६ वैशाख २०८१ बिहीबार
विचार

अफगानिस्तानबाट सिक्ने पाठ

भारतीय पत्रकार सुधीर चौधरीले नेपालबारे जथाभावी बोलिरहेका हुन्छन् तर उनले हालैको अफगानिस्तानबारे एक टिप्पणीमा काम लाग्ने कुरा बोलेका छन्। उनले सो देशमा भइरहेका घटनालाई लिएर जे टिप्पणी गरेका छन् सो सुन्नलायक छन्। उनले भनेका छन् कि अफगानिस्तानले यो सिकाएको छ कि रातभरमा सबै कुरा बदल्न सक्छ। हुन पनि यहाँ जस्तै हाम्रो देशमा पनि यस्तै केही भैहाल्छ कि भनेर धेरैले अडकलबाजी गरिरहेका छन्। त्यसैकारण उनले भनेका छन् कि सारा दुनियाँले यसबाट सिक्नुपर्छ।

पहिलो कुरा हो राष्ट्रबारे। उनी भन्छन्– राष्ट्र कमजोर भयो भने तपाईंको बैंक बैलेन्स, बंगला, गाडी, ब्यापार, पढाइलेखाइ केही कामको हुँदैन। यी कुनै पनि काममा आउँदैन। न कुनै कामका लागि काम लाग्छ।यस कारण जसरी भए पनि राष्ट्रलाई बलियो राख्ने प्रयत्न गर्नुपर्छ। यो कुरा सुन्दा म झस्किएँ। किनभने हामीले देखिरहेको सत्य पनि यही हो। नेपाल कमजोर हुँदै जाँदो छ। यसलाई जसरी भए पनि बलियो बनाउनु पर्‍यो। कतै अफगानिस्तानको बाटो गए भने हामीले पनि यसरी नै दुःख पाउने छौँ।  

सुधीरले भनेका दोस्रो कुरा पनि उत्तिकै घतलाग्दो छ। उनले भनेका छन्– तपाईंको देश तपाईंमा निर्भर छैन र आत्मनिर्भर छैन भने तपाईंको सम्पत्तिको कुनै मूल्य हुँदैन। तपाईंको देश अफगानिस्तान जस्तो बन्यो भने अथवा देश आफ्नो सेनामा भन्दा अरू देशको सेनामा निर्भर रहन्छ भने तपाईंको पनि त्यही हाल हुन्छ जुन अफगानीहरूको भइरहेको छ। 

यो त कतै हामीलाई नै भनेको जस्तो भयो। हाम्रो सेनामा पनि विदेशीहरूको प्रभाव बढ्दै गएको बराबर सुनिन्छ।विदेशी सेना पनि अनेक बहानामा र अनेक छद्म वेशभूषामा देशभित्र आइरहेका सुनिन्छ। यस्तो हालतमा  तपाईंले जति कमाए पनि त्यो व्यर्थ हुन्छ।अफगानीहरूले काबुल हवाई अड्डामा एक छाक खान १०० डलर खर्च गरिरहेका खबर आइरहेको छ।

तेस्रो कुरा उनले भनेका छन्– तपाईंको सरकारमा समयमा कडा निर्णय गर्ने ताकत छैन भने  तपाईंको ताकतको कुनै  महत्त्व छैन। मलाई नेपालको सम्बन्धमा एमसिसीको सम्झना आयो। के यही कुरा हाम्रा नेपाली जागरुकले हामीलाई भनिरहेका होइन ? हुन त एमसिसी सम्झौता भइसकेको भए पनि संसदबाट पास हुन गाह्रो छ तर नेपाल सरकारले यसबारेमा देशमा भइरहेको विरोधलाई दृष्टिगत गरी यसलाई अस्वीकार गर्ने कडा निर्णय लिएको छैन। यहाँका सरकारी सत्ताधारीहरू पनि अफगानिस्तानमा जस्तै भागाभाग गर्ने हुन् कि भन्ने शंका लाग्छ।

सुधीरले भनेका छन्– तपाईंले पनि यस्तो अवस्थामा कुनै दिन हवाईजहाजमा झुन्डिएर भाग्नुपर्नेछ। कति अफगानी यसरी भाग्न खोज्दा आकाशमै खसेर मरिरहेका समाचार आइरहेको छ। हुन त गोर्खालीहरूले आफ्नो बहादुरी देखाउन हवाईजहाजबाट फाल्हालेका कथा सुनिएको हो तर हरेक नेपाली त त्यति सारो बहादुर हुँदैनन् होला। तर अफगानीहरूको दुर्भाग्यको दिन जस्तो नेपालीले पनि देख्न नपरोस्।

चौथो कुरा उनले भनेका छन्– तपाईंले दिएको भोटबाट चुनिने नेता कमजोर भयो अथवा तपाईंको नेता कमजोर भयो भने कुनै पनि देशको नागरिकलाई शरणार्थी बन्न ढिलो हुन्न। हुन त यो कुरा सुधीरले भारतीय जनतालाई भनेका हुन् तर सो तथ्य हामीकहाँ पनि लागु हुन्छ।यस्तो नेता अफगानिस्तानमा जस्तै देशबाट भागेर जानेछ या अरू देशसित लेनदेन गर्नेछ। त्यसकारण उनी भन्छन्– त्यस कारण जुन नेतालाई तपाईं चुन्नुहुन्छ ऊ देश छाडेर नभागोस् र देशका लागि बलियो भइ उभियोस्।

हुन त हामीले चाहेको पनि त्यस्तै हो तर हाम्रा नेता प्रायः सबैजसो विदेशीका दलाल हुन् भनेको सुनिन्छ।उनीहरूले त्यही त्यही काम गर्छन् जुन विदेशीले अराउँछन्। त्यस्ता मानिसले संकटको बेला या उनीहरूका विदेशी मालिकले भन्नेछन् या देश छाडेर भाग्नेछन्। अफगानी राष्ट्रपतिले हेलिकोप्टरभरि पैसा राखेर भागेको समाचार सुन्न आएको हो। कतै यस्तै त हेर्नुपर्ने होइन भनेर चस्का लागिरहन्छ।

त्यस कारण सुधीरले पाँचौँ बुँदामा भनेका छन् कि भोट दिने बेला सधैँ हेक्का राख्नूस् कि जो नेतालाई तपाईं चुन्दै हुनुहुन्छ उनी देशका लागि कुन हदसम्म जान सक्छन्।यो त नेपालमा एक डेढ वर्षमै हुन लागेको चुनावमा सान्दर्भिक हुने कुरा भयो। यहाँका नेताहरूले देश र जनताको नाउँ त लिन्छन् तर काम सबै आफ्नो स्वार्थ पूरा गर्न अथवा विदेशीले अराएको मात्र गर्छन् भनेर चिनिन्छन्। यसले हामीलाई अफगानिस्तानको नजिकै पुर्‍याएको जस्तो लाग्छ। त्यसो हो भने हामीले आफ्नो दुर्दशा कस्तो हुनेछ भनेर हेरिरहे भैहाल्यो।

छैटौँ कुरा पनि देश बलियो बनाउने सम्बन्धमा छ।सुधीर भन्छन् कि आफ्नो देश बलियो बनाउन मानिसले भोट दिनुपर्छ।जाति, धर्म, डर र सित्तै आएका चिजहरूका लागि भोट दिनु हुँदैन।सित्तैँमा आउने कुरा भनेको चुनावको बेला मासुभात खान पाइने, लुगा फाटो पाइने, नगद नै पाइने आदि मानिसलाई लोभ्याउने खालका चिजबिज निर्वाचनका बेला पाउने कुरा हुन्।

उनी भन्छन्– जब देश बच्छ तब मात्र  तपाईंको जाति, धर्म आदि बच्छ। होइन भने अफगानीहरूको जस्तो तपाईंको  पनि हालत हुनेछ। त्यस अवस्थामा हवाईजहाजमा झुन्डिएर भाग्नुपर्नेछ। यो कसैसित पनि हुन सक्छ। एक महिनाभन्दा बढी भएर पनि सरकारले पूर्ण रूप पाउन नसक्नु, दलहरू टुक्राटुक्रा हुनु, दलका नेताहरू हुरुरु एक ठाउँबाट अर्को ठाउँ जानु, दलका नेतामा कार्यकर्ता र जनताको विश्वास हराउँदै जानु, हरेक राजनीतिक कदम सर्वाेच्च न्यायालयमा पुग्नु, गर्दा–गर्दा सर्वोच्च न्यायालयका प्रधानन्यायाधीश नै विवादमा पर्नु, राष्ट्रपतिले गरेका निर्णय उल्टिनु आदि राजनीतिक घटनाले दुर्दिनको संकेत गर्छन्। यस्तो अवस्थामा विदेशीहरूको चलखेल बढ्नु र उनीहरूको इच्छाअनुसार नै महत्त्वपूर्ण निर्णयहरू भइरहेको जनविश्वास हुनु हाम्रा लागि राम्रो होइन। सुधीर चौधरीले भनेजस्तै हामीले पनि अफगानिस्तानबाट केही पाठ त सिक्नैपर्ला।

प्रकाशित: १६ भाद्र २०७८ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App