सार्वजनिक बस चढेर कार्यालय जाँदै गर्दा एक जनाले आफ्नो सिटमा बस्न दिँदै भने– बस्नूस्, म उभिन्छु। आश्चर्य लाग्यो, मलाई सिट छोडेर आफू उभिनुपर्ने कारण थिएन तिनलाई। यसो हेर्दा सामान्य जीवनस्तरबाट गुज्रिरहेका जस्तो देखिने उनले अर्को स्टेसनबाट मेरैछेउमा खाली भएको सिट भेटे र बसे। तर नजिकैको अर्को स्टेसनमा एक जना चढे, फेरि उनले सिट छाडिदिए।
झण्डै १५ मिनेटको दूरीमा ३–४ ठाउँमा उनले सिट अरूलाई दिएर उभिए। फेरि मेरैछेउको सिट खाली भयो, मैले भनेँ– अब त बस्नूस्। हाँस्दै बसे। सोधेँ– तपाईँ यो किन गर्दै हुनुहुन्छ ? भने– सर, आजमात्र होइन, म सधैँ यस्तै गर्छु। किन त ? थपे– म सामान्य परिवारको मान्छे। मेरो जीवनमा अरूलाई दिन सक्ने केही छैन। यही सेवा त हो दिन सक्ने। जब बसमा उभिइरहेको व्यक्तिलाई सिट छाडिदिन्छु, सबैले मलाई धन्यवाद भन्नुहुन्छ। उहाँहरूको खुसी र धन्यवाद शब्द मेरो आर्जन महसुस गर्छु। यसले मलाई स्वान्त सुखाय अनुभूत हुन्छ। मेरो तर्फबाट पनि दिन सक्ने क्षण आउँदा खुसी मिल्छ।
घटना र प्रसंग सानो छ तर गहन अर्थ छिपेको छ। भएर र पुगेर मानिसले कहिले दिन सक्छ र ? कहिल्यै पुग्दैन आफूलाई नै कुनै पनि चिज र सम्पदाले। जीवनका प्रत्येक क्षणलाई जिउन छाडेर जीवनको उद्देश्य खोज्दा खोज्दै उद्देश्यले भरिपूर्ण जीवन रित्तो र खोक्रो महसुस हुन थाल्छ। जीवनमा खुसी खोज्दा÷खोज्दै खुसी दिने क्षण र आफन्त आफूबाट टाढा भइसकेका हुन्छन्। खुसी कुनै चिजबाट र सम्पन्नताबाट मिल्दैन। खुसी हुने कर्म गरेको क्षण खुसी मिल्छ र त्यो खुसी अरूबाट आफूले पाउनु भन्दा अरूलाई आफूले खुसी पार्न सकेको क्षण मिल्छ।
अरूले बाहिरबाट देख्ने खुसीले होइन, जीवनमा आफ्नो कर्म र निर्णयबाट खुसी प्राप्त भएको छ कि छैन मापनको क्षण त्यही नै हो। तर सामान्यतया मानिस यी गुणवत्ता भुलेर बाहिरी सम्पदाको आकर्षणमै भुलिरहेको हुन्छ। जीवन नै धान्न त त्यति धेरै असम्यक र अराजक बन्नु जरुरी छैन। सानोतिनो पुरुषार्थ र खुसी दिने कर्मले स्वान्त सुखायको अनुभूति दिलाउन सक्छ। अरूलाई देखाउनकै निम्ति संसार जित्ने होड पनि जीवनको उत्तराद्र्धमा पश्चाताप बन्न सक्छ।
हामी हृदयबाट भन्दा बढी मस्तिष्कबाट चल्छौँ। मस्तिष्कले हामीलाई यति घुमाइसक्यो कि के गर्दैछु र किन थाहा पाउन छोडिसक्यो मानिसले। यसैको परिणति हो आज राष्ट्र, व्यक्ति र समाजले भोगेको दुर्दशा। प्रकृतिले हामीलाई मस्तिष्क र हृदय दुवै दिएको छ भने किन हामी हृदयको प्रयोग कम गर्छौँ? बिहान उठेदेखि राति सुत्ने बेलासम्म हाम्रा कर्म र क्रियाकलापको स्मरण गर्याैं भने हामीलाई थाहा हुन्छ हामी मस्तिष्ककै इशारामा बढी चलेका हुन्छौँ। मानिसले अचम्म मान्नुपर्ने कुरा छैन मस्तिष्कको पछि नलागौँ भन्दा किनकि इतिहास साक्षी छ। मेडम क्युरीले जब आफ्नो अनुसन्धानबाट थकित भएर विश्राममा बस्नुभएको थियो तब रेडियम पत्ता लगाउनुभएको थियो।
हाम्रा सन्त, ऋषिमुनिहरूले मनको पार गएर नै ज्ञान प्राप्त गरेका थिए। एउटा कविले मन भन्दा पर गएर, हृदयको तलबाट मात्र कविता लेख्न सक्छ। कुनै नृत्यांगना होउन् या गायक, खेलाडी होउन् या गायक, मन भन्दा पर पुगेर हृदयको तलबाट ध्यान केन्द्रित भएर आफ्नो प्रतिभामा केन्द्रित भएका हुन्छन्। त्यतिबेलाको स्थिति शान्त, प्रेमल र करुणादायी हुन्छ। नकारात्मक काम उसले गर्न सक्दैन।
प्रत्येक व्यक्तिको भित्र शान्ति घटित नहुँदासम्म राष्ट्र र समाज अनि विश्वमा शान्ति आउँदैन। प्रेमको ऊर्जा नबग्दासम्म हृदय सक्रिय नहुँदासम्म शान्ति अनुभूत गर्न सकिन्न। तर आजको मानिस टाढाबाट खुसी छ, नजिक आउँदा दुःखी छ, क्याक्टसको झाडीझैँ भएको छ मान्छे। मानिस आफ्नो मानवीयताको गुण भुल्दैछ अनि सम्पन्न र धनवान बन्न खोज्दैछ। स्वयं भित्रको प्रतिभा र स्वभाव गुमाउँदैछ आयातित इष्र्या र लोभमा बाँचेको छ। मानवीयता नै सबै भन्दा ठूलो सम्पन्नता हो भनेर पाठ सिक्ने कहिले ? जीवनको उत्तराद्र्धमा पछुताउनेहरूको कमी छैन यहाँ। पञ्चतत्वको शरीर कुन सेकेन्डमा पञ्चतत्वमै मिल्छ ठेगान छैन र पनि सेकेन्डको महत्व छ भन्दै अनैतिकता र अराजकता अनि अरूलाई दुःख दिन पछि परेको छैन मानिस। अरूलाई दुःख दिएर भए पनि, अरूको लुटेर भए पनि सम्पन्न बन्नु नै छ मानिसलाई।
मानिसले मानिसलाई नै ठग्छ। आत्मसन्तुष्टिको विज्ञान खोज्दैन। समयअनुसार चल्दैन। आफ्नो सम्बन्ध र प्रेमको ख्याल गर्न बिर्सन्छ। व्यस्त छ मानिस अनाहकमा बाहिरी सुख अरूलाई देखाउन। भित्री शान्ति र खुसी अनि प्रेम भुलेको छ। क्षणिक सफलता र खुसीका नाममा जीवनमा पाएका बहुमूल्य हिराहरू गुमाएको पत्तो छैन। जुन कुरा पैसा र पदको अभावले महसुस गरेको छ त्यो अभाव दुई कौडी बराबर पनि छैन। यो थाहा नपाउँदासम्म भौतारिन्छ मानिस। जब जीवनको भागदौडबाट थाकेपछि यी कुराको महसुस हुन् थाल्छ त्यतिबेलासम्म जीवनबाट यी कुरा छुटिसकेका हुन सक्छन्। जीवन कर्महरूको शृंखला हो, तिनै कर्मको फल जीवनको भोगाइ हो। कस्ता कर्म रोज्ने, कस्ता सम्बन्ध रोज्ने, दुःखी हुने कि सुखी र आनन्दित अनि मन मस्तिष्कले चल्ने कि हृदयले ? रोजाइ आफ्नै हातमा छ।
आफूभित्र नियालेर हेर्दा हामीलाई राम्रो र मित्रवत् सम्बन्ध, असल र सांस्कारिक परिवार, बाहिरी सम्पन्न होइन, भित्री सम्पन्नता चाहिएको छ। तर केका लागि यत्रो होडबाजी गर्दैछन् मानिस ? राजनीतिमा होस् या सामाजिक सेवामा, शैक्षिक सेवामा होस् या धार्मिक सेवामा, भिडन्त र प्रतिस्पर्धा मात्र भेटिन्छ। कसका लागि लड्दैछन् ? कसका लागि घुस पैठारी हुँदैछ ? कसका लागि तानातान र हानाहान हुँदैछ ? आखिर के प्राप्त गर्न चाहन्छ मानिस ?
सन्त कवीरले त्यसै भन्नुभएको छ–
बुरा खोजन मै चला, बुरा न मिलिया कोइ।
जो अंतस देखा आपणा, मुझ सा बुरा न कोइ।।
प्रत्येकले आफ्नो भित्र नियालेर हेर्ने बेला आएको छ। आफ्नो भित्र हेर्ने कला बिर्सनु नै अशान्ति र अन्योल अनि राजनीतिक खेल बनेर प्रस्तुत हुनु हो। भाँडभैलो र तँछाडमछाडको पदीय मर्यादा भन्दा स्वतन्त्र आफ्नो खुट्टामा बाँच्नुको स्वर्गीय आनन्द उसलाई थाहा छ जसले स्वयं भित्र हेर्ने कला जानेको छ। आफ्नो जीवनको गहिराइ पहिचान गर्न नसक्नेले कदापि राष्ट्रको मर्म र गहिराइ बुझ्न सक्दैन। राष्ट्र र मुलुकलाई झन भन्दा झन अन्योल र गरिबीमा धकेल्ने जिम्मेवारी तिनैलाई जान्छ जसले आफ्नो जीवन नै क्षणिक व्यक्तिगत स्वार्थको आडमा राष्ट्रको सार्वभौममाथि खेलबाड गरेका छन्।
क्याक्टसका झाडी हुन् तिनीहरू जसलाई टाढाबाट देख्दा राम्रो लाग्छ तर नजिक जाँदा छोए काँडा बिझ्छ, न छुन सकिन्छ, न भित्र सजाउन सकिन्छ। बाहिरी सम्पदा र शक्ति भन्दा धेरै महान् शक्ति हुन्छ विश्वास, प्रेम र आत्मसम्मानमा। यसलाई अनुभूत गर्न सके खुसी मिल्छ र यसले जीवनलाई पश्चातापमा होइन धन्यवादको यात्रामा लैजान्छ। बाहिरी परिचय भन्दा कैयौँ गुणा आनन्ददायक हुन्छ आत्मपरिचयसँग नजिक हुनु। आदर्शवादी र चतुर्याइँ भन्दा शक्तिशाली हुन्छ यथार्थ बोध र स्वाध्याय जान्ने कला। जीवन छोटो छ हाम्रो सोचाइ र आकांक्षा भन्दा। त्यसैले जीवन्तताका साथ जिउनुमा नै खुसी मिल्छ। यसलाई प्रयोगमा ल्याउन ढिला नगर्ने कि ?
प्रकाशित: ६ श्रावण २०७८ ०४:०५ बुधबार