१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

किन वैधानिकताका पर्खाल तोडिन्छन् ?

‘हेर, नेपालीबाबु ! कलेज पढेर शिक्षाको डिग्री पाउन सकिन्छ, तर बुद्धि तिखार्न जुलुसमै जानुपर्छ। सबै कुराको मूलमन्त्र राजनीति हो। आज गान्धी मैदानको जुलुस हेर्न जाऊ, आमसभा सुन। नारा सुन। मान्छेलाई हेर। ओठमाथि रौँ उम्रिएर कोही पनि युवा हुँदैन, जीवन र जगत् बुझ्न जिज्ञासा र आलोचनात्मक चेत हुनुपर्छ,’ ४७ वर्षपहिला कदमकुवा, पटनाको क्वार्टरमा प्रोफेसर हिलारियन पिटर दासले भनेको कुरा अहिले झलझली सम्झन्छु। बहादुर र कान्छाको हन्डर र ठक्कर खाँदै उनको शरणस्थलीमा पुगेको थिएँ। झारखण्डका आदिवासी ख्रिस्तान कुलका ती प्रोफेसर राजनीतिमा सक्रिय र संगठित कम्युनिस्ट रहेछन्। खुला जेल पञ्चायतीकालमा वैधानिकताका पर्खाल भत्काएर सीमा काट्नु रहर थिएन। ‘लाहुरे’ ठिटोलाई गान्धी मैदानको त्यो जनसागर हेर्दा भने आफू कुन संसारमा छु भन्ने लाग्यो। भारतको सबभन्दा ठूलो सार्वजनिक मैदानमा गुञ्जिएका ‘जेपी बाबु हमारा है, सम्पूर्ण क्रान्ति नारा है’ ‘हम लोग हैं ऐसे दिवाने, दुनियाँ को बदल कर मानेंगे’ भन्ने नाराले टाउकोमा एकाएक करेन्ट लाग्यो। साँझ पिटरसाबले के देख्यौ ? सोधे। 

खररर मस्तिकलाई सर्लक्कै निकालेर सामने राखिदिए। सम्पूर्ण क्रान्तिका नाराले बिहार, गुजरात घन्किरहेको थियो। बंगालमा नक्सल विद्रोेहका ज्वाला दन्किरहेका थिए। वैधानिकताका पर्खाल नागरिक तोड्दै थिए। कोर्सबाहिरका पुस्तकको लत लागिसक्या थियो। फुर्सद हुनेबित्तिकै अनेकौँ जिज्ञासा लिएर प्रो. दास नजिक पुग्थेँ। अभाव, तनाव र अपमानमा पाएको प्रेम र नेपालीबाबुको सम्मानले अनौठो ऊर्जा बढाएको थियो। दिल र दिमागमा मडारिएका कुरा सोध्न कुनै हिचकिचाहट थिएन। जान्ने र बुझ्ने अनौठो भोकले पुराना विश्वास टुट्दै गए। मान्छेलाई नयाँमान्छेमा फेर्ने सपना र जिज्ञासा नै रहेछन्।  

एकाएक प्रो. दास पनि २६ जुनमै अलप भए। सिरानीमा एउटा पत्र र तीन सय १५ रूपैयाँ छाडेका रहेछन्। पत्रमा- ‘नेपालीबाबु, अब भेट हुन मुस्किल पर्ला, थप कुरा हेनरीले (हेनरी सेराफिम) बताउने छन्, क्वार्टर तुरुन्तै छाड्नु।’ बुझ्न सकिनँ।

एक साँझ प्रोफेसरले भने, समय तिम्रो हो, तिमीहरू युवाकै हो। देशका सीमाले मानव जातिलाई टाढा बनाउँदैन भन्दै फ्रान्समा चलिरहेको विद्यार्थी आन्दोलन, भियतनामको मुक्ति संघर्ष, भारतको नक्सल विद्रोह र जेपी मोभमेन्टको चर्चा गर्दैगर्दा म भने आफ्नै सपनीको तस्बिर खिच्दै थिएँ। ‘विनाज्ञानको मान्छे अपुरो हुन्छ, ज्ञानप्राप्तिको भोकले नै जिज्ञासा बढाउँछ र थप रहस्य खोज्न हौस्याउँछ। त्यसैले अन्यायविरुद्ध लड्नका लागि अन्यायका चरित्र, त्यसका अन्तर्विरोध र लडाइँका रणनीति बुझ्न जरुरी हुन्छ। माक्र्सवाद दुनियाँलाई बुझ्ने विज्ञान हो। आफैँलाई र संसार बुझ्ने र फेर्ने हतियार’ प्रो. दासले त्यो भनिरहँदा म पनि विषयलाई अधकल्चो बुझ्ने भइसकेको थिएँ। जिज्ञासा बढ्दै जाँदा हरेक घटना किन र कसरी भए, त्यस पछाडिका कारण के हुन्छन् भन्ने खोज्न थालिसकेको थिएँ। मेरै समस्या र उपचार पनि त्यही भेटाउँदै गइयो। ५ जुन १९७४ गान्धी मैदानको सम्पूर्ण क्रान्ति जुलुसको हथौडाले मेरो दिमागमा अनौठो चोटिलो प्रहार गर्‍यो। 

क्रान्ति र सम्पूर्ण क्रान्तिको अर्थ र परिभाषा प्रो. दाससँग सोधेँ। प्रो. दास : क्रान्ति भनेको हरेक पुराना राज्य व्यवस्थालाई रूपमा मात्रै होइन गुणमै फेर्ने कर्म हो। क्रान्तिमा पुग्ने वा व्यवस्थामा सुधार वा असन्तोषका रूप आन्दोलन हुन्छन्। राजनीतिक र सामाजिक विद्रोह नियाल्न तिमीले नक्सल विद्रोह बुझ्नुपर्छ। कथा मात्रै होइन, तिमीले दर्शन र विज्ञानका विभिन्न शाखा अध्ययन गर्नुपर्छ। मानव सभ्यताको विकासमा संघर्षको भूमिका र वैधानिकताका पर्खाल कसरी ढलाइए भनेर इतिहासलाई इतिहासको अध्यता बनेर पढ। जयप्रकाश नारायणको (जेपी) सम्पूर्ण क्रान्तिको अर्थ गान्धीवादी तरिकाले सात विषयमा केन्द्रित छन्। अर्थात् सात विषय सामेल छन्– राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिक, शैक्षणिक र आध्यात्मिक क्रान्ति। नक्सल विद्रोह र जेपी मोभमेन्ट दुवैले भारतीय समाजको गतिलाई नयाँ दिशामा मोडिदिँदै छ। क्रान्तिका हावा कुनै देशका सिमानामा मात्रै सीमित हुँदैनन्। हेर, नेपाली बाबु ! क्रान्ति आयात, निर्यातको वस्तु पनि होइन, उसका आफ्नै खुट्टा हुन्छन्। तिम्रो देशमा पनि यसका (नक्सल विद्रोह र जेपीको सम्पूर्ण क्रान्ति) लप्का पुग्नेछन्।’

‘सर ! तपाईंको समर्थन नक्सल विद्रोह र जेपीको सम्पूर्ण क्रान्ति कसलाई छ त !’

– समयमा सबै थाहा पाउनेछौ।

समयका पांग्रा छिटोछिटो घुमे। सद्गुरु प्रो. दास सडक र भित्ताका स्वर शब्दलाई सँुघ्न सक्थे। जीवन र जगत् राम्रै बुझेकाले युवामा भविष्य देख्थे। क्वार्टर आउने धेरैजसो नवयुवा हुन्थे। तिनीहरूले मलाई कहिल्यै बहादुर र कान्छा भनेनन्। कतिपय छलफलमा सामेल समेत गराउँथे।  

वैधानिकताका पर्खाल जब तोडिन्छन्

जसरी हरेक क्रान्ति, विद्रोह, परिवर्तन र आन्दोलनले कानुनका घेरा तोडेजस्तै जेपीको सम्पूर्ण क्रान्तिले पनि वैधानिकता तोडेकै थियो। हरेक शासक तानाशाहमा फेरिन पनि कानुनमार्फत नै आफ्ना योजना पूरा गर्छन्। तर, इलाहावाद हाईकोर्टका न्यायाधीश जगमोहन सिन्हाको १४ जुन, १९७५ को फैसला अपवाद भयो। प्रधानमन्त्री इन्दिरा गान्धीले रायवरेली चुनावमा नियम तोडेको कसुर अदालतले ठह¥यायो। जस्टिस सिन्हाले अदालत सबैको समान व्यवहार गर्छ, जर्जबाहेक कसैको आगमनमा सम्मान दिन उठ्नुपर्दैन भन्ने आदेश दिए। प्रधानमन्त्री इन्दिरा गान्धी बयान दिन अदालत प्रवेश गर्दा कोही पनि उठेनन्। फैसला सुकेका पत्करमा सल्केको आगोझैँ फैलियो। जस्टिस सिन्हालाई प्रभावित पार्ने अनेकौँ प्रयास भएका रहेछन्। संसारमै बहालवाला प्रधानमन्त्रीलाई अदालतबाट त्यस्तो फैसला भएका थिएनन्।  

अहंकारग्रसित शासकहरू आफूमाथि परेको संकटलाई देशैमाथिको संकट भन्ने गर्छन्। २५ जुनमा दिल्लीमा जेपीको ठूलो विरोधसभा भयो। पाकिस्तान टुक्र्याएर बंगलादेश बनाउने र सिक्किमलाई भारतीय संघमा गाभेर नायिका बनेकी मैमत्त प्रधानमन्त्री इन्दिरा गान्धीलाई सडकले चुनौती दिइरहेको थियो। त्यसै राति प्रधामन्त्री गान्धीको रबरस्टाम्प राष्ट्रपति फकरुद्दिन अली अहमदले रातको पौने १२ मा आपतकाल घोषणाको अध्यादेशमा हस्ताक्षर गरे। २५ जुन १९७५ देखि २१ मार्च १९७७ सम्म २१ महिना आपतकाल रह्यो।  

एकाएक प्रो. दास पनि २६ जुनमै अलप भए। सिरानीमा एउटा पत्र र तीन सय १५ रूपैयाँ छाडेका रहेछन्। पत्रमा- ‘नेपालीबाबु, अब भेट हुन मुस्किल पर्ला, थप कुरा हेनरीले (हेनरी सेराफिम) बताउने छन्, क्वार्टर तुरुन्तै छाड्नु।’ बुझ्न सकिनँ। तत्काल सेराफिम साहबको क्वार्टरमा गएँ। उनी धार्मिक, आदिवासी कहलिएका ख्रिस्तान थिए। इलाहावादको खबरले चौतर्फी कुतूहलता र भयको अवस्था थियो। प्रो. दासको पत्र देखाएँ।  

हेनरी- नेपाली बाबु, प्रोफेसरले जे भने त्यही गर। उनी नक्सल हुन्। गिरफ्तार पर्नु पहिल्यै भूमिगत भए।’ दिउँसै प्रोफेसरको बन्द क्वार्टरमा एक हुल सिपाही आए, खालि हात फर्के। २६ जुनको रात कदम कुवामै हेनरी सरको क्वार्टरमा बसेँ। उनले ५० रूपैयाँ दिए। नाटकीय तरिकाले अल्पिएका अभिभावक सदगुरु प्रो. दासलाई सम्झँदै एउटा आप्रवासी ठिटो अनौठो तरिकाले सिनेमाझैँ फेरिँदै गएका घटनाक्रम नियाल्दै थियो। प्रो. दास भन्थे : ‘सडकका चिच्याहट र भित्ताका आवाज सुन्न सक्ने भएपछि तिमी नौलो मान्छेमा फेरिन्छौ, तब भीडबाट जोगिएर एक्लै पनि हिँड्ने आँट आउन सक्छ। समाजको अगाडि बढेको चेतनाका नाडी छाम्न कर्ममा उत्रिन सक्छौ। वैधानिकताका पर्खाल भत्काउन शक्ति पाउने छौ।’ त्यो भनाइले हिम्मत बढायो। संसारमा कोही पनि एक्लो हुँदैन, बाँच्ने कला भने सिक्नैपर्छ।  

भोलिपल्ट नै महेन्दु्रघाटबाट पहेलाजाघाटको स्टिम्भर पक्रेँ। फर्कें, उत्तर आफ्नैै देशतिर। तब मसाग पाँच सय ६७ रूपैयाँ थियो। वीरगन्ज पुग्दा दुई रूपैयाँ रहेको ठिटोसँग त्यत्रो पैसा हुनु ठूलै कुरा थियो। हाजिपुरको रेल–वे पर्खालमा देखियो, नक्सलवाद– लालसलाम। तब फेरिए, जिन्दगीका कथा।

एउटा पत्र सद्गुरुका नाममा

सद्गुरु, प्रो. दास  

नेपाली धर्तीबाट लालसलाम

तपाईंको चिठी हेरेँ, पैसा पाएँ। निर्देशन अनुसार सेराफिम सरको क्वार्टर गएँ। तपाईंजस्तै उहाँ पनि संस्कारित मान्छे हुनुहुदो रहेछ। तपाईं कम्युनिस्ट, त्यसमा पनि अधर्मी नक्सल हुनुभएकाले एक विश्वासी नजरमा केही गुनासा रहेछन्। तपाईंको मानवकेन्द्रित सोच र प्राज्ञिक जीवनको भने प्रशंसक हुनुहुदो रहेछ। अलप नभएको भए अरू राजनीतिज्ञ, फरक सोचका विद्वान्झैँ तपाईं पनि गिरफ्तार पर्नु हुने थियो अरे। नभन्दै बिहान ९ बजेतिर एक हुल सिपाही आएको हामीले देख्यौँ। लामो समयसम्म यहाँबाट पाएको प्रेमिल संरक्षण कहिल्यै भुल्ने छैन, सर।  

यहाँको मूल शिक्षा : सम्मानित जीवन जिउन जीवन आदर्शसँग कहिल्यै सम्झौता होइन आवश्यकतामा संघर्ष पनि गर्नुपर्छ। हरेक सोच र भूमिकाको केन्द्रमा मान्छे राख्नुपर्छ। जिज्ञासाले ज्ञानका ढोका खोल्छन्। नित्य नयाँ बन्न हरदम विद्यार्थी बनिरहने कोसिस गर’ भन्ने कुरा। हो सर, अहिले पनि आत्मसात गर्दै छु। त्यसैलाई मार्गदिशा बनाएको छु। माफ गर्नुस्, सर ! तपाईंलाई सधैँ मन र मस्तिकमा राख्न, आपतविपत, अभाव तनावमा ऊर्जा पाउन हजुरको नाम उपनाममा जोडेँ। सोच्दछ दिमागले दुःख पाउँछ शरीरले। तर हरेक दुःखकष्टलाई हजुरले दिएका शिक्षादिक्षालाई आफैँलाई अर्जाप्ने औजारको रूपमा बुझेको छु।

सरका भनाइ सम्झन्छु- समाज अगाडि बढाउन वैधानिकताका पर्खाल भत्काउनैपर्ने हुन्छन्। तब डराउने मान्छेको डर, डरदेखि हराएर वर्चस्वशाली तप्काको डर सुरु हुन्छ। डरले सत्तालाई आक्रामक बनाउँछ। बहसलाई अन्यन्त्र मोड्न अर्को विषय उराल्छ। डरपोकले कसैलाई विश्वास गर्दैन, षड्यन्त्रमा भर पर्छ। संघर्षका चरित्र फेरिएपछि नायक र खलनायकका परिभाषा पनि फेरिन्छन्। सत्ताको भूमिका र संघर्षका रूपसँगै राग दरबारीका साहित्य, कला, पत्रकारिताका भाषा पनि फेरिन्छन्। सत्ता र शक्ति तीव्र निन्दा र आक्रमणले मात्र सुरक्षित ठान्छ।’

ओहो सर, ४७ वर्ष पो बितेछन्। तर मेरो दिमागको हाडड्राइभमा भने एकएक कुरा प्रोगाम्ड छन्। ‘ज्ञान र सूचनाको क्षेत्रफल कमजोर भएपछि विचारले ऊर्जा पाउँदैन, सत्यबोध कमजोर हुन्छ। विषयलाई कुन नजर र कुन उचाइबाट हेर्ने कुराले सत्यबोध गराउँछ। सत्ता यथास्थिति बचाउन चाहन्छ भने समाज परिवर्तन चाहन्छ, तब द्वन्द्व सुरु हुन्छन्। सत्ताका पहरेदार कालाकोटे (न्यायालय) र खैराकोटे (सेना) जर्नेल हुन्छन्। जब आत्तिएको शासक मात्तिन थाल्छ र ऐनकानुन संविधान औँलामा नचाउन थाल्छ। इलाहावाद हाईकोर्ट र जस्टिस सिन्हा अपवाद भए। सत्ताले अदालतलाई इसारामा चलाउँछ। हो, त्यसै वेला वैधानिकताका पर्खाल तोडिन्छन्, भत्कन्छन्। अवस्था अस्तव्यस्त हुन्छ। नागरिक प्रतिरोधमा उत्रिन्छन्। डर पनि डराएर भाग्न थालेपछि कानुनका ठेली पल्टाएर बहस हुन छाड्दै सडक चिच्याउन थाल्छ। त्यो अवस्था इतिहासले कोल्टे फेर्ने समय हो। भ्रम, भय र पाखण्ड तानाशाही शासकका हतियार हुन भने भक्तहरू अज्ञानी मात्रै हुँदैनन् मूर्ख पनि हुन्छन्। गलत बाटोबाट गन्तव्यमा पुग्न सकिँदैन। विश्लेषण सही भए पनि संश्लेषण ठीक भएन भने सही प्रेस्क्रिप्सन बेगरको ट्रिटमेन्टजस्तै हुन्छ। इतिहासको विशेषता भनेकै सबै कुरा सम्झनामै रहनु। हो, सर ! तपाईंका भनाइमा जोडदार जीवनदर्शन थिए। अहिले हामी नेपालमा त्यही अवस्थामा गुज्रिरहेका छौँ।

सरजी ! पटना छाडेपछि म रक्सौल पुगेँ। जिन्दगीका नयाँ कथाव्यथा सुरु भए। तपाईंका भनाइ उपदेशका रूपमा लिएको छु। ४७ वर्ष पहिले नै नेपालको अवस्था कसरी बुझ्नुभयो ? कालखण्ड, पात्र र भूमि फरक भए पनि सत्ता चरित्र, प्रवृत्ति संसार एकै हुँदा रहेछन्।

यहाँको नेपालीबाबु 

प्रकाशित: २९ जेष्ठ २०७८ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App