सामान्यरूपमा हेर्दा दृष्टिहीन वा दृष्टिविहीन शब्दको अर्थ उस्तै उस्तै हो कि भन्ने लाग्छ। यी शब्दको प्रयोग पनि नेपाली र अंग्रेजी भाषामा शाब्दिक अर्थ तथा प्रयोगको प्रयोजन हेतु भिन्न भिन्न अवस्थामा विभिन्न ढंगले प्रयोग भएका पनि देखिन्छन्।
तर नेपाली भाषा अर्थात हाम्रो बोलीचालीमा दृष्टिविहीनलाई सहयोग गरौँ, उपेक्षा नगरौँ भन्ने शव्दावलीलाई हेर्दा जन्मदेखि नै आँखाको ज्योति नभएका तथा जीवनका विभिन्न कालखण्डमा आँखाको ज्योति गुमाएकालाई संकेत गरेकोझैँ लाग्छ। यसरी नै दृष्टिहीन शब्दले दूरदृष्टि नभएको, भिजन नभएको अर्थात फरसाइटेनेस नभएको भन्ने अर्थमा उपयोग भएको देखिन्छ।
तसर्थ यस लेखमा राजनीतिकरूपले दृष्टिहीनर दृष्टिविहीनहरूको सन्दर्भमा यी शब्दको प्रयोग गर्ने जमर्को गरिएको हो अन्यथा अर्थका लागि क्षमाप्रार्थी छु।
यो मुलुकको दुर्भाग्य हो कि दृष्टिहीनता वा दृष्टिविहीनताको अभिशापपूर्ण दुष्चक्र हो, विगत सात दशकको इतिहास हेर्ने हो भने कुनै पनि राजनीतिक दलको सरकारले आफ्नो ५ वर्ष पूर्ण काल पूरा गरेको पाइँदैन। पछिल्ला ३ दशकका कथित प्रजातान्त्रिक तथा गणतान्त्रिक भनिएका दलका ३० वर्षभित्र २८ वटा प्रधानमन्त्री र सरकारहरू गठन भइसके। पछिल्लो ३ वर्षको मात्र स्थिति हेर्ने हो भने पूर्वप्रम केपी ओलीले मात्र १८ पटक मन्त्रिमण्डल हेरफेर र पुनर्गठन गरे। ३० वर्षमा २८ वटा सरकार बन्दा एउटा प्रधानमन्त्रीले ढुक्कसँग कति समय पायो होला ? यसरी ३ वर्षमा १८ पटक मन्त्रिमण्डल हेरफेर, पुनर्गठन हुँदा एउटा मन्त्रीले कति समय काम गर्न पायो होला ? ढुक्कसँग काम गर्ने समयको त कुरै छाडौँ, ढुक्कसँग निदाउन पनि पाएनन् होला विचराहरूले !
तर यस्तो तीव्र गतिको हेरफेर र पुनर्गठनका बीच पनि जुन तीव्र वेगका साथ यी राजनीतिजीवीहरूले मुलुकको दोहन गरे, देशी/विदेशीका उक्साहटमा मुलुकको मूल्य/मान्यता र अमूल्य धरोहरमाथि प्रहार गरे र खुर्सानी माइला, चप्पले साइला, गलबन्दे काइला तथा लोकल रक्सी भट्टी कुरुवाबाट राजनीतिमा आइ राष्ट्रमा लुटको ताण्डव मच्चाउँदै बालकोट, बूढानीलकण्ठ, कोटेश्वर, खुमलटारलगायतका स्थानमा उपत्यका प्रवेशका चार भञ्ज्याङ भनेजस्तै राजनीतिक र चारीत्रिकरूपमा भ्रष्ट तथा लम्पटहरूका निर्लज्ज दरवार खडा गरे, यी सबै उपलब्धि हेर्दा यिनीहरूले पूर्ण काल नपाउँदा त यस्तो चर्तिकला देखाउन सके भने पूर्ण कार्यकाल पाउँदा के गर्थे होला भनेर नेपाली जनता चकित छन् जस्तो लाग्छ।
दृष्टिविहीन हुनु अपराध होइन तर शारीरिक र मानसिकरूपले सक्षम भइकन पनि दृष्टिदोष पालेर दृष्टीहीनता दर्शाउनुचाहिँ घोर अपराध हो। विगतको दुईतिहाइको भरिपूर्ण दृष्टिको बलियो सरकार उखानटुक्के नेतृत्वले गफमा भुलाउन सके, हवाई किल्ला निर्माण गर्न सके, हवाई सपनाको व्यापार गर्नमा निपूर्ण र माफिया किङमा परिणत भइसक्दासमेत कमजोर तथा मिलेमतोमा रमाउने दलाल प्रवृत्तिको प्रतिपक्षी भूमिकाका कारण सर्वशक्तिमान र निर्विकल्प ठहरिएको बलियो तर वक्रदृष्टि भएको सरकार पनि आफ्नै दम्भ र अहंकारका कारण दृष्टिदोषमा परी दृष्टिहीन ठहरिन पुग्यो।
दृष्टिहीनताकै कारण त्यो सरकारले जनता र मुलुकलाई कहिल्यै केन्द्रमा राखेको थिएन। केन्द्रमा थिए त केवल आफ्नै हरुवा, चरुवा, धाई सुसारेहरू र माफिंया नेटवर्कका नाइकेहरू मात्र।
झट्ट बाहिरबाट हेर्दा दृष्टिहीनहरूको बलियो जमातकारूपमा देखिने त्यो समूहभित्र पनि दृष्टिहीन र दृष्टिविहीनहरूको भरमार थियो। एकापसमा खुट्टा तानातान र राजनीतिक काटमारको अवस्था विद्यमान रहँदा नेतृत्वको दृष्टिदोषका कारण सतहमा छताछुल्ल हुन पुग्यो।
यो सरकार गठनको पृष्ठभूमिमै दृष्टिदोष थियो भन्नु अतियशयोक्ति हँुदैन होला ? किनभने तीन वर्षअघि नै सत्ता स्वार्थ (जनताको स्वार्थ होइन) लाई प्राथमिकतामा राखेर राजनीतिकजीवीहरूले दृष्टिहीनहरूलाई लठ्ठीका रूपमा परालका तिन्का तिन्का थमाएर बाध्यात्मक अवस्थामा बुख्याँचा सरकारकारूपमा टालटुल पारी खडा गरिएको दृष्टिदोष उत्पन्न हुनु स्वाभाविकै हो।
एकातर्फ जन्मजात दृष्टिहीनता (पार्टी निर्माणदेखि) विद्यमान रहनु, अर्कोतर्फ वैदेशिक आडमा दम्भ एवं अहंकारको पराकाष्ठा नाघ्दै जाँदा संवैधानिक चिरहरणको अवस्था सिर्जना गरिनु जस्ता अवस्थाका कारण अलोकप्रियता र अवगतिको शिखरमा पुगेर अपमानपूर्ण अवसानको नियति भोग्नुप¥यो।
परिणाम के भयो त भन्दा आफ्नो जीवनभरको राजनीतिक पुँजीमा ग्रहण लगाएर भए पनि भ्रष्ट मतिका कारण उत्पन्न दृष्टि दोषले सिर्जना गरेको संवैधानिक विकृतिका नायकमाथि जन्मजात दृष्टिहीन संसदीय विकृतिका नायकको विजय हुन पुग्यो। अर्थात १९ वर्षअघि आफैँ संसद् विघटन गर्न तम्सिएका देउवा अहिले ओलीको त्यही दृष्टिहीन सनकका कारण प्रधानमन्त्री हुन पुगे। ओलीको बहिर्गमन र देउवाको पुनरागमन वर्तमान संसदीय र संवैधानिक विकृतिजन्य परिस्थितिको परिबन्धात्मक उपजको परिस्थितिमात्र हो। यसले राष्ट्र र जनताका मूलभूत समस्याहरूमा कुनै तात्विक असर गर्ने देखिँदैन।
संवैधानिक विकृतिका नायकले आफ्नै दृष्टिदोष र दृष्टिहीनताको परिणाम भोगिसके तर यस्तो राजनीतिक छुवाछूतजन्य अपमानपूर्ण बहिर्गमनपछि पनि तिनमा राजनीतिक चरित्र र चेतनाको मुना पलाउन सकेको छैन। अझै बाँकी बचेका राजनीतिक दलका बुख्याँचा जस्ता ठुटामुटासँग सिंगौरो खेल्नमै व्यस्त छन्।
अर्कोतर्फ संसदीय विकृतिका नायकलाई जोरजाम र तोडफोड कार्यक्रमअन्तर्गतको जमातले देवत्वकरण गर्दै प्रधामन्त्रीको सिंहासनमा विराजमान त गराएका छन्। तर जनतामा उत्साहको सट्टा निरुत्साह र आशा÷भरोशाको स्थानमा निराशा छाएको देखिन्छ।
यसरी एकातर्फ दृष्टिहीन खोलाबाट पार पाउन नपाउँदै अर्को दृष्टिविहीन भीर देखा पर्दैछ। यो अक्करे भीरको चक्करमा नेपाली जनता रनभुल्ल परेका छन्। अहिले सहरका गल्ली चोक हुन् वा गाउँघरका चियापसल, सबै स्थानमा पुनः विगतका पजेरो कल्चर, सांसद खरीद बिक्री, सुरासुन्दरी, सक्षम, अक्षम, न्याय, अन्याय जस्ता विषयले व्यापक चर्चा पाएका छन्। यस्तै चर्चाका बीच पार्टीका दासहरूले देवत्वरण गर्ने र कथित ५ दलीय टुक्राटाक्रीको मौन समर्थनले पनि राम्रै चर्चा पाएको छ।
विगतमा एमालेभित्रको एउटा समूहले वामपन्थबाट दामपन्थ हुँदै रामपन्थतर्फको यात्रामा दृष्टि लगाइरहँदा सत्तापन्थ र दामपन्थले मात्रै जरा गाडिरह्यो। कांग्रेसभित्रको वैचारिक तन्त्रलाई जोडजाम तन्त्रका माध्यमबाट निष्क्रिय पार्न सक्ने गजबको राजनीतिक दृष्टि खुबीका कारण पटक पटक मुलुकको नेतृत्वमा स्थापित हुन सक्नुलाई देउवा सौभाग्य ठानिए तापनि मुलुकका लागि दुर्भाग्यपूर्ण नियति नै हो कि?
राजनीतिकरूपले दृष्टिहीन (भिजनलेस) पनि देउवामा केही यस्ता विलक्षण खुबी भनौँ या प्रतिभा लुकेका छन् कि जसको पहिचान कांग्रेस पार्टीले पनि गर्न सकेको छैन। आफ्नो विचार प्रष्टसँग राख्न नसके तापनि अरू सहकर्मी कांग्रेसहरूको विचार नपत्याउँदो पाराले बुझ्न सक्ने बडो गजबको खुबी छ, केन्द्रीय राजनीतिको सत्ता स्वादको पहिचान सहजै गर्न सक्ने क्षमता पनि प्रचुर मात्रा छ।
व्यक्तिवादी चरित्र भएका देउवामा भ्रष्टाचार र स्वार्थपूर्तिका लागि अपनाइने उपायहरूको पनि गहिरो पहिचान छ तर मुलुक र जनताको हित गर्ने कार्यहरूको पहिचान गर्ने क्षमतामात्र नभएको हो। उनमा भएको यस्तो विचित्रको दृष्टिहीनताको उपचार शायद सम्भव छैन होला ! अल्पकालीन फाइदा र स्वार्थका लागि दीर्घकालीन दृष्टिहीनतालाई पहिचान गर्न सक्ने अचम्मको क्षमता र विशेषताका धनी देउवाबाहेक उनको यस्तो विलक्षण विशेषताको पहिचान उनका ज्योतिषहरूलाई मात्र थाहा छ।
कुनै एक पक्षलाई मात्रै कति दोष दिनु ? कम्युनिस्ट ट्रेडमार्कधारी प्रचण्ड हुन् वा मधेसी उपेन्द्र यादव वा दशगजाधारी महन्त, राजेन्द्र हुन्, यी कसैमा पनि दूरदृष्टि देखिएन। यिनले पनि निहीत तुच्छ स्वार्थ पूर्तिका लागि सयौँ/हजारौँ नेपाली जनताको रगतको होलीसँगै मानवीय भावनासँग खेलवाड गरेकामात्र होइन रहेछन्, मौका पर्दा विदेशीको भात खाएर दशगजामा बसेर नेपालीको छातीमा लात्ती र ढुङ्गा बजार्न पनि पछि परेनन्। जनताको भावनामाथि खन्याईएको वैचारिक विषको व्यवस्थापन गर्नुको सट्टा बेला/कुबेला पुनः विष घोल्ने धम्की दिन छाडेका छैनन्। अतः यिनीहरूलाई पनि दृष्टिहीन भन्दा दृष्टिविहीन नै भन्नु उपयुक्त हुन्छ कि?
विधिको विधान नै यस्तै हो कि विडम्बनापूर्ण दुर्भाग्य हो, मुलुकले सच्चा सपुत राजनेता नपाएको ५० औँ वर्ष भइसक्यो। जनता रोग, भोग र प्राकृतिक विपत्ति र कोरोना महामारीबाट आक्रान्त छन्, जनतामा नैराश्यताको पराकाष्टा देखिन्छ। तर यी राजनीतिक दृष्टिविहीन र दृष्टिहीन जमातहरू आ–आफ्नै कुकर्मका कारण किंकर्तव्यविमुढ जस्ता देखिन्छन्। यिनीहरूको अवस्था देखेर हालै बजारमा बाढीपीडित जनताको आवाज उल्लिखित गीत याद आउँछ !
बालकोटे कान्छो– लैजा चरी रैवार, हामी त भयौँ बेघरबार।
शीतलपुरे नानी– भो भो नरोऊ जुरेली, फेरि जोडौँला घरबार।
सावधान: बालुवाटारे जेठा तिमीले पनि यस्तै भाका हाल्न नपरोस् !
बाँकी तिमीहरूकै मर्जी। जय होस्।
लेखक पूर्व प्रशासक हुन्।
प्रकाशित: १९ श्रावण २०७८ ०४:२६ मंगलबार