जनस्वास्थ्य संकटको परिस्थितिमा संसारका विभिन्नथरी शासन प्रणालीको प्रभावकारिता परीक्षण गर्न कोभिड–१९ महामारी प्रयोगशाला बनेको छ । महामारीले विभिन्न देशका कार्यशैलीबीच निहीत धेरै ठूला कमी÷कमजोरी र अन्तर उजागर गरेको छ । उदाहरणका लागि अमेरिका र युरोपका धेरै देशको तुलनामा पूर्वी एसिया (चीन, दक्षिण कोरिया र जापान) ले महामारी नियन्त्रणमा अब्बल काम गरेका देखियो ।
तर यी परिणाम केही मानिसले तर्क–वितर्क गर्ने गरेजस्तो बहुदलीय र एकदलीय शासन प्रणालीसँग सम्बन्धित छैन । पूर्वी एसियामा महामारी नियन्त्रणमा अब्बलता देखाउने देशमध्ये केही देशमा एकदलीय शासन प्रणाली छ भने केहीमा बहुदलीय व्यवस्था छ । आर्थिक स्रोतको प्रचुरता वा जनस्वास्थ्य विज्ञहरूको उपलब्धतामात्रले पनि धेरै फरक पारेको छैन । किनभने धनी भनिएका देशहरूको तुलनामा भियतनाम जस्तो गरिब देशले पनि महामारी नियन्त्रणमा निकै राम्रो काम गरेको देखियो ।
यस्तो परिणाम आउनुको कारण के हुन सक्छ ? यो प्रश्नको उत्तर पक्कै पनि जटिल छ । तथापि शासनका तीन पक्ष भने यो परिणामसँग निर्विवादरूपमा जोडिएका छन्– राज्यको क्षमता, सामाजिक विश्वास र राजनीतिक नेतृत्व ।
राज्यको क्षमताको कुरा सामान्य लाग्न सक्छ तर यो अपरिहार्य पक्ष हो । प्रभावशाली जनस्वास्थ्य प्रणाली नभएको देश महामारीसामु टिक्न गाह«ो हुन्छ । पूर्वी एसियाली देशहरू यो कुरामा प्रभावशाली देखिए । तर राज्यको क्षमताले नै सबै कुराको निक्र्योल भने गर्दैन । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निकै प्रगति गरेको मानिएको ब्राजिलमा गहिरिँदो संकट सामना गर्न प्रशस्त क्षमता थियो । तर त्यतिमात्रले महामारी सामना गर्न सम्भव भएन ।
दोस्रो पक्ष सामाजिक विश्वास हो । यसका दुई आयाम छन् । मानिसले आफ्नो सरकारलाई विश्वास गर्नुपर्छ । नत्र भारी मन बोकेरै सही, लकडाउनजस्ता जनस्वास्थ्यका नियम पालना गर्ने मानिस कम हुनेछन् । तर पछिल्ला दस वर्षमा ल्याटिन अमेरिकी र क्यारिबियाली देशहरूमा त्यस्तो ‘सरकार(संस्था)प्रतिको विश्वास’ घट्दै गएको छ । नागरिक–नागरिकबीच पनि विश्वास कम हुँदै गएको छ । नागरिकबीचको आपसी विश्वास सामाजिक विश्वासको दोस्रो आयाम हो । महामारीको समयमा धेरै देशमा चरम धु्रवीकरणको अवस्थामा भएका न्यून सामाजिक विश्वासले घातक परिणामतिर डो¥याएको छ ।
तेस्रो पक्ष भनेको राजनीतिक नेतृत्व हो । सार्वजनिक संकटको समयमा राज्यको उच्च पदमा बसेका मानिस निर्णायक कदम चाल्न शक्तिसम्पन्न हुन्छन् । त्यस्तो निर्णय गर्ने मानिस को हुन् र उनीहरूले कस्तो अवस्था सामना गरे भन्ने कुराले उनीहरूका कदमको प्रभावकारितामा ठूलो फरक पार्छ । केही राजनीतिक नेताहरूले महामारीलाई मुख्यतः आफ्नो राजनीतिक भविष्यमाथिको खतराका रूपमा लिने गरेका छन् । अनि उनीहरू यही सोचाइ दिमागमा राखेर नीति तर्जुमा गर्छन् । अरू केही नेता भने सार्वजनिक हितका अभिभावकका रूपमा आफ्नो भूमिकालाई गम्भीरपूर्वक लिन्छन् ।
यी दुवैथरी राजनीतिक हिसाबकिताबको परिणाम भने आआफ्नो देशमा राजनीतिक नेताहरूले महामारी रोकथाम र नियन्त्रणमा चालेका कदमको प्रभावकारिता र दिगोपनामा प्रतिविम्बित भएको छ । राजनीतिक नेतृत्व धेरै तहमा हुन्छन् । तर सरकारका सबै तह र क्षेत्रबीच समन्वयात्मक र सहकार्यविना समग्र नीतिले प्रभावकारी ढंगले काम गर्न सक्दैन ।
राज्यको सीमित क्षमता, न्यून सामाजिक विश्वास र कमजोर राजनीतिक नेतृत्व लोकतान्त्रिक क्षयीकरणका खतरनाक चुनौती हुन् । विश्वव्यापीरूपमै महामारीका कारण संसारभर लोकतन्त्रमा मन्दी आएको देखिरहेका छौँ । लामो समयदेखि सतहमुनि लुकेका चुनौती अहिले सतहमा देखा परेका छन् । पहिले नै विद्यमानसमस्याले महामारीको समयमा धेरैभन्दा धेरै देशलाई केही न केही मात्रामा कमजोर बनाएको हामी भन्न सक्छौँ ।
कोभिड–१९ फैलिनुअघि नै ल्याटिन अमेरिका र क्यारिबिया क्षेत्रमा सामाजिक द्वन्द्व र राजनीतिक अस्थिरता विद्यमान थियो । ठुल्ठूला विरोध प्रदर्शन र शासकबीच फैलिँदो सस्तो लोकप्रियताको अतुरीले यो कुरा छर्लङ्ग थियो । सो क्षेत्रको विभाजित जगले कहिलेकाहीँ‘राजनीतिक क्षय’भनिने प्रक्रिया प्रतिविम्बित गर्छ । सकारात्मक आर्थिक र सामाजिक उपलब्धिको पृष्ठभूमिमा जनताको बढ्दो अपेक्षा व्यवस्थापन गर्न विद्यमान राजनीतिक प्रणाली असफल भए त्यसले समयान्तरमा वैधानिकता गुमाउँछ र अस्थिरताको दलदलतिर धकेल्ने गर्छ ।
आर्थिक वृद्धिको एउटा अवधिपछि ल्याटिन अमेरिकी नयाँ मध्यम वर्गले आफ्नो बढ्दो अपेक्षा पूरा नभएको अनुभव गर्न थाले । त्यसैको परिणाम यतिबेला देखिँदैछ । फराकिलो बन्दै गएको जड असमानता र भ्रष्टाचारले निम्त्याएको निराशाले धनी शासक वर्गको असन्तोषमा मलजल ग¥यो । यो वर्गले राजनीतिलाई आफू धनी बन्न प्रयोग गरिररहेको भनी बुझिन्छ ।
यी शासकीय समस्या समाधान गर्न उति सहज छैन । राज्यको क्षमता र सामाजिक विश्वासमा लगानी गर्दा लामो समय लाग्न सक्छ र त्यसको निम्ति अब्बल राजनीतिक नेतृत्वको पनि खाँचो हुन्छ । यद्यपि महामारी सामना गर्दै गर्दा प्रभावहीन शासनको अन्त्यहीन घेरामा फसेको अनुभव गरिरहेका देशहरूमा राजनीतिक नेताहरूले तीनवटा सम्बन्धित क्षेत्रमा रचनात्मक काम गर्न सक्छन् । पहिलो र सबभन्दा तत्काल गर्नुपर्ने पक्ष भनेको सार्वजनिक नीति हो । स्वास्थ्य, अर्थतन्त्र र महामारीका सामाजिक परिणामको सामना गर्न आवश्यक कदम चाल्न र विस्तार गर्न अझै पनि विलम्ब भएको छ्रैन ।
दोस्रो र अझ व्यापक स्तरमा भन्दा ल्याटिन अमेरिका र क्यारिबिया क्षेत्रका देशहरूले विद्यमान ‘खेलको नियम’मा पुनःविचार गर्नुपर्छ । त्यसको अर्थ आय पुनःवितरण गर्ने वित्तीय नीति अंगीकार गर्ने, केही मानिसले बजारमा कब्जा गर्ने नियम लागु हुन नदिने र नीति निर्माण एवम् शासनमा सहभागी बन्न नागरिक संगठनका लागि उपयुक्त बाटो बनाउने आदि हुन सक्छ । यो निकै लामो समय लाग्ने काम हो । तर अर्को महामारीबाट जोगिन आवश्यक पर्ने यस्ता विभिन्न संस्था बनाउनु अपरिहार्य छ ।
सारमा यस्तो परिवर्तनमा लोकतान्त्रिक तरिकाबाट प्रभावित बनाउन विभिन्न पात्रबीचको गठजोड बुझ्न जरुरी छ । परिवर्तनका लागि राजनीतिक परिचालन आवश्यक हुन्छ । अनि अन्तिममा हामी सबै जनताले नै नियम/कानुन बनाउने र टिकाउने गर्छौँ जसलाई हामी ‘संस्था’ भन्ने गर्छौँ ।
(फ्रान्सिस फुकुयामी स्टानफोर्ड विश्वविद्यालयअन्तर्गत फ्रिमेन स्पोग्ली इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजका वरिष्ठ प्राध्यापक र काल्भा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमअन्तर्गत ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रका क्षेत्रीय निर्देशक र सहायक प्रशासक । स्रोतः प्रोजेक्ट सिन्डिकेट । नेपाली अनुवादः नीरज लवजू)
प्रकाशित: १७ असार २०७८ ०६:१३ बिहीबार