नसर्ने रोगहरूबाट हरेक वर्ष विश्वभर ४ करोड १० लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। यीमध्ये एकतिहाइ भन्दा बढीको अल्पायुमै मृत्यु हुने गरेको छ। नसर्ने रोगहरूबाट अल्पायुमा हुने मृत्युको ८० प्रतिशत भन्दा बढी मृत्युका लागि चारवटा रोग जिम्मेवार छन्– मुटु तथा रक्तनलीसम्बन्धी रोग, क्यान्सर, फोक्सो तथा श्वास/प्रश्वाससम्बन्धी दीर्घ रोग र मधुमेह। यसमध्ये ८५ प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका मुलुकमा हुन्छ र यसमा विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्र पनि रहेको छ।
सूर्ती प्रयोग, शारीरिक क्रियाकलापको कमी, मादक पदार्थको हानिकारक प्रयोग र अस्वस्थकर खानपान जस्ता नसर्ने रोगका प्रमुख जोखिम तत्वहरूले डिप्रेसन (विषाद) र एन्जाइटी (व्याकुलता) जस्ता मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू उत्पन्न गराउन र त्यसलाई झन विकराल बनाउन पनि योगदान गर्छन्। कोभिड–१९ प्रतिकार्यको वर्तमान समयमा यस क्षेत्रमा रहेका सबै मुलुकले नसर्ने रोगहरूको रोकथाम, पहिचान र नियन्त्रणमा आफ्नो कार्यलाई गति दिन र उपचारको आवश्यकता पर्ने सबै व्यक्तिहरूसम्म उपचारको सुविधा पुर्याउन जरुरी भइसकेको छ।
नसर्ने रोगहरू भएका मानिस कोभिड–१९ सँग सम्बन्धित गम्भीर रोग र मृत्युको उच्च जोखिममा हुन्छन्। यो महामारीबाट खासरूपमा प्रभावित भएका विभिन्न समूहमध्ये उनीहरू पनि पर्छन्। सार्स–कोरोना भाइरस–२ को सङ्क्रमणको अन्य नसर्ने रोगहरूसँगको अन्तरक्रिया एवम् सामाजिक आर्थिक लाभहरूबाट वञ्चित हुँदाको अवस्थाले उनीहरू विशेष प्रभावित वर्गमा पर्छन्।
सङ्क्रमणको वर्तमान लहरहरूमा विश्व स्वास्थ्य संगठनले यस क्षेत्रमा रहेका मुलुकलाई आक्रामक हिसाबले प्रतिकार्य गर्न निरन्तर सहयोग गर्नेछ भने स्वास्थ्यमा समताको अवस्था वृद्धि गर्न र नसर्ने रोगहरूलगायत विभिन्न रोगका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरू कायम राख्न पनि मद्दत गर्नेछ। टेलिमेडिसिन प्रयोग गर्ने, औषधिहरूको प्रेस्क्रिप्सनलाई विस्तार गर्ने, औषधिहरू घरदैलोमा पुर्याउने जस्ता उच्च प्रभावकारी नवीन पहलहरूको उच्चतम उपयोगलाई निरन्तरता दिनुपर्छ र राष्ट्रिय खोप परिचालन तथा योजनाअनुरूप उच्च जोखिममा रहेका सबै समूहलाई खोप लगाउन प्रोत्साहित गरिनुपर्छ।
नसर्ने रोगहरूविरुद्ध यस क्षेत्रले गरेको प्रगति रोकिनुहुँदैन, कम्तीमा पछाडि फर्किनुहुँदैन। सन् २०१४ देखि यस क्षेत्रले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणलाई प्रमुख प्राथमिक कार्यक्रमका रूपमा जोडतोडले अघि बढाएको छ। सबै मुलुकले नसर्ने रोगसम्बन्धी राष्ट्रिय बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयन गरिरहेका छन्। कोभिड–१९ प्रतिकार्यको वर्तमान समयमा पनि नसर्ने रोगहरूसम्बन्धी सन् २०२५ र सन् २०३० सम्मका लागि तोकिएका विश्वव्यापी परिलक्ष्यहरू हासिल गर्न उनीहरू प्रतिबद्ध छन्। धेरैजसो मुलुकले राष्ट्रिय मानसिक स्वास्थ्य नीतिहरू विकास गरेका छन् र ती नीतिलाई आगामी महिना र वर्षहरूमा थप मजबुत गर्दै लैजानुपर्छ। यस क्षेत्रले हासिल गरेको विभिन्न लाभको रक्षा एवम् प्रतिरक्षा गर्न र अझ थप लाभहरूका लागि प्रेरित गर्न कैयौँ प्राथमिकताका लागि लक्षित कार्यहरू आवश्यक पर्छन्।
पहिलो, नयाँ पहलहरूको पूर्ण लाभ लिने। उदाहरणका लागि गत अप्रिल (चैत) मा विश्व स्वास्थ्य संगठनले मधुमेहसम्बन्धी विश्वव्यापी सम्झौता ग्लोबल डायबिटिज कम्प्याक्ट सार्वजनिक ग¥यो। यस सम्झौताले गुणस्तरीय मधुमेह निदानसम्बन्धी साधन, औषधि र अन्य मेडिकल उत्पादनहरूमा सबै मानिसले विनाआर्थिक कठिनाइ पहुँच पाउनेछन् भन्ने कुरा सुनिश्चित गर्छ। यस क्षेत्रले हालैका वर्षहरूमा गुण सुनिश्चित इन्सुलिनसम्मको पहुँच वृद्धिमा उल्लेख्य प्रगति गरेको छ तथापि खासगरी अति सङ्कटासन्न वर्गको हकमा अवरोधहरू अझै पनि छन्। आगामी महिनाहरूमा प्रविधि र मूल्यमा नयाँ आमूल परिवर्तन ल्याउने दिशामा यो सम्झौता अघि बढेको छ र यस क्षेत्रमा रहेका सबै मुलुकले यो सम्झौताको उच्चतम उपयोग र लाग गर्नुपर्छ।
दोस्रो, मूल्य प्रभावकारिता विश्लेषणका आधारमा सर्वोत्तम (बेस्ट बाइ ) अनुरूपका कार्यक्रम कार्यान्वयन गर्ने। प्रमाणबाट के देखिएको छ भने अस्वस्थकर उत्पादनहरूमा कर बढाएर नीति निर्माताहरूले ती उत्पादनको उपभोग गति घटाउन, समग्र स्वास्थ्य बढाउन र व्यक्ति तथा सार्वजनिक स्वास्थ्य लागतहरू न्यून गर्न सक्नेछन्। यस प्रक्रियामा उनीहरूले आर्थिक राजस्व बढाउनेछन् र यसलाई स्वास्थ्यमा वितरण गरिएमा कोभिड–१९ बाट स्वास्थ्य तथा आर्थिक पुनर्लाभ हासिल गर्न मद्दत गर्नेछ जुन अझ बढी समतामूलक, मजबुत र दिगो हुनेछ। अस्वस्थकर उत्पादनहरूको प्रचारप्रसार निषेध गर्नु उत्तिकै आवश्यक छ। यसले युवाहरूमा ब्रान्डप्रतिको समर्पण विकास गर्ने उद्देश्यले छद्मभेषमा गर्ने/गराइने प्रचारप्रसारलाई समेत समेट्नुपर्छ।
तेस्रो, स्वास्थ्य प्रणालीभित्र नसर्ने रोगहरूको सम्बोधन गर्ने कार्यलाई सुदृढीकरण गर्ने, विशेषगरी अग्रमोर्चाको क्षेत्रमा। यस क्षेत्रको सन् २०१६ को कोलम्बो घोषणापत्रले प्राथमिक उपचार तहमा नै सबै मानिसले नसर्ने रोगहरूसम्बन्धी गुणस्तरीय एकीकृत सेवाहरूमा पहुँच पाउनुपर्छ भन्नेमा जोड दिएको छ। यसमा स्वस्थ जीवनशैलीसम्बन्धी परामर्श, प्रारम्भिक निदानका लागि लक्षित परीक्षण र नसर्ने रोगहरूको प्रभावकारी व्यवस्थापनका लागि गुणस्तरीय औषधि तथा मेडिकल उपकरणलगायत पर्छन्। यस क्षेत्रका सबै मुलुकले यी प्रत्येक क्षेत्र र अन्यमा उल्लेखनीय प्रगति हासिल गरेका छन्। यसलाई विश्व स्वास्थ्य संगठनको हालैको प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी कार्यसञ्चालन ढाँचाले कोभिड–१९ को प्रतिकार्य, स्वास्थ्यलाभ र त्यसभन्दा अघिका कार्यहरूमा अघि बढ्न मद्दत गर्नेछ।
जनकेन्द्रित नीति आजको आवश्यकता हो। समुदायको पहुँच तथा सहभागिता बढाएर नीति निर्माताहरूले सबै तह/तप्काका मानिसले नसर्ने रोगहरूको सङ्केत तथा लक्षणहरू बुझ्न र कसरी परीक्षण तथा उपचार गर्ने भन्ने कुरा थाहा पाउन सक्नेछन् भन्ने सुनिश्चित गर्न सक्नेछन्। अझ महत्वपूर्ण के छ भने उनीहरूले स्वास्थ्य र नसर्ने रोगसम्बन्धी ज्ञान विस्तार गर्न सक्नेछन् र नियमित तथा पर्याप्त शारीरिक क्रियाकलाप, स्वस्थ खानपान र सूर्ती तथा अन्य अस्वस्थकर उत्पादनहरूबाट परहेजमा बस्ने जस्ता रोकथाममूलक कार्य अपनाउन मानिसलाई प्रेरित गर्न सक्नेछन्।
सम्पूर्ण सरकार, सम्पूर्ण समाजको स्वीकार्य र तत्परता हासिल गर्नु जरुरी हुन्छ। नीति निर्माताहरूले विभिन्न विषय क्षेत्रका प्रमुख सरोकारवालाहरूको सहभागिता बढाउनुपर्छ र नसर्ने रोगहरू भएका मानिसको अन्तज्र्ञान तथा दृष्टिकोणहरू पनि लिनुपर्छ किनकि उनीहरूले नै विद्यमान दूरी राम्रोसँग पहिचान गर्न सक्छन्। प्रभावित जनसङ्ख्याको आवाज बढाउन र जनकेन्द्रित नीति समाधानहरूमा उनीहरूलाई साझेदार बन्न र सहनिर्माण गर्न आमन्त्रण गरिन्छन् भन्ने सुनिश्चित गर्न प्रतिबद्ध छ।
नसर्ने रोगहरूविरुद्ध नवीन र मजबुत कदम चाल्न ढिलो गर्नुहुँदैन। कोभिड–१९ को वर्तमान प्रतिकार्यको समयमा पनि विश्व स्वास्थ्य संगठनले यस क्षेत्रका सबै मुलुकलाई स्वास्थ्य, हित र दिगो विकासका लागि निरन्तरको चुनौतीका रूपमा रहेका नसर्ने रोगहरूलगायत सबै स्वास्थ्य क्षेत्रहरूमा महत्वपूर्ण सहयोग प्रदान गर्ने कार्यलाई जारी राख्नेछ। हामी सबै मिलेर नसर्ने रोगका जोखिम घटाउनुपर्छ र सबै मानिसको समतामूलक, बृहत् र सस्तो गुणस्तरीय सेवा तथा उपचारमा पहुँच रहने कुरा सुनिश्चित गर्नुपर्छ। हरेक अवसरको उपयोग र हरेक नवीनताको सदुपयोग गरिनुपर्छ। कसैलाई पनि पछाडि छाड्नुहुँदैन। (दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक, विश्व स्वास्थ्य संगठन)
प्रकाशित: १६ असार २०७८ ०५:१५ बुधबार