१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

विद्यालय खोल्ने समय भएन र ?

कोभिड–१९ को महामारी सुरु भएको दुई वर्ष भइसकेको छ। सुरक्षितरूपमा विद्यालयहरू सञ्चालन गर्नु अहिलेको टड्कारो आवश्यकता भइसकेको छ। बालबालिकाको शिक्षा र भविष्यका लागि विद्यालय जानु अत्यन्त महत्वपूर्ण छ। लामो समयसम्म विद्यालय बन्द हुनु दीर्घकालीन विश्लेषण गर्दा व्यक्तिगतरूपमा बालबालिका र समाजका लागि ठूलो हानि हुन्छ।

महामारीको आरम्भदेखिका घटनाक्रम हेर्दा कोभिड–१९ मा बालबालिकालाई त्यति ठूलो जोखिम छैन र विद्यालयहरू समुदायमा सङ्क्रमणको कारक पनि होइनन्। बालबालिका, शिक्षक–शिक्षिका र उनीहरूका परिवारलाई कसरी जोखिम घटाउने भन्ने विषयमा हामीले धेरै जानकारी हासिल गरिसकेका छौँ। यिनै जानकारीका आधारमा हामीले हाम्रा नानीबाबुको भविष्य रक्षा गर्न विद्यालयहरू सुरक्षितरूपमा सुचारु गर्नेतर्फ टड्कारोरूपमा काम गर्न जरुरी छ।

लामो समयसम्म विद्यालय बन्द हुनु दीर्घकालीन विश्लेषण गर्दा व्यक्तिगतरूपमा बालबालिका र समाजका लागि ठूलो हानि हुन्छ।    

लामो समय विद्यालय बन्द हुँदा बालबालिकाले हासिल गरेका शिल्प र सिक्ने सम्भावनामा समेत गम्भीर प्रभाव पार्ने गर्छ। त्यतिमात्र होइन, यसले उनीहरूको शारीरिक र मानसिक विकासमा समेत प्रभाव पारेको हुन्छ। अनलाइन शिक्षाले केही बालबालिकाको सिकाइमा निरन्तरताका लागि केही सहयोग गरे पनि यी माध्यमले भौतिक सहभागिता र अन्तरक्रियालाई विस्थापन गर्न सक्दैन। त्यसमाथि अनलाइन शिक्षणमा ठूलो असमानता पनि देखिएको छ। विपन्न बालबालिकाका साथै अपांगता भएका, बसाइँ सराइ गरेका र बहिष्कृत अल्पसङ्ख्यक जनसमुदायका बालबालिका विद्युतीय शिक्षाका लागि आवश्यक पूर्वाधार र उपकरण जुटाउन सकेका छैनन्। 

विभिन्न अध्ययनले महामारीको सुरुवातयता विद्यालय जाने उमेरका बालबालिकामा निराशा, मानसिक रोग र आत्महत्या प्रवृत्ति बढेको देखाएको छ। कक्षा कोठाबाहिर बालबालिकाले एक्लोपन अनुभव गरिरहेका छन्। उनीहरूलाई आफ्नो ध्यान एकाग्र बनाउन हम्मेहम्मे भएको छ। अनि सिक्न धेरैथरी समस्याले अल्झाइरहेको छ। विद्यालयहरू जति लामो अवधिका लागि बन्द हुन्छन्, त्यति नै यी समस्या जटिल बन्दै जान्छन्।  

विद्यालय बन्द हुँदा बालबालिकाको शारीरिक गतिविधि घटेको छ, उनीहरूले कम खाना खान थालेका छन् र सुत्ने बानी पनि अनियमित भएको छ। केही बालबालिकाको सन्दर्भमा धेरै समय घरमा बिताउनुको अर्थ घरेलु हिंसाको जोखिम बढ्नु पनि हो। लामो समय कम्प्युटर वा मोबाइलको स्क्रिनमा हेर्दा अनलाइनले पुर्‍याउने क्षति पनि बढाएको छ। विद्यालयहरू बन्द भएकाले बालबालिकामाथि दुर्व्यवहार र मानसिक स्वास्थ्यका विषयको पहिचान र जानकारीका लागि ढोका पनि बन्द छन्।  

विकासशील एसिया महादेशका झण्डै आधा देशमा महामारीका बेला २ सय दिन भन्दा बढी विद्यालय बन्द भएका छन्। पूर्वप्राथमिक र प्राथमिक विद्यालय दुवैमा बालबालिकाको पठन र गणितको सिपमा अपेक्षित उपलब्धि घट्नेमा ती देश तयार रहनुपर्छ। साथै विपन्न बालबालिका र उनीहरूका समवयीहरूबीचको सिकाइमा फराकिलो दूरी कम गर्न पनि तयारी गर्नुपर्छ।

एसियाली विकास बैंकले लामो समय विद्यालय बन्द हुँदा एसियाली देशहरूका प्रभावित विद्यार्थीहरूको सिकाइमा भविष्यको उत्पादकत्व र सिकाइमा उल्लेखनीय मात्रामा क्षति पुग्ने चेतावनी दिएको छ। बैंकको पूर्वानुमानअनुसार त्यसबाट १ खर्ब २५ अर्ब अमेरिकी डलर बराबरको क्षति हुनेछ। त्यति पैसा भनेको सन् २०२० मा सो क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको ५.४ प्रतिशत हुन आउँछ। महामारीकै कारण सन् २०३० भित्र शिक्षामा दिगो विकास लक्ष्य हासिल गर्न गाह्राे हुने भएको छ। युनिसेफ र युनेस्कोले लक्षित योजना पूरा गर्न एसियाका सबै देशले शिक्षा क्षेत्रको बजेटमा कम्तीमा ७ प्रतिशतले बढाउनुपर्ने बताएका छन्।  

विद्यालय बन्दले ठूलो क्षति बेहोर्नुपर्ने भए पनि धेरै देशले अझै थप सङ्क्रमणको भयका कारण विद्यालय खोल्न अन्कनाइरहेका छन्। तर अब विद्यालयहरू पुनः सञ्चालनमा ल्याउन हाम्रो ध्यान हामीले कोभिड–१९ बारे जानेका सावधानीका कुराको कार्यान्वयन र बालबालिकाको भविष्यमा केन्द्रित हुनुपर्छ।  

संसारभरमा कोभिड–१९ बाट बालबालिका थोरै अंशमा मात्र प्रभावित बनेका छन्। प्राथमिक तहमा पढ्ने उमेरका र उनीहरू भन्दा सानो उमेरका बालबालिकालाई सङ्क्रमणको जोखिम न्यूनमात्र हुने देखिएको छ। कदाचित उनीहरू सङ्क्रमित भइहाले पनि उनीहरूमा वयस्कहरूलाई भन्दा सामान्य लक्षण मात्र देखिने गर्छ। त्यही भएर कोभिडका कारण अस्पताल भर्ना भएका वा मृत्यु वरण गरेका बालबालिकाको सङ्ख्या उल्लेखनीयरूपमा न्यून छ। दक्षिण कोरियामा बालबालिकामा गरेको अध्ययअनुसार सङ्क्रमित बालबालिकाले पनि भाइरस फैलाउने सम्भावना न्यून मात्र हुने गर्छ।  

छोटोमा भन्दा प्राथमिक, पूर्वप्राथमिक र शिशु कक्षामा सुरक्षाका मापदण्डको प्रभावकारी पालना गर्ने हो भने सङ्क्रमणको उच्च जोखिम हुने गर्दैन। ती शिक्षण संस्थामा सङ्क्रमण दरले वरपरको समुदायको सङ्क्रमण दर प्रतिविम्बित गर्छ।  

एउटा सम्भावित अपवाद माध्यमिक विद्यालयहरू हुन सक्छन्। प्राथमिक विद्यालयको तुलनामा माध्यमिक विद्यालयमा महामारीको प्रभाव बढी देखियो। किशोर/किशोरीहरूमा वयस्कलाई जस्तै भाइरस सङ्क्रमण हुने भएकाले माध्यमिक विद्यालयहरू आंशिकरूपमा बन्द गर्नु विकल्प हुन सक्छ। तर त्यो पनि समुदायमा सङ्क्रमण बढ्दै गरेको अवस्थामा अन्तिम विकल्प र सीमित समयका लागि मात्र हुनुपर्छ। अस्थायीरूपमा विद्यालयहरू बन्द गर्ने निर्णय समुदाय स्तरमा जनस्वास्थ्यको अवस्था र समाजमा नियमको पालनासँग सापेक्षिक हुनुपर्छ। तर, समग्रमा विभिन्न अवस्थाले पूर्वप्राथमिक र प्राथमिक विद्यालयहरू खोल्नुपर्छ भन्ने कुरा नै देखाएको छ। शिशु कक्षाहरूको सन्दर्भमा पनि कुरा उही हो। शून्य जोखिम भन्ने कुरा कहीँ पनि हुँदैन। 

तर सङ्क्रमणलाई विभिन्न उपाय लगाएर व्यवस्थापन गर्न सकिन्छ। महामारीको समयमा विद्यालय सञ्चालन सम्बन्धित विश्व स्वास्थ्य संगठनले जारी गरेका निर्देशिकामा कोभिड–१९ भाइरस फैलिन र सङ्क्रमण कम गर्ने विभिन्न उपाय उल्लेख छन्। तिनमा व्यक्तिगत सरसफाइ, मास्कको उचित प्रयोग, आपसी दूरी, कोठामा पुग्दो हावाको सञ्चार, नियमितरूपमा सरसफाइ र निसङ्क्रमण आदि पर्छन्। अभिभावक र बालबालिकासँग प्रष्ट र लगातारको संवादले कक्षाकोठाभित्र र विद्यालयपछिका गतिविधिलाई पनि प्रभावकारी बनाउन भूमिका खेल्छ। कक्षा कोठाभित्र र बाहिर दुवैका गतिविधिमा उत्तिकै महत्वपूर्ण हुन्छ।  

नीति निर्माताहरूले विद्यालय सञ्चालन गर्न समुदायमा सङ्क्रमणको अवस्था र सङ्क्रमण रोकथामको क्षमताका आधारमा निर्णय गर्नुपर्छ। अधिकांश ठाउँमा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक कदम चाल्न स्वास्थ्य र शिक्षा सेवामा थप स्रोत पनि खाँचो पर्छ। यी सबै सावधानीको पालना र निगरानी विद्यालयमा मात्र होइन, समग्रमा कोभिड–१९ को नियन्त्रण तथा भाइरसको प्रजाति र उत्परिवर्तन रोक्न पनि आवश्यक छ।  

सुखद् समाचार के हो भने विद्यालय पुनः सञ्चालन खोपको उपलब्धतामा निर्भर छैन। दिगो ‘नयाँ परिस्थिति’ (न्यु नर्मल) मा पनि अनुकूलन हुन अझ धेरै काम गर्न जरुरी छ। तुलनात्मकरूपमा कम जोखिमका बालबालिकालाई विद्यालयभित्र राख्दा नै व्यवस्थापन गर्न अझ सहज हुने देखिन्छ। उनीहरूलाई कक्षाकोठाबाट बाहिर राख्नु अझ जोखिमपूर्ण हुन्छ। अब विद्यालयहरूका गेटहरू विद्यार्थीका लागि खोल्ने समय आएको छ।  

(ताकेसी कासाइ विश्व स्वास्थ्य संगठनको पश्चिम प्रशान्तीय क्षेत्रीय निर्देशक र करिन हुलसोफ युनिसेफको पूर्वी एसिया र प्रशान्त क्षेत्रीय निर्देशक)

स्रोत : प्रोजेक्ट सिन्डिकेट

नेपाली अनुवाद : नीरज लवजू

प्रकाशित: ३० जेष्ठ २०७८ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App