१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

खेलकुदमा एउटा जिन्दगीको खेला

सपनै सपना सँगालेर घर बनाएपछि  

भत्किएछ, जलाइएछ भनेर चिन्ता नै किन

आदर्शको मात्र सहारामा जीवन चलाएपछि  

व्यवहारमा मार पर्‍यो भनेर चिन्ता नै किन

खुला मैदानमा दौडँदा सबैलाई जितेपछि

कोठे खेलमा षड्यन्त्रमा हार्दा चिन्ता किन

निष्काम, आशक्ति विनाकाम गर्ने भएपछि

उल्टो नतिजा भयो भनेर चिन्ता नै किन ?

(मायाको आँसु)  

जब प्रत्येक वर्ष असार महिना आउँछ, मेरो मनमा हलचल हुन्छ। मेरा बुबा शरदचन्द्र शाहका सम्झनाका तरेलीहरू मनभित्र तँछाडमछाड गर्न थाल्छन्। मेरा आदर्श एवं पथप्रदर्शक पिताको सम्झना असारे झरीझैँ अविराम आइरहन्छ।  

मुलुकमा २०४६ सालको राजनीतिक परिवर्तनपछि हामी पितासहित सपरिवार देश भन्दा बाहिर स्वनिर्वासनमा रह्यौँ। प्रजातन्त्रको पारिलो घाममा रमाउने इच्छा हामीलाई पनि नभएको होइन। तर हामी यहाँको यो सुन्दर प्रकृति, डाँडाकाँडा छाडेर सिंगापुरदेखि भारतसम्मका विभिन्न ठाउँमा बस्न थाल्यौँ। म पढ्न अस्ट्रेलिया पुगेँ। बुबालाई भने जहिल्यै यही माटोको मायाले तानिरहन्थ्यो। उहाँले कोरेका कविताहरूमा माटोको त्यही सुवास छ।  

उहाँका सम्झनाका तरेलीमा कावा खाँदै गर्दा उहाँले लेखेका पंक्ति मैले यसको प्रारम्भमै उल्लेख गरेकी हुँ। यस्तो परिस्थितिमा हामीले नेपाल छाड्नुपर्‍यो जुन अहिले सम्झँदा पनि मन भयभित हुन्छ। २०४६ चैत २५ गते दिउँसो शनिबार डिल्लीबजारस्थित हाम्रो घरमा आगजनी भयो। जनआन्दोलन उत्कर्षको समयमा थियो। भोलिपल्ट २६ गते राति दलमाथिको प्रतिबन्ध हट्यो, सबैले मुलुकको राजनीतिमा भाग लिन पाउने भए। सबै उत्साहित थिए। हाम्रा लागि भने अगाडि असजिला दिन आइरहेका थिए।  

हाम्रो घरमा आक्रमण हुँदा बाहिर हल्ला चलाइएको थियो, बुबाले खेलाडीलाई प्रयोग गरी राष्ट्रिय जनआन्दोलनमा दमन गर्नुभयो। उहाँले खेलकुद परिषद्बाट २०४४ फागुन २९ को रंगशाला काण्डपछि नैतिकताका आधारमा राजीनामा गरिसक्नुभएको थियो। त्यतिबेला शिक्षामन्त्री केशरबहादुर बिष्टले पनि राजीनामा गर्नुभएको थियो। अचानक हुरी र पानी आएपछि भाग्न खोज्दा रंगशालामा चेपिइ ७१ जनाको ज्यान गएको थियो।  

२०४६ सालको जनआन्दोलन भइरहेका बेला उहाँ राष्ट्रिय जनसंख्या आयोगको उपाध्यक्षका रूपमा रहनुभएको थियो। जनआन्दोलन दबाउन खेलाडी परिचालन उहाँले गर्नुभएकै थिएन, हल्लैहल्लाका आधारमा हामीमाथि आक्रमण भयो। पहिलो दिनको आक्रमणमा हामी भागेर बचेका थियौँ, त्यसपछि अर्को दिन हामी घरै आएर बस्यौँ। तर, फेरि हामीकहाँ लुटपाट हुन थालेपछि भने सुरक्षाकै निम्ति देश छाड्न बाध्य भयौँ। त्यो बेला बुबाको मनमा अनेकन तर्कना खेल्दा हुन् तर उहाँले कहिल्यै त्यसलाई हामीसँग देखाउनुभएन।

बीचको केही समय उहाँ स्वदेश सेवा निम्ति फर्किनुभयो। सन् २००३ मा सूचना प्रविधिसम्बन्धी उच्चस्तरीय आयोगको उपाध्यक्ष बन्ने अवसर उहाँलाई प्राप्त भयो। त्यहीबेला पनौतीमा विज्ञान प्रविधि पार्कको खाका कोर्ने र त्यसलाई कार्यान्वयन गराउनसमेत उहाँको भूमिका रह्यो। उहाँ त्यो आयोगमा सन् २००६ सम्म रहनुभयो। जनआन्दोलन २०६२/०६३ पछि फेरि उहाँ आफ्नो सेवाबाट अलग्गिनुभयो।  मुलरूपमा देशमा खेलकुद विकासका लागि उहाँको अथक योगदान रह्यो। 

उहाँ २०३४ सालमा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा नियुक्त हुनुभएको थियो। आफ्नो ११ वर्षको कार्यकालमा उहाँले सम्पूर्ण प्रयास खेलकुद क्षेत्रको विकासमा लगाउनुभएको थियो। उहाँ यसबीच यति धेरै आफ्नो काममा मरिमेटेर लाग्नुहुन्थ्यो कि परिवारलाई समय नै दिन भ्याउनुहुन्नथ्यो। जसले गर्दा आफूलाई समेत सक्रिय राख्न र उहाँ लाग्नुभएको क्षेत्रबारे बुझ्न हामीलाई सहयोगसमेत पुगेको थियो।  

त्यतिबेला उहाँले ‘विकास, अनुशासन र गतिशीलता’ को मूलमन्त्र बोकेर नेपाली खेलाडीहरूको साथ लिइ खेल क्षेत्रको विकासमा प्रयास गर्नुभयो। त्यसले खेल क्षेत्रको प्रगति भयो। त्यसले विश्व मानचित्रमा नेपाल राष्ट्रको पहिचान र प्रतिष्ठा अभिवृद्धिमा मद्दत पुग्यो।  

बु.बाले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको जिम्मेवारी लिएलगत्तै खेलकुदमा भौतिक पूर्वाधार विकास, प्रशिक्षण र प्रतियोगिता आयोजनामा विशेष जोड दिनुभयो। फलस्वरूप त्यसबेलाका अञ्चल सदरमुकामहरूमा रगंशाला र कभर्ड हल निर्माण सुरु भयो। यसै क्रममा साना विकट जिल्लामा समेत खेल मैदान र कभर्ड हल निर्माण भए। खेलाडीहरूले दैनिक प्रशिक्षणको मौका पाउनुको साथै प्रतिभावान खेलाडीले अझै क्षमता अभिवृद्धि गर्ने अवसर पाए।  

२०३८ सालमा राष्ट्रिय खेलकुद परिषद्ले प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता काठमाडौँमा सफलरूपमा आयोजना ग¥यो। १४ अञ्चलका टोलीले विभिन्न १६ खेलमा ९ दिनसम्म प्रतिस्पर्धा गरेका थिए। २०४० सालमा पोखरा र २०४२ सालमा वीरगन्जमा क्रमशः दोस्रो र तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भव्यरूपले आयोजना भएको थियो। त्यसैगरी २०३९ सालदेखि हेटौँडामा प्रथम नगर खेलकुद प्रतियोगिता सम्पन्न भयो। त्यो प्रतियोगितामा खेलमात्र नभइ राष्ट्रको संस्कृति विकासका लागि दोहोरी गीत र लोक नृत्य प्रतियोगिता समावेश हुनु आफैँमा राम्रो सुरुआत थियो।  

बुबाको सपना नेपाली खेलकुदको स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम र नेपालीको शिर उच्च राख्ने भन्ने थियो। दक्षिण एसियाली खेलकुद उहाँको अर्को साकार भएको सपना थियो। प्रथम दक्षिण एसियाली खेलकुद २०४१ सालमा नेपालमै सफल आयोजना हुनु धेरै हिसाबले महत्वपूर्ण थियो।  यसरी छोटो समयमा अन्तर नगर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू भव्य आयोजना गर्नु, खेलाडीलाई  प्रशिक्षण दिनु, छनोट गर्नु र सहभागी गराउनु आफैँमा चामत्कारिक कार्य हो। ११ वर्षसम्म खेलकुद क्षेत्रको सबैभन्दा महत्वपूर्ण स्थान राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव र नेपाल ओलम्पिक कमिटीको अध्यक्ष मात्रै होइन, विश्व तेक्वान्दो महासंघका उपाध्यक्ष र ओलम्पिक काउन्सिल अफ एसियाका उपाध्यक्षको पदमा समेत पुग्न उहाँ सफल हुनुभएको थियो।

राष्ट्रप्रेम भन्नाले भूगोल, वेश, भाषा जान्नुपर्ने रहेछ भन्ने कुरा बुबाबाट सिक्न सकिन्थ्यो। उहाँले सबै जिल्लाको भ्रमण गर्नुभएको थियो। मैले पनि उहाँसँगै खेलकुदसम्बन्धी कार्यक्रमकै सिलसिलामा ४७ जिल्ला भ्रमण गरेकी थिएँ। उहाँलाई नेपालका सबै हिमशिखरको नाम कण्ठस्थ थियो। खेलाडीहरूका लागि शारीरिक सुगठन, नियमित व्यायाम, आहारसँगै राष्ट्रियतामा जोड दिनुहुन्थ्यो।  

उहाँले १० वर्षको उमेरमै एसएलसी पास गर्नुभएको थियो। तीक्ष्ण बुद्धिका मेरा बुबाकी म कान्छी छोरी हुँ। मैले सम्झेको बुबाका जीवनशैलीमध्ये असाध्य अध्ययन गर्ने, अत्यन्त व्यस्त रहने, खेलको विकाससंगै राष्ट्रियताको उच्च भावना राख्ने उहाँको संकल्प नै हो। उहाँकै प्रेरणाले १२÷१३ वर्षको उमेरमा आत्मरक्षाको तालिमका रूपमा मैले तेक्वान्दोको निजी प्रशिक्षण सुरु गरेकी थिएँ। महिला प्रशिक्षण शिविरमा तालिम हासिल गरी राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा समेत सहभागी भइ उहाँको नेतृत्वमा आमखेलाडीका रूपमा प्रस्तुत हुने अवसर पाएकी थिएँ।  

उहाँ खेलकुदप्रति अत्यन्त समर्पित, अनुशासित र मेहनती हुनुहुन्थ्यो। खेलाडीलाई उहाँले हरपल हौसला प्रदान गर्नुहुन्थ्यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी नेपाली टोलीलाई प्रोत्साहित गर्न विदाइ र स्वागत गर्ने आदि कामले उहाँलाई व्यस्त तुल्याउँथ्यो। त्यही भएर उहाँले हामीलाई समेत खेलकूदमै लगाउनुभयो। संयोगले उहाँको जन्म दिन जुन २३ मा पर्छ जुन दिन प्रत्येक वर्षमा ओलम्पिक दिवसका रूपमा मनाउने गरिन्छ। जन्मको संयोग र उहाँको रुचिको क्षेत्र पनि खेलमै परेको हो।  

जुन २३, १९४८ मा सल्यानी राजा गेहेन्द्रबहादुर शाह तथा रानी शौभाग्य राज्यलक्ष्मी शाहका ठाहिँला छोरा फिल्डमार्सल अतिरथि सुरेन्द्रबहादुर शाह तथा श्री ३ महाराज चन्द्रशमशेरका साहिँला छोरा अतिरथि केशरशमशेर जबरा तथा जेठी शाहज्यादी लक्ष्मीराज्यलक्ष्मी शाहका कान्छी छोरी नयपालराज्यलक्ष्मी शाहका जेठा छोराका रूपमा डिल्लीबजार, काठमाडौँमा मेरा बुबालाई जन्म दिनुभएको थियो। संयोगले उहाँको निधन जुन २० का दिन सिंगापुरमै भयो। त्यतिबेला उहाँ उपचार गराइवरी नेपाल फर्किने तयारीमा हुनुहुन्थ्यो। तर उहाँ देश फर्कन पाउनुभएन। मनको धोको मनमै रह्यो।  

देशको अटुट माया भएर पनि प्रजातन्त्र आएपछि निर्वासित जीवन बिताउनुपर्दा उहाँको मन जलेको महसुस गर्न सकिन्थ्यो। तर उहाँले हामीलाई जहिल्यै हिम्मतले बाँच्न सिकाइरहनुभयो। विदेशमा रहँदा देशप्रतिको उहाँको उच्छवास यो कविता पंक्तिमा देख्न सकिन्छ–

‘आमा म कहिले हिमालमा आउने तिम्रो काखमा

आमा म कहिले रमाएर गाउने मादले दोहोरी भाषामा

मेरो मुटुभित्र पानी जम्दैछ बाँध फोड्ला जस्तो छ

जस्तै नै भए पनि झन्झन् बढ्दो यो माटोको माया अनौठो कस्तो छ।’

(माटोको माया)

प्रकाशित: ९ असार २०७८ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App