१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

नासःद्यःको उत्पत्ति र हेमाद्यःको महिमा

नेपालका आदिवासी नेवारले मान्दै आएका विभिन्न देवतामध्ये नासद्यः (नाट्यश्वर) र हेमाद्यः (हनुमान)को अत्यन्तै महत्व छ। नेवारले त्यसमा पनि विशेष गरेर ज्यापुले गीत, नाच र धिमे, दाफाजस्ता विभिन्न बाजा सिक्ने र सिकाउने सन्दर्भमा नाट्यश्वर र हनुमानको पूजा गर्छन्। यसरी पूूजा गर्दा कुखुरा, हाँस, बोका र राँगा जे जे भेट्छ, चोरेर ल्याई बलि दिएमा  नाट्यश्वर र हनुमान प्रशन्न हुन्छन् र चाँडै सिक्न सकिन्छ, अनि दर्शक श्रोताका मन जित्न सकिने होइन्छ भन्ने मान्यता रहेछ। त्यसैले नाट्यश्वर र हनुमानको पूजा गर्दा वाहन चोरेर ल्याई बलि दिने चलन रहेको हो भनिन्छ।  

पहिलापहिला यस्तो चलन धेरै नै व्यापक रूपमा रहेको थियो। कसैको कुखुरा, हाँस, बोका र राँगो हरायो भने नाचगान र बाजा सिक्नेले चोरेर नाट्यश्वर देवतालाई बलि दिइसक्यो होला भन्ने गर्दथे।  

नाट्यश्वर र हनुमानको मूर्ति भने हुँदैन । मन्दिरको भित्तामा तीनकुने तीनवटा प्वाँल मात्र हुन्छ। अनि भित्ता माथिल्लो भागमा ‘नृत्यनाथ नासःद्यः’ सानो अक्षरले लेखिएको सेतो कपडा राखेको हुन्छ। त्यस कपडालाई लाजः भनिन्छ। बलि दिँदा त्यही कपडामा लाग्ने गरी रगत छर्किदिन्छ। नाट्यश्वरको तोरणमा भने नाट्यश्वर नृत्य गरिरहेको मूर्ति बनाइराखेको हुन्छ।

 एक किसिमले गोप्य रूपमा मान्दै आइरहेको नाट्यश्वरलाई गोप्य रूपमा चोरेर ल्याएको वाहन बलिदिने चलन रहेको हो भनिन्छ। हेमाद्यः भनी मान्दै आइरहेको देवता पवनपुत्र हनुमान भएकाले त्यही मन्दिरको भित्ताका प्वालबाट आउने जाने गर्छन् भन्ने धारणा रहिआएको छ। त्यस्तै नाट्यश्वरसँगै वा भित्तामै हनुमानको चित्र लेखिएको हुन्छ।

महादेवलाई नृत्यनाथ, नाट्यश्वर वा भैरवनाथ भनी मान्नुका साथै नेवारले संगीतमा गुञ्जिने ध्वनि शून्य आकाशमा गुञ्जिएर ब्रह्माण्डमा व्याप्त हुने भएकाले यसको सम्बन्ध शून्य हुने अर्थात् निराकार हुुनुको एउटा प्रतीकको रूपमा मन्दिरमा तीनवटा प्वाल मात्र राखेर नाट्यश्वरको पूजा गर्ने चलन रहेको हो भनिन्छ। नाट्यश्वरका तीन आँखाको प्रतीकको रूपमा तीनवटा प्वाल राखिएको हो भन्ने मान्यता पनि पाइन्छ। त्यही मान्यता अनुसार अहिलेसम्म नाट्यश्वरको मन्दिरमा मूर्ति बनाइएको छैन। पछि आएर मात्र महादेवको अवतारका रूपमा नृत्यनाथ, नाट्यश्वर, भैरवनाथलाई नाट्यश्वरका रूपमा मान्ने चलन रहेको हो भनिन्छ। 

बौद्धमत अनुसार नृत्यनाथ लोकेश्वर र पद्मनृत्य लोकेश्वरलाई नाट्यश्वरको रूपमा मान्ने गरिन्छ। त्यस्तै मसानमा ताण्डव नृत्य गरिरहने महादेवलाई भैरवनाथको रूपमा मान्ने गरिन्छ। त्यसरी नै भक्तपुरको तौमधिमा स्थापना गरिराखेको भैरवनाथलाई भैलः नासःद्यःका नामले मान्दै आएको हो। त्यसरी नै भद्रकाली, महालक्ष्मी र पार्वती देवीहरूलाई पनि नाट्यश्वरीको रूपमा मान्दै आइरहेको हो। एकातिर ताण्डव नृत्य गर्ने महादेवलाई नृत्यनाथको रूपमा लिइएको छ भने गणेशलाई पनि नाट्यश्वरको रूपमा मान्दै आएको छ। गणेशलाई विश्वकर्मा र कूलदेवताको रूपमा कुमालेहरूले मान्दै आइरहेका छन। त्यसैले नृत्य गरिरहेका गणेशका मूर्ति विभिन्न स्थानमा देखिएको छ।  

उपत्यकाका ज्यापुहरूले धिमेबाजा सिक्न र धुन्या घुमाउन सिक्न नाट्यश्वरका साथै हेमाद्यः हनुमानलाई पनि विशेष रूपमा मान्नुपर्ने चलन छ। यसरी हनुमानलाई मान्दा धिमे बाजा बजाउँदा र धुन्या घुमाउँदा कुनै पनि भय त्रास नहोस्, रमाइलोसँग धिमे बजाउने र धुन्या घुमाउने शक्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिएको छ।  नेवारका स–साना बालक तर्सने वा डराउने भए भने हनुमानलाई लड्डु चढाउने चलन छ। हनुमानलाई देखेर बालक तर्सने हो भन्ने जनविश्वास छ। हनुमानलाई लड्डु चढाएपछि तर्सने गरेका बालक तर्संदैन भन्ने जनविश्वास छ।  

हातले खैंजडी बजाई भगवान् रामको कीर्तन गर्दै नृत्य गरिरहने हनुमानलाई नै हेमाद्यः भनी मान्दै आइएको हो। संगीत रचनाकार ग्रन्थका रचयिता  शाङ्र्गदेवले १३औं शताब्दीमा प्राचीन संगीताचार्यमध्ये आञ्जनेयलाई पनि संगीताचार्यको रूपमा मानेका छन्। आञ्जनेय पनि हनुमानकै नाम हो, अञ्जनी पुत्र भएकाले हनुमानलाई आञ्जनेय भन्ने गरिएको हो।  

एउटा पौराणिक आख्यान अनुसार एकपटक महर्षि गौतमले आफ्नो आश्रममा महादेव र विष्णुलाई भोजनका निम्ति निमन्त्रणा दिए। भोजन गर्नुअघि महादेव र विष्णु आश्रमको नजिकै रहेको पोखरीमा गई स्नान गरिरहँदा देवर्षि नारदले विणा बजाउँदै गीत गाए। महादेव, विष्णु र ब्रह्मा सबैले रमाइलो मानिरहे। त्यसैबेला हनुमान आई गीत गाइदिँदा सबै झन् मुग्ध भए। भोजनको कुरा सबैले बिर्से। लामो समय बित्दा पनि कोही नआएकाले महर्षि गौतम आफैँ गई सबैलाई आश्रममा ल्याई भोजन गराए। भोजनपश्चात् हनुमानले फेरि गीत गाउन सुरु गरे। 

हनुमानको गीत सुनेर प्रभावित भएर महादेव शुद्धिबुद्धि हराएको झैँ भएर हनुमानको शरीर, हात र खुट्टा स्पर्श गरी मस्तसँग पल्टिदिए । यस्तो दुर्लभ स्पर्श हनुमानले लिन पाएको देखी विष्णु र अन्य सबै देवताले हनुमानलाई धन्यधन्य भनी प्रशंसा गरे। यस्ता अद्भुत शक्ति र विलक्षण प्रतिभा भएका हनुमानलाई नेवारले नाट्यश्वरसँगै राखेर हेमाद्यः भनी पूजा गर्दै आइरहेका छन्। साथै उपत्यकाका नेवारले हनुमानलाई हनुभैरवका रूपमा पनि पुज्दै आइरहेका छन्। गोकर्णको उत्तरवाहिनी गुफाभित्र रहेको मुण्डमाला लगाएको पञ्चमुखी हनुमानको मूर्तिलाई नै हनुभैरवको रूपमा स्थापित भएको हो भनिन्छ।  

वाद्यवादन, गीत र नाच सिकाउने गुरु नासःद्यः नाट्यश्वरले सबैभन्दा पहिला भक्तपुरमा मानिसको रूप लिएर संगीत र नाच सिकाउन थाले तर चेलाले भने नाट्यश्वरले सिकाउन आइरहेको भन्ने थाहा पाएनन्। गुरुले अत्यन्तै राम्रोसँग नृत्य र वाद्यवादन सिकाइ रहे तर एक दिन चेलाले गुरुलाई अभद्र व्यवहार गरे। अनि नाट्यश्वर रिसाएर भक्तपुरबाट नुवाकोटको कविलास डाँडाको भीरमा गई बसिदिए। गुरुलाई नदेखेर चेलाहरूले खोज्न थाल्दा नभेटिएकाले तान्त्रिक जोशीलाई देखाउँदा ‘तिमीहरूलाई वाद्यवादन सिकाउने गुरु त नाट्यश्वर देवता रहेछन्। तिमीहरूले उहाँलाई राम्रो व्यवहार नगरेकाले रिसाएर कविलास डाँडामा सिद्ध भई बसेका छन्। त्यहीँ गएर क्षमा पूजा गर्नू’ भनेकाले सबै चेला कविलासमा गएर नाट्यश्वरलाई क्षमा पूजा गरे। उहिलेदेखि हालसम्म पनि भक्तपुरमा वाद्यवादन, गायन र नृत्य सिकिरहेकाहरूले सिद्धि प्राप्त गर्न कविलासको नाट्यश्वरको पूजा गर्नुपर्छ भनिन्छ।  

नाट्यश्वर, पौराणिकता र लोक बाजाको विषयमा शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीले लेखेको ‘लोक बाजा’ लेखबाट केही अंश यहाँ प्रस्तुत गरेको छु।  

नेवारहरूको लोकबाजाहरूमध्ये सबैभन्दा पुरानो बाजा हो– धिमे र श्रृङ्गभेदी बाजा अर्थात् सिङको बाजा। यस्ता बाजा कसरी आविष्कार भयो, यसमा विभिन्न लोक भनाइ पाइन्छ। पहिला पहिला उपत्यकाका नेवारले खेती गर्न, घर बनाएर बस्न सिकेपछि चाडपर्व मान्न जाने। उनीहरूले आफ्नो इतिहास, लोक संस्कृति सिर्जना गर्दै आइरहेको समयमा उपत्यकाको उत्तर पश्चिमतर्फ कविलास नामक एउटा अत्यन्तै राम्रो र रमाइलो पर्वतमा संगीतका प्रवर्तक नाट्यश्वर मानिसको भेष लिएर त्यहाँ आफ्नो क्रीडास्थल बनाएर बसेका रहेछन्।  

कविलासमा बसिरहेका यही नाट्यश्वरले त्यसै गाउँकी एउटी सुन्दरी युवतीसँग प्रेमालाप गरे। केही समयपछि त्यस युवतीबाट एउटा सुन्दर पुत्रको जन्म भयो। आमाबाबु दुवैले बालकलाई धेरै मन पराए। एकपटक यी दम्पतीका बीचमा झगडा भयो। बाबुले भने, ‘यो बच्चा मेरो वीर्यबाट जन्मेको हो।’ आमाले भनिन्, ‘यो बच्चा मेरो रजबाट भएको हो।’ झगडा शान्त नभएपछि यी दम्पतीले बालकलाई आधा आधा गरेर लिने निर्णय गरे। फलस्वरूप बाबुको वीर्यको अंश कवंचा (कंकाल) र आमाको रजको अंश ख्याक भयो। 

एक दिन नाट्यश्वरले विचार गरे– यी विचित्रका बालक भए अब के गर्ने ? नाट्यश्वरले चित्त पनि दुखाए अनि नाट्यश्वरले त्यहीँ कविलास पर्वतको सुनसान स्थान गई काठको एउटा मुढामा आसन बनाएर ध्यान गरे। त्यस समयमा नाट्यश्वरका दुवै हात मुढामा दायाँ र बायाँतर्फ पर्न गयो। हात चलाउँदा बाजाको स्वर निस्कियो। यो स्वर सुन्नेबित्तिकै ख्याक र कंकाल नाच्न आए। यस्तो आश्चर्यलाग्दो घटना भएपछि त्यो खोक्रो भइसकेको गोलो मुढाको दायाँबायाँ छालाले बेरेपछि धिमेबाजा बन्न पुग्यो। यसरी धिमे बाजाको सिर्जना भएको हो भनिन्छ।

नेवारी संस्कृतिको संगीत क्षेत्रमा नाट्यश्वर महादेवको अत्यन्तै प्रशंसनीय भूमिका रहँदै आएको छ। नाट्यश्वरप्रति संगीतप्रेमीको अति नै श्रद्धा छ। नाट्यश्वरलाई प्रशन्न पार्न सके सबैलाई आकर्षित पार्न सक्ने क्षमता प्राप्त हुनेछ भन्ने लोक मान्यता रहिआएको छ। त्यसैले संगीत प्रारम्भ गर्नुअघि  नाट्यश्वरका नाममा किसली माटोको पालामा अक्षता राखेर त्यसमाथि एउटा सिक्का सिंगो सुपारी राखेर भाकल गर्नुपर्ने परम्परा छ।  

नाट्यश्वरलाई बली दिएर पूजा गर्दै आइरहेको सन्दर्भमा पनि एउटा किंवदन्ती छ। नाट्यश्वर कविलास पर्वतमा उत्पन्न भइसकेपछि एकजना ज्यापु नाट्यश्वरको पूजा गरेर सिद्धि प्राप्त गर्छु भनी पूजा गर्न एक्लै गएका थिए। त्यही बेला उनले त्यहाँ कंकाल, ख्याक र नाट्यश्वर देवता देखेनन्। त्यहाँ अत्यन्तै सुनसान र डरलाग्दो भइरहेको थियो। त्यस ज्यापुले ख्याक र कवंचालाई बोलाउँदै ‘रक्सी र समयबजी खाने भए नाच्दै नाच्दै आऊ’ भनी समयबजी छर्न थाल्यो। 

तैपनि त्यहाँ कवंचा पनि आएन, ख्याक पनि आएन  त्यसरी समयबजी छरिरहँदा त्यहाँ एउटा भेडा देखापर्‍यो। अनि ख्याक र कवंचा आएर ला ख्वः हि ख्वः (रक्ति र मासु) मात्र खाने भन्दै नाच्दै नाच्दै आए। त्यो ज्यापुको मनमा लाग्यो– यिनीहरूले भेडाको मासु खाने इच्छा राखेर आफैँले मारेर नखाई मलाई भेडा मार्न अह्राएको हो। त्यसपछि ती ज्यापुले त्यो भेडाको घाँटी रेटेर नाट्यश्वरमा रहेको लाजः (एक प्रकारको सेतो कपडा) मा रगत पर्ने गरी बलि दिएपछि नाट्यश्वर प्रत्यक्ष रूपमा प्रकट भएर नाच्न आए भनिन्छ। त्यसै बेलादेखि नाट्यश्वरीलाई पूजा गर्दा बलि दिने चलन चलेको हो भनिन्छ । त्यो चलन अहिलेसम्म रहिआएको छ।  काठमाडौं, भक्तपुर र ललितपुरमा जति पनि नाट्यश्वरको मन्दिर छन्, ती सबै कविलासबाटै तानेर तान्त्रिक विधिबाट स्थापना गरी राखिएको भनिन्छ। नाट्यश्वरको मन्दिरमा धेरै स्थानमा हेमाद्यः हनुमानको चित्र वा मूर्ति राखेको देखिन्छ ।  

नाट्यश्वरलाई बलि दिँदा हनुमानलाई पनि रगत छर्कने गरिन्छ । हुन त हेमाद्यः हनुमान भएकाले बलि नदिनुपर्ने हो। तर हनुमानलाई हनुभैरवका रूपमा पूजा गरिने भएकाले बलि दिइँदै आइरहेको भनिन्छ। काठमाडौंको काष्ठमण्डप अगाडि रहेको नृत्यनाथ मन्दिरमा नृत्यनाथ महादेवजस्तै देखिने एउटा मूर्तिलाई हेमाद्यः हनुमान भनी मान्दै आएको छ। मरुमा ठूलो चिभाः विहारभित्र पर्ने नासः चोकका नाट्यश्वर र ठँहितिका नाट्यश्वरको मन्दिरमा हनुमानको चित्र लेखिराखेको देखिन्छ।  

त्यस्तै भक्तपुरमा तीनकुने नाट्यश्वर मन्दिर, बनेपा चण्डेश्वरी मन्दिरको पश्चिम भित्तामा मिनाग भैरवको तल नाट्यश्वर स्थापना गरिराखेको छ। त्यसको सँगै चण्डेश्वरी महादेवको मन्दिर छ। त्यो तीनकुने  नाट्यश्वरको तल एउटा तीनकुने चित्र छ, त्यसैलाई नै हेमाद्यः हनुमान भन्ने गरिन्छ। त्यसरी नै भक्तपुरका प्रसिद्ध हेमाद्यः भएका स्थान हेमाख्यः, तौलाछेँ, याताछेँ, हेमाननी, बालखु झोछेँ, तिबुक्छेँ, लिमिथा र इनाचोख्यः हुन्।  यसरी नेवारले मान्दै आइरहेका हेमाद्यः हनुमान र नासद्यः नाट्यश्वरको नेपाली संस्कृतिमा परम्परागत रूपमा अति नै महत्वपूर्ण भूमिका रहिआएको छ। 

प्रकाशित: १६ श्रावण २०७८ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App