प्रशासनले सांकेतिक रूपमा चीनको बढ्दो चुनौती मानेको थियो। अमेरिकाका विदेशमन्त्री कोभिड– १९ लाई ‘चिनियाँ भाइरस’ भनेर उल्लेख गर्न अस्वीकार गरेकामा जी–७ समूहका अन्य सदस्यको आलोचना गरेका थिए। जी–७ समूहका पाँच राष्ट्रले यो प्रस्तावप्रति समर्थन गरे पनि जर्मनीले अस्वीकार गरेको थियो। जर्मन चान्सलर एन्जेला मर्केलले एक टेलिफोन वार्ताका क्रममा तत्कालीन राष्ट्रपति ट्रम्प रिसाएर अकस्मात फोन राखेका थिए। त्यसपछि यी दुई नेताबीच बोलचाल नै बन्द भएको थियो।

यसैगरी डब्लुएचओको चीनप्रतिको रबैयाप्रति अमेरिका र उसका सहयोगीबीच एकमत हुन सकेन। सार्स महामारीका बेला विश्व समुदायसँग सहकार्य गर्न अनिच्छुक चीनसँग डब्लुएचओले गोप्य हिसाबले काम गरेको थियो। कोरोनालाई अन्तर्राष्ट्रिय रूपमा आपतकाल भनेर घोषणा गर्न ढिलाइ गर्न चिनियाँ अधिकारीले डब्लुएचओसँग पैरवी समेत गरेका थिए। चीनले महामारीका विषयमा के गरिरहेको छ भनेर डब्लुएचओ महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले प्रस्ट पार्नुपर्ने अमेरिकाको माग थियो।

महामारीका कारण अर्थतन्त्र ठप्प भएपछि चीनको आलोचनामा उत्रेका ट्रम्पले डब्लुएचओको आलोचना गर्न थालिसकेका थिए। उनले डब्लुएचओलाई अमेरिकाले दिने सहयोग समेत रोक्न आदेश दिएका थिए। यसैगरी सन् २०२१ को सुरुमा कोरोना भाइरसको उत्पत्तिका विषयमा डब्लुएचओले गरेको अध्ययन नतिजा पनि विवादास्पद बनेको थियो। 

अनुसन्धान टोलीका प्रमुख पेटर बेन इम्बारेकले प्रयोगशालाबाट भाइरस बाहिरिएको हुन सक्ने सम्भावना अत्यन्त न्यून रहेको बताएका थिए। उता चीनले भाइरस चीनबाट नभई अन्य देशबाट प्याकेज खाद्यपदार्थमार्फत वुहानमा आएको दाबी गरेको थियो। अनुसन्धान टोलीका प्रमुख इम्बारेकको कथन ट्रम्प प्रशासनको दाबीभन्दा फरक आएको थियो।

मार्च ३० मा सार्वजनिक गरेको प्रतिवेदनप्रति डब्लुएचओ प्रमुख घेब्रेससले समेत असन्तुष्टि व्यक्त गरेका थिए।यो प्रसंगमा केही आलोचक तथा विज्ञले महामारीलाई भूराजनीतिक हिसाबले कम महत्त्वपूर्ण मान्न नहुने ठान्छन्। काउन्सिल अन फरेन रिलेसनका अध्यक्ष रिचार्ड हसले महामारीले भूराजनीतिमा यसअघि नै देखिएका लक्षणलाई अधिक मुखरित गरेको मान्छन्।  

आपसी प्रतिद्वन्द्विता र राष्ट्रवादको वर्तमान पृष्ठभूमिमा विश्वव्यापी सहयोग र सहकार्य कसरी अगाडि बढ्न सक्ला भनेर महामारीले जटिल प्रश्न उठाएको देखिन्छ। यसैगरी खोपको असमान वितरणले विश्वलाई ‘सुरक्षित’ र ‘असुरक्षित’ भनेर दुई भागमा बाँड्न सक्ने देखिएको छ। अर्काे सम्भावित महामारी सामना गर्न विश्व एकजुट हुनैपर्छ, तर त्यसो हुन नसकेको अवस्थामा वैकल्पिक योजना (प्लान बी) पनि तयार गर्न आवश्यक देखिएको छ। बाइडेन प्रशासनले डब्लुएचओको सुधारमा जोड दिनुपर्छ र सहयोगी राष्ट्रसँगको सहकार्यलाई अगाडि बढाउनुपर्छ। महामारी आएमा यो एलायन्सले सक्रियताका साथ काम गर्न सक्छ।

यसैले कोभिड–१९ एक चेतावनी बनेको छ।अर्काे महामारी झन् घातक र खोपले काम नगर्ने खालको हुन सक्छ। त्यतिवेला विश्वका कतिपय राष्ट्रले राष्ट्रवादको नारा र भूराजनीतिक प्रतिद्वन्द्विता कायमै राख्न सक्छन्। तर टुटेको विश्व व्यवस्थालाई सही स्थानमा राख्न हाम्रा प्रयास जारी रहन आवश्यक छ।

(‘दी एटलान्टिक’मा प्रकाशित लेखको भावानुवाद। लेखक राइट ब्रुकिन्स इन्सिच्युटका वरिष्ठ फेलो हुन्।) 

प्रकाशित: ३० भाद्र २०७८ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App