२० मंसिर २०७८ सोमबार
विचार

औरङ्गजेबको हुकुम

क्रूर मुगल सम्राट औरङ्गजेबले आफ्ना बाबु शाहजहाँलाई कैदी बनाएपछि ‘अब तपाईँले एउटा मात्र खाने कुरा पाउनुहुन्छ, रोज्नुहोस्’ भनेछन्। शाहजहाँले भने– ठीक छ, म चना मात्रै खाएर बाँचुला।

चनाको पिठो (बेसन) बाट रोटी र पकौडा बन्छ। भिजाएको चनामा झोल राखेर पकाएमा दाल वा तरकारीको काम पनि गर्छ। चनाको सातुलगायत अनेक परिकार बन्छन् र चना पौष्टिक मानिन्छ। शाहजहाँका लागि चना ‘निर्विकल्प’ थियो। नेपालका जनताले केही नेतालाई ‘शाहजहाँको चना’ बनाएका छन्। विकल्प सोच्नै नसक्ने अवस्थामा मानसिक दास बनेर पच्चीस–तीस वर्षअघिदेखि केही नेताको जयगान गर्दागर्दै पच्चीस वर्षे युवा पचास वर्षको भइसक्यो तर अयोग्य र निकम्मा भए पनि उनीहरूकै गीत गाइरहेको छ।

औरङ्गजेबको हुकुमले शाहजहाँले चना मात्र ‘ज्युनार’ गर्नुपर्थ्यो। तर नेपाली नेताले हजार गल्ती गरे पनि जनताले किन विकल्प खोजेनन् भन्ने प्रश्नको तर्कसंगत जवाफ छैन। त्यसैले राष्ट्र ‘ल्यान्ड लक्ड’ (भूपरिवेष्ठित) र जनता ‘माइन्ड लक्ड’ (मानसिक कैदी) हुनु संयोग मात्र होइन।

साहित्यकार केशवराज ‘पिँडाली’लाई गोरखापत्र दैनिकले ५८ वर्ष उमेर पुगेको भन्दै बिदा गरेछ। घरमा पुगेर धर्मपत्नीलाई सबै कुरा बताएपछि उनले भनिन्– ‘तिमी बूढो भयौ कि तन्नेरी, त्यो मलाई थाहा हुन्छ कि त्यो गोरखापत्रलाई ?’ भन्दै पिँडालीजीले विमर्श साप्ताहिकको कार्यालयमा हँसाउनुभएको थियो।

सहकर्मी, सहधर्मी वा सहयात्रीलाई वास्तवमा धेरै कुरा थाहा हुन्छ। पच्चीस/तीस वर्ष संगत गरेर पनि राष्ट्रघाती, स्वार्थी र कुरौटेहरूकै अनुयायी बन्ने मतदाता र कार्यकर्ता पाएपछि राजनीतिकर्मीहरूले जे गरे पनि क्षम्य हुन्छ। जापान, ब्रिटेन, जर्मनी, इटली, स्पेन आदि मात्र होइन, दरिद्र राष्ट्रका बहुसंख्यक जनताले राष्ट्र र जनताको हित नगर्नेको समर्थन गर्दैनन् तर नेपालमा उल्टो भइरहेको छ।

वाटरगेट काण्डमा विपक्षी डेमोक्र्याटिक दलको जासुसी गरेको अभियोगमा रिपब्लिकन दलका नेता तथा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको पतन भयो। ‘द वासिङ्टन पोस्ट’ पत्रिकामा कार्यरत दुई जना पत्रकार बब उडबर्ड र कार्ल बर्नस्टेनले राष्ट्रपति निक्सनलाई राजीनामा दिन बाध्य तुल्याए। उपराष्ट्रपति जेराल्ड फोर्ड राष्ट्रपति भएपछि उनैले निक्सनलाई क्षमादान दिए।

जापानका प्रधानमन्त्री काकेवी तानाका ‘लकहिड’ नामक विमान खरिद गर्दा तीस लाख अमेरिकी डलर घुस लिएको अभियोगमा जेल परे। सन् १९७६ देखि मृत्युको दिन (सन् १९९३) सम्म बदनाम भए। पेरुका राष्ट्रपति अल्बर्टो फुजिमोरी, फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस, मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक, नाइजेरियाका राष्ट्रपति सानी आबाचा, युक्रेनका प्रधानमन्त्री पाब्लो लाजारेन्को कुख्यात भ्रष्टाचारी मानिन्छन्।

नेपालमा २०४६/४७ सालसम्म दुई छाक राम्ररी खान नपाउनेमध्ये पचासौँ नेताले बितेका पच्चीस/तीस वर्षमा सयौँ करोडको सम्पत्ति कसरी जोडे ? २०६२/६३ सालपछि वनजंगलबाट सहर पसेको अर्को वर्ग आज सयौँ करोड चल–अचल सम्पत्ति थुपार्न सफल भएको छ। धेरैलाई त्यसको रहस्य थाहा छ। तर अधिकांश मतदाताका लागि ‘जता हेर्‍यो उतै मेरा नजरमा राम प्यारा छन्’ भनेझैं देवता ठहरिएका छन्।

आफ्नी महारानी मुमताज महलका नाममा ताज महल बनाए शाहजहाँले। एकतीस वर्षअघि ताजमहल हेर्न जाँदा उनी थुनिएको ठाउँ देखाउँदै गाइडले भनेका थिए– ‘हो यहाँ बसेर कैदी शाहजहाँ ताजमहल हेरिरहन्थे भन्छन्, इतिहासकारहरू।’ 

औरङ्गजेबले बाबुलाई चना मात्र दिएको कथा उनैले सुनाएका थिए, आग्रा सहरमा। औरङ्गजेबका तीन छोराबीच मारामार भएछ। सन् १७०७ मा सम्राट औरङ्गजेब मरे तर बाँचुन्जेल उनी पारिवारिक घात/प्रतिघातको सिकार भए। छोरा बहादुर शाहले उनलाई गद्दीच्युत गरेका थिए।

जे रोप्यो त्यही फल्छ। यही बुझेर बिपी कोइरालाले २०३७ सालमा राष्ट्रिय जनमत संग्रहको परिणाम स्वीकार गरे। उनले भनेका छन्– ‘मैले परिणाम स्वीकार नगरेको भए नेपालमा गृहयुद्ध हुन्थ्यो।’

 झन्डै ४६ प्रतिशत मतदाता बहुदलीय व्यवस्थाका समर्थक थिए। बिपीले परिणाम स्वीकार नगर्दा अराजकता बढ्ने सम्भावना थियो। नेपालमा त्यही मौका छोपेर आगो लगाउनेहरू सक्रिय हुन सक्थे। त्यसैले, राजतन्त्र र प्रजातन्त्र दुवै रहे मात्र राष्ट्रियता बलियो हुन्छ भन्दै उनले धेरैपल्ट भनेका छन्। आत्मवृत्तान्तमा उनले गुनासो गरेका छन्– मेरै दलका मान्छेले मेरो कुरा बुझेनन्।

२०३९ सालमा विश्वेश्वरप्रसाद कोइरालाको देहान्तपछि कांग्रेसीहरू बहकिए। कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको कमान्डमा दल चलाउने भनियो तर कान्छा कोइरालाले आफूलाई कमान्डर इन चिफ र भट्टराई एवं सिंहलाई पृतनापतिमात्र ठाने। उनीहरूको सम्बन्ध राम्रो भएन। 

औरङ्गजेबको हुकुम त्यहाँ पनि सुरु भयो। कालान्तरमा गणेशमान सिंहले कांग्रेस त्यागे। पार्टीले गणतन्त्रको बाटो हिँड्ने निधो गरेपछि कृष्णप्रसाद भट्टराईले पनि पार्टी त्यागे। भट्टराईले उबेलै भनेका थिए–कम्युनिस्टसँग सहकार्य गरेर राजा हटाउने कांग्रेससँग मेरो सहयात्रा हुँदैन।

पुराना सिद्धान्तवादी, त्यागी, इमानदार, योग्य र देशभक्तहरूलाई अपमान गर्दै उग्र कम्युनिस्ट र बाह्य शक्तिका हतियार, मतियारलाई ‘डेमोक्र्याट’ देख्ने कांग्रेसले शक्तिमा पुग्न र टिक्न जोसँग पनि सहकार्य गर्न सक्ला तर राष्ट्रियता प्रबल हुनुपर्छ भन्ने परम्परावादी शक्तिलाई ऊ वर्ग शत्रु ठान्छ।

तीन वर्षे कार्यकाल पूर्ण गरेर घर जाने बेलामा प्रधानसेनापति पूर्णचन्द्र थापाले नयाँ प्रधानसेनापति प्रभुराम शर्मालाई सुझाव दिए– ‘मुसा प्रवृत्तिबाट सावधान रहनुहोला।’ 

सेनाको हेडक्वार्टररूपी विशाल पानीजहाजमा बाहिरका मानिसले मुसाले झैँ प्वाल पार्न सक्दैनन् तर जर्नेलहरू नै औरङ्गजेबका छोराहरूझैँ आपसमा विभाजित भएमा राष्ट्रको पुरानो र भरपर्दो संस्था खरानी बन्ने खतरा रहन्छ। जनरल थापाको कथनमा गहिरो अर्थ विम्बित छ। अलिकतिमात्र भुलचुक भएमा देशी–विदेशी षडयन्त्रकारीको सिकार बन्न सक्छ सेना। तसर्थ निर्विकार, अठोटबद्ध, निष्पक्ष र इमानदार भएमात्र अस्तित्व रक्षा गर्न सक्छ सेनाले।

नेपाल आज इतिहासको सबै भन्दा कठोर अग्निपरीक्षामा छ। आन्तरिक कलह, षडयन्त्र एवं विवादका कारण २०५ वर्षपहिले अंग्रेजसँगको युद्धमा हामीले झन्डै चालीस प्रतिशत भूखण्ड गुमायौँ। ‘पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ’ भन्ने माधव घिमिरेको गीत, ‘झुकेन यो कहिले, लत्रेन यो कहिले’ भन्ने गोपालप्रसाद रिमालको गीत हाम्रा वीर पुर्खाप्रति समर्पित वीरपूजा हो। यथार्थमा राष्ट्रभित्रै आज जताततै प्वाल पार्ने मुसा र धमिरा छन्। ती उच्च आसनमा विराजमान छन्।

सेनालाई सरकारले निर्माणको जिम्मा दिएको सडक आयोजना (ललितपुर–निजगढ द्रुत मार्ग) सेनाबाट खोसेर भारतलाई दिनुपर्छ भन्ने हुन् वा भारतीय सेना ल्याएर राजा वीरेन्द्रलाई पाता कस्नुपर्छ भन्दा मदन भण्डारीको गाली खानेहरू हुन्, ती राष्ट्रका लागि घातक तत्व हुन। आफू बलियो हुन विदेशीको चरण स्पर्श गर्नेहरू हरेक दल, समाज र क्षेत्रमा छन्। राष्ट्रवादी नजरले हेर्दा ती मिर जाफर हुन्, लेन्डुप दोर्जे हुन् र ‘क्विजलिङ’ नै हुन्।

भिट्कुन नर्वेका शक्तिशाली थिए। राजा हाकोनसँग उनको पारा मिलेन। भिट्कुन राजालाई पाता फर्काएर गणतन्त्र स्थापना गर्न चाहन्थे। रक्षामन्त्री भएकाले उनले राष्ट्रको सेना तहसनहस पारेर राजतन्त्र हटाउन जर्मनीको सेना बोलाए। सन् १९४२ पछि तीन वर्ष प्रधानमन्त्री भए भिट्कुन। उनलाई नर्वेजियनहरू भिट्कुन क्विसलिङ (क्विजलिङ) भन्छन्। क्विजलिङको अर्थ नर्वेजियन भाषामा ‘राष्ट्रघाती’ हुँदोरहेछ। 

नामै क्विजलिङ भयो उनको। नेपालमा पनि पटकपटक राष्ट्रघात गर्नेहरूको सत्यतथ्य बुझेर युवाले ती राष्ट्रघातीका घरका भित्ताभित्तामा ‘राष्ट्रघाती निवास’ लेखे भने बाटो हिँड्नेले पनि त्यस्ताको शक्ति र सम्पत्तिको स्रोत थाहा पाउने छन्। राष्ट्रघाती ठहरिएपछि सन् १९४५ को अक्टोबर २४ मा क्विजलिङलाई गोली हानेर मारियो। त्यसपछि आजसम्म नर्वेले दोस्रो क्लिजलिङ देख्नुपरेको छैन।

राष्ट्रघाती चिन्न सजिलो छ। विश्व बैंकले बनाइदिन्छु भनेको अरूण–३ परियोजना रोकेर भारतलाई बुझायो कसले ? लाखौँ विदेशीलाई नेपाली नागरिकता दियो कसले ? भारतले संरक्षण, पैसा, तालिम र हतियार दिएर भाडाका सेनाका रूपमा गठन गरेको माओवादीलाई तत्कालीन राज्यसत्तामा बसेका ठूलाठालुले कसको इसारामा मद्दत गरे ? नेपालमाथि थिचोमिचो हुनुहुँदैन भनेर बोल्ने देशभक्तहरूलाई तर्साउन, सताउन र सिध्याउन खोज्छ भने त्यस्तो सरकार क्विजलिङवादी हो कि होइन ? 

नेपालको अन्तिम निर्णय नेपालीले गर्नुपर्छ र राष्ट्र सर्वोच्च हुन्छ भन्नेहरूलाई आँखा तर्नेहरू राष्ट्रघाती हुन कि होइनन् ? तसर्थ, राष्ट्रलाई क्षतविक्षत गराउन खोज्नेले देशभक्त, जनवादी, समाजवादी जस्तो रंग दले पनि मुसलधारे पानी पर्दा रंग पखालिएर जान्छ। त्यसपछि सक्कली रंग देखिन्छ। 

हामी टाढा जानै पर्दैन, महाकाली सन्धिपछि लगातार राष्ट्रघात गर्नेहरू चिने पुग्छ। त्यस्तालाई चुनावमा ‘रिजेक्ट’ (अस्वीकार) गरे पुग्छ। दुई दुई ठाउँमा चुनाव हार्नेलाई विदेशीले नेपालको प्रधानमन्त्री बनाउँदा एक्काइस केजी फूलको माला लगाइदिने दासहरू बाँचुन्जेल राष्ट्रघातीहरू नाचिरहन्छन्।

अब युवा जागेका छन्। राष्ट्रको सुदूर भविष्य हेरेर निर्णय गर्नेहरू औरङ्गजेबको हुकुम पर्खेर बस्दैनन्। राष्ट्रघातीलाई गाउँ र टोलैमा कालो दलेर, जुत्ताको माला लगाएर तेजोवध गर्ने हो भने हरेक दिन टेलिभिजनका पर्दामा र अखबारका अग्रपृष्ठमा यिनै भ्रष्ट, स्वार्थी, लोभी, अधम र पतीत राष्ट्रघातीको मुहार त हेर्नु पर्थेन।

प्रकाशित: २५ भाद्र २०७८ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App