७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

समाजको अनुभूतिमा सरकार

नेपाललगायत विश्वका विभिन्न कुनामा आवश्यकता, बाध्यता र अवसरका कारण पुगेका मेरा विद्यार्थी र विभिन्न माध्यमको आबद्धतामा मसँग जोडिएका युवा जमातसँगको ताजा सम्वादहरूमा झल्केको निराशाले मलाई यो लेख लेख्नुपर्ने भयो। अन्यथा हरेक पटक लेख्दा किन र कसका लागि लेख्ने भन्ने प्रश्न अनुत्तरित रहन्छ र अब अर्को नलेख्ने भनी मनमनै सोच्ने गर्छु।  

विद्यार्थी जीवनदेखि लिएर विभिन्न पेसामा आबद्ध ती सम्पूर्ण युवा जमात जसले निरन्तर कुनै न कुनैरूपमा समाज रूपान्तरणमा आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह  गर्दैछन्, तिनको सम्वादको  केन्द्रमा  झल्केको वर्तमान राजनीति, मुलुकको अवस्था र अन्योल भविष्यप्रतिको चिन्ता स्पष्टरूपले महसुस गरेँ । तिनका मनभित्र जन्मेको निराशाले मलाई भित्रसम्म डरायो किनकि युवा पुस्ता भनेको समाज रूपान्तरणको अहम् हिस्सा हुन्छ र तिनमा निराशा जन्मिनुको अर्थ लामो अन्धकारको सुरुवातको संकेत अनुभूति हुन्छ। सधैँझैँ तिनलाई मोटिभेटेड राख्ने प्रयास गरे पनि उपलब्ध सन्दर्भ र परिदृश्यहरूलाई सामाजिक दृष्टिकोणका आधारमा केलाउन र बुझ्न मन्थन गर्न थालेँ ।

समाजशास्त्रअनुसार समाजमा उत्पन्न कुनै पनि परिस्थिति वा परिदृश्य अचानक रातारात उत्पन्न भएका हुन्नन् । ती परिस्थति अन्य दृश्य वा अदृश्य परिस्थितिहरूसँग कुनै न कुनैरूपले जोडिएका हुन्छन् । कतिपय परिदृश्य बाहिरबाट चट्ट मिलेको, शान्त देखिए पनि भित्रपट्टि अनेक तरंग चलिरहेका हुन सक्छ साथै ती अवस्थापछाडि कुनै एउटा मात्रै नभइ विविध कारण हुन्छन्।  

माथि उल्लिखित धरातलहरूमा टेकेर वर्तमान परिदृश्यहरू नियाल्ने हो भने अहिलेको सर्वाधिक चिन्ता र चासो रहेको राजनीतिक परिवेश र त्यसले  सतहमा ल्याएका अनुशासनहीनता र अराजकताले भरिपूर्ण परिदृश्यहरूका कारण  केलाउनुपर्ने हुन्छ । त्यसका लागि यसका विगत फर्केर नहेरी गहिराइमा पुग्न सकिन्न।  

त्यो शासन व्यवस्था जहाँ जन्मकै आधारमा प्राप्त परिचयले सक्षम, अर्धसक्षम र अक्षम निर्धारित हुन्थ्यो, कर्म गर्ने अवसर र त्यसका आधारमा निर्मित परिचय, जनमानसको इच्छा र अधिकारलाई खासै महत्व दिइँदैनथ्यो जसलाई निरंकुश शासनसत्ताका रूपमा लिँदै सर्वसाधारण नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउन गणतन्त्र स्थापना गरिएको भनियो। कुनै पनि व्यवस्था कार्यान्वयनमा ज्ञान र मानवीय व्यवहार जो मानव मस्तिष्कभित्र रहेको सोचले निर्देशित हुन्छ, त्यसको अत्यधिक भूमिका रहन्छ  किनकि हरेक योजना निर्माणदेखि लिएर कार्यान्वयनमा सोचको प्रभाव निरन्तर परिरहन्छ। त्यसैले परिवर्तनको अनुभूति समाजको पिँधसम्म गराउनका लागि स्थापित सोचमा परिवर्तन ल्याउनु पहिलो सर्त हो  जसका लागि सिकेका कतिपय कुरा मेट्नुपर्ने, नयाँ सिक्नुपर्ने, निरन्तर सिकाइहरू परिमार्जन गरिरहनुपर्ने जस्ता प्रक्रिया अपरिहार्य हुन्छ।  

हाम्रोमा राज्यले यतापट्टि खासै ध्यान दिन सकेन। व्यवस्था फेरियो तर कार्यान्वयन पक्षका अहम् हिस्सा ओगटेका मानवीय सोचहरूलाई परिमार्जन गर्न राज्यले प्रभावकारी  भूमिका निर्वाह गर्न सकेन । फलस्वरूप समाजमा विद्यमान सोचले नै निरन्तरता पाइरह्यो अनि परिवर्तित व्यवस्थासँग जनमानसमा बढेको अपेक्षा परिणाममा महसुस गर्न नसक्दा अन्ततः असन्तुष्टि, आक्रोश, खिन्नता र निराशा विभिन्न माध्यमले विभिन्न स्वरूपमा सतहमा देखिन थाल्यो। 

समयमै त्यसको उचित विश्लेषणका आधारमा सम्बोधन र निराकरणतर्फ राज्यको सकारात्मक पहलहरू देखिएन बरु महत्वपूर्ण पदमा स्थापित व्यक्तित्वहरूले आफ्नो शब्द, शैली र प्रस्तुतिमा कुनै परिमार्जन नै नगरी आफ्ना आशक्ति, आस्था र आबद्धताको संरक्षणलाई मात्रै प्राथमिकता दिइरहँदा समाजमा आफ्नो छविप्रति साझापनको अनुभूति गराउन सकेनन् । जसले गर्दा राज्यको र समाजका सर्वसाधारणको विविध विषयहरूप्रतिको बुझाइ र भोगाइबीच समानता घट्दै गयो। तत्पश्चात विभिन्न नाम र उपनाम दिँदै समाजलक्षित कार्य भनिए पनि राज्यले समाजलाई विधिको शासन, समानता, न्याय, स्वतन्त्रता, स्वच्छता जस्ता सवालको अनुभूति गराउन सकेन। अझ स्पष्टरूपमा भन्दा समाजलाई समृद्धिको यात्रातर्फ हिँड्न÷सहकार्य गर्न विश्वस्त पार्न सकेन।

यहाँसम्म कि राजनीतिक दलहरूले आफैँभित्र समेत लोकतन्त्रको अभ्यास गर्न नसक्दा नेतृत्व तहका व्यक्तित्वहरूबाट कार्यकर्ताले त्याग, समर्पण, सामाजिक उत्तरदायित्व र जवाफदेहिता सिक्न सकेनन् । यहाँभित्र नै विधिको शासनको अनुभूति गर्न नसक्दा त्यसले जन्माएको उकुसमुकुस र असन्तुष्टिले अनुशासनहीनता र अराजकतातर्फ ती संरचना धकेलिँदै गए जसले गर्दा नेतृत्व तहमा एक किसिमको असुरक्षाको मनोभाव सिर्जित हुँदा धुपौरे प्रवृत्तिहरू सुरक्षित र संरक्षित हुँदै गए। यसले गर्दा झन झन समस्या थपिँदै गयो र सम्वादविहीनताले प्रश्रय पाउँदै गयो। आज देखिएका राजनीतिक दलहरूको अवस्था तिनै विकृतिहरूका प्रभावका परिणाम हुन् भन्दा अत्युक्ति नहोला।

सम्बन्धहरू जब पीडा र सकसमा हुन्छन् त्यतिबेला ससाना सम्बोधनले समेत गम्भीर प्रभाव पार्न सक्छ। राज्य र समाजबीचको सम्बन्धको कडीलाई सत्ता पक्षदेखि लिएर प्रतिपक्ष कसैले पनि मजबुत पार्ने चेष्टा गरेको देखिएन। सरकारले कोरोना महामारीका बेला आफ्ना विभिन्न निकायका छताछुल्ल अकर्मण्यतालाई  कौशलपूर्वक सम्हाल्न सकेन। ससाना विषय थिए जसलाई सम्बोधन गर्दा समाजसँग अपनत्व बढ्न सक्थ्यो। जस्तो कि खोप लगाउन आफू र आफ्ना परिवार भन्दा पहिला नागरिकलाई अगाडि सार्न सक्थे। वर्तमान र पूर्वपदाधिकारीका सुख/सुविधा र आर्थिकरूपले सम्पन्न हुनुका साथै अनेक विकल्प रहेकाको उपचार खर्च बेहोर्ने भन्दा विपन्नलाई केन्द्रमा राख्न सक्थे । सुविधा र शक्ति बाँडफाँटमा समय खर्चिनुको साटो कानुन अभावमा एक सर्वसाधारण नागरिक हुनुको पीडा महसुस गर्न सक्थे जसले गर्दा समाज सुरक्षित र सम्मानित रहेको अनुभूति गराउन सकिन्थ्यो । तर निरन्तरता विगतमै स्थापित नजिरहरूले नै पाइरहे।  

साथै ती सबै परिदृश्यको मुख्य कारणका रूपमा राजनीतिक नेतृत्वलाई औँला ठड्याउने, खुइल्याउने, अपमानित गर्ने  कामबाहेक समाजका बुद्धिजीवी, मिडिया, पेसाकर्मीलगायत अभियन्ताले निष्पक्षताका साथ खबरदारी र दिशानिर्देश गर्न चुके । यो कार्य यति तीव्रताका साथ हुन थाल्यो कि राजनीतिक वृत्त नै अत्तालियो र आफ्नो अस्तित्व नै खतरामा पर्ला कि भन्ने सोचले शक्ति सञ्चयतिर यसरी  हुइँकिए कि आर्थिक पुँजी जम्मा गर्ने क्रममा सामाजिक पुँजी ह्रास हुँदै गएको चाल नै पाएनन् र आफू कसको  प्रतिनिधित्व र किन गर्दैछु भन्ने मूल उद्देश्य नै बिर्से जस्तो अनुभूति समाजले गर्न थाल्यो। जसले गर्दा समाजको पिँधमा रहेका जनसंख्याको ठूलो हिस्सा जसको जीवन रूपान्तरणका लागि आवश्यक सामाजिक संरचनाहरू प्राथमिकतामा परेनन् अनि आफू र समाजबीच दिनानुदिन दूरी बढ्दै गयो। कारण अनेक थिए। 

जस्तो कि विगतका भोगाइ र सिकाइद्वारा निर्मित सोच  जसमध्ये कति भाग सच्याउनुपर्ने जुन यथावत रहिरह्यो । निर्भिकतापूर्वक गलत र सही भन्न सक्ने विचारहरू निर्वाधरूपमा समाजसम्म पुग्न सकेन, सुरक्षित साथ न्यायको अनुभूति गर्दै स्वतन्त्रतापूर्वक आफ्नो पेसागत आबद्धताले प्रगति र सम्मानित जीवन पाउन सहज छ भनी विश्वास बढाउने यथेष्ट उदाहरणहरू समाजमा स्थापित गर्न सकिएन। जसले गर्दा आफ्नो कार्य कौशलता र क्षमता भन्दा पनि राजनीतिक आबद्धता र धुपौरे प्रवृत्तिहरूले समाजलाई कज्याउन थाल्यो र राजनीतिले एक वन झारझैँ समाजका हरेक एकाइलाई गाँज्दै गयो।  

यदि सोलारको ठूलो प्यानल छ, घाम पनि लाग्छ तर उक्त प्यानलमाथि बाक्लो धुलो जम्दै गयो भने त्यो सोलारको संरचनाले उद्देश्यअनुरूपको परिणाम दिन सक्दैन । त्यसै गरी नेपाली राजनीतिक अवस्था बन्दै गयो जसरी सडकमा सहज यातायातका लागि राम्रो अवस्थामा रहेका बाहन, कुशल चालक, सुरक्षित सडक संरचना, यथेष्ट कानुन र प्रभावकारी कार्यान्वयन आवश्यक पर्छ। त्यसै गरी मुलुकको समृद्धितर्फको सहज यात्राका लागि क्षमताका आधारमा जिम्मेवारी बहन र समाजप्रतिको जवाफदेहिताका साथ कर्म गर्ने वातावरण निर्माण गरिनु जरुरी हुन्छ्र अर्थात् क्षमताअनुरूपको भूमिका अपरिहार्य हुन्छ सही परिणामका लागि तर राजनीतिक नेतृत्व तहले यसमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेनन् जसले गर्दा सक्षम स्वाभिमानी मस्तिष्कहरू किनारा लाग्दै गए र समाजमा सबैतर्फ ध्रुवीकरण बढ्दै गयो। 

आआफ्नो सहजताअनुकूलको गुट/उपगुटले राजनीतिक नेतृत्व तह घेरिँदै गए जहाँबाट समाजको धरातल ओझेल हुन थाल्यो । हुँदाहुँदा तिनका निर्णयसमेतमा व्यक्तिगत व्यवहार र स्वार्थको प्रभाव परेका प्रमाण छर्लंग देखिन थाले । राजनीतिक नेतृत्वहरूलाई यसरी प्रभावित पारिँदै लगियो कि आवश्यक ठाउँमा उचित तरिकाले ती विकृति परास्त गर्न सही प्रयासको सुरुवातसम्म गर्न सकेको देखिएन जसले समाजमा सकारात्मकता सञ्चार गरी  निराशा अन्त गर्ने सम्भावनाहरू निर्माण गर्न सकिएन।

समाज भनेको अर्ती उपदेश भन्दा पनि यथेष्टरूपमा पाएका उदाहरणहरूले प्रभावित हुने गर्छ र समाजमा छरपस्ट उदाहरणहरूमा बढ्दो मिचाहा प्रवृत्ति, दूरदर्शी नेतृत्व अभाव, बेथिति, अराजकता र अनुशासनहीनताको बाहुल्यता छ जसले गर्दा एउटा साझा बुझाइ स्थापित हुँदैछ। त्यो भनेको हरेक राजनीतिक दल सत्तामुखी छन् र समाजको पिँधमा रहेका सर्वसाधारणका विषयवस्तु तिनका प्राथमिकतामा पर्दैन। यो भनेको डरलाग्दो अवस्थाको सुरुवात हो किनकि मुलुक बनाउन समाज र राज्य सँगसँगै हिँड्नुपर्छ अन्यथा दुर्भाग्य हामी सबैको हुनेछ भन्ने भुल्नुहुँदैन किनकि सरकारको सफलता र अस्तित्व समाजको अनुभूतिमा निर्भर गर्छ। (समाजशास्त्री)

प्रकाशित: २७ असार २०७८ ०५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App